November 17, 2011

कथा : आँपको रुख

'मैले उसलाई भुँडी बोकाउनै नहुने......' हठात् दिमागमा यो कुरा उब्ज्यो जब म त्यो आँपको रुख भए ठाउँमा पुगेथें । र यसैगरि उब्ज्यो ।

म यो कुरालाई सम्झँदा अलि ढँगले पनि सम्झन सक्थें । सोच्न सक्थें कि; 'मैले उसलाई गर्भ बोकाउनै नहुने' अथवा 'मैले उसलाई गर्भवति बनाउनै नहुने' । तर......... मैले त्यसैगरी सम्झिएँ । ................

जे होस् उ गर्भवति भएकि थिई र त्यसमा म जिम्मेवार हुनसक्ने ठाउँ थियो ।

झण्डै १३ वर्षको अन्तराल पछि आज यहाँ आँपको रुख छैन । तर आह्रा लगाएर ढालिएको त्यसको ठुटो भने अझै रहेछ । फेदैदेखि दुई बराबर काण्डहरुमा बिभक्त भएर हुर्किएको त्यो आँपको रुखलाई यौटा अग्लो र अर्को अलिक होचो हुनेगरि ढालिएको थियो । दुबैमा समान रुपमा आह्राले समतल काटेको भाग र ढल्नेबेला मर्किएर लामो लामो छेस्का सहित रहेको उबडखाबड भाग थिए ।

म होचो काटिएको ठुटोमाथि चढेँ र कुर्शीमा बसेझैं अग्लो काटिएको ठुटोमाथि बसें । बसें यस्तरी कि मानौं म भर्खरै एक जघन्य अपराधी घोषित भएको छु ।

'हे! भगवान, किन अझैसम्म मलाई यहि कुराको अपराध बोध भैरहन्छ?' यत्रो काल-अन्तरमा पनि यो कुरा मेरो मन मश्तिष्कबाट मेटिन सकेको छैन ।

सहजै मेटिन सक्ने कुरा पनि त थिएन यो । हो कैले कैले धेरै दिनसम्म स्मृतिमा ओझेल परेर भने बस्छ । तर अनेकौं यस्ता घटनाक्रमहरु देखापर्छन् जिन्दगीमा जस्ले यो कुरालाई स्मृतिपटमा उघारिदिएर ताजा गराईदिन्छ र मलाई दुखि बनाएर राख्छ ।

यसपटक त म स्वयं यहिँ छु जहाँ आजभन्दा बाह्रतेह्र वर्ष अगाडि मानवीले आत्महत्या गरेकि थिई । मानवीको आत्महत्याले मलाई त्यो बेला विक्षिप्तताको हदसम्म पुर्याएको थियो । एकैपल पनि उसको त्यो आँपको रुखमा झुण्डिइरहेको मृत शरिर मेरो आँखाबाट हट्दैनथियो । कैंयन रात म निदाउन सकेको थिइनं । निदाइहाले पनि सपनामा उसैलाई देखेर म आत्तिंदै ब्युझन्थें । उसको आत्महत्या पछिका धेरै दिनसम्म म बेहोसे भएको थिएँ । कहाँ छु? कतिबेला भयो? के गर्दैछु? केहि थाहा पाउँदिनथिएँ ।

गाउँघरका सबैले म एकोहोरिने भएको थाहा पाएका थिए । म टोलाईरहने र अस्वभाविक कृयाकलाप समेत गर्ने थाहा पाएर कतिले मलाई झुण्डिएको लास देखेर त्यसको सातो उडेको छ भन्थे । कतिले त अझ बहुलाहा नै भयो भन्ठान्थे ।

हुनपनि मानवीको झुण्डिरहेको मृत शरिर सबभन्दा पहिले मैले नै देखेको थिएँ । त्यसअघि धेरै पटक लाशहरु देखेको भएपनि यसरी रुखमा झुण्डिएर मृत्यूमा प्राप्त भएको शरिरलाई अह्ररो भएर झुण्डिरहेकै अवस्थामा त्यसभन्दा पहिले देखेको थिइनं । मेरो निम्ती त्यो बिभत्स र भयावह दृश्य थियो । म साँच्चै डराएको पनि थिएँ त्यसबखत । डरले शरिरका सारा रौं जुरुरु भएर ठाडो भएका थिए । अझै त्यो क्षण सम्झँदा पनि त्यहि बेला जस्तै सारा शरिर सिरिङ्ग भएर आउँछ ।

त्यो बेलामा म बिहान बिहान अँध्यारैमा उठेर दौडन जाने गर्थें । लगभग चारपाँच किलोमिटर टाढा रहेको स्कूलसम्म दौडंदै जाने र त्याँहा भेला भएका अरु परिचित अपरिचितहरुसँग फूटबल खेल्ने गर्थें । बिहान छिट्टो उठ्ने भएकोले गोत्ने गोरुलाई बिहानको राति नै घाँस भए घाँस नत्र ढेडीबाट पराल थुतेर हाल्ने जिम्मा हुन्थ्यो मेरो ।

त्यहि दैनिकि अनुशार त्यसदिन बिहान पनि म अँध्यारैमा पराल थुत्न ढेडीमा गएको थिएँ ।

मेरो घरको पश्चिमपट्टि आँगनसँग जोडिएर गाईबस्तुको गोठ रहेको थियो । गोठको उत्तरपट्टी थियो परालको ढेडी । र यो आँपको रुख जहाँ अहिले म त्यसैको ठुटोमाथी बसेको छु, त्यस परालको ढेडी भन्दा पश्चिमतर्फ चालिस मिटर जत्तिको दुरीमा थियो ।

पराल थुत्न ढेडीको पल्लो छेउपट्टि पुग्नासाथ मैले अँध्यारोमै झ्वास्स कुनै आकृति आँपको रुख मुनि हल्लिरहेको जस्तै देखें । त्यो आकृति देख्दा मेरो आङ्ग ढक्क फुलेर आएको थियो । अलिअलि डराउँदै म पराल थुत्ने उपक्रममा लागें तर 'पहिले केहि नभएको ठाउँमा आज के हो त त्यस्तो आकृति?' दिमाग त्यसैमा केन्द्रित रह्यो ।

त्यसो त भुक्भुके उज्यालो पूर्व क्षितिजमा आइसकेको हुँदो हो त्यसबेलासम्म तर त्यो आँपको रुखको चारैतिर धर्तीमा खस्नै लागेको उज्यालोको पूर्व आभा छेक्नलाई केहि दुरीमा एकातिर बाँसको झ्याङ्ग र अर्कातिर केराघारी थियो । यस्तोमा त्यसबेला त्यो आकृति यहि हो भनेर ठम्याउन सकिन्नथियो ।

'कसैको बस्तुभाउ फुकेर आएको हुनसक्छ ।' सम्भावना औंल्यायो दिमागले ।

म पराल थुत्दै त्यहि आकृतितिर हेर्दैथिएँ ।

'अहँ त्यो बस्तुभाउ फुकेर आएको हैन । फुक्का बस्तु त्यसरी एकैठाउँ उभिइरहँदैन ।' म त्यो आकृति फुकेर आएको वस्तु हैन भन्ने निचोडमा पुगेँ । त्यसमाथि त्यो आकृतिलाई नियालिरहँदा मलाई कोहि मान्छे नै उभिइरहेको; अझ हातले ईशारा गरेर मलाई नै बोलाउँदै गरेको भान पर्यो ।

मलाई झट्ट मानवीको याद आयो । यो पक्कै पनि मानवी नै हुनुपर्छ । उ सँग मेरो भेट भएको पछिल्लो पटक पनि राति एघार बजेसम्म मानवी मसंगै यहि आँपको रुखमुनि थिई । मैले कर गरेर उसलाई घर लिएर गएको थिएँ । उसको घरमा पुगेर मैले कति बोलाउँदा पनि उसको घरकाले सुनेको नसुन्यै गरेका थिए । उनिहरु उसको निम्ति घरको ढोका खोल्न सम्म तयार थिएनन् । अन्तत उसकि बैनि आएर चुपचाप ढोका खोलिदिएकि थिई ।

यो आँपको रुख मानवीको ज्यादै प्रिय ठाउँ थियो । यहि रुखको फेदमा खेलेर हुर्किएकि थिई मानवी र म पनि । उमेरले मानवी म भन्दा पुरा पाँचवर्ष ठुलि थिई । र पनि हामी सानोमा यो आँपको रुख मुन्तिर भातपकाई, पूतलि या यस्तै अरुकेहि खेल्ने गर्थ्यौ ।

ठ्ल्ठुला भैसकेर पनि हामी यो आँपको फेदमा घण्टौं बिताउंथ्यौं । आफ्ना हरेक खुसीहरु मानवी मलाई यहि आँपको रुखमुनि बोलाएर सुनाउंने गर्थी । दुखि हुँदा त झन यो आँपको रुख जति नजिकको साथी उसको कोहि हुँदैनथ्यो ।

चैते खडेरीले खरो भएको ढेडीको पराल थुत्दा हातले समातेको मध्ये एकतिहाई मात्र निस्कन्थ्यो । मलाई यता पराल थुत्न जोड परिरहेको थियो भने उता मानवीको कुराले दिमागमा झन जोड पारिराखेको थियो । मैले पराल थुत्ने उपक्रमलाई निरन्तरता दिइरहें । म सायद गोरुलाई पराल हाल्ने काम सकेर मात्र आँपको रुखतिर जान्थें ।

निक्कैदिन देखि मानवी तनावमा थिई । उ दुई जिउकि भएको कुरा उसले मलाई यहि आँपको फेदमा ल्याएर सुनाएकि थिई । भनेकि थिई, 'दीपक, मैले भुँडी बोकेकि छु । अब के गर्ने होला?'

त्यो कुरा उसले यति सहजताका साथ भनेकि थिई कि, मानौं उ मलाई ढाँटिरहेकि छे अथवा मलाई डर देखाएर उ मेरो प्रतिकृया बुझ्न चाहन्छे ।

निश्चय नै त्यो मेरो लागी अप्रत्याशित कुरा थियो । हुनसक्छ म त्यो बेला अनुहारले नीलोकालो भएको थिएँ ।

'के भनेकि मानवी तिमीले यो? त्यस्तो कसरी हुन्छ? तिमी त केहि पनि हुन्न भन्थ्यौ ।' प्रतिक्रियामा बोलेथें म ।

'खै? हुँदैन भन्ठान्थें म, तर हुँदोरहेछ । यि भयो त । मैले भुँडी बोकें । अझ घरमा सबैले थाहा पाएका छन् । कोहि बोल्दैनन् मसँग । बोल्नु पर्यो भने गाली मात्र हुन्छ उनिहरुसँग मेरोलागी ।' केहि उदाश स्वरमा बोली उ ।

म निशब्द थिएँ । के बोल्ने? के भन्ने ? केहि पत्तो थिएन । बरु डरले थरहरी भएर के के सोच्न थालेथें म ।
'हरे! भगवान! यो के भयो? के यहि उमेरमा म बच्चाको बाउ हुने भएँ? अब मेरो भविश्य के होला? छरछिमेकले मलाई के के मात्र भन्दा हुन्? कुन दिनमा म यसरी फसेँ?.........'

मेरो सातोपुत्लो उडेको अनुहार उसले नियाँलिरहेको हुनुपर्छ । त्यसैले उसले भनि, 'तिमीलाई के भयो नि? तिमी किन यसरि नीलोकालो भ'को? भुँडी बोकेकि मैले हुँ, तिमीले हैन ।' विचरी उ उल्टै मलाई नै सम्झाउँला झैं गर्दै थिई तर उसको अनुहारमा अन्यौलको गहिरा रेखाहरु खिचिएको देखिरहेथें म ।

'बोका'को त मैले होला नि.....' काँपेको आवाजले यतिमात्र भनें मैले । म असाध्यै डराएको थिएँ । डरले कामुँला झैं भैरहेथ्यो मलाई ।

'तिमीले होइन दीपक, नडराउ तिमी । तिमीसँग त्यस्तो गरेको त अस्ति भर्खर स्वस्थानीको साङ्गे हुने बेलातिर न हो । त्यो त कति भयो र? मैले यो पेट बोकेको त चार महिना भैसक्यो ।' आफ्नो पेट छाम्दै बोलीथि मानवी, 'फेरि तिमीले केहि गरेको पनि होइन मलाई; मैले नै बरु गरेकि हुँ.....।'

मानवीको कुराले ठुलो राहत मिलेथ्यो मलाई । अचानक आकाश खसेर किच्नै लागेको बेला फेरि अचानकै आकाश जस्ताको तस्तै माथि गएझैं महसुस भएथ्यो ।

'त्यसोभए कस्तो त?' अलि सास आएझैं सोधें मैले ।

'थाहा पाएर के गर्छौ? त्यो मान्छे छैन यहाँ ।' उ एकाएक रुन्चे देखिई । भन्न नखोजे जस्तै उसले मुण्टो अर्कोतिर फर्काई तर उसको अनुहार हेर्दा लाग्थ्यो उ मसँग यहि कुरा बाँडेर हलुका हुन चाहन्छे ।

एकछिन अगाडीसम्म आफैं फन्दामा परिसकेझैं अत्तालिइरहेको म त्यसबेला ढुक्क थिएँ र जान्न चाहन्थें कि, को हो त्यस्तो मान्छे जस्ले मानवीलाई गर्भ बोकायो र अहिले यहाँ छैन? अझ त्यसबेला त म मानवीलाई आवश्यक परामर्श दिनसक्ने समेत भएको ठान्दैथिएँ आफुलाई । दोहोर्याएर सोधें मैले, 'र पनि भनन त को हो त्यो?'

'अर्जुन' उसले नाममात्र लिई र फेरि चुप भई ।

मानवीले संगत गर्ने गरेको अर्जुन यौटै मात्र हुन सक्थ्यो जो उसकै क्याम्पसमा कहलिएको क्रान्तिकारी बिध्यार्थी नेता थियो र यतिबेला सेनाले समातेर बेपत्ता पारेको थियो । मानवी पनि क्रान्तिकारी संगठनको पछि लाग्ने; सम्भवत सदस्य समेत रहेकि हुँदा अर्जुन त्यहि हुन सक्थ्यो । मानवीको अर्जुनसँग त्यस्तो नजिकको उठबस भएको तर मलाई थाहा थिएन त्यसैले निश्चय गर्न सोधें, 'त्यहि नेता अर्जुन?'

उसले हो मा तलमाथि गरेर केहिबेर टाउको हल्लाईरहि । केहि बोलिन ।

यदि त्यो गर्भ अर्जुनकै हो भने त बोल्नु पनि के थियो? अर्जुनलाई सेनाले बेपत्ता पारेको सबैलाई थाहा थियो । कतिपय त उसलाई सेनाले मारिसके भन्थे ।

'कसरी? कैले भयो त त्यस्तो? तिमी अर्जुनसँग त्यति नजिक भएको पनि मैले त कहिले थाहा पाईंन ।' मैले प्रष्टिकरण चाहेँ किनभने हुनसक्ने सम्भावना भएपनि मलाई कसरी भयो या कैले भयो भन्ने कुरामा सन्देह थियो ।

'अब त्यो सबै थाहा पाएर के गर्छौ तिमी भनत?' बिस्मित नजर पर पर फाल्दै बोलिथि उ, 'क्यामपसको चुनाव हुनुभन्दा अगाडी भ'को । गल्ति गरेँ मैले । अब सुधार्न सकिँदैन । अर्जुन भएको भए कुरा अर्कै हुन्थ्यो । उ नै नभएपछि अब यो कुरा कोट्याएर पनि फाईदा छैन । झन दुखि हुनु मात्र हो ।'

अर्जुन पक्षको कुरा यहाँ भन्दा सुनाउनु आवश्यक पनि थिएन उसले मलाई । उ अर्जुनको थप कुरा गर्न चाहन्नथि तर यो समस्याको निकास त चाहिएको थियो उसलाई ।

एकछिन अगाडिसम्म यो सब आफ्नै कारणले भएको हो भनेर तिल्मिलाएको म आफ्नो कारणले होइन भन्ने हुँदा ढुक्क त थिएँ तर तत्काल फेरि मानवीको गर्भको दोश्रो जिम्मेवार ब्याक्ति जो बेपत्ता छ उहि निस्किएपछि अर्को छट्पटि भयो मलाई । मानवीले अब के गर्ने? यहि चिन्ता हुन थाल्यो ।

'अनि, घरमा के भनेकि छौ नि? कस्को हो भन्यौ?' सोधेको थिएँ मैले ।

'जे हो, जस्को हो त्यहि भनेकि छु । अर्जुनकै हो भनेकि छु । त्यसैले त झन उग्र छन् घरमा सबै । लगेर जिम्मा लगाउने ठाउँ पनि राखिन भन्छन् ।' वास्तवमै मानवीको मुद्दामा जिम्मालिने पात्र नै थिएन । उसको घरमा पनि कसरी जाने जब उ नै बेपत्ता छ ।

'तिमीले बरु बेलैमा गर्भपतन गराउनु पर्ने त्यता किन सोचिनौ?' समस्याको निकास त्यो पनि त हुनसक्थ्यो भन्ने अभिप्रायले सोधेथें मैले ।

'त्यो आँट नै आएन पहिले; पछि घरका सबैले थाहा पाएपछि ग'कि हुँ । ढिलो भैसकेको रहेछ ।' पिर्लिक्क उसका आँखाबाट आँसुका थोपा खसे । निकासको सम्भावनाको यो पाटो पनि समाप्त भैसकेको रहेछ ।

'त्यसो भए अब म हुन्छु यो बच्चाको बाउ । तिमी पनि यो मेरै हो भन । अनि हामी बिहे गरेर अन्तै कतै गएर बसौंला ।' मानवीको अगाडी अँध्यारो भविश्य मात्र देखेपछि म मा यो आँट त्यसै पलाएर आएथ्यो । उसको सुरक्षार्थ म उसको पेटको बच्चाको बाबु बन्न तयार थिएँ तर मैले अन्तै कतै गएर बसुंला भन्ने कुरालाई जोड दिएको थिएँ त्यसको मतलब हुन्थ्यो कि म यो समाजलाई ठाडो चुनौति दिन पनि डराउँथें ।

'नाईं हुँदैन । तिमी म भन्दा ५ वर्ष सानो मान्छे कसरि मेरो लोग्ने हुने?' ईन्कार गरिथि मानवीले ।

'त्यो दिन त तिमीले मलाई ५ वर्ष सानो भनिनौ त?' मानवीसँग सहवास गरेको दिनतर्फ थियो मेरो ईसारा । त्यसदिन जे भएको थियो त्यसको साक्षि पनि त्यहि आँपको रुख थियो ।

गाउँकै यौटा घरमा स्वास्थानीको साङ्गे भएको रात मौका छोपेर मानवीले मलाई त्यो आँपको फेदमा लगेकि थिई र सम्भोग गर्ने प्रस्ताव राखेकि थिई । उसैले मलाई बिश्वास दिलाएकि थिई त्यसो गर्दा केहि बिग्रिदैन बरु सम्भोग गर्दाको आनन्दको अनुभव हुन्छ भनेर । मैले पेट बोक्यौ भने के गर्ने नि भन्दा समेत उसले एकपल्ट गर्दा के को पेट बोकिनु धेरै गर्दा पो बोकिन्छ त पेट भनेकि थिई । उसको हठको अगाडि प्राय हार्ने म त्यसरात पनि हारिदिएको थिएँ । कहिँ त म भित्र पनि सम्भोगको अनुभव हासिल गर्ने लोभ जागेर आएको हुनसक्छ त्यसरात । डराई डराई सुरु भएको त्यसरातको क्रिडा कल्पना भन्दा धेरै सुखद अन्त्यमा टुँगिएथ्यो बरु त्यसपछि भने परिणामको चिन्ताले केहिदिनसम्म खाएथ्यो मलाई र केहिदिन पछि त्यो पनि हटेर गएथ्यो ।

'त्यो अर्कै कुरा हो दीपक, त्यो दिनको लागि तिमीले पश्चताप गर्नु पर्दैन ।' उ अझै मानिन ।

निक्कै प्रयास गरेर मैले उसलाई मनाएँ । उ ह्रदयले नै राजी भएकि थिइन तर उसको अगाडि अरु विकल्प नभएकोले हुन्छ भनिथि । त्यसैले मानवीको पेटको बच्चा मेरो हो भन्ने दाबि गर्दै म उसको घर गएथें ।

तर परिस्थिती सोचे जसरि निस्किएन । उसका बाबा आमाले पहिले उसैलाई सोधे 'यसैको हो त तेरो पेटको अवगाल?'

मानवीले भयपूर्ण आवाजले हो मात्र के भनिथि उसका बाबा आमा खनिए उसैमाथि, 'हिँजोसम्म यौटाको हो भन्दैथिई, आज अर्कैको हो भन्छे । यो रण्डि कतिजनासँग सुतिसकि? लाजशरम भन्ने त कुरा त फिट्टिक्कै पो रहेन ए । भोली फेरि अर्कैलाई देखाएर यस्को हो भन्लि । यौटाको पाप बोकेर क-कस्लाई मुस्छेस् हँ? यस्ता वेश्याहरु त गर्भैमा तुहिएर जानु नि यो दिन देखाउनलाई किन बाँचेका हुन्?...............'

चट्याङ्ग सहितको साउनको कालो मेघजस्तै उनिहरु एकोहोरो वर्षिरहे मानवीमाथि । उसको बचाउ गर्दै मैले भनें, 'यो मेरै बच्चा हो । हामि बिहे गर्छौं । बरु हामि टाढा कतै गएर बस्छौं ।'

मानवीका बाबा आमा मतिरै खनिए, 'तँ नाथे छुसि! हामिले हगेको मुला! हिँजोको चल्ला, बडो आएछ यो वेश्यालाई बचाउन । निस्किहाल्, तँ यहाँबाट गैहाल् । ओठमा दुध मरिसकेको छैन; बडो आएको बच्चाको बाउ हुन ।' उनिहरुले मलाई त्याँहाबाट लखलखे लाएर खेदे ।

मानवीको घरबाट खेदिएपनि मैले उसलाई बिहे गर्ने र उसको पेटको बच्चाको बाबु बनेर उसलाई साहारा दिने प्रण नै गरेको थिएँ तर नियतिलाई सायद त्यो मञ्जुर थिएन । मलाई मनवीको घरतिर ढिम्किनै दिंदैनथिए उसका बाबा आमाले । उ पनि मेरो घरतिर आईन । मैले केहि दिनसम्म रातबिरात पनि आँपको रुखमा उसको प्रतिक्षा गरेँ तर अहँ उ घरमा बन्दि थिई या के थियो उ बेखबर भई । बरु उसको बदनामीको हल्ला भने आगोजस्तै गाउँभरि फैलिएथ्यो साथमा अर्जुनको नाम जोडिएर ।

अरु केहि दिन यसरी नै बितेका थिए । मानवीको चिन्ता लिए पनि मैले केहि गर्न सकिराखेको थिईनं । म आफ्नो नियमित दैनिकिमा उसैगरि चलिरहेथें जस्तो कि यस्तो कुनै अवस्था सिर्जना नभएको बेलामा चल्थें । त्यहि केहि दिनपछिको अवस्था थियो मैले पराल थुत्दै गर्दा आँपको रुखमा त्यो आकृति देखेको ।

गोरुलाई पुग्नेगरि थुतिसकेको परालको थुप्रो त्यहिँ छोडेर म आँपको रुखतिर लागेँ । मानवी हो भने म पहिले उसलाई लिएर आउँछु र आजै उसँग भागेर कतै जान्छु भन्ने सोच्दैथिएँ म त्यो बेला । अँध्यारो अझै छँदैथियो तथापि त्यस आकृतिको नजिक पुग्दा नपुग्दै म चिसो भएँ । आकृतिको अवस्था र आकृति के हो बुझ्न मलाई बेर लागेन ।

त्यो मानवी नै थिई तर मलाई पर्खिरहेकि मानवी थिईन त्यहाँ । त्यहाँ त म लगायत सबैसँग सदबिदा भैसकेकि मानवी थिई ।

हो, मानवी झुण्डेर मरिसकेकि थिई, त्यहि उसको प्रिय ठाउँमा, त्यहि उसको प्रिय रुखमा, डोरिको पासो लाएर झुण्डिएकि मानवीलाई त्यसरी फेला पारेथें मैले त्यो बिहानको राती ।

होचोहोचै हाँगामा झुण्डिएकि मानवीको यौटा खुट्टा तन्किएर भुँई छुन कोसिस गरेझैं र अर्को खुटा चैं अलि खुम्च्याए जस्तो थियो । खुल्ला छोडेको उसको कैलो कैलो केशहरु अनुहारतिर छरिएको थियो । दुबैहातहरु लुत्रुङ्ग झुण्डिएका थिए । मैले झम्टेर गएर उसलाई समातें तर उ अह्ररो र चिसो भैसकेकि थिई ।

त्यसक्षण मेरो मुखबाट राम! राम! निस्किएथ्यो । तत्क्षण नै म एकदम बिचलित भएको थिएँ यद्दपि मैले त्यसबेला ठस्स गुहूको दुर्गन्ध थाहा पाएको थिएँ । सम्भवत प्राणपखेरु उड्दा कष्ट परेर मानवीको मलद्वारबाट दिसा निस्किएको हुनुपर्छ ।

एकाएक मलाई चारैतिरबाट डरले घेरेर ल्यायो । म चिच्याउँदै रुँदै अझ लड्खडाउँदै पराल ढेडीतिर भागें र आफैंले थुतेर थुपारेको परालको थुप्रोमा अल्झिएर लडें । मलाई पछाडिबाट कालले लखेटिरहेझैं भएको थियो त्यतिबेला ।

म चिच्याएको सुनेर सबैभन्दा पहिले आख्खुम दाइ आउनुभयो । त्यसपछि आमाबाबा लगायत घरका सबै आईपुगे । सबैलाई मलाई सर्पले डस्यो भन्ने परेको रहेछ । परालमा प्राणै जान लागेझैं लम्पसार परिरहेको ममाथि टर्चलाईट लाउँदै आख्खुम दाइ सोध्नुहुँदैथियो, 'खै कहाँ टोक्यो?'

बाबा 'ए डोरी ल्यावो झट्टै, बाँध्नुपर्छ।' भन्नुहुँदैथियो ।

मैले मुश्किलले सर्पले टोकेको हैन भन्न सकें तर अगाडि केहि बोल्न सकेको थिईनं ।

'के भयो त के?' उनिहरु सबै एकमुखले सोध्दै थिए । आख्खुमदाइ स्थितीको जाँच गर्न वरपर टर्चलाईट लाउनुहुँदैथियो । खास नाम रत्न भएका आख्खुम दाइ हाम्रोमा खनजोत गर्ने काम गर्नुहुन्थ्यो र हाम्रै घरमा बस्नुहुन्थ्यो । जतिबेला पनि खोके जस्तै आख्खुम आख्खुम् गरिरहने आदत भएर वहाँको नाम आख्खुम रहेको थियो । वहाँले नै हात दिएर मलाई उठाउनुभयो ।

सबैजना वरिपरी भएपछि मलाई निक्कै साहारा भएको भएपनि म काँपिरहेकै थिएँ । मैले हातको ईशाराले आँपको रुखतिर देखाउँदै अस्पस्ट बोलेँ, 'मानवी............आँपको रुखमा............'

परिस्थिती बुझ्न त्यहाँ भएका कसैलाई पनि मैले स्पस्ट बोलिरहनु पर्ने आवश्यकतै परेन । मानवीले भोगिरहेको तनावसंग सबै परिचित थिए । मेरि आमाले त पहिल्यै अनुमान गर्नुभएको थियो । भन्नुहुन्थ्यो 'कसै न कसैको त साहारा चाहिन्छ त्यसलाई । के भ'का यो घरका मान्छेहरु? कुनदिन घरभित्रै पासो लाएर मर्छे अनि थाहा पाउँछन् ।'
त्यसबेला उपयुक्त मौका ठानेर मैले आमालाई भनेथें, 'त्यै त, उसलाई बुझ्ने कोहि भएनन् । कि म बिहे गरुँ आमा? उसको पेटको बच्चाको म जिम्मा लिउँ?' भित्रभित्रै मानवीलाई बिहे गर्न तयार भैसकेको अवस्था भएपनि त्यो मौका घरको; अझ आमाको प्रतिक्रिया बुझ्न उपयुक्त ठानेको थिएँ मैले र कतै आमाको तर्फबाट सकारात्मक जवाफ पाईहाल्छु कि भन्ने आसा पनि थियो मेरो ।

'हैन के भन्छ यो?' आमाले मेरो टिप्पा उडाउंदै भन्नुभएथ्यो, 'साथी हो भन्दैमा त्यो कस्को कस्को गलपासो आफ्नो घाँटीमा झुण्ड्याउने कुरा गर्छस्? भएन त्यो तेरि दिदी भन्न सुहाउँछे । मायादया पलायो भन्दैमा सारा संसार थाम्न खोज्नु हुँदैन त केटा, आफुले थाम्नसक्ने मात्र थाम्नुपर्छ ।' ज्यादै कठोर नजरले हेर्नुभएथ्यो आमाले त्यसबखत मलाई ।

मैले ईशारा गरेतिर आख्खुमदाइले आफ्नो छ ब्याट्री जाने ठुलो टाउको भएको टर्चलाईट लगाउनुभयो । त्यसको उज्यालो आँपको रुखमा झुण्डिइरहेको मानवीको मुर्दा शरिरलाई देखाउन प्रयाप्त थियो ।

मेरो झैं सबैको मुखबाट एकसाथ राम! राम! निस्कियो । त्यसपछि त के? कोहि रुन लागे, कोहि चिच्याउन । ठुलै हल्लिखल्लि भयो । वल्लोघर पल्लोघरका छरछिमेकिहरु पनि एकएक गर्दै हल्लिखल्लिमा समेल हुन हाजिर हुँदै गए । मानवीका घरबाट पनि सबै आए र मुर्छा पर्दै रुन लागे । हिँजोसम्म त्यत्रो मानसिक कष्ट सहिरहेकि त्यहि मानवीलाई उसका घरका कसैले कठै! सम्म भनेका थिएनन् । अहिले त्यसरी मुर्छा पर्दै रुँदै गरेको देख्दा मलाई लोकलाजको कतिसम्म पाईंन हुनेरहेछ त भन्ने लागेको थियो ।

उज्यालो भैसक्दा सम्म त्यहाँ मानिसहरुको मेला लागिसकेको थियो । तमासेहरुको भीड देख्दा लाग्थ्यो त्यहाँ कुनै राजनैतिक दलको आमसभा भैरहेछ ।

तमाशा हेर्न आउनेहरु प्राय सबै जना लासको नजिक गएर धित मरुञ्जेल हेर्थे र 'यस्तो अगति परेर मर्नेलाई पनि के हेर्नु? थुक्क!' भन्दै अर्कोतिर लाग्थे । उनिहरु मरिसकेकि मानवी र उसलाई गर्भ बोकाउने, बेपत्ता भएको अर्जुनलाई 'छि! छि! र थू! थू!' गरिरहेथे ।

अहो! कति कठोर बन्न सकेको हाम्रो समाज? कारण जे सुकै होस्; प्रकृति जस्तो सुकै होस् तर मृत्यु त आँखिर मृत्यु नै हो । त्यहि मृत्युमा मानिसहरु किन यति निर्दयि हुन सकेका? कतिसम्म संवेदनाहीन रहेछ हाम्रो समाज त्यो दिन बुझेथें मैले ।

तमाशेको हुलमा मरेकि मानवीसँग जोडिएर अर्जुन पनि बदनाम भैरहँदा मैले मनमनै भनेथें, 'हे भगवान! धन्न मानवीले मेरो पेट बोकिनछ । नत्रभने आज मेरो के हविगत हुनेथियो? यत्रा मान्छेको सामुन्ने म कसरी मुख देखाउँथें होला?' र तत्काल तुलना गरेथें मैले भर्खरै संवेदनाहीन भनेका तमाशेहरुलाई र आफु घानमा नपरेर भित्रभित्र एक प्रकारको खुशी मनाईरहेको स्वयँलाई ।

'छि! छि! हरेक मान्छे स्वयँमा कति निर्लज्ज र स्वार्थी हुँदोरहेछ?' आफुलाई ति तमाशेहरु भन्दा अझ तल गिरेको पाएथें मैले ।

प्रहरीहरु आए । घटनास्थल र लाशको प्रकृति मुचुल्का उठाए । मृतकका आफन्तहरु, केहि छरछिमेकीहरु र लाशलाई सबभन्दा पहिले देखेको नाताले मेरो पनि बयान टिपे र लाश झिकेर पोष्ट मार्टमको निम्ती जिल्ला पठाए । प्रहरीहरुले मृतकले कतै कुनै चिठ्ठी लेखेर छोडेको छ कि भनेर लाशमा साथै मानवीको कोठामा समेत खान तलासी गरे तर केहि फेला परेन ।

प्रहरीहरुले त्यसरी धुँईपाताल लाएर मृतकले चिठ्ठी लेखेको छ कि भनेर खोजिगर्दा मलाई मानवीले चिठ्ठी लेखेकि थिई भने लुकाएर राख्न सक्ने त्यहि आँपको रुखमा यौटा ठाउँ भएको सम्झना भयो तर त्यसबखत म त्यहाँ गएर त्यो चिठ्ठी छ होला भन्न पनि सक्दिनथिएँ र गएर खोज्न पनि सक्दिनथिएँ । सानैदेखि चढेर हाँगाहाँगा नाच्ने गरेको त्यो आँपको रुखमा यौटा गोप्य टोड्को पत्ता लगाएका थियौं मानवी र मैले । हामी सानोमा के के कुराहरु लुकाएर राख्ने पनि गर्थ्यौं त्यो टोड्कोमा । मलाई त्यो टोड्कोमा गएर हेर्ने छट्पटि भैरह्यो र म उपयुक्त अवसरको ताकमा बस्न थालेँ ।

मानवीको सदगत भैसकेपछिको केहिदिनमा मानवीका बाबाले त्यो आँपको रुख ढाल्ने निर्णय गरे । कोरामा बस्नेलाई राती रुङ्न आउने छिमेकिहरुले पनि त्यस्तै सल्लाह दिएका थिए । त्यो आँपको रुख मेरो घरको नजिक भएपनि मानवीकै बारीमा पर्थ्यो । डरले गर्दा त्यो आँपको रुखमा गएर टोड्कोमा केहि छ कि हेर्न सकिरहेको थिईनं तर त्यसलाई ढाल्ने कुरा उठेपछि मैले अबिलम्ब त्यो टोड्कोमा हेर्नैपर्छ भन्ने सोचेको थिएँ ।

त्यहिरात म मौका पारेर आँपको रुखमा गएँ । त्यसैपनि मानवीको झुण्डिरहेको शरिर आँखा अगाडी हरबखत झुलिरहन्थ्यो र मलाई भित्रदेखि डर लागेर आउँथ्यो । मानवीको आत्मा त्यहि रुखमा बसेको भए भूत बनेर मलाई मार्न आउने हो कि भन्ने ठुलो त्रास हुँदाहुँदै पनि म खै कस्तो आँटले त्यो रुखमा चढेर अँध्यारोमै टोड्कोमा हात छिराएँ । नभन्दै टोड्कोमा मैले पट्याएर राखेको यौटा कागज फेला पारें । यो मानवीले नै राखेको हो र चिठ्ठी नै लेखेर राखेको हो भन्ने कुरामा मलाई कुनै शंका थिएन । सायद उसले मर्नु अगाडी मलाई नभेटेका बेलामा भएका कुराहरु लेखेकि छे या हुनसक्छ कुनैदिन अर्जुन फर्किएर आएछ भने उ म मार्फत अर्जुनलाई कुनै खबर् छोड्न चाहन्छे । त्यो कागज बोकेर घर आउँदा सम्म म त्यसमा लेखिएको हुनसक्ने कुराहरु अनुमान गर्दैथिएँ ।

त्यसरात बाबा मानवीकै घरमा कोरामा बस्नेलाई रुङ्न जानुभएको थियो । घरमा बाँकि रहेका सबै निदाईसकेका भएपनि मैले श्वास दबाएर पढेको थिएँ त्यो चिठ्ठी । त्यहि चिठ्ठीले त मलाई बिक्षिप्त बनाएको थियो । लगभग पागल भएको थिएँ म । र घरमा बस्न नसकेर मानवी मरेको महिनादिन नबित्दै घर छोडेर हिँडेको थिएँ । भलै हिंड्नलाई पढ्न जाने बाहाना थियो तर कारण मानवीकै आत्महत्या थियो र आज तेह्र वर्षपछि बल्ल फर्केको थिएँ यो ठाउँमा म । त्यसबेला त्यो चिठ्ठी पढेर म आफैंले पनि झण्डै आत्महत्या गरेको थिएँ । त्यस चिठ्ठीमा लेखिएको थियो -

दीपक,

तिमीले दिएको त्यत्रो आड भरोसाले पनि मैले आफुलाई भोलीको दिनमा खुसी देख्न सकिंन । आफ्नै जन्मदिने बाबाआमाले समेत बात बातमा यस्ता त मर्नु नि बरु भनेको सुन्दा सुन्दा मलाई अब मर्नुभन्दा अर्को बिकल्प छ जस्तो लाग्दैन । मैले तिमीसँग बिहे नै गरेँ भनेपनि म बाँच्न त सकुँला तर जिन्दगी खुसी भएर बिताउन गाह्रो हुन्छ । हामी कहाँ जान्छौ? के गर्छौ? घरमा कहिले पनि हाम्रो बिहे स्वीकार्य हुँदैन । यस्ता कुराहरु सम्झँदा म जिन्दगीमा कतै पनि उज्यालो देख्दिनँ । त्यसैपनि तिमी म भन्दा पाँच वर्ष कान्छो मान्छेलाई आफ्नो लोग्नेको रुपमा कल्पना सम्म गर्न सक्दिंन म नत्रभने आफुले गरेको गल्तिमा बिनाबित्थामा अर्जुनलाई मुछ्दै झुठा कहानी किन रच्नु पर्थ्यो?

हो दीपक, अर्जुनको कहानी मैले त्यसै रचेको काल्पनिक कहानी थियो । मेरो पेटमा त तिम्रै बच्चा हुर्किंदैथियो तर हेरन मलाई यो कुरा तिमीलाई पहिले नै भनेर या घरका मान्छेलाई तिम्रो हो भनेर तिमीलाई तकलिफमा पार्न कत्ति पनि मन भएन । बदनाम त म जसै गरेपनि भैसकेकि थिएँ तिमीलाई पनि किन बदनामीको कालो दाग लगाउनु भन्ने लाग्यो मलाई । त्यसैले धेरैदिन सोचेर मैले बेपत्ता भएको अर्जुनलाई दोष लगाएँ । बिचरा! उ जिउँदो छ कि मरिसक्यो त्यो पनि थाहा छैन । मरिसकेको रहेछ भने उसको आत्माले मेरो मजबुरि बुझेर मलाई माफ देवोस्...........साँच्चि त म पनि मरिसकेको हुनेछु त्यसबेला त............. उसको आत्माले मेरो आत्मालाई माफी देवोस् । यदि उ जिउँदै रहेछ र कुनैदिन फर्केर आएछ भने उसलाई मैले बदनाम बनाउनु परेको यो कथा तिमीले सुनाएर सम्झाईदिनु उसलाई ।

मेरो साथी, तिमीले मेरो मृत्युमा शोक नगर्नु ल? यो सब मेरै कारणले भएको हो । यो सब हुनुमा म एक्लै जिम्मेवार छु र जे भोग्न गैरहेकि छु त्यसको योग्य हकदार पनि म एक्लै हुँ । यतिबेला मलाई तिम्रो बाहेक अरु कसैको पनि माया लागेको छैन । आफ्नै पनि माया लागेको छैन ।

तिमी सुखि रहनु ल मेरो साथी । मलाई बिदा देउ ।

सदबिदा
मानवी

May 19, 2010

कथा : देहत्याग

'दीपक? उठ छोरा । आज मातातिर्थ औंशी, छोराछोरीले आफ्नो आमालाई पूजा गर्ने, मिठो ख्वाउने दिन । तँ पनि तेरो हातले आमालाई केहि खुवाईदे । बैनिले अगि नै उठेर सबैथोक गरिसकि । ऐले तेरो क्याम्पस जानेबेला हुन्छ । म पनि अफिस जानुपर्छ । तँ आउँदा फेरी बैनि स्कूल जान्छे ।' आज बिहानै ओच्छ्यानमै आएर बाबाले मलाई धर्म सङ्कटमा पार्दै उठाउनुभयो । बाबाको कुरा नसुनुँ भने पनि कसरी । सुनुँभने पनि कसरी । सौतेनी आमालाई के के खुवाउनु रे ? सौतेनी आमालाई पूजा गर्नु रे ।

बाबाले मेरी आमा बित्नुभएपछि हाम्रै हेरचाहको बहाना पारेर बिहे गर्नुभएको थियो । मलाई त बाबाले बिहे नगरेकै भए ठिक हुन्थ्यो जस्तो लागेको थियो । तर मैले केहि भनिँन । मलाई त्यसैपनि मानसिक रोगी ठान्नुहुन्थ्यो बाबाले । मैले भनेर पनि त केहि हुन्थेन । बाबाले हाम्रो हेरचाहलाई बहाना बनाएर आफ्नैलागि बिहे गर्नुभएको पनि त हुन सक्छ । नत्र बिहे गर्नै के खाँचो थियो होला र ? म हुर्किसकेको छु । बैनि हुर्किसकेकि छे । भान्साको काम गर्ने त मान्छे राख्दा पनि हुन्थ्यो ।

उठेर ब्रसमा मञ्जन हालेर बाहिर निस्किएँ र आँगनको यौटा कुनामा टोलाएर ब्रस गर्न थालेँ । मनभित्र भने आँधी उर्लिरहेकै थियो । म भित्र सायद धेरै नै पूर्वाग्रह भरिएको थियो त्यसैले म बैनिले जस्तै सौतेनी आमासँग रत्तिन सकेको थिईनं । सुरुमा बैनीले पनि बाबाले यो बिहे गर्नुलाई सहज रुपमा लिन सकेकि थिईन । उ भन्थी, 'दादा, बाबाले किन बिहे गर्नुभएको होला नि? हामी यत्रा ठुला ठुला भैसक्यौं । सबैले जिस्क्याउँछन् हामीलाई बाबाले बिहे गर्नुभयो भन्ने सुनेर । सानीआमाले हामीलाई हेला गरिन् भने झन के होला ?' त्यसबेला बैनिलाई पनि बाबाले बिहे नगरे हुन्थ्यो भन्ने लागेको थियो तर पछि उ सानीआमासँग राम्रै रत्तिई । बोलाउँदा पनि उ सानीआमालाई आमा भनेरै बोलाउँछे । सबैले दिदीबैनि जस्तै मिलेका आमाछोरी भन्छन् । गाउँभरी कसैले पनि सानीआमालाई नराम्रो भनेका छैनन् । आफ्ना पट्टी सन्तान हुँदैनन् भन्ने जानेर पनि बिहे गर्ने हिम्मत भएकि बहादुर आइमाई भन्छन् सानीआमालाई । तर मैले भने कैलेपनि सानीआमालाई सकारात्मक लिन सकिंन । आमा भनेर बोलाउँन समेत सकिंन । एकपल्ट मैले बोलाउँदा सानीआमा भनेको सुनेर बाबाले भन्नुभएथ्यो, 'के को सानी र ठुली गरिरहनुपर्यो? थपक्क आमा भने भै'गो नि ।'

बाबालाई मैले कहिल्यै मुख फर्काएको थिएन त्यो दिन पनि केहि भनिंन बरु त्यो दिनदेखि मैले सानी न ठुली आमा नै भन्न छाडें । सकेसम्म त म सानीआमासँग बोल्दै बोल्दिंन । बोल्नै परेपनि बिना सम्बोधन नै बोल्न थालें ।

'दादा छिट्टो गर्नुस् न ।' मलाई पर्खिरहेकि बैनी नेपथ्यबाट बोली ।

'कस्तो अटेरी गरेको यो खुस्केटले? अरुबेला मन नपरे पनि आज त आईदिनु नि?' नेपथ्यबाटै बाबाले भन्नु भएको पनि सुनें । म बोल्दैनबोली सानीआमा प्रति जति बैर राख्थें । बाबाले त्यो स्पस्ट पारिदिनुहुन्थ्यो । कैलेकाँहि मलाई बालाले त्यसरी मेरो मनभित्रको कुरा प्रस्ट्याईदिँदा रीस उठ्थ्यो, कैलेकाँहि भने ठिक लाग्थ्यो । भन्न चाहेर पनि भन्न नसकेको कुरा बाबाले भनिदिएझैं लाग्थ्यो । मैले आशा राखे अनुशार बाबाले मलाई कहिल्यै तँ पागल छैनस् भनेर हौसला दिनुभएन बरु सानो सानो कुरामा मलाई बाबाले नै अर्धपागल, खुस्केट भन्दा भने मन साह्रै पिरो हुन्थ्यो ।


म मुखमै ब्रस कोचेर बैठकमा पुगेछु । ढोकामा पुग्दा सबैका आँखाहरुले मलाई नै ताकिरहेका थिए । तीनैजोडा आँखाहरु मेरो प्रतिक्षामा थिए सायद । मैले एक एक सर्को तीनै जोडा आँखाहरुमा आँखा जुधाएँ । बाबाको आँखामा म प्रति केहि क्रोध, केहि घृणा र केहि सहानुभुति जस्तै मिश्रित भाव देखें । वहाँले भन्नुभयो, 'यतिञ्जेलसम्म मुख पनि धोएको रहेनछ । कस्तो पागल केटा हो यो?' म चसक्कै दुखेँ तर म मुख धुन गएको मुखै नधोई त्यहाँ आएछु । थपक्कै फर्किएँ म मुख धुनलाई ।

फेरी आउँदा याद गरें बैनिको मुहार नै उज्यालो थियो । उसको प्रसन्नता आँखाहरुले झनै देखाईरहेका थिए । सानीआमाको आँखाहरु भने भावशुन्य झैं लागे । न खुसी न पीडा । सानीआमाका आँखाभरी आँसु डबडबाईरहेका थिए ।

सानीआमाको आँसु भरिएका आँखा मैले कहिले देखेको थिईंन । जहिल्यै पनि सुख्खा लाग्थे मलाई उनका आँखा तर आज आँसु देख्दा उनको आँखामा मलाई आफ्नै आमाको प्रतिमुर्ति देखेझैं लाग्यो । मेरी आमालाई कमलो मन भएकि साहसी आइमाई भन्थे सबैले । सानो सानो कुराले रुवाउँथ्यो मेरी आमालाई । अत्यन्तै भावुक हुनुहुन्थ्यो । सँधै अर्काको लागी बाँचु, अरुलाई दिउँ भन्ने सोच्नुहुन्थ्यो । 'आफु मिटाई अरुलाई दिनु जहाँ छ' भन्ने कविता लेख्ने देवकोटाको मन र मेरी आमाको मन उस्तै थियोहोला जस्तै लाग्थ्यो मलाई । सानीमाको आँखाबाट पोखिनै लागेको आँसुले मेरो मनलाई केहि पगालेजस्तै लाग्यो । आमाको सम्झनाले हो या सानीआमाको आँसुले हो मैले छुट्याउन सकिंन तर पग्लिएर मेरो मनको आँसु मनकै आँगनमा सलल बगेझैं लाग्यो । मलाई त्याँहा सामना गर्नुपर्ने सबै क्रियाकलापहरु निमेषमै सकेर त्याँहाबाट बाहिरिने ईच्छा भयो ।

बैनिले सबैथोक तयार पारिसकेकि थिई । बैनि र मैले एकैचोटी सानीआमालाई मिठाई र अन्य परिकारहरु खुवाउन थाल्यौं । सानीआमा भित्रैबाट भक्कानिएको बुझ्न गाह्रो थिएन । वहाँका आँखाबाट बरर आँसु खसे । सानीआमाको आँखाको आँसु झरेर बैनिको नारीमा पर्यो । मेरोमा परेन । सायद आँसुले पनि थाहा पायो होला मैले यो घरमा सानीआमाको आगमनलाई सहज लिएको छैन भन्ने । बैनि सानीआमाको आँसु पुछिदिँदै भन्दैथिई, 'अरे किन रुनुभएको, नरुनु न आमा ।'

म त्याँहाबाट उम्किन चाहन्थें । फर्किएर ढोकातिर लम्केको के थिएँ । बाबाले कपडाको यौटा सानो प्याकेट दिँदै भन्नुभयो, 'ल यो पनि दे आमालाई ।' बातबातमा मलाई पागल भन्ने बाबाको सामु त मलाई उभिनै मन हुन्थेन । मैले बाबाको हातबाट प्याकेट लिएँ, सारी थियो त्यो सायद, र सानीआमाको काखमा पर्नेगरि हुर्याएर बाहिर निस्किएँ ।

'के गर्छ यो बौलाहा?' बाबाको रीस ममाथी पोखियो ।

'मैले छोरालाई कहिल्यै आफ्नो बनाउन सकिंन ' सानीआमाले भक्कानिँदै भन्नुभएको सुनें । मलाई औडाहा छुट्यो । क्वाँ क्वाँ रोईदिउँ जस्तो पनि लाग्यो । 'आफ्नी आमाले त पराई बनाएर छोडेर जानुभयो अब सानीआमाले आफ्नो बनाएपनि के नबनाए पनि के?' यस्तै सोच्दै म आफ्नो कोठामा पसें र तयार भएर क्याम्पस जान निस्किएँ ।

साईकल झिक्दै गर्दा बैनिले भनि ,'दादा खाजा खानु न । तयार छ । आमाले खाजाखान बोला भन्नुभएको छ ।'

पहिल्यैदेखि मनले आज म सानीआमाले बनाएको खाजासाजा खान्न भन्ने सोचेको थियो । मैले त्यसैगरी भनें, 'भरै छिट्टै आएर तँसँगै खान्छु । आज म सानीआमाले बनाएको खान्न । तँ बना है ।' बैनिको पछिल्तिर सानीआमा उभिएकि थिइन् । उनलाई देखेपछि जोडले पाईडल मारेर म गेटबाहिर हुत्तिएँ ।

'मैले किन त्यसो भनेँ ? म किन ब्यर्थै सानीआमालाई दुखाउँछु? मलाई पागल किन भन्छन् सबैले?
म सबै कुरा सोच्न सक्छु । पागल त म नहुनु पर्ने । तर म किन केहि काम ठिकसँग गर्न सक्दिंन? कि म साँच्चै पागल नै हुँ?' मनभित्र आँधी बोकेरै म बेगले साईकल हुईँक्याउँदैथिएं । बाटोमा महेश भेटें । उ साईकलको चेन चढाउँदैथियो । मलाई देखेर बोल्यो, 'हैरान पार्यो यार यो थोत्रे साईकलले पनि ।'

मलाई मनभित्रको आँधि छल्ने उपाय भेटेझैं भयो । तर उसले पनि मलाई पागलकै श्रेणीमा त राखेको होला नि?

'नयाँ साईकल किन्ने भनेको हैन अनि?' मैले सोधें ।

'हो यार, तर किनिन फेरि ।' हामी समानान्तर गुडिरहयौं साइकलमा ।

'हेर्न, आज आमातिर्थ औंसी रे । हामी आमा नहुनेलाई त केहि न केहि हुँदोरहेछ ।' महेशले फेरी उहि विषयमा घुसार्यो मलाई जहाँबाट म निस्कन चाहन्थें । उसले आमातिर्थ भन्दोरहेछ । म मातातिर्थ भन्थें । सुन्दा अलि अनौठो लागेपनि उसले भनेको नै अझ नजिकबाट भनेको जस्तो लाग्यो मलाई । उ भन्दैथियो, 'तै तिम्रो त सौतेनी भए नि आमा त हुनुहुन्छ घरमा । मलाई त आज साह्रै न्यास्रो लागेको छ यार । के गर्नु, मरेकि आमालाई आज भेट्न पाईने भनेभए म त मरेरै भएपनि जानेथिएँ बरु ।' आमा नहुनुको पीडा उसले यस्तरी ओकल्यो कि म झन रन्थनिएँ । बाटोभरी महेशले आफ्नो मनको तितो सुनाईरहयो मलाई । यत्तिका मनका कुरा सुनाउने उसले मलाई पागल सम्झिंदैनरहेछ भन्ने सोच्दै पनि थिएँ म । क्याम्पस पुग्ने बेलामा उसले भन्यो, 'साँची आजभोली तिमीलाई ठिक भएजस्तो लाग्यो । औषधी खाँदैछौ होला नि? तिमीलाई आफुलाई त बौलाको छु जस्तो लाग्दैन होला नि?' मेरो हरेक विश्वास यसरी नै त क्षणमै ढलेर जान्थ्यो । यो पनि कुन नौलो कुरा भयो र ? क्याम्पसमा पहिले निक्कै साथीहरु थिए मेरा तर मलाई पागल भनिन थालेपछि साथीहरु सबै टाढा भए । म एक्लै हिंड्छु ।

जैलेदेखि म पागल भनिन थालेँ तैलेदेखि म भित्र बनेको बिश्वासले मलाई कहिल्यै काम दिएन । म आफुलाई ठिक छु भन्थेँ तर कैलेकाँहि के के गर्छु रे जो म थाहा पौँदिन । त्यसकै भरमा मलाई धामीझाँक्री, डाक्टर, बैद्य ईत्यादि गरिन थालियो र म झन पागलमा दरिँदै गएँ । म थाहा पाउँदिन तर भन्छन् म सानो बच्चा देख्ने बित्तिकै बच्चालाई बोकेर दगुर्छु रे 'आमा मैले निकालें बच्चा, आउनु बाहिर आउनु । मैले बच्चा निकालिसकेँ' भन्दै ।

मनोविज्ञानको कक्षामा थिएँ म । 'मानिसहरु किन आत्महत्या गर्छन्?' भन्ने विषयमा प्राध्यापक भट्याईरहेका थिए । कक्षाकोठामा हल्ला उत्तिकै थियो । जति हल्ला बढ्थ्यो उति जोडले भट्याउने यि प्राध्यापकले कहिल्यै कसैलाई हल्ला नगर भनेको सुनेको छैन मैले । यन्त्रझैं खुरुखुरु भट्याएर निस्किने प्राध्यापकको कुराले मलाई भने भित्रभित्र पेलिरहेथ्यो ।

'आत्महत्या गर्नलाई ठुलो कुरै चाहिँदैन मान्छेलाई । अनावश्यक कुराहरुलाई नै ठुलो बानाएर पनि मान्छेहरु आत्महत्या गर्छन्.........' यस्तै यस्तै भट्याईरहेथे उनि । मानसिक रोगीको बारेमा पनि उनि केहि भन्दैथिए, 'मानसिक रोगीहरु सँधै खुल्ला रहने सयौं विकल्पहरु देख्न असमर्थ हुन्छन् र आत्महत्या मात्र यौटा विकल्प देख्छन् ।'

मानसिक रोगीको कुरा उठ्दा मलाई मानसिक रोगी ठानेर सबैले हेरेको झैं लाग्यो । वरीपरि फर्किफर्कि हेरेँ । सबैका आँखाहरु मलाई नै मानसिक रोगी भन्दै ताकिरहेका थिए । कक्षाबाट बाहिरिँदा मलाई आफु मानसिक रोगी होईन भन्ने कुरामा बिश्वास थियो तर अर्को कक्षामा पनि मानसिक रोगीहरु र आत्महत्याको कुराले नै मेरो मनमा छटपटि बढिरहयो ।

बाँकी कक्षाहरु नपढि म क्याम्पसबाट पनि बाहिरिएँ । ठेगानले म केहि सोच्न सकिरहेको थिईंन । सोचाईका अनेकौं टुक्रे उतारचढावले मलाई भित्र भित्र हल्लाईरहेको थियो । म अनियन्त्रित थिएँ । घर आईपुगेछु । सरासर आफ्नो कोठामा पसेँ । टेबलमा मेरो यौटा कपि खुल्ला देखें । बैनिले लेखेकि रहिछ, 'दादा, मेरो एक्स्ट्रा क्लासको लागी म छिट्टै निस्किएँ । तपाईं खाना खानु ल? आज सबै मैले पकाएकि हुँ । आमाले केहि पकाउनुभएन । आमा आज धेरै रुनुभयो । आज आमा रुँदा मलाई आफ्नै आमा रोए जस्तै लाग्यो । तपाईंले पनि अब आमालाई आफ्नै आमालाई जस्तै सम्झिदिनु है । तपाईंलाई पनि आमाले धेरै माया गर्नुहुन्छ । आमाले तपाईंलाई पागल होइन भन्नुहुन्छ । तपाईंलाई आमाको धेरै माया लागेर त्यस्तो भएको रे...........'

बैनिले लेखेको कुराले म भित्रभित्रै रोएँ । उठेर बैनिको कोठामा पुगेछु । ढोकामा ताला लगाएकि थिई । बाहिर उसको कुर्थासुरुवाल र सल धोएर सुकाएको थियो । तिनै सुम्सुम्याएर म आफ्नो कोठामा फर्कें ।

'म किन रोईरहेछु?' आफैंलाई सोधें । सानीआमासँग नरत्तिएकोले हैन । आफ्नै आमाको सम्झनाले म रोएको हुँ जस्तो लाग्यो मलाई । मेरी आमा बित्नुभएको त्यो दिन सम्झें मैले । म यहि कोठामा बसेर परिक्षाको तयारी गर्दैथिएँ । आमा बैनिलाई लिएर अर्को गाउँको पुराणमा जानुभएको थियो । दिउँसो तीनबजे खबर आयो आमा त्यहि पुराण लगाएको घरसँगै जलेर खरानी हुनुभयो । म त्याँहा पुग्दा बैनि मुर्छा परेकि थिई । आमा हुनुहुन्थेन । बाबा पनि अफिसबाटै पुग्नुभएको थियो तर बौलाहाले जस्तै जे पायो त्यहि भन्दैहुनुहुन्थ्यो । बाबालाई त्यसरी बिक्षिप्त अवस्थामा देखेर होला मलाई म दह्रो हुनुपर्छ जस्तो लागेको थियो । त्यसदिन पनि नरोएको म त्यसदिन देखि कहिल्यै रुन सकिँन ।

आँगनमा पुराण समापनको कार्य भैरहँदा सेलरोटी पकाउँदै गरेको आगोले घर सल्किन सुरु गरेछ । आगो नियन्त्रण भन्दा बाहिर गैसकेको बेला सबै भागेर लाखापाखा लागेछन् । त्यस्तैमा, कोठामा कोहि छिमेकीको सानो बच्चा सुताईरहेको थाहा भएछ । बच्चालाई निकाल्न आमा कुदेर घरभित्र पस्नुभएछ र निस्कन नसकि बच्चासँगै भित्रै जल्नु भएछ । सम्झिँदा अहिले पनि जिरिङ्ग हुन्छ मेरो मन र आमाको त्यो साहसलाई सलाम गर्न मनलाग्छ । त्यसदिन देखि रुन बिर्षेको मेरो आँखा आज बिहानै देखि चुहिन खोज्दैथिए ।

यस्तोबेलामा मन खोलेर बातगर्ने मेरी साथी बैनिमात्र थिई । उसँग धेरै कुरा गर्ने ईच्छा भयो मलाई । तर उ स्कूल गैसकेकि थिई । म फेरी बाहिर निस्किएँ र सुकाईरहेको बैनिको सल झिकेर कोठामै पसेँ ।

दिमागमा महेशको कुरा आयो, 'आजको दिन मरेकि आमालाई भेट्न पाइने भए म मरेरै भए पनि आमालाई भेट्न जानेथिएँ ।' आज मर्यो भने आमासँग भेट हुन्छ भन्ने बिश्वास म भित्र पलायो र एकैछिनमा झ्याङ्गियो । प्राध्यापकको कुरापनि दिमागमा खेल्यो, 'मान्छेहरुलाई आत्महत्या गर्न ठुलो कारण नै चाहिंदैन ।' तर म मा के कारण छ आत्महत्या गर्नलाई र म आत्महत्यातिर उन्मुख भैरहेछु ?' आफैंलाई प्रश्न गरें ।

मैले मर्नुहुँदैन भन्ने विचार उठ्यो । म मरें यदि भने बैनिलाई के हुँदो हो ? बाबाले के सोच्नुहुँदो हो? अनेक तर्कना खेल्न थाले मनमा । यदि म मरें भने भोली ककस्लाई के फरक पर्छ भन्ने कुरा धेरै सोचें । मलाई बैनिको भन्दा पर्तिर कसैको माया लागेन । बैनि केहि दिन दुखि होलि तर उसले सजिलै बिर्षिन्छे मलाई । सानीआमासँग राम्रै झ्याम्मिएकि छे उ । बाबालाई त केहि फरक नपर्ला उनको साथी सानीआमा छँदैछन् । सानीआमासँग मलाई सरोकार नै छैन । म आफैं प्रति कठोर बन्दै गएँ ।

'आत्महत्या गर्नेलाई ठुलो कारण किन चाहिन्छ र? उनिहरु त्यसै मरिदिँदा होलान् । आफ्नो पटक्कै माया नलागेपछि उनिहरुलाई अरुको मायाले के थाम्न सक्थ्यो?' यस्तै यस्तै कुराले मेरो दिमाग उम्लिरहन थाल्यो । मैले आत्महत्या गर्ने एक प्रकार निश्चय गरेँ । 'म मर्न त सक्छु तर मर्दा मर्दै मलाई बचाउन कोहि आएभने के होला?' भन्नेतिर मेरो ध्यान गयो ।

कोठाबाट बाहिर निस्केर घरमा चालचुल सुनें । चकमन्न छ । कोहि छैनन् घरमा । बैनि स्कूल गएकि छ । बाबा अफिस जानुभएको छ । सानीआमा घरमा हुनुहुन्न । परिवेश उपयुक्त देखेर म फेरी कोठामा पसें । दिमागमा आज मर्न पाएँ भने म आमालाई भेट्छु भन्ने निश्चय बनेको थियो । त्यसमाथि लाग्यो अझ बैनिको सलमा झुण्डिएर मरें भने आमालाई बैनिको खबर समेत थाहा हुनेछ । सायद त्यसैको लागी मैले अगि बैनिको सल बोकेर आएको हुँ भन्ने पनि लाग्यो । मैले बैनिको सललाई घाँटीमा सुर्काउने गाँठो पारेर बाँधे ।

मलाई थाहै थिएन आत्महत्या गर्दा पहिले घाँटिमा बाँधिन्छ कि झुण्डिने ठाउँमा? पहिले घाँटिमा बाँधेर झुण्डिने ठाउँमा बाँध्न अप्ठ्यारो हुने रहेछ । मैले घाँटीबाट सुर्काउने गाँठो खुकुलो पारेर सल झिकेँ र कोठाको कोरामा कुर्शी राखेर अर्को छेउ बाँधे ।

त्यसपछि सम्झिएँ । म मरिसकेपछि मेरो आत्महत्यालाई हत्या भनेर घरमा अरुलाई प्रहरीले दुख देला । त्यसैले बैनिले नोट लेखेको कपिमा लेख्न थालेँ, 'म आज आमालाई भेट्न जाँदैछु । यो मेरो विश्वाश हो कि आज मरें भने म आमालाई भेट्नेछु र आमासँगै बस्नेछु । मेरो मृत्युमा कसैलाई दोष नदिईयोस् । यो आत्महत्या होईन, देहत्याग हो । राजीखुशीले म मेरो देहत्याग गर्दैछु । मलाई पागल भन्नेहरुलाई मेरो केहि भन्नु छैन । तर म पागल कहिल्यै थिईंन । मैले सकेसम्म सामान्य क्रियाकलाप गर्दापनि सबैलाई त्यो पागलले गर्ने असामान्य क्रियाकलाप जस्तो लाग्थ्यो भने त्यसमा मेरो केहि भन्नु थिएन र कसैसँग गुनासो पनि छैन । तर आईन्दा समाजले कसैको पनि मर्म नबुझि कसैलाई पनि पागल नभनिदेवोस........' मैले नोटमा धेरै लेख्न सकिँन । लेख्नु आवश्यक पनि थिएन । पागल भनेर चिनिएर बाँच्नु भन्दा मर्दा नै मैले शान्ति पाउँछु भन्ने पनि मलाई विश्वास थियो ।

म उठेँ र कुर्शीमाथी चढेँ । अब मलाई आफु जीवन र मृत्युको धेरै नै मसिनो रेखामा उभिएको छु भन्ने बोध भयो । मनमनै फेरी दोहोर्याएँ, 'पागल नभै मलाई पागल भन्ने यो दुनियाँमा कस्को निमित्त मैले बाँच्नु छ? किन बाँच्नु छ? जे जति थिई यौटी बैनि थिई उसले मलाई माफ दिओस् । म आमालाई भेट्न जान्छु । एक जान्छु, दुई जान्छु, तीन जान्छु....'अठोट बन्यो मनमा । अनौठो शक्तिले मलाई सलको पासोमा टाउको छिराउन अह्राउँदैथियो । म आफ्नो वरिपरी घना अन्धकारको कल्पना गर्दैथिएँ ।


२०५२/५३ तिर आगलागीमा परेको बच्चा निकाल्ने साहस बोकेर जलिरहेको घरभित्र पसि त्यहिँ जलेर खरानी हुनुभएको ती साहसि आमा र वहाँकै बियोगपछि विक्षिप्त बनेका छोरा, मेरो साथी दीपक बिष्ट, जस्ले २०५४ सालको मातातिर्थ औंशीका दिन आत्मदाह गर्नुभएको थियो, प्रति वहाँहरुको आत्माको चीर शान्तिको कामना गर्दै २०५४ साल जेष्ठमा लेखिएको कथा । मुख्य कथा वास्तविक भएपनि सम्बादहरु र देखाईएका घटनाक्रमहरुलाई मैले काल्पनिक रंगले पोतेको छु ।

कथा : रोगी घाम

कत्रो मुर्खता! कत्ति न बिधी माया गर्छे मलाई भनेर मख्ख परेको रहेछु म । आज सम्झन्छु, कता कता सपनामा पो भेट भएको थियो कि अथवा कथामा पो पढेको थिएँ कि जस्तो लाग्छ । साँच्चै मान्छे त मैले माया पाएको छु भन्ने भ्रम पालेर पो बाँच्दो रहेछ । अझ मैले माया गरेको छु भन्ने भ्रम फैलाउन त झन खप्पिस हुँदो रहेछ ।

आज बुझ्दा मान्छेले माया पाएको अनि माया दिएको त मैले कहिँ पनि देखिंन, आफ्नै जिन्दगीमा पनि ।

एकदिन, एकझर दर्के पानी परेर आकाश सफा भएको थियो । साँझको बेला पहेँलो घाम टिलिली लागेर रमाईलो पारेको वातावरणमा असारे फूलको फूलैसँग लत्रेको हाँगो सम्हालेर तह लाउँदैथिई उ । उसको खुट्टाभरी माथी पिँडौलादेखि नै पहिले पानीले निथ्रुक्क भिजेका असारे फूलहरु पोखिएका थिए अनि त्यसमाथी पहेँलो घाम पोतिएको थियो । मैले उसको खुट्टाहरुमा मन लठ्ठै पार्ने तर मेसो नबुझिने कुनै अमुर्त चित्रकारी देखें र ट्याप्पै समातेर चुमिदिएं उसको खुट्टा । उ छक्क परेर मलाई हेर्न थाली । वाक्यमा उसले चुँ! सम्म उच्चारण गर्न सकिन तर आँखाले मसँग यतिविघ्न बातमारे जस्तो गरी कि, केके भनी केके; मैले परि लाउंनै सकिंन । अनि मैले नै भनिदिएँ, 'तेरो यो घिनलाग्दो खुट्टाभरी यसरी नै फूलहरु सजिईरहुन् अनि म सँधैं चुम्न पाईरहुँ ।'

उ अझै अवाक् उभिएर मलाई हेरिरहेकि थिई । उसको मुहारभरी पनि पहेँलो घाम छताछुल्लपोतिएको थियो र उसलाई सुवर्णको प्रतिमाझैं टलक्क पारेको थियो । न उसका आँखाका पुतलीहरु नै चले, न उ नै चल्मलाई । यहाँसम्म कि ठिक त्यतिबेला उसको कपालको यौटा केशसम्म पनि हल्लाईदिन त्यहाँ बतास धरी आईदिएन ।

त्यसबेलासम्म उसले मलाई कम से कम मुस्कानले स्वागत गर्नुपर्थ्यो । तर अहँ, उ त प्रस्तर मुर्तिझैं ठिङ्ग उभिई मात्र । मान्छेहरुलाई कसरी जङ्ग चल्छ कुन्नि मलाई भने त्यसबेलासम्म जङ्ग चलिसकेको थियो । यो आदत मलाई सँधैभरी बिझाईरहन्छ । यस्तोबेलामा म केहि न केहि बिगार गरिहाल्छु । मैले नजिकै भएको गमलालाई कस्सेर लात्तले हानिदिएँ । उ नराम्रो गरी झस्की । उसको मुहारमा यौटा गमला फुटेर जानुको पीडा भरिएर आयो र पोखिएर गयो पनि । रुन्चे आँखाले मलाई हेरेर उसले बल्ल भनि, ' नाईँ के, तपाईं त जहिले पनि यस्तै गर्नुहुन्छ ।'
उ गमलानेर आई । फुटेर छरिएको गमलालाई छोई र उठेर भनि,' धन्न! यस्मा भएको फूल अर्को गमलामा पनि छ ।'

यसो भनेर उ मैले गरेको गल्तिलाई गल्ति नै हैन भने झैं पार्न खोजिरहेकि थिई । मलाई थाहा थियो जति चित्त दुखेपनि उ मेरो गल्ति प्रति चित्त नदुखेजस्तो ब्यावहार गर्थी । उ मेरो छेवैमा आई र काननेर मधुरो बोली, 'चिसो पानी ल्याईदिउँ?'

म राम्रै सेलाईसकेको थिएँ । मलाई लाज लागीसकेको थियो । भर्खरै गरेको उपध्रो पचाउने बहानामा मैले थेतरिँदै भनें, 'अहँ मलाई त मोई चाहिन्छ ।'

'मोई?' झट्ट म तिर नजर फर्काएर सोधी उसले ।

मैले चोर औंलाले उसको दुबै ओठहरुलाई छोएर त्यहि औंला चुम्दै भनें, 'अँ मोई ।'

उसले मेरो अघिल्लो चाल बुझि सायद स-साना फूलिरहेका तिउरी फूलहरु फट्किएर नाघ्दै फूलबारीको पल्लो छेउमा पुगेर भनि, 'मोई त भा'पो । आज पारेकै थे'न ।'

यसरी बित्थे हाम्रा रमाईला दिनहरु । कैले नदि जस्तै सलल बग्थ्यो त कैले बगर जस्तै स्थिर पनि रहन्थ्यो । म आफ्नै मनको क्यानभासमा कल्पनाको कुचि चलाएर बिभिन्न रंगहरुले आफ्नै भविश्यको चित्र कोरिबस्थें । साँच्चै पनि चित्रहरु कोर्दा म आफ्नै भविश्यको दिनहरुको कथा कोर्न खोज्थें । चित्रमा म आफुलाई मनपर्ने पँहेलो रंगलाई सकेसम्म सामेल गराउन खोज्थें र त्यसले जहिले पनि मेरो भविश्यको चित्रलाई रोगी बनाईदिएझैं लाग्थ्यो ।

अर्कोदिन म आफुले बनाएको यौटा चित्र लिएर उसलाई देखाउन गएँ । चित्रमा सानो यौटा पराले झुपडी, आँगनको कुनामा यौटी नारी भाँडा माझीरहेकि, उसका वरिपरी तीनवटा भाल्टाङ भुल्टुङ कोहि खेल्दै गरेका, कोहि रुँदै गरेका र आँगनको अर्को छेउमा यौटा पुरुष भैंसीको पाडो तान्दै गरेको देखिन्थ्यो । पक्का नेपाली गाउँको कुनै घर परिवारको सजीव चित्रण गर्ने सक्दो मेहनत गरेको त्यो चित्र उसलाई देखाउँदै मैले भनेको थिएँ, 'ल हेर हाम्रो भविश्यको चित्र ।'

मेरो चित्र हेरेर उसले हाँस्दै प्रश्न गरेकि थिई, 'बस् यस्तै? के हामी यो भन्दा माथी जाँदैनौ?'

प्रत्युत्तरमा मैले भनेको थिएँ। 'यो वातावरणको सुख हेर न, यहाँ भन्दा माथी गएपछि यो सुख कहाँ रहन्छ?'

'लु भयो यस्तो संसार तपाईंको कल्पनामा मात्र हुन्छ मेरो कल्पनामा यो भन्दा अर्कै हुन्छ ।' त्यसदिन उसको फुर्सद नभएर वहस अगाडी बढेन । तर उसको कल्पनामा सँधै भौतिक सुबिधाले सम्पन्न भविश्यको चित्र हुन्थ्यो भने मेरो कल्पनाले सँधै सुबिधालाई भन्दा सुखलाई जोड दिन्थ्यो । भौतिक सुबिधा प्राप्त गर्नु नै सुख हो भन्ने उसको गलत धारणालाई मैले सच्याउन बाँकी थियो । त्यो बाँकि नै रहयो ।

मलाई दिनहुँ उसँग नभेटि हुदैनथियो । प्रायजसो म साँझतिर नै उसलाई भेट्न जान्थें । खाडीको पिपलको रुख, गाउँ नजिकैको चउर र खोला किनारको समिको फेद ईत्यादि हाम्रा खास खास ठाउँहरु थिए साँझमा टहल्ने । उमेरले म भन्दा केहि सानी उ शारिरिक बनावटले अझै सानी थिई । उसको कोमल मन र छरितो सानो शरिरमा प्रसस्तै संयम र साहस थियो ।

एकोहोरो सान्निध्यताले हाम्रो माया साँच्चै हो को भ्रम सम्म आईपुगेछ । अहिले हेर्दा त्यो भ्रम रहेछ भन्ने ज्ञान छ म भित्र तर उ बेला मेरो लागी पनि यथार्थ थियो । त्यहि भ्रमले हामीलाई एकाकार बनायो । भ्रमले नै हामी माझ समझदारी र सामाञ्जस्यता स्थापना गरायो । तब हामीले केहि कुरामा टाउको दुखाईरहनु पर्ने भएन र केहि कुरामा नदुखेको टाउको पनि दुखाउनु पर्ने भयो । हामीले आ-आफ्नो मनबाट आपसमा नमिलेका केहि रहरहरु च्यातेर मिल्कायौं अनि आपसमा मिलेका थप केहि रहरहरु सजायौं ।

हामी क्रमश दुबैलाई मनपर्ने रंगहरु घोलेर भविश्यको साझा चित्र तन्मयताका साथ कोर्न थाल्यौं ।

अर्को एकदिन, साँझकै बेला उ आँगनमा बसेर सब्जीको लागी फर्सीको मुन्टा केलाउँदैथिई । मैले देखेँ उसको सारा शरिरलाई पँहेलो घामले अँगालो हालेको थियो । पँहेलो म्याक्सी भित्रबाट निस्किएको उसको खिरिलो पाखुरा, दुब्लाएको जस्तै देखिने उसको अनुहार, अलिकति देखिएको उसको छातिको माथिल्लो भागको हाड सबैमा पँहेलो घाम पोतिएर उसलाई रोगी जस्तै देखेँ मैले ।

दृष्टि फेर्नलाई मैले आँगन वरिपरी नजर दौडाएँ । रबरको विरुवा, अशोकको सुरिलो बोट, घण्टी फूलको बुट्टा, आँगनवरिपरी फुलिरहेका अरु साना फूलहरु सबैकुराहरु एकनाससँग पँहेलो घामले लिपिएका थिए र सबै सबै नै रोगी देखिएका थिए । मैले फेरी उसलाई हेरेँ । उ झनै रोगी देखिई ।

एकाएक मलाई त्यो बातावरणको पँहेलोपना बिझाउन थाल्यो । बिझाउनु मात्र हैन सबै सबै पँहेलो देखेर मलाई बान्ता हुन लागेझैं भाउन्न छुट्यो । मेरो मुखबाट अचानक निस्किएछ, 'छि! आज कस्तो रोगी घाम लागेको ।'

'किन नि, तपाईंलाई त यस्तै पँहेलो घाम मनपर्थ्यो त?' आश्चर्यमा परेर उसले भनी ।

'हो हुनत, तर खै किन आज सबै कुरा यो पँहेलो घामले रोगी देख्दैछु । तँलाई पनि ।' मैले मनमनै भनेँ, 'बरु तँ भित्रै बसेर तरकारी केला न ।'

प्रकटमा म केहिपनि बोलिँन । उ त्यहि रोगी घाममा बसेर फर्सीको मुन्टा केलाउन तल्लिन थिई । म भने पुरै वातावरणलाई र उसलाई झनझन रोगी देख्दैथिएँ ।

निक्कै लामो तिथीमिती पचाईसक्यो समयले । आज समय लगायत धेरै कुराहरुले मलाई पछि छोडेको छ । मेरी उसले पनि मलाई छोडेर गैसकी तर यो रोगी घामले भने मलाई अझै छोडेको छैन । अझैसम्म लखेटिरहेको छ यो रोगी घामले मलाई ।

म भागीरहेँ यो रोगीघाम देखि । अझै भागीरहेकै रहेछु । आज सोच्दैछु म किन ब्यर्थै तर्सेर भागीरहेछु यो पँहेलो रोगी घामदेखि ? म नभागे के हुन्छ? पहिले पहिले मलाई साँझको पँहेलो घाम साह्रै प्रिय लाग्थ्यो । एक्कासी किन म पँहेलो घामलाई रोगी देख्न थालेँ ? के भ्रम हो यि दुईवटामा ? पहिले पहिले पँहेलो घाम प्रिय लाग्नु भ्रम हो कि? पँहेलो घामलाई रोगी देख्नु भ्रम हो ? म सोचाईहरुको भूमरीमा पस्न थालेँ । यस्तो पनि लाग्यो कि म यो रोगी घामदेखि भागेरै त आजसम्म आएको छु नत्र उहिल्यै मलाई यो रोगी घामले उम्कनै नसक्ने गरेर अँठ्याउंने थियो ।

हैन त्यस्तो नहुन पनि त सक्छ । मैले साँझको घामसँग आमनेसामने भएर भलाकुशारी गर्न थालेँ भने त्यो घामलाई म रोगी नदेख्न पनि त सक्छु । त्यहि पँहेलो घाम मलाई फेरी प्रिय लाग्न पनि त सक्छ । ओच्छ्यानमा पल्टिएको थिएँ म । पल्टि पल्टि मैले आफ्नो गाला मुसारें । हात पाखुरा छामें । लाग्यो म रोगी घामदेखि भागेको भाग्यै पो बरु रोगी भएँ कि? अवश्यै म उबेला फर्सीको मुन्टा केलाउँदै गरेकि उ जस्तै रोगी देखिएको छु होला । आजभोली सबैले मलाई दुब्लाएर झिट्टी भैसकिस भनेर दया पोख्छन् । मलाई आफ्नो अनुहार ऐनामा हेर्न मन भयो । आज यो कोठामा ऐना छैन । ऐनाको आवश्यकता नरहेपछि यो कोठाको ऐना हटाईसकिएको छ । मलाई उठेर ऐनासम्म पुग्ने जाँगर आएन तर सम्झिएँ कि यौटा सानो ऐना टेबल मुन्तिरको सन्दुकमा उसको सामानहरुसँग छ । सुतिसुति अलि लम्किएर मैले सन्दुकबाट ऐना निकालेँ । ऐनासँग यौटा सानो फोटो अल्बम पनि बाहिर निस्कियो । त्यसमा सबै उसका तस्विरहरु छन भन्ने थाहा थियो । सबै तस्विरहरु मैले पहिले सयौं पल्ट हेरेको पनि छु फेरिपनि मलाई ऐना हैन फोटो अल्बम नै हेर्न मन लाग्यो । पल्टाएँ उसको पहिलो तस्विरमा उसले मलाई छोडीसकेपछिको कुनैदिन मैले आफैंले लेखेको रहेछु ।

तँ छैनस् अब एक स्थलमा सर्वत्र ब्याप्त छेस्
देख्न दिमागमा र छुन दिलमा प्रयाप्त छेस् ।

अझै पनि दुख्छु म उ छैन भन्ने कुराले । यो दुई लाईन कविता लेख्दा कति दुख्दै लेखेँ होला ? त्यत्रो दुख्दा पनि उसलाई मैले यहि दिलमा छामेर सञ्चो भएँ कि ? फेरी दिलमा छामेर हेरेँ र सोचें कसरी आयो खै त्यत्रो ठुलो वियोगमा यत्रो आत्मज्ञान ? मलाई अल्बमको थप पाना पल्टाउन मन भएन । ऐना र अल्बम छोडेर म बाहिर निस्किएँ । उसैगरी आज पनि साँझ नै थियो । उसैगरी आजपनि पँहेलो घाम नै सर्वत्र पोखिएको थियो । मलाई यो घामलाई रोगी भन्न मन लागेन र यो पँहेलो घाम त्यति प्रिय पनि लागेन । यो पँहेलो घाम पहिले प्रिय लाग्नु त्यसपछि रोगी देख्नु सबै भ्रम रहेछन्, सबै सत्य रहेछन् । पहिले उ हुनु र अहिले उ नहुनु पनि भ्रम र सत्य दुबैकुरा रहेछन् । केहि पनि सत्य होईन रहेछ । केहि पनि भ्रम होइन रहेछ । मलाई आफु बराबरी सत्य र बराबरी भ्रमको माझमा उभिएको महसुस भयो र त्यहि माझैमाझ बरु सजिलो हिँड्ने बाटो भेटेको महसुस भयो ।

सबै प्रकारका कुलतहरुबाट टाढा बसेको थिएँ म तर आज मेरो खल्तिबाट मेरै हातहरुले चुरोट झिकेर ओठलाई च्याप्न अह्राए र सलाई कोरेर सल्काईदिए । म रोगी घामसँग अब देखि भाग्दिंन भन्ने अठोट गर्दै पँहेलो घाम अनुहारमा पारेर चुरोट फुक्न थालेँ बेफिक्री ।

January 15, 2010

लघुकथा : निरुत्तर

लामो समयको परदेश बसाईपछि म केहि दिनलाई घर फर्केको थिएँ । म आएको थाहा पाएकै दिनदेखि मेरा एक मित्रले खाना खाने निम्तो गर्दै मलाई बारम्बार फोन गर्ने गर्दथे । एक त आफ्नै ब्यस्तता त्यसमाथि छिरिक्क कतै निस्कन नसकिने गरेर मौलाएको बन्द संस्कारको वावजुध एक साँझ मित्रलाई फोन गरेर उनको घर पुगें म ।

म पुग्दा मेरा मित्र रीसले चुरचुर भएर लगभग काम्न लागेको अवस्थामा थिए । उनको आँखा हेर्दा लाग्थ्यो आँखैमा उनले आगोको खेती गरेका छन् । उनको सामुन्ने उनकि श्रीमती र कामगर्ने बाह्र/चौध वर्षे केटो सातोपुत्लो उडेझैं थर्कमान अवस्थामा थिए । स्थिती नियाँलेर मैले मित्रलाई शान्त बनाउने प्रयास गर्दै के भएको हो जान्न चाहें ।

मित्रले बिस्तार लगाए अनुशार त्यो बाह्र/चौध वर्षे केटोलाई बजारबाट केहि विदेशी रक्सी किन्ने जिम्मा लगाईएको रहेछ जो बन्दको कारणले उसले पुरा गर्न सकेन । त्यस्तै उनकी श्रीमतीलाई खसीको मासु बनाउन सुझाईएको रहेछ त्यो पनि बन्दकै कारण उनले पुरा गर्न सकिनछन् र त्यति कारणले मेरा मित्र दुर्वाशा बनेका रहेछन् । मैले 'त्यो सब कुराहरु नभए पनि यतिका वर्षपछिको भेटमा हामी त्यसै रमाईलो मान्न सकिहाल्छौं नि । आँखिर मित्रतामा हार्दिकता भन्दा ठुलो अर्थोक के हुन्छ र?' भनेर सम्झाएपछि मेरा मित्र राम्रै सेलाए र हामीले जे भएको खानपान गर्यौं र त्यो साँझलाई निक्कै आत्मिय बनायौं ।

निक्कै सौहार्दपूर्ण बातचित, खानपान सकेर म विदा हुँदैथिएं, मेरा मित्रले फेरि एकपल्ट मलाई खसीको मासु खुवाउन र विदेशी रक्सी पियाउन नसकेको प्रति खुनखुन गर्दै एक एक मेलो कामगर्ने केटोलाई र श्रीमतीलाई हपारे र म तिर मुखरित हुँदै 'यो देशमा कहिल्यै शान्ती नआउने भयो बुझ्नुभयो ?' भन्दै मलाई विदा गरे ।

फर्कंदा बाटोभरी मेरो मनमा कुरा उठिरहयो, 'के शान्ती कुनै मिति हो र यो यसबेला आउनुपर्छ भन्नलाई ? र शान्ती कुनै स्थान पनि त होईन जो यात्रामा हिंड्दा फलानो ठाउँपछि आउँछ भन्न सकियोस् । जाबो खसीको मासु र रक्सी नजुट्दैमा आफ्नै घरको शान्ती त्यस्तरी खल्बल्याउने मेरा मित्रले कस्तो शान्तीको प्रतिक्षा गरेका होलान् ?' मेरो मगजमा यो प्रश्न निरुत्तर रहिरहयो ।

June 20, 2009

लघुकथा : कामना

गाईबस्तुको भकारो फालिसकेर सुकेका स्याउला हालेर थलोको खाल्टो छोप्दै थियो सुखमान । तलतिरबाट केहि मान्छेहरु हल्लाखल्ला गर्दै उसकै घरतिर उकालो आउँदै थिए । हातको स्याउला हातमै लिएर हेर्दा उसले उसकै भाइ सन्तमान र बुहारी एकदुई अरु छिमेकीका साथ उज्यालो अनुहार बनाएर उँचो उँचो स्वरमा बोल्दै आउँदै गरेको देख्यो ।

बुहारी भन्दैथि'न् , 'अब त यो पैसोले घरमा टिन् ठोक्नु पर्छ बुढा । सप्पैका टिनका छाना भैसके ।'

'ठोकुम्ला न । अलिकति बारी पनि जोड्न पर्ला भनेर सम्जे'थेँ मैले त ।' ठुलै भाग्यशाली चिठ्ठा हातपरेको रवाफ थियो सन्तमानको ।

त्यतिञ्जेल सुखमानको करेसामै उक्लिसकेका थिए उनिहरु । छिमेकी बिजुवा बाले थपे , 'यत्रो बिधी पैसो पा'असि जे जे गरे नि भो नि अब । बाह्र वर्षमा त खोलो पनि फिर्छ भनेको ठ्याक्कै पुग्यो सन्तमान भाइ तिमीलाई ।'

'सन्तमानलाई के को गाड्धन मिलेछ त ?' बुझ्ने मन भयो सुखमानलाई तर सोध्न सकेन उसले । उनिहरु दाजुभाइको पानी बाराबार भएको अझै बोलचाल छैन ।

हातको स्याउला अझै हातमै लिएर मुर्ति जस्तै ठिङ्ग उभिएको सुखमानलाई देखेर सन्तमानले उभिएरै भन्यो , ' ए दाजै , सरकारले ३ लाख रुप्पे दिया छ हाम्लाई क्षेतिपुर्ति...... '

सन्तमानले बताईसक्न नभ्याउँदै बुहारीले भनिन् , 'के सुनाउंउछौ नि बुढा ईन्लाई ? उ बेला हाम्रो छोरा मर्दा खुशी हुनेलाई । उन्का छोरा पनि तेई लडाईँमा गा'छन् । हाम्रो छोरा मर्दा चैं खुशी हुने असतीहरु ।'

उनिहरु फटाफट उसको करेसो कटेर उकालिए । सुखमानलाई भन्को छुटेझैं भयो । हातको स्याउला फ्यात्त फालेर उ बस्तुको किलो समाएर घाँसहाल्न तेर्स्याएको ढाटमा बस्यो । उसको भाइ सन्तमानका तिनभाई छोराहरु । ति मध्ये माईलो लडाईंमा परेर मरेको बेला उसले सम्झाएथ्यो , 'ए नरोउ अब । रोएर मरेको मान्छे फर्कँदैन । तिमरका त अरु दुईभाइ ज्युँदै छन् । मेरो यौटै भ'को नि लडाईंमै गा'छ । मरेको त मरिगो बाँचेकाको मुख हेरेर मन बुझाओ ।'

त्यसैबेला चर्केकि थिन् उसकि बुहारी , '......तिम्रा छोरा नि मरेको दिन था'पाउँछौ ?... '

'अझै टेक लिरा'रान् त्यति कुरामा । मैले खुशी भ'र त भनेको थिँन् ।', खुईय! काढ्यो उसले ।

'...यो पैसोले घरमा टिन् ठोक्नु पर्छ... ' बुहारीकै कुरा उसको कानमा फेरी आएर पस्यो । उसले आफ्नो छानो सम्झ्यो । बर्खामास झरीमा सुत्दा ओच्छ्यानमा चुहेको पानी थाप्न भाँडा राखेको सम्झ्यो ।

'थुक्क ! कस्तो जुनी हो दैब मेरो यस्तो । एउटा भ'को छोरो पनि ख्वै कता के खोरमा हो कि शिबिरमा हो राख्या छन् रे । कैले सम्मन् राख्दा हुन् ? छोडीदिए पनि त यो बुढेशकालमा घरमा मलाई काम सघाउँदो हो ? बस्तुको थलोमा यत्रो खाल्डो परेको छ म बुढो एक्लै पुर्न सक्दिँन । छोरो भएर मात्र पनि के गर्ने ? बरु यसै घर थिएन उसै घर थिएन मरेकै भए पैसो त आउने रहेछ ।'

'हैन के भन्छौ ए काजीका बाउ ? तिमीलाई छोरोभन्दा पैसो ठुलो हुने भो अब ?' श्रीमतीको तिखो आवाजले झसङ्ग भयो सुखमान । उसले पुलुक्क हेर्यो काजीकि आमा नजिकै दाउरा झिक्दै थिईन् ।

'हत्तेरिका ! मैले सारै पो बोलेछु कि क्या हो ? थुक्क ! त मलाई , कस्तो कामना गरेको हुँला मैले यस्तो ? गरीब गुरुबा भएपछि यो माया ममता भन्ने कुराको पनि केहि भेल्लु नहुने रहेछ ।' यसपटक भने उसले होसियार भएर मनमनै भन्यो ।

March 09, 2009

लघुकथा : प्रोत्साहन

देशभरी नाम चलेका केहि कवि तथा साहित्यकारहरु राजधानीबाट आएर उनकै सहरमा साहित्यिक गोष्ठी गर्दैछन् भन्ने खबरले पुलकित थिईन् देवकी अझ त्यसमाथी प्रमुख अतिथिको रुपमा हुन गैरहेको , उनले नियमित पढ्ने गरेको राजधानीबाट प्रकाशन हुने ख्याति प्राप्त साहित्यिक पत्रिकाकि सह सम्पादक एवँ उनलाई मन पर्ने नामुद लेखिकाको उपस्थितीले झनै उत्साहित थिईन् उनि । निक्कै समय देखि नै कलम चलाउँदै आएपनि उपयुक्त अवसर नपाउनाले गुमनाम रहेकि देवकीलाई कार्यक्रममा निमन्त्रणा त थिएन तर पनि श्रोता बनेर तोकिएकै समयमा कार्यक्रम स्थलमा पुगिन् र श्रोता दीर्घामा आसन जमाईन् ।

कार्यक्रम सुरुभयो । प्रमुख अतिथि बनेकि उनको मनपर्ने लेखिकाले यस क्षेत्रमा नारी हस्ताक्षरहरु देखा नपरेकाले नारीहरुलाई साहित्य लेखनमा अभिप्रेरित गर्नलाई नै यो गोष्ठी आयोजना गरिएको भन्दा उनले ति महान लेखिकाको मनमनै प्रशँसा गर्दै जोड जोडले ताली बजाईन् । गोष्ठीमा भेला भएका सबै साहित्यकारहरुले आ आफ्नो साहित्य रचना पाठ गरिसकेपछि मञ्चमै आसन प्राप्त गर्ने गरी आमन्त्रित स्थानिय नारीहरुलाई उदघोषकले साहित्य रचना भए पाठ गर्न अथवा यस साहित्यिक गोष्ठीको सम्बन्धमा प्रकाश पार्न आग्रह गर्दा मञ्चमा आसिन स्थानिय नारीहरुले मुखामुख गर्दै हामीलाई त केहि आउँदैन भनेको सुन्दा उनलाई आफ्नो सहरकै बेईज्जत भएको महसुस भयो र श्रोता दीर्घाबाट उठेर आफ्नो कविता पाठ गर्ने अनुमति मागिन् ।

कविता पाठ गरिसक्दा तालीको गड्गडाहट सहित प्राप्त वाहवाहीले प्रसन्न उनमा तुरुन्तै ति नै नामुद लेखिकाले उनको कविताको तारिफ गर्दै ओझेलमा परेको प्रतिभालाई यसरी अगाडी ल्याउन सकेकोमा यो साहित्यिक गोष्ठी उध्येश्यमा सफल रहेको भन्ने टिप्पणी गर्दा प्रसन्नताको सीमा नै रहेन । यस्ता प्रतिभाहरुलाई हामी सँधै प्रोत्साहन गर्न चाहन्छौं भन्दै टिप्पणीमा थपेकि पनि थिइन् ति प्रख्यात लेखिकाले । कार्यक्रम समाप्ती पछि देवकी आफ्नो कविताको एकप्रति लिएर ति नै नामुद लेखिका समक्ष पुगिन् र तिनको चर्चित साहित्यिक पत्रिकामा आफ्नो कविता प्रकाशन गरिदिन अनुरोध बिसाईन् । ति लेखिकाले पुन एकपटक देवकीको कविता हातमा लिएर गौरसाथ नियाँलेपछि बडो साहित्यिक ढाँचामा जवाफ दिईन् , ' तपाईंका साहित्यिक बालीहरु अहिल्यै राजधानी भित्र्याउने बेला अलि भएको छैन ; बरु यतै मोफसलकै कुनै पत्रिकामा प्रकाशन गरे हुन्छ । '

March 01, 2009

कथा : यू टर्न

साउथ किहे रोड प्रशान्त महासागरको किनारै किनार हुँदै माउई टापुको दक्षिण भेगमा वल्लो कुनादेखि पल्लो छेउसम्म हिंड्छ। माझमा व्यस्त किहे बीच प्रशान्त महासागरलाई ‘आइज, मलाई डुबा’ भन्दै घ्याक पसारेर बसेको छ। किहे बीचकै सामुन्ने बाटोवारी काठ र बाँसका भाटाले हवाइयन शैलीमा बनाइएका चिटिक्क परेका केही एकतल्ले घरहरु छन्। हेर्दा सामान्य कुनै दुर्गम गाउँमा अनेक अभावहरु सहँदै उभिएका टहराहरु जस्ता देखिने उक्त घर क्षेत्र भने आश्चर्यजनक तथा मनमोहक तवरले सजाइएको छ। आँगनमा बनाइएका साना-साना पुष्प बाटिकामा अनेकौं फूलहरु हाँसिरहेका छन्। कसैलाई एकसय आठ पुष्प चाहिएको भए उसले अन्यत्र कतै खोज्न जानै पर्दैन। माझमाझमा निर्माण गरिएका स-साना जलकुण्डहरुमा रंगीबिरंगी साना ठूला माछाहरु पानीको फोहरासँगै खेलिरहेका छन्। हरेक एउटा कुण्डबाट अर्कोसम्म पानी बग्ने सानो कुलेसोले जोडिएको हुँदा लाग्छ त्यहाँ खेलिरहेका माछाहरुलाई आफू बन्दी बनेको पत्तो नहुँदो हो। हरेक अर्को अर्को कुण्डमा पौडन स्वतन्त्र छन् माछाहरु।

परम् सौन्दर्ययुक्त उक्त बाटिका उर्वशी, रम्भा, तिलोत्तमा, इत्यादि अप्सराहरुलाई अघिपछि लगाएर ऐरावत चढी विहार गर्ने देवगणका राजा ईन्द्रको स्वर्गलोकको दाँजोमा पटक्कै कम छैन। भलै वरपर आलिशान महलहरु छैनन्। बाटिकाको चारैतिर उस्तै आकारप्रकारमा निर्मित घरहरु सबै मदिरालय सहितका आधुनिक नाचघरहरु छन्। आधुनिक जिब्रोले डान्स बार उच्चारण गर्ने उक्त मदिरालय तथा नाचघरहरु सबैको आ-आफ्नै विशेषता रहेको छ। कुनैमा अर्धनग्न नाचिने, कुनैमा सर्वनग्न नाचिने, कुनै महिला समलिँगीहरु भेला हुने, कुनै पुरुष समलिँगीहरु भेला हुने त कुनै सामान्य प्रकारकै रहेका छन् तथापि जो कसैलाई जहीँकहीँ जान उमेरको हद बाहेक अन्य छेकबन्द छैन। तिनै मदिरालयहरु मध्येको यौटा ‘टिकी लञ्ज’ नामले प्रसिद्ध नाचघरसहितको मदिरालयमा चारवटा कुना भएको बारको एक कुनामा साथीहरु पर्खेर डी बसिरहेको छ।

हातले बार टेबलमा राखेर पिउँदै गरेको रक्सीको गिलास खेलाउँदै ऊभित्रै मुटु कलेजै थर्किने गरेर बजिरहेको गीत ठम्याउने कोशिश गरिरहेको छ। एक त उसले पहिले नसुनेको जस्तो लाग्ने गीत त्यसमाथि डीजेले प्लेयरमा सीडी घोटेर फुल पार्ने बेलाको कुखुरी कोर्कोराएझैं बनाउँदा उसलाई गीत बुझ्नै गाह्रो भै रहेछ। गीतबाट हटेर उसको ध्यान डीजेमा केन्द्रित हुन्छ। कालो वर्ण, खँदिला बलिष्ट पाखुरा भएको झण्डै ६ फिट उचाई भएको डीजेले सिक्स्टी नाइन नम्बर लेखिएको बास्केट बल खेलाडीको झैं जर्सी लगाएको छ र गीतको हाउभाउ अनुरुप शरिर मर्काउँदै प्लेयरमा सीडी घोट्न ब्यस्त छ ऊ। सायद ऊ बारमा नाच्न आउने युवतीहरु आफूमा आकर्षित भइदिउन् भन्ने पिरलोमा छ। ऊ यहाँको आम मान्छे। बस्दो हो कतै अपार्टमेण्ट लिएर एक्लै। न बाउआमा पाल्ने झण्झट हुँदो हो उसलाई न दिदीबहिनीको बिहेबटुलोको चिन्ता। न अधिकारको निम्ति लड्नु पर्दो हो कसैसँग, न भेदभावमा परेर हिंड्नुपर्दो हो कसैबाट। यहाँसम्म कि आफ्नै घरजमको पनि सुर्ता गरिरहनु नपर्ने आम मान्छे ऊ। ऊ भित्रको कथाव्यथा त उसैलाई थाहा होला तर डीको नजरमा ऊ शोक न सुर्ता भोक न भकारी देखिएको छ।

‘ Hey D, You already here in D corner huh ? ‘ डेजा आइपुगी। यो बारमा ठाउँ पाएसम्म ऊ यही कुनामा बस्न रुचाउँथ्यो र उसले यो कुनालाई डी कुनो भनेर नाम दिएको थियो, ‘ Whatchya drinking ? ‘ उसको पहिलो नजर डीको हातले टेबलमै समाइहेको ड्रिंक्समा पर्‍यो। उसले हातमा झुण्ड्याएको ब्याग टेबलमा एकापट्टी राखी र डीलाई अँगालो हालेर भेटको हार्दिकता साटी। कुर्सीबाटै लम्किएर उसले पनि हार्दिकता जनायो र भन्यो, ‘ Uh ! Scotch . what are you drinking ? ‘

‘ You know how I get down, Sierra nevada so I can feel californication. ‘ क्यालिफोर्नियाबाट आएकी ऊ क्यालिफोर्नियाप्रति सकेसम्म गर्व गर्दथी।

उसले डेजाको बियर मगायो र दिँदै भन्यो, ‘ What’s californication ? ‘

‘ Well I have no Idea what exactly it is, but it’s in a song. Have you ever heard the song Californication ?’

‘No never .’ छैनको भावमा डीले टाउको हल्लायो साथमा ओठ पनि छैन भन्ने कुरालाई अझ प्रष्ट पार्न लेब्र्याएको थियो।
‘ Oh ! Man, I love John Frusciante’s song . ‘ ऊ गाउन थाली,
‘ … It’s the edge of the world
And all of western civilization
The sun may rise in the east
At least it settles in the final location
It’s understood that hollywood
Sells californication….’

‘ Hey guys what’s crackin’? ‘ प्याट आइपुग्यो। पछिपछि मिलिसा, उसकी दिदी रचेल र रचेलकी गर्लफ्रेण्ड डायना र पाउला थिए। डेजाले पहिले प्याटलाई अँगालो हालेर भेटको हार्दिकता जनाई। डी र प्याटले हात माथि उठाएर हत्केला जुधाई। त्यसपछि हात मिलाए र हात मिलाउने केही प्रक्रिया पूरा गरेर दुवैले चुट्की बजाउँदै भेटको हार्दिकता बाँडे। मिलिसाकी दिदी र उसकी ग्रलफ्रेण्डसँग डीको दोश्रो पटकको भेट भएपनि उनीहरु अँगालो हालेरै हार्दिकता जनाउन अघि सरे।

‘लामाते डी ‘, दुई हत्केला नमस्ते भावमा जोडेर नाकसामु पुर्‍याउँदै सबैभन्दा पछिल्तिरकी पाउलाले भेटको हार्दिकता जनाई।

‘नमस्ते !’ हात जोडेरै डीले जवाफ फर्कायो। समूहका सबै हाँसे उनीहरुको हार्दिकता साट्ने नयाँ शैली देखेर।

‘ What? ‘ उनीहरुतिर प्रश्नसूचक नजरले हेर्दै साथमा हातले भाउ देखाउँदै उसले भनी, ‘It’s not funny, respect their culture guys . Don’t make fun .’

‘ We are laughing at you Paula, not at his culture . ‘ डेजाले थुतुनो चलाई।

‘ You Know what’s funny ? ‘ प्याट केही भन्न खोज्दै थियो।

‘ Your Mom’s funny . ‘ चोथाले डेजालाई केही निहुँ पाउनु हुँदैन मुख फर्काइहाली।

प्याट एकछिन् चुपलाग्यो र बोल्यो, ‘ I Know My Dad’s funny too .’

अर्जेन्टिनाबाट तीन चार महिनाको लागि आएकी पाउला भोलि फर्कंदै थिई। उनीहरु सबै आज पाउलासँग अन्तिम रमाइलो गर्नलाई बार आएका थिए। उनीहरुको ग्रुपमा राम्रै हेलमेल भएकी मेक्सिकोकी मारिया भने भेटघाटको निम्ति घर फर्केकी हुनाले यसपटक अनुपस्थित थिई।

‘ It’s time for a shot, what you guys want to drink? .’ मिलिसाले प्रस्ताव ल्याई। सबैको निम्ति सट नै आयो। सबैले चियर्स गरेर पाउलालाई यात्राको शुभकामना भन्दै घुट्क्याए।

‘ I wanna go shake my ass .’ डेजा आफ्नो स्थान छोडेर नाच्न गई। रचेलले उसकी ग्रलफ्रेण्डलाई तानेर नाच्न लगी। प्याटले पाउलालाई लिएर गयो।

‘ You wanna go dance ? ‘ मिलिसाले डीलाई नाच्न जान भनी।

‘ After a couple more of these, sure.’ उसले जवाफ दियो। नाच्न खासै भाखा नल्याउनेलाई रमरम नहुञ्जेल आँगन टेडो हुन्छ भन्ने थाहा थियो उसलाई। बरु उसले चुरोट पिउन बाहिर जाने प्रस्ताव राख्यो। मिलिसा चुरोट पिउँदिनथिइ तर साथ मात्रै दिन निस्की बाहिर। उनीहरु आँगनमा निर्मित सानो उद्यानको फलैँचामा बसे।

‘ D, your country is really amazing, I can’t wait to get there.’ गफ गर्ने मेलो झिकी मिलिसाले। आउने अगस्तमा डी नेपाल फर्कंदै थियो र मिलिसा र प्याटले ऊसँग नेपाल घुम्ने योजना बनाएका थिए।

‘ It’s going to be so fun .’ उसले यति भन्यो र भूईँमा कसैले पिउँदापिउँदै फालेको, धुँवा उडिरहेको चुरोटको ठुटोमा नजर टिकाएर चुरोटको कस तान्न थाल्यो ऊ।

‘ I want to see Mustang and go to the base camp at Everest.’ मिलिसा आफूले इच्छाएको कुरा बताउँदैथिई, ‘ Hey babe, how you doin’ ? long time no see .’ कुनै तेस्रो व्यक्ति दुवै हात फैलाएर मिलिसालाई अँगालोमा स्वागत गर्दै आयो। आश्चर्यचकित भावमा ठूल्ठूला आँखा पार्दै मिलिसा उठी र तिमी कहाँबाट यहाँ आइपुग्यौ ? छक्कै परेँ तिमीलाई यहाँ देखेर भन्दै उसको अँगालोमा बेरिई। उसको अँगालोबाट खुस्किएपछि उसले निक नाम गरेको त्यो व्यक्तिसँग डीको परिचय गराई।

‘ Hey what’s up man ? ‘ उसले डीतर्फ हात बढायो।

‘ Chillin’, what’s up with you?’ डीले हात मिलायो। त्यसले मिलिसालाई ड्रिँक्स किनिदिने चाहना देखायो। मिलिसाले आज भैगो अरु कुनै दिन भन्दै अस्वीकार गरी।

‘ Where you living these days Milissa ? Can I come visit you sometime ?’ मिलिसाको पछि लाग्न छोडेन ऊ। एकैछिन मिलिसा असमञ्जसमा परे झैं देखिई र डीसँग टाँसिँदै उसको ढाड सुम्सुम्याउँदै भनी, ‘ Well you have to ask D, we live together .’

निक अलि हच्किएझैं भयो, ‘Oh you guys-’ उसले वाक्य पूरा गर्नै परेन मिलिसाले कुरा टुङ्ग्याई, ‘Yeh, we’ve been together a while .’

मिलिसा निकको अघिल्तिर नाटक रच्दैछे भन्ने बुझ्न डीलाई बेर लागेन। उसले खुस्रुक्क चुरोटको ठूटो भूईँमा खसाल्यो र मिलिसाको हात समातेर उठाउँदै भन्यो, ‘ Hey sweetheart let’s bounce.’

उनीहरु उठे। निकसँग पछि हट्नुको विकल्प थिएन। उ हारेको साँढे झैं देखिन्थ्यो न मैदानबाट पूच्छर केलाएर भाग्न सक्ने न जुध्न नै अघि बढ्न सक्ने। त्यसैबला कतैबाट बत्तिएर डेजा आइपुगी, ‘ You guys need to quit slackin’ . Shots are poured and we’re waiting on you two .’

उनीहरु भित्र जानै लाग्दा डेजाले डीसँग चुरोट मागी। डीले चुरोट दिएर सल्काइदियो। डेजाले भनी, ‘You guys go ahead, I’ll be right back .’

डी कर्नरमा उनीहरु पुग्दा उनीहरुको कुर्सीमा अरुनै कोही बसेका थिए। टेबलमा उनीहरुकै प्रतीक्षामा रहेको सट सबैले हातमा लिएर पुनः पाउलालाई यात्राको शुभकामना भन्दै घुट्क्याए। भीड छिचोल्दै डेजा र निक हात समातेर त्यतै आउँदैथिए। मिलिसाले डीको कानमा मुख लगेर भनी, ‘ Did you see them? That dude’s a player.’

हात दुवैले समाएका थिए। यहाँ डेजाले निकको हात समाई भन्न अथवा निकले डेजाको हात समायो भन्न र उनीहरुप्रति धारणा बनाइहाल्न अलि नमिल्ने देखेर डीले केही भनेन। बरु उसको दिमागमा मिलिसाको के सम्बन्ध थियो निकसँग र यसरी तिरस्कारले हेर्दैछे भन्ने कुरा खेल्न थाल्यो। सट घुट्क्याईसकेपछि सबै हातहातमा ड्रिँक्सको गिलास, बोतल बोकेर नाच्न अघि सरे। मैदानमा डल्ली-डल्ली डेजा निकसँग मर्की-मर्की नाच्दै थिई। त्यही देखेर मिलिसाले डीलाई बाहिर जान आग्रह गरी। नाच्नु थिएन उसलाई पनि मिलिसाको पछि लाग्यो ऊ।

‘ Hey Melissa, what’s the story between you two? Why’d you lie to him?’ कौतुहलता रोक्नै सकेन उसले।

मिलिसाको कथामा निक मिलिसाको राजकुमार थियो कुनै दिन। झण्डै ३ वर्ष उनीहरुसँगै बसे तर निकले उसलाई धोका दिएर अर्की गर्लफ्रेण्ड बनाएपछि मिलिसाले उसलाई छोडेकी थिई।

‘ I Don’t even know how he got here. And he still wants to come my house, Just to have me . I’m not a food ok? ‘ दुखेसो पोखाई उसले।

‘ Well, I don’t think he only ate you Mellisa . You both ate together. It takes two to tango.’ डीले मिलिसाकै संस्कृति अनुरुप अलिकति ब्याख्या छाँट्यो।

‘ Yah, you’re probably right but what do you say to cheater ? He cheated on me .’ आफ्नो पक्षको वकालत गरी मिलिसाले।

डीलाई त्यो नचिनेको निकको पक्षमा वकालत गर्नु थिएन। भन्यो, ‘You already dumped him, and your not a food and they can’t enjoy you like a food unless you let ‘em . ‘

‘ Hey D. Could you hook me up with a cup of your man juice ? We want to have a baby . ‘ मिलिसाकी दिदी रचेल र उसकी ग्रलफ्रेण्ड डायना मातेर लठारिँदै आए।

‘ Stop asking every Tom, Dick, and Harry. Keep that shit on the DL Rachel ? ‘ मिलिसाले हकारेको स्वरमा दिदीलाई कराई। ऊ केही रिसाएझैं देखिन्थी। रचेलले मिलिसालाई घ्वाम्लाङ्ग अँगालो हालेर म्वाई खाँदै भनी, ‘ Don’t get mad babe, you know we really want to have a baby .’

‘ Don’t make a scene, you guys can adopt a baby.’ रिसाएरै उसले दिदीलाई उपाय सुझाई।

‘ I know ! but I want to feel a baby inside me.’ टी शर्ट मास्तिर सारेर नाङ्गो भुँडी सुम्सुम्याउँदै रचेलले भनी। यिनीहरुलाई लेस्बियन पनि हुनुपर्ने अनि बच्चा पनि पाउनु पर्ने भन्दै केही बेर मिलिसा एक्लै भुत्भुताइरही।

डी अक्क न बक्क भएर रचेलको चर्तिकला हेरिरहेको थियो चुपचाप। पहिलो चोटी भेट्दा रचेलले आफू सियाटलमा कुनै टेलिभिजनमा कार्यक्रम चलाउँछु र न्युज पनि भन्छु भनेकी थिई। उसलाई भर्खरै नेपालमा बारमा गएर नाचेको आरोप मै कुनै महिला सञ्चारकर्मीले जागीरबाट हात धुनुपरेको सम्झना भयो। ऊ सोच्दै थियो कति फरक संस्कृति यिनीहरुको र हाम्रो।

निक्कै बेर डी र मिलिसाले दुई संस्कृति बीचको अन्तरका कुरा गरे। मिलिसाले तिम्रो कल्चरका शान्त र सौम्य मान्छेहरु मनपर्छ तर तिमीहरु वर्षौंवर्ष लोग्ने-स्वास्नी, प्रेमी-प्रेमिकाहरु छुट्टिएर बसेको देख्दा कहाली लागेर आउँछ भनी। नेपालबारे केही चासो राख्‍ने भएकीले मिलिसालाई धेरथोर जानकारी थियो नेपाली जनजीवनको बारेमा पनि। बाबुआमाले हेरिदिएर बिहे हुने प्रसँग चल्दा मिलिसाले भनी, ‘ That doesn’t sound very cool to me. How does it work when the husband and wife don’t love each other?’

सामान्यतया मागी बिहेको बारेमा सुन्ने बित्तिकै बिना प्रेम जीवन बिताउँछन पूर्वीयहरु भन्ने धारणा धेरै पश्चिमाले तुरुन्तै बनाए झैँ मिलिसाको पनि धारणा थियो।

डीले सम्झाउन सकेसम्म जसरी प्रेम भए पनि तिमीहरुको बिहे नहुन सक्छ त्यसरी नै हाम्रो बिहे भैसके पछि पनि प्रेम हुन सक्छ भन्दै थप्यो, ‘ It’s not about love according to the custom, it’s about respect. But that’s crazy marriage should be about love.’

वास्तवमै जुनसुकै भूगोलमा रहने समाजको पनि भावनात्मक पक्षको पाटो उस्तै हुन्छ। फरक देखिन्छ त केवल तिनीहरुको कृयाकलापमा मात्र र त्यो पनि बाँकी समाजले कसरी हेर्छ भनेर। आखिर एउटै समयका मान्छेहरु हुन समग्रमा नहोला संक्षिप्तमा सबैतिर उस्तै हुन्छन्। यौनको विषयमा अलि बढ्तै कडाई हुनाले आफ्नो समाजमा निम्तिएका विकृतिहरुप्रति डीलाई जति अपशोच थियो त्यति नै अपशोच यौनको विषयमा उसको समाजमा भएको बढ्तै खुकुलोपनाले निम्त्याएका विकृतिहरुप्रति मिलिसालाई पनि थियो। दुई भिन्नाभिन्नै संस्कृतिमा हुर्केबढेका भए पनि उनीहरु दुवै पतिपत्‍नी तथा प्रेमीहरु एकआपसमा आदर गर्नलाई हैन बरु प्रेम गर्नलाई हुन्, एकआपसको प्रेमले स्वत आदर स्थापना गर्छ भन्ने कुरामा सहमत थिए।

यस्तै कुरामा अलमलिएर उनीहरुले त्यो बारको रमझमको भन्दा धेरै त्यो उद्यानको सौन्दर्यको आनन्द उठाउँदै समय बिताए। बारहरु लगभग बन्द हुने बेला भैसकेको थियो। उनीहरुको ग्रुप घर फर्कनलाई पार्किङ् लटमा भेला भएर छुट्ने बेलाको चुरोटको धूवाँ उडाउँदै थियो। को-को मातेको छैन, कसले ड्राइभ गर्ने र कसले कसलाई घर छोडिदिने सल्लाह गर्दै थिए उनीहरु। रचेल र उसकी ग्रलफ्रेण्ड हामी ड्राइभ गर्न सक्छौं भनेर लागे आफ्नो गाडीतिर। मिलिसाले प्याट र पाउलालाई छोडिदिने भई। डेजा भने म ड्राइभ गर्न सक्दिनँ म त आज डीसँग डीकै घर जान्छु भनेर अड्डी कस्न थाली। ऊ साँच्चै धेरै मातेकी पनि थिई। मिलिसाले डीलाई लैजाउ उसको घर पनि टाढा छ तर भोलि छिट्टै आएर गाडी लैजानू नत्र टो गरिदिन्छ भनेर सम्झाई। उसले डेजालाई आफ्नो गाडीमा राख्यो र घर लैजान स्टार्ट गर्‍यो।
‘…..I wanna love you and treat you right;
I wanna love you every day and every night:
We’ll be together with a roof right over our heads;
We’ll share the shelter of my single bed…. ‘ उसको गाडीमा पहिले बजिरहेको बब मार्लीको गीत अटो प्ले भएर घन्कन थाल्यो। डेजा नशाकै सुरमा खुसीले उन्मत्त हुँदै सँगसँगै गाउँदै झुम्न थाली। मानौं ऊ डीको घर जान र डीको बेड सेयर गर्ने खुसीमा उम्लिरहेकी छे। डीले अर्को सीडी बज्ने गरेर प्लेयरको बटन थिच्यो।
‘………सातै समुद्र तरेर गयौ चिठ्ठी त लेख है
म पनि देख्छु सपनीमा तिमी मलाई देख है………’ कुन्ति मोक्तानको स्वर घन्कन थाल्यो।

‘What is this D ? I don’t understand any of these words. You should put Bob Marly back on.! ‘ डेजाले बब मार्ली नै सुन्ने चाहना देखाई।
‘ Alright.’ उसले पुनः बब मार्लीकै गीत बजायो। डेजा गीतकै तालमा हल्लिंदै गाउन थाली। तर डीको मनमा भने कुन्ति मोक्तानको गीतले घर बनाइसकेको थियो। रातको २ बजिसकेपछिको सुनसानप्रायः सडकमा नशाले धुत भएकी केटी साथीलाई घर लैजाँदै गर्दा ऊ सोचमग्न भयो, ‘मित्रताकै आडमा यस्लाई घर लैजाँदा के भोलि यो सम्बन्ध यस्तै रहला ? के यसले मलाई कुन्ति मोक्तानले गाए झैं सपना देख्‍न देली ? ‘
भाइब्रेशनमा राखेको उसको सेलफोन गोजीमा गुज्गुजायो। अलिकति तन्किएर उसले सेलफोन झिक्यो।
‘ के भयो आज ? किन यतिबेलासम्म फोन नगरेको ? म तपाईंको फोन कुरेर बसिरहेकी छु। ‘ उसले बोल्नै नभ्याई उसकी गलफ्रेण्डको आवाज सुन्यो।
‘ Who’s that ? Mellissa ? What’s she up to ? ‘ ठूलो स्वर पारेर डेजा सोधीखोजी गर्न थाली। उसलाई फोन राख्‍नु न बोलिरहनु भयो। डेजाको स्वर उसकी गर्लफ्रेण्डले सुनेर के सोच्ली ? रातको यो बेला ऊसँग बोलिरहेकी कुनै नारी स्वरले पक्कै आतंकित बनाउँछ उसकी ग्रलफ्रेण्डलाई भन्ने भयो उसलाई। उसले सेलफोनमा डेजाको आवाज नछिरोस् भनेर छल्ने प्रयत्‍न गर्दै भन्यो, ‘ मलाई अरु आधा घण्टा देऊ ल ? म तिमीलाई कलब्याक गर्छु। अहिले यौटा साथीलाई राइड दिँदैछु। ‘ उसले जवाफको प्रतीक्षा नगरी फोन राख्यो।
‘……..One Love, One Heart
Let’s get together and feel all right………’ प्लेयरमा बब मार्लीकै अर्को गीत बज्न थालेको थियो। उसले तुरुन्तै डेजालाई उसैको घरमा पुर्‍याएर छोडिदिने निर्णय गरेर बीच बाटैबाट यू टर्न लियो ।

February 23, 2009

माथ्लो घरको ढिकी

' साबित्रा ? '

'.............'

' ए , साबित्रा ?

'......................'

' हैन चालचुल छैन गाँठे , कहाँ मर्न गईछे ? आज पनि ब्रत हो कि क्या हो यस्को ? हैन यि आईमाईले कति ब्रत बस्न सकेका होलान ? काम धन्दा केही गर्नुपरेन ब्रत छ भन्यो , मिठो मिठो खान खोज्यो , कति सजिलो हो ईन्लाई ? ' शिबरामले फत्फताउँदै आँगनको एक कुनामा भएको कुखुराको खोरमाथी जुवा मिल्कायो । बिहानभरी खेत जोतेर लखतरान परेर आएको शिबरामलाई जोतेर आईपुग्दा घरमा स्वस्नीले जोतेर थाकेका गोरुलाई भुसपानी ठिक पारिदिओस , आफुले मेलो सकेर आउनेबित्तिकै हातगोडा धोएर एकछिन आराम गर्न पाईयोस भन्ने लाग्थ्यो तर उसकि स्वास्नी साबित्रा कहिल्यै उसले चाहेको जस्ती भईन ।

' वर्षभरी खाने अन्न उब्जाउने खेत जोत्ने गोरुलाई भूसपानी ठिक पार्नु त कहाँ हो कहाँ बिहानभरी जोतेर आएको लोग्नेलाई समेत भात खुवाउन घर छैन ' , भुत्भुताउन नछोडी उसले बस्तुभाउलाई पानी खुवाउन बनाएको मुढाको डुँड पल्टायो र सफा गरेर भुसपानी ठिक पार्यो ।

'ओहो ! थुक्क ! गोरु त बाँधेकै थिएन मैले ।' उसले झट्ट सम्झ्यो र गोठतिर नजर दौडायो । गोरु त अघि नै सिमाना काटेर माथ्लो पट्टी गँगे कार्कीको खेतमा पुगिसकेछन । छिस्रिक्क यौटा कुखुरा उसको खेतमा पस्यो भने त खाँडो जगाउँछ त्यो गँगे , हल गोरु नै उसको खेतमा पसेको देख्यो भने त के गर्ला बाबै ? उसले हतार हतार गँगेको खेतबाट गोरु निकाल्यो र थलामा हुलेर पगा लगायो ।

' धन्न मुखमा महला थियो नत्र आज गँगेको चार पाते मकै खत्तम पार्ने । ' उसले मनमनै भन्यो र गोरुको मलाहा खोलेर तान्दै डुँडतिर ल्यायो ।

उसका पहिलेका गाजले र पुँडे गोरु साह्रै सुबानी थिए । यसैपाली बेच्यो उसले बुढा भएर र यि हल मिलेका खराने रँगका बहर गोरु किनेर ल्याएको । पहिलेका गोरु मेलोबाट फुकाएर छोडेपछि थपक्क गोठमा आफ्नै थलोमा आईपुग्थे यि भने पछि लागेर गोठसम्म ल्याईपुर्याउँदा पनि आँखा झिमिक्क गर्न नपाई कहाँ बिगार गर्न पुगिसक्छन ।

' खराने रँगका गोरु त सुबानी नै हुन्छन् भन्थे यि डिँगा चैं किन यस्ता भ'का होलान् ' मनमनै असन्तोस जनायो उसले आफ्ना हल गोरु माथी ।

' ए ! आज किन छिट्टै गोरु खोल्यौ ? अघि आईसकेछौ त भर्खर दुई बज्दैछ । ' साबित्रा हातमा यौटा पोको बोकेर आँगनमा झुल्किई शिबराम माथी मालिक्नी पारा देखाउँदै । शिबरामको रिसको पारो चढेर टुप्पीबाट धुँवा भै पुत्पुताउँदै बाहिरियो ।

' कतिबेर सम्म जोत्नुपर्ने त मैले ? बेल्का पाँचबजि सम्म ? ' साबित्री तर्फ पुलुक्क एक दृष्टि फ्याँकेर उसले भन्यो । उसलाई आज धुमधाम गाली गर्न मनलागेको थियो स्वास्नीलाई । भित्रभित्रै काँप्तै थियो उ तर रिस थाम्यो उसले । नथामेर पनि के गरोस विचरा ! उसले एक बचन बोल्दा साबित्राले दश बचन फर्काईसक्थी । धेरैपटक उसले ऐँच्याएर राख्न खोजेको हो स्वास्नीलाई तर जति पटक प्रयास गर्यो उति पटक नै घरमा भाँड भैलो उठ्यो । छरछिमेकी आएर साबित्रीकै पक्ष लिए । नारीलाई हेप्ने , नारीलाई दमन गर्ने नामर्द पुरुष भनेर सँज्ञा भिराए ।

गाउँघरका महिलालाई प्रौढ कक्षा पढाउने र केटाकेटीलाई ट्युशन पढाउने साबित्री मुखले वरपर साखुल्ले बन्न सिपालु थिई । तर उसले कहिल्यै शिबरामलाई थोरै ईज्जत दिने कष्ट गरिन त्यसैले उसले आफ्नी स्वास्नीमाथी गर्व गरेर पनि प्रकट गर्न कहिल्यै सकेन ।

बिहे भएर आएको एकाध महिनासम्म तपाईँ हजुर गरेर बोल्ने साबित्रीले उसको सोझो चालाढाला पत्तो पाएदेखि तिमीमा झरेकी थिई । शिबरामले आफुले पनि तिमीनै सम्बोधन गर्छु के फरक पर्छ र भन्दै प्रतिवाद गरेन । ईज्जत राखिदिए तिमी भन्दैमा र तपाईँ हजुर भन्दैमा के पो फरक पर्ला र ? भन्ने सोच्यो उसले तर साबित्राले त्यसको पनि फाईदा उठाएर हरेकपटक अलिकति कुरा बाझ्यो कि तँ तँ र म म नै गर्न थालेकी थिई त्यसैले पनि शिबराम बेईज्जत हुनुभन्दा बोल्दै नबोल्नु निको ठान्थ्यो ।

' मैले त आज भात पनि पकाईंन । मेरो ब्रत थ्यो पिठो कुट्न माथ्लो घरको ढिकीमा ग'कि उतै रोटी बनाएर खाएँ कर्कीनी दिदीसँग । तिमीलाई पनि त्यही ल्याईदिएकी छु । आलुको अचार पनि छ सिदे नुन हालेर बनाको । ' घरभित्र पस्दै साबित्रीले भन्न भ्याई । शिबरामले चुपै लागेर सुनिरहयो र मनमनै भन्यो , ' किन पकाउँथिस त आफुलाई खान नपरेपछि ? म को हुँ र पकाएर ख्वाउने ? '

फेरी उसले झट्ट सम्झ्यो गँगे कार्कीकी श्रीमती त उसले जोतुञ्जेल धेरैबेर सम्म उनैको खेतमा घाँस काट्दैथिईन् । सिमाना जोडिएको माथ्लो पट्टीको खेतबाट उनले ' ए शिबराम कैले सक्छौ मकै छर्न हाम्रा गोड्नेबेला हुन लागीसके ? ' भनेकी थिइन् । उ भाउजु भन्थ्यो गँगेकी श्रीमतीलाई , ' ख्वै भाउजु , कैले सक्नु हो , हाम्री घरकीलाई सिँगार पेटार र ब्रत लिँदै फुर्सद छैन , त्यस्को पनि मन अलि चट्पटाए पो छिट्टो हुन्थ्यो ? आफ्नो त सँधै कामीको पालो कात्तिक भने झैं हो । ' उसले यसरी जवाफ पनि फर्काएथ्यो ।

' ढाँट्न पनि कति सकेकी ? बिहानभरी कुनकुन मुलुक अन्मरिएर आईर'छे ! ' , मनमनै बोल्यो उ र प्रकटमै भन्यो , ' ए त्यै भएर पो कर्कीनी भाउजुले डोकाभरी घाँस काट्न भ्याएकि रछिन् बिहान भरी । '

' जान्यौ जान्यौ तिमीले नै ? मलाई पिठो कुट्न सघाई ओरी ग'कि हुन घाँस काट्न मैले रोटी बनाईसक्दा आईसकेकी थि'न् । हेमकलाकि आमा पनि आ'कि थि'न् । उनेरको पनि ब्रत हो आज । ' आफुलाई माथी पार्न साबित्रीले दलिल पेश गरी । शिबराम चुपचाप गोरु खुटाउन खेततिर लाग्यो ।

त्यसदिन निक्कै अबेरसम्म उसले साबित्रीले ल्याएको रोटी खाएन । आ ! खान्न है एक छाक नखाएर मलाई केहि पनि हुँदैन भन्दै पकाएर खान पनि निच मारेर यताउता बस्तुभाउको सुसुल्को गर्दै बस्यो । साबित्रा घर बस्ने कुरै थिएन । बिहान केटाकेटीलाई ट्युशन , दिउँसो प्रौढ कक्षा पढाउन जानुपर्ने उसलाई अरुबेला पनि घरको सिन्को भाँच्ने फुर्सद हुने हैन । साँझ पर्न पर्न लागेपछि उसको पेटको क्षुधाग्नी यस्तरी बल्न थाल्यो कि जलाएर उसलाई भष्मै पार्ला जस्तो बनायो तब भने उसले ' स्वास्नी पो वैरी परी यो रोटी त वैरी होइन नि ' भनेर आलुको अचारसँग साबित्रीले ल्याईदिएको रोटी सुम्ल्यायो र फेरी घरधन्दा मै लाग्यो । बस्तुभाउ , कुखुरा , बाख्रा सबैको थान्कोमुन्को लगाएर बेलुकीको खाना पकाउनु पनि उसको नित्य कर्म नै थियो । त्यसैले उ सास नफेरी काममा जुटीरहयो ।

यौटा चुल्हामा दाल बसालेर अर्कोमा भात टेकाउन आगो जोर्दैथियो उ । एकहुल केटाकेटीहरु आँगनमा खैलाबैला गर्दै आए । उनिहरु उसैलाई डाक्दैथिए , ' शिबेदाइ ? ए ! शिबेदाइ ?? '

' हैन के भयो हँ भाइ हो ? ' शिबराम आँगनमा निस्कियो ।

' के हुनु नि शिबेदाइ हामी त चन्दा माग्दै हिँडेका , हामीले क्लब खोलेका छौं क्या ? अब चन्दा उठाएर क्लबको नाममा फुटबल , भलिबल , नेट के के किन्ने । खेलकुदमा हाम्रो गाउँ पछि पर्यो क्या शिबेदाइ । पोहोर पनि हामीले वार्ड स्तरिय फुटबलमा शिल्ड जितेनौं , अब यसपाली चैं जितेर छाड्ने । ' हुल मध्येको यौटाले एकै सासमा बेलीबिस्तार लगायो ।

' ए ! म त के के न भएछ भनेको ? पैसो सैसोको कुरो चैं भाउजुलाई भन उ सँगै हुन्छ रकम खाता । म त आफैं जोगी हुँ भाई हो । ' शिबरामले जवाफ फर्काउँदा केटाहरु गलल हाँसे । यौटाले थप्यो , ' हो यार बिचरा शिबेदाइ आफ्नै घरको हली हुन् बरा ! कहाँबाट दिउन ? भाउजुसँगै माग्नु पर्छ । भाउजुले दिन्छिन पनि साह्रै मनकारी पो छिन् । ' उसको बचन शिबरामले कष्टले पचायो , ' हुनपनि हो म आफ्नै घरको हली नै हुँ ।' शिबराम भित्र पस्यो ।

' कस्तो नामर्द हो यो शिबेदाइ त छि ! म भए त त्यस्ती स्वास्नी उहिले लेखेटिसक्थेँ । '

' सप्पैले राम्रो भन्छन् तर मलाई त त्यो साबित्री भाउजु मनै पर्दैन , सोझो लोग्ने पाएर साह्रै पात्तिएकि , गंगे कार्कीसँग लसपस छ भनेको सुनेथेँ मैले त्यस्को । ' , आँगन कट्दै गर्दा अल्लारेकेटाहरुको मुटु छेड्ने तिखो बचन सुनेर भित्रभिरै मुर्मुरियो उ ।

त्यसरात उसलाई रातभरी निन्द्रा लागेन् । छट्पटाई रहयो । ओल्टे कोल्टे फेरी रहयो । ' अब त गाउँमा यस्तो हल्ला पनि चल्न थालेछ । कहाँबाट यो सत्र अलच्छिनी मेरै फन्दामा परिछे भगवान ? हे ! भगवान ! यो कुरा झुटो होस् है । ' , रातभरी उसले भगवान सम्झिरहयो ।

' हैन त्यो गँगेको स्वास्नी छे , हुर्केका छोराछोरी छन , त्यसले किन मेरी स्वास्नीलाई आँखा लगाउँथ्यो होला र ? गाउँमा त्यसै भनेका होलान नि मान्छेले ।' , घरी उ आफैंलाई ढाडस दिन्थ्यो ।

' गँगे मान्छे त अलि बेसारे नै हो हुनत । फेरी दोष यै फुँडीको पनि त हुन सक्छ । मेरा बालबच्चा भ'का छैनन् , त्यही निहुँमा पो फकायो कि ? यो अलच्छिनी फेरी मलाई दोष दिन्छे बच्चा भएनन् भनेर , के थाहा सल्केकि पो छे कि त्यै गँगेसँग ? ' फेरी शँका पनि गर्थ्यो उ ।

छट्पटिंदै उसले नाडीको घडी हेर्यो बिहानको तिन बज्नै लागेछ । ' कुखुरा बास्ने बेला भै सकेछ किन निन्द्रा नलाग्या होला ? निन्द्रा लागे त यो टेन्शन कम् से कम् अहिलेलाई त हुँदैनथ्यो ' , मनमनै बर्बराउँदै उसले अलिकति टाउको उठाएर पल्लो खाटमा सुतेकि साबित्रीलाई हेर्यो । उ मस्तले निदाईरहेकी थिई तर उसलाई भने पट्टक्कै निन्द्रा आएन । सोच्न थाल्यो , ' हावा नचली पात हल्लिंदैन भन्छन । नचल्नु गाउँमा कुरा चलिसकेछ अब यो कुरा अगाडी नफैलियोस् भनेर त मैले सोच्नै पर्छ । के गर्ने होला ? ' चिन्ताको भुमरीमा रुमलियो उ , ' यो ढिकीकै बाहाना बनाएर दिनदिनै माथ्लो घर जान्छे । यस्लाई ब्रत न लि पनि कसरी भन्नु ? भने पनि मान्ने होइन बरु एउटा ढिकी घरमै हाल्न पाए आनन्दै हुन्थ्यो कि ? ' उसले रात छर्लङ्गै काटेर घरैमा ढिकी हाल्ने निधो गरीछाड्यो । रातीनै उसले करेसामा तेर्स्याएर राखेका मुढाहरु मध्ये ढिकीको लागी कुन उपयुक्त छ भनेर छान्यो । ढिकीको टेको , मुसल , आग्लो सबै उसले राती नै छान्यो आफुसँग भएका कुनै बारेका , कुनै करेसामा तेर्स्याएका मुढाहरु मध्ये तर ओखलको निमित्त उपयुक्त काठ फेला परेन ।
भोलीपल्ट बिहान कुनै सुरतमा पनि ढिकी बनाएरै छाड्छु चाहे ओखलको लागी काठ किन्नै किन नपरोस भन्ने ठान्दै उठेर उ भर्याङ्ग ओर्लँदा उसले बर्षातले भर्याङ्ग जमिनमा नधसियोस भनेर भर्याङ्गको फेदमा ओच्छाएको राम्रै लम्बाई चौडाई भएको काठ ओखलको निमित्त उपयुक्त हुने देख्यो ।

' के खोज्छस् कानो आँखो ' बिहानै चियासिया पिएर उ भर्याङमुन्तिर खन्न थाल्यो ।

' हैन ब्यान् ब्यानै कल्लाई पुर्न आँङ्नामा खाल्डो खन्न थाल्यौ ? ' साबित्रीले निधीखोजी गरी ।

' याँ अर्कै काठ हाल्नुपरो यो काठ अन्त काम आउँछ कि भनेर । ' उसले यतिमात्रै भन्यो ।

' लौ जे जे मन लाग्छ तेई तेई गरेर बस । सबैका मकै उहिल्यै छरीसके , तिमीलाई चैं जोत्न जानु नि पर्दैन । आङ्नामा खाल्डो पारेर मलाई पुर्ने हो कि आफैं पुरिने हो ? म त हिँडे पढाउन । ' साबित्री हिंड्ने तरखरमा लागी ।

' चिया खाएर जाउ , गिलासमा हाल्देको छु । ' उसले अनुरोध गर्यो ।

' भो म उतै खान्छु । ' उ हिँडी ।

यस्लाई केटाकेटी पनि त्यही गँगेकै घरमा पढाउनु पर्ने ? बुढी आईमाईहरु पनि त्यै गंगेकै घरमा पढाउनु पर्ने ? आफ्नै घरमा पनि त पढाउँदा हुन्थ्यो । ' फत्फताउँदै उसले भर्याङ्गमुनि राखेको ठुलो मुढा झिक्यो र त्यसको ठाउँमा यौटा बाकली हालेर पुरपार पारेर गोरु लिएर जोत्न हिंड्यो ।

त्यहीदिन दिउँसो देखि शिबराम दत्तचित्त भै ढिकी बनाउन लाग्यो । हलो , जुवा , कोदालो , फरुवा ईत्यादी मर्मत गर्नलाई उसँग बसिला , राँबो , छिनु , हथौडा ईत्यादी सामाग्री मौजुदा छँदैथियो । उसले जिन्दगीकै ठुलो योजना ठानेर ढिक्की निर्माण थाल्यो । हुनपनि त उसको जिन्दगी कै सवाल थियो त्याँहा । उसको घरमा ढिकी हुँदो हो त उसकी स्वास्नी गँगेको घरमा ढिकीमा जाने निहुँ बनाएर नजाँदी हो अनि गाउँका मान्छेले उसकी स्वास्नी गँगेसँग लहसिएकी छे भनेर कुरा नगर्दा हुन । प्रमाणित रुपमा कसैले कुरा नगरे पनि गाईँगुईँमै उसले सचेत हुनु नै बुद्धिमानी ठानेको ठिकै हो ।

लगातारको परिश्रमले तिनचार दिनभित्रै उसले घरमै ढिकी तयार पारीछाड्यो । उसले ढिकी बनाएको थाहा पाउने गाउँलेले ' अहा ! कति मजाको ढिक्के बनायो यो शिबेले ' भनेर तारिफ गरे । उ एक प्रकारले ढुक्क भयो अब त कम्तीमा ढिकीको निहुँ गरेर उसकी स्वास्नी गँगेको घर नजाली भनेर । तर लागेको बानी कहाँ छुट्ने ? साबित्रीले ढिकीको निहुँ लिएर गँगेको घरजाने क्रम रोकिनँ । उसले सोध्यो पनि , ' मैले तिम्रै लागी घरमै ढिकी बनाएको छु तिमी किन खाली माथ्लो घरको ढिकीमै जान्छ्यौ ? ' भनेर ।

उसले सहज जवाफ दिई , ' तिमीले बनाएको यो गह्रौँ न गह्रौँ ढिकी कस्ले कुट्न सक्छ ? मेरो तेत्रो तागत छैन फेरी तिम्रो ढिकी तिमी जस्तै ढिकीच्याउँ छ , सिधा लाग्छ र ? आफुजस्तै बना'का छौ ढिकी अनि के गर्नु ? '

' ख्वै तिमीलाई नै बाउँठे भएछ तेसोभए सबैले राम्रो , सजिलो छ भन्छन् यो ढिकी । ' ह्रदयभित्रै एकप्रकारको ठेस महसुस गरेर शिबरामले भन्यो ।

साबित्रीलाई पुगीहाल्यो , ' तिमी आफैं कुट तिम्रो ढिकी तेसोभए ? कसैको नभ'को ढिकी हालेछौ ? के के न गरेँ भन्ठानेका होलाउ हैन ? यो गह्रौं ढिकी म कुट्न सक्छु ? माथ्लो घरमा त कैले कर्कीनी दिदीले सघाईदिन्छिन् , कैले गँगेदाइले सघाईदिन्छन् र पो सजिलो हुन्छ । यहाँ कस्ले सघाईदिन्छ ? तिम्रो फुर्सद हुन्छ मलाई सघाउन कहिल्यै ? ' आगोको रापले भेट्दा प्लास्टिकको भाँडा खुम्चिएझैं निधार खुम्च्याएर चर्किंन थाली उ ।

शिबरामलाई पनि औडाहा छुटेर आयो । केटाहरुले साबित्री भाउजुको गंगे कार्कीसँग लसपस छ रे भनेको कहाँ कसरी मनबाट पोखुँ भैरहेको थियो उसलाई । थाम्न नसकेर साबित्रीलाई नै भन्दियो , ' तिम्रो गँगेदाइले त सघाईहाल्छ नि तिमीलाई ? गाउँभरी गन्हाईसकेको थाहा छैन । अझै गँगेदाइ रे त्यो बेसारेलाई ? मेरो त कहिल्यै ईज्जत गरिनौ गरिनौ , कम्तिमा आफ्नो त ईज्जतको ख्याल राख ? '

' के रे ? के भन्यौ रे ? त्यो बुढो भ'को मान्छेलाई ? तेत्रा हुर्केका छोराछोरी छन । श्रीमती छिन् , तिमीले कसरी यस्तो असत सोच्न सक्यौ ? त्यै पनि आफ्नै श्रीमती माथी ? गाउँलेले के भन्छन् के भन्दैनन् ? गाउँलेको कुराको पछि लाग्छौ तिमी ? तिमीलाई तिहारमा गँगेदाइको हातको फूलटिका लगाएर देखाउनु पर्यो कि तामा तुल्सी छुनुपर्यो मैले भन ए असती ? तिम्रा मुखमा त भोली नै स्याउँ स्याउँती किरा उब्जिन्छन् । हेरीमात्रै राखन किरा परेर मरेनछौ भने तेतीखेर मलाई भन्नु । कहीँ नभा'को जान्ने अक्कडो । क कस्को के के कुरा सुन्छ र मलाई नानाथरी भन्छ । ' रुँदै साबित्रीले उसलाई सरापी र कोठामा पसी । त्यो दिन दिनभरी नै रोईरही उ ।

जतिसुकै बैगुनी भए नि आँखिर स्वास्नी नै हो । अन्तत उसलाई माया लागेर आयो । हतार मुख फोरेर प्रमाण बिनाको कुरा ओकलेकोमा पश्चताप पनि लाग्यो उसलाई । राती उसले माफी माग्यो र करले भात खुवायो ।

भोलीपल्ट देखि नै केटाकेटीहरु पढाउन र प्रौढ महिलाहरुलाई पढाउन उसले गँगे कार्कीकै घर जानु नै पर्थ्यो गई । उसको काम नै हो , शिबरामले आपत्ती जनाएन तर फेरी पनि ब्रत छ भन्दै ढिकीमा जाने निहुँले उसले गँगे कार्कीको घरजान छोडिन । उसलाई यत्ति नै मन पर्दैनथ्यो । ' गाउँका मान्छेहरु एकोहोरो खनिए भने नखाएकै विष पनि लाग्न के बेर भोली उसकी साबित्री गाउँ समाजको अगाडी बद्नाम भै भने उसले पनि कसरी मुख देखाउने ? उसले भनेजस्ती छैन तर स्वास्नी त उसैकि हो । बेईजत उसैको हुन्छ । अब के गर्ने ? ' उ सोच मै डुब्न थाल्यो र अन्तत गँगे कार्कीको ढिकी भत्काएर काम नलाग्ने नै बनाएर छाड्ने अठोटमा पुग्यो उ ।
एकसाँझ भात खाँदैगर्दा उसले साबित्रीलाई भन्यो , ' आज मलाई तल्ला गाउँ जानु छ , गोठ छाउनलाई निरेको बाउलाई भन्नुपर्यो म अहिले नै जान्छु है । ' उसले स्विकृती मागेको देखेर साबित्रीले साबिकझैं चढिएरै भनी , ' राती हुँदो किन जानु पर्यो ? तिमीलाई भोली बिहान हुँदैन र ? बिहान गए पनि त हुन्छ । '

बोली चढिएको भएपनि आज उसले त्याँहा प्रेम मिसिएको देख्यो र मनमनै दँगहुँदै भन्यो , ' हुन्छ नि बिहान त तर बिहान भएदेखि रात हुन्जेल सम्म मेरो फुर्सद कैले को दिनमा हुन्छ र ? फेरी भएन बिहान गएर निरेका बाउलाई पनि त भेटिँदैन उनि पनि त काममा निस्कन्छन् त्यसैले मैले त अहिले नै जानु पर्छ । '

' हुन्छ जाउ तेसो भए तर अलि ख्याल गरेर हिंड्नु , रातीको माम्ला काल जमाना ठिक छैन । कतिबेला आ उँछौ ? ' यो पल्ट साँच्चै नरम भएर साबित्री बोली मानौं उनिहरुबिच कहिल्यै मनमुटाब भएको थिएन ।

' ख्वै , लाग्ला नि डेढ दुई घण्टा पुगेपछि यसो कुराकानी गरिहालिन्छ । ' भात खाईसकेर चुठ्न उठ्दै उसले भन्यो ।

' ल ल आएर मलाई बोलाउनु नि , म भित्रबाट चुकुल लगाएर बस्छु । ' साबित्रीले सत्य साबित्रीकै छाँटले भनी । हात चुठेर 'ल म गएँ ' भनेर शिबराम हिंड्यो । खासमा उसलाई निरेका बाउकोमा हैन गँगे कार्कीकोमा जानुथियो । आज उसले गँगे कार्कीको ढिकी भत्काएरै छाड्ने विचार लिएको थियो त्यसैले अलि चकमन्न होस भनेर उ खेतमा गएर निक्कैबेर धुम्धुम्ती बसिरहयो र अब चैं गँगे कार्कीको घरमा सबै सुतिसके भन्ने भएपछि उ सरासर त्यतै लाग्यो ।

गँगे कार्कीको ठुलो घरको पछिल्तिर बारबेर गरेर चट्ट पारेर हालेको हालिएको थियो ढिकी । घरका सबै मान्छे माथ्लो तलामा सुतिसकेपछि तलबाट आएर ढिकी भत्काएको कसैले पत्तो पाउँदैनन् भन्ने उसको ठम्याई थियो । सुमुसुमु अँध्यारोमा गँगे कार्कीको ढिकीनेर पुग्दा उसले कोही गुनुगुनु बोलेको सुन्यो र अँध्यारैमा बेराको आड लागेर कान थापेर सुन्यो ।

ढिकीनेर बाट उसकै स्वास्नी साबित्री मसिनो स्वरमा भन्दैथिई , ' अब त मेरो बुढोले पनि पत्तो पाईसक्यो हाम्रो कुरा । गाउँभरी गन्हाईसकिस् भन्दैथियो मलाई । त्यो नामर्दसँग त म मरे नि बस्दिनँ अब कि त मलाई भगाएर लैजानुस् कि चैं कान्छी स्वास्नी बनाएर हुल्नुस् घरमा जे पर्ला देखा जाएगा । '

' अलि ठण्डा दिमागले सोचन मेरी साबि , आवेशमा आएर केहि पनि काम बन्दैन । कि चैं यो बच्चा पनि गिराउ पहिले कै जस्तै नत्रभने घरमै पाउ न त्यै शिबेको भन्नु क्या कस्ले थाहा पाउँछ ? अब यो उमेरमा कहाँ तिमीलाई भगाएर हिंड्नु म ? घरमा हुल्न पनि भनेको जस्तो सजिलो कहाँ हुन्छ ? ' गँगे कार्कीले पनि उसैगरी मसिनो आवाजमा बोलेको सुन्यो शिबरामले । उसलाई अगाडी सुन्नु नै के बाँकी थियो र ? उसको ओठतालु खक्रक्कै भएर सुक्यो । अँध्यारैमा उसले चारैतिर झिल्झिल सितारा देख्यो । हिँजोसम्म तामा तुल्सी छुने , तिहारमा फूलटिका लाउने कुरा गर्ने स्वास्नीलाई त्यहीँ गएर भकुर्न मन लाग्यो । ठाउँको ठाउँ एक्कै ताल हानेर गँगेको ज्यान लिन मन लाग्यो तर उसले केही गरेन ।

सम्हालिएर उ लुरुलुरु घर फर्क्यो । ' हे भगवान ! मैले किन यस्ती स्वास्नी पाएँ ? यो कि त मरे हुन्थ्यो कि त आजै राती त्यै गँगेसँग पोईला गए हुन्थ्यो । भोली मैले यो गाउँ समाजमा कसरी मुख देखाउंने ? म मर्नु कि बौलाउनु प्रभु ? ' भगवान पुकार्दै घर फर्केको शिबराम रनाहामा परेर अँध्यारोमा कता लाग्यो घर आईपुगेन ।

थप्पडी

घर उस्तै छ । आमा उस्तै छिन् । गाउँ समाज उस्तै छ । अझ सिँगो देशनै उस्तै छ । परिवर्तन हुँदै नभएको पनि हैन तर हुनुपर्ने परिवर्तन हुन सकेन भन्ने गुनासो जताततै छ । खै त समाज बदल्छु , देश बदल्छु भनेर हिँडेको यौटा म पनि त हुँ । के म आफुमात्र बदलिएको हुँ त ? के मैले समाज , देश बदल्नको लागी केहि गर्नै नसकेको हुँ त ? पुरानो नेपालमा परिवर्तनको अठोटले मुठ्ठी कसेर हिँडेको म नयाँ नेपाल बनाएको यतिका पछि आज आफ्नै घरमा आएर सोचमग्न भएँ । सम्झनामा अघि सरेर अर्चला आई । उ पनि त उस्तै छे । त्यसदिन उसलाई मैले सबैकुरा खोलेर भन्दा कस्सेर एक मुक्का हानेकी थिई उसले मलाई पछिल्तिरबाट ढाडमा । झण्डै हुरुक्कै भएको थिएँ तर सम्हालिएँ । कृष्णहरी बरालको त्यो बेला भर्खर भर्खरै पढेको गजल याद आएथ्यो - '..........पिरतीमा त अहो ! चिप्लेर लड्दा पनि.........' त्यै भएर होला सहनु मात्र हैन उ तिर फर्केर मुस्कुराएँ बरु । कानमा ' ऐले मारीदिन्छु अनि ' गुञ्जँदैथियो । ढाडमा मुक्काको प्रहार र कानमा उसको आवाजको प्रवेश सँगसँगै भएर हो क्यार कानको जालीनै रनन हुँदै छिरेको थियो उसको त्यो आवाज ।

' बरु मारीदे यार , ढुक्कै पनि हुन्छ त्यसैपनि तँ बिना मर्छु जस्तो लाग्छ मलाई । ' मुक्काको प्रहार उ तिर दृष्टि फ्याँकुञ्जेलमा गायब भै सकेको थियो ' छु मन्तर ' भएझैं ।

' आफैं काल खोजेर हिँड्नेलाई मैले के मार्नुपर्छ ? जे सुकै गर्नु , जाँ सुकै जानु.............. म चैं गएं ।' केहिकुरा भन्न खोजेर नसकेजस्तै म सँग भएको उसैको सानो डायरी उठाएर मेरो कोठाबाट निस्कीई उ । उ सँगको मेरो सम्बन्ध मैले तँ सम्बोधन गर्ने उसले तपाईँ सम्बोधन गर्ने भएपनि हामी साथी थियौं एकै छिमेकका । एक अर्कालाई मनपराउंथ्यौं । म उसलाई बिहे गर्न चाहन्थेँ । उसले खुलेर स्पस्ट केहि भनेकी थिईन तर समर्थन थियो । म जस्तो बसेको थिएँ त्यस्तै अवस्थामा बसेर मेरो कोठाबाट बरण्डा , भर्याङ्ग , आँगन हुँदै क्रमश पर पर जाँदै गरेको उसको चाल पछ्याउने प्रयत्न गर्दैथिएँ । आँगनको एक कुनाबाट आमाको आवाज सुनेँ , ' खै ? हाम्रो कान्छा जाँदैन रे आज ? '

मेरो छाति ढक्क फुल्यो । मेरी एक्ली बुढि आमालाई कतै उसले सबै कुरा भनिदिने त हैन । म झ्यालतिर लम्किएर कापबाट चिहाउन थालेँ । आमा करेसोमा चिचिला लाग्दै गरेको काँक्राको 'झ्याल'मा पटासीले बाँधेर गँगटो झुण्ड्याउनु हुँदैथियो । गाउँका कुनै केटाकेटीले ल्याईदिएको हुनुपर्छ त्यो गँगटो - अह्राईएको त मलाई नै थियो पहिले तर मैले टेरिनं । गँगटो झुण्ड्याएर काँक्राको चिचिलो अडिएला भन्ने पत्यार लाग्दैन मलाई । उ आमा भएतिरै नजिकै पुगी र भनि , ' खै के लेख्नुहुँदैछ अहिले त्यो सकाएर एकछिन पछि जानुहुन्छ रे । म गएँ है आमा ? ' उ फटाफट आँगन कटेर ओझेल परी ।

'ल नानी ल । ' आमाले पानीकल चलाउनुभयो , पानीकलको फेदका नट बल्टु खुकुलिएर हावा रोक्नलाई कपडा राखेर हुनेसम्म कसेको थिएँ मैले त्यसदिन पनि बिहानै तर हालत उस्तै थियो , आमाले चलाउँदा स्वाँ स्वाँ गरेर वासरले माथी खिच्नुपर्ने पानी तलैबाट आधा चुहिंदैथियो । आमाले पानीकल पनि अझै ठिक पारिदिएन भनेर गुनासो युक्त गन्थन शुरु गर्नुहुन्छ भन्ने अनुमान लाउँदैथिएँ म तर त्यसो गर्नुभएन बरु हात धोईसकेर पिँढितिर बढ्दै भन्नुभयो , ' हैन के लेख्दो हो यो सँधै ? केटाकेटी पढाउने मान्छे भ'र पढाउन नगई नगई एल्ले लेखेको कल्ले पढिदेला ? तेत्रो रामाएन उ बेलै लेखे हामीले ईस्कुलको मुख देख्न पा'भए हामी नि पढ्न सक्थिउँ होला त्यो रामाएन । '

यो पल्ट पिँढी , भर्याङ्ग , बरण्डा हुँदै म तर्फ आईरहेको आमाको चालमा थियो मेरो ध्यान त्यसैले केहि नगरी बसिरहेको म आमा कोठामा आइपुगुञ्जेलसम्म लेख्दै गरेझैं भएँ । ढोकाको चौकोषको आढ लिएर टाउको भित्र पर्ने गरी उभिएर आमाले भन्नुभयो , ' हैन किन ढिलो गर्छस् हँ कान्छा ? आज केटाकेटीलाई पढाईस् भने त भोली तैंले लेखेको पढ्लान् तिन्ले नत्र तैंले जे लेखेनि कस्ले पढ्ला बाबै ? '

' म गईहालेँ आमा अब । ' आमा आफ्नै धन्दामा जुट्नुभयो । म निक्कैबेर त्यतीकै घोरीएर बसेँ । मनमा अनेकौं सोचाईका लहरहरु उर्लिरहेका थिए ।

' जा कान्छा जा , जानेको बुझेको सिका केटाकेटीहरुलाई । किन अल्छि गर्छस् ? ' ढोका सामुबाट फेरी आमाको आवाज सुनेपछि म जस्तो अवस्थामा थिएँ त्यस्तै निस्किएँ । यौटा जिन्स पाईण्ट , हाफ बाहुलाको ठाडो धर्का भएको शर्ट । खुट्टामा हरियो हवाई चप्पल । सँधै बाहिर कतै हिंड्दा साथलिने गरेको रँग खुईलिएको हिरो साईकललाई पनि त्यसदिन घरै छाडीदिएँ ।

उद्विग्नताले घेरीएको भएपनि मेरो हिँडाईको रफ्तार सँधै जस्तै थियो त्यसदिन। फटाफट म मूलबाटोमा निस्किसकेको रहेछु । मूलबाटोमा पुगेपछि भने मलाई दोधार मात्र हैन चौधार नै भएको थियो कता जाने भनेर । पहिलो मनले स्कूलमै गएर बिद्यार्थीहरुसँग समय बिता भन्दैथियो । दोश्रोमनले बजारतिर गएर एकदुई कप चिया घुट्क्याएर आईज भन्दैथियो । तेस्रोमन खोलाको डिलमा सँधै एकान्त प्राप्त गर्ने ईच्छा हुँदा जानेगरेको स्थानमा जा भन्दैथियो भने चौथो मन घरै फर्केर घर छोड्ने तयारीमा जुट भन्दैथियो । हैन कतिवटा हुन्छन् हँ मान्छेको मनहरु ? मन अलपत्र थियो । पाईलाहरु भने खुरुखुरु स्कूलतिरै बढिरहेका थिए । स्कूल परिसरमा म पुग्दा एकप्रकारको चकमन्नता थियो त्याँहा । क्लास सुरु भै सकेकोले चउर खाली थियो । मैले पहिलो घण्टी पढाउने कक्षाकोठाबाट खल्याङ्गमल्याङ्ग आवाज आईरहेको सुनें । मैले स्कूल छाडीसकेको र मेरो ठाउँमा पढाउनलाई अरु कोही नभेटीएको अवस्थामा हल्ला त हुने नै भयो । म सोझै मेरै कक्षातर्फ गएँ । ढोकाको सम्मुख पुगेर देखेँ अर्चला आफ्नो कक्षा छोडेर मेरो कक्षा सम्हाल्न उपस्थित थिई त्याँहा । ढोका सामु मलाई देख्ने एकदुई जना बिद्यार्थीहरु कराउन लागे , ' उ दीपक सर आउनु भयो । '

' दीपक सर हामीलाई पढाउन आउनु न । '

अनपेक्षित अवस्थामा मलाई देख्दाको खुशी मैले अर्चलाको मुहारमा देखेँ । मलाई देखेर उसले ल तपाईंको कक्षा सम्हाल्नुस् पनि भन्नु परेन मैले लु म आएँ पनि भन्नु परेन । उ आफ्नो कक्षा तर्फ लागि । अर्चलाको र मेरो पछि निश्चित रुपमा हुन गै रहेको दम्पतीको सम्बन्धबारेमा मैले सम्पुर्ण खोलेको भएरै होला उ हम्मेसी र जहाँतहीँ मसँग खुलेर बोल्दिनथिई पनि बरु शट्टामा आदरभाव प्रकट गर्दथि तर हामीले एकान्त पाएको बेला भने म उसलाई बोलेर जित्न कहाँ सक्थेँ र ? म मेरो कक्षाकोठामा पसेँ ।

' सर तपाईं तालिममा नजानुस् न बरु हेडसरलाई पठाउनुस् र तपाईं फेरी हेडसर हुनु । ' कक्षाकोठाको मध्यभागमा बसेको कसैले भन्यो । मैले हिँजैमात्र म छिट्टै यो स्कूललाई हाईस्कूल बनाउनको लागी तालिम लिन जाँदैछु केहि महिनाको लागी भनेर झूट बोलेको थिएँ बिद्यार्थीहरुसँग । त्यसो त मैले अर्चलालाई बाहेक अरुलाई सत्य कुरा बताउन पनि कहाँ सकेको थिएँ र ? भन्न पनि सक्दिंनथिएँ । समाजमा देखिएका बिसंगतीहरुको विरोधमा हिंड्दाहिंड्दै म क्रान्तीकारी भएको थिएँ । खुल्लमखुल्ला क्रान्तिकारी हुँ भनेर परिचय दिन नसक्ने त्यो अवस्थामा भित्रभित्रै संगठन बनाएर सक्रियताका साथ परिवर्तनको निँती डटेर लागेको थिएँ म । आफु र आफ्नो काम नै विर्षेर हरेक सामाजिक काममा तदारुकताका साथ लागिपर्ने भएकोले गाउँ समाजमा पनि उमेरले नखारिएको भएपनि विचारले खारिएको भनिन्थें म । यहि स्कूललाई पनि मैले साँझ बिहान घरमा केटाकेटीहरुलाई निशुल्क ट्युशन पढाउन सुरुगरेबाटै यहाँसम्म ल्याउन सफल भएको थिएँ । त्यसो त यसमा म एक्लैको नभएर सबै गाउँलेहरुको पनि योगदान थियो ।

' सायद म तिमीहरुलाई पढाउँछु । म तालिममा नजान पनि सक्छु । टुँगो लागीसकेको छैन । ' मैले घर छोडेर क्रान्तीमा होमिन जाने निर्णय गरिसकेको भएपनि यसरी नै जवाफ दिएँ ।

खासमा मलाई संगठनको माथिल्लो ईकाईबाट क्रान्तिकारी संगठनकै साँगठनिक जिम्मेवारी दिएर पहाडी जिल्लामा पठाउने तयारी भएको थियो र मैले स्विकार गरिसकेको थिएँ । देशभर लुकेर छिपेर सबैले काम गरिरहेको त्यो अवस्थामा कतिपय स्थानमा त क्रान्ती उत्कर्षमा पनि पुगेको थियो । त्यसैले पनि हरेक ठाउँमा नयाँ नयाँ ब्याक्तित्वहरुलाई नयाँ नयाँ क्षेत्रबाट लगेर सँगठनको जिम्मेवारी दिँदा त्यसको फलदायि प्रभाव कार्यकर्ताहरुमा पर्ने साथै परेको खण्डमा लड्नभिड्न पनि सजिलो हुने निचोडका साथ म दुर्गम पहाडी स्थानमा शिक्षककै रुपमा जाँदैथिएँ । घर छोड्ने दिन जति नजिकिँदैथियो म उति उति बिचलित हुँदैथिएँ । मैले एक्ली आमालाई घरमा छोड्नुपर्ने कुराले मलाई सबैभन्दा पहिले पिरोल्थ्यो भने आफ्नै जिन्दगीलाई जस्तै स्याहारेको यो स्कूलले पनि मलाई बाँधेर राख्न खोज्थ्यो र सँधैको भेटघाट र आत्मियताबाट प्रेममा फड्को मारेर बिहे गर्ने निश्चय गरिसकेको अर्चलालाई छोड्न पनि मलाई त्यती सजिलो होला जस्तो लागेको थिएन ।

त्यसदिन बिद्यार्थीहरुसँग अतिरिक्त कुराकानी गरेरै बिताएँ मैले । स्कूल सकिएपछि सँधै झैं म अर्चलासँगै घर फिर्दैथिएँ । उसले सोधि , ' तपाईँलाई लडेर , मरेर , मारेर परिवर्तन सम्भव छ जस्तो लाग्छ ? '

' परिवर्तन चारजनाले चाहेर मात्र हुन सक्दैन । परिवर्तनको आवश्यकता कति टड्कारो छ भनेर जति धेरैलाई बुझाउन सकियो र परिवर्तन तर्फ उन्मुख बनाउन सकियो त्यती चाँडो परिवर्तन हुन सक्छ भन्नेमा म विश्वास गर्छु । ' मैले सोझै उसको जवाफ दिईँन । उ केही नबोली शुरुशुरु हिँडीरहि । म पनि केही भन्नै सकिरहेको थिईँन । उसको भन्दा पहिले मेरो घर आउँथ्यो बाटोमा । मेरो घरनेर पुगेपछि उनले आँखाबाट झण्डै झण्डै आँसु चुहाउँलाझै गरेर भनि , ' जे मनलाग्छ गर्नुस् । म पर्खिन्छु तपाईँलाई । ' प्रकटमा मैले केहि भन्न सकिंन केवल आँखाले उनलाई आभार प्रकट गरेँ ।

त्यही रात हामीले त्यही स्कूलकै कार्यलयमा सानो छलफल राखेका थियौं । म कसरी जाने , गएर कस्लाई भेट्ने , कहाँ बस्ने र मैले स्कूलको शिक्षकको अलाबा अरु के के गर्नुपर्ने भन्ने कुराहरुको छलफल गर्दैगर्दा हामी सबै पक्राउ पर्यौं । हामी पक्राउ परेका नौ दशजना सबैलाई रातारात कुनै अज्ञात स्थानको कैदखानामा एकैठाउँ कोचेर थुनिएको थियो । भोलीपल्ट हामीमध्येमा सिताराम सर , म र चण्डिका मिस बाहेकका अरु सबैलाई कुनै कागजमा सहि गराएर छोडिएको थियो । राती हामीले सल्लाह पनि त्यस्तै गरेका थियौं । जेलभित्र सडेर क्रान्तीकारी हुँ भन्नुभन्दा त जुनसुकै हिसाबले पनि बाहिर निस्केर नै क्रान्तीलाई सहयोग पुर्याउन सकिन्छ भनेर सकेसम्म सकुशल रिहाईकै बाटो रोज्ने सल्लाह भएको थियो । अरु सबैलाई रिहाई गरिसकेपछि उनिहरुले मुख्य ठहर्याएका हामी तीनजनालाई दिउँसै आँखामा पट्टी बाँधेर त्याँहाबाट अन्यत्रै लगे । हामीलाई कुनै जँगलमा लगेर गोली ठोकेर मार्नेछन भन्ने कुरामा हामी लगभग निश्चित थियौं तर त्यसो गरेनन उनिहरुले बरु हामी तिनैजनालाई अलग अलग स्थानमा सरुवा गराएका रहेछन् ।

झण्डै सातमहिना सम्म मैले त्यो अज्ञात स्थानको कोठरीमा कष्टपूर्ण समय बिताएपछि मलाई पनि अब आईन्दा यस्तो देशघाती कार्यमा सामेल भएर पक्राउ परेको खण्डमा सिधै गोली ठोकेर मारिनेछ भन्ने धम्की पूर्ण बकितम सुनाईएर र त्यस्तै लिखितममा सहिछाप गर्न लगाईएर छोडियो । त्यसबेला घर छोड्ने निर्णय गरेको मैले साँच्चै सातमहिना घर छोडेर नै फर्किएँ । मलाई कतैबाट आफन्त पर्ने नेपाल प्रहरीका कुनै हाकिमको सहारा लिईएर छुटाईएको थियो । सात महिना बन्दि जीवन बिताएर फर्कीएपछि म मा झन हौसला थपिएको थियो , परिवर्तन ल्याउनको लागी केहि योगदान गर्छु भनेर तर पुन मैले सँगठनमा सक्रिय भएर लागी पर्न पाईनँ । सँगठनका सदस्यहरु सँग सम्पर्क गर्न खोज्दा पनि मलाई केहि समयलाई त्यतिकै बस्ने सल्लाह दिएका थिए तर खासमा मलाई प्रहरीको मान्छेले रिहा गराएको भएर जिम्मेवारीबाट पन्साईएको हो भन्ने थाहा पाएको थिएँ मैले ।

समय परिवर्तन चाहनेहरुको पक्षमा ढल्कँदैथियो र धेरै भन्दा धेरै मान्छेहरुको समर्थन सँगठनलाई थियो त्यसैले पनि होला सँगठनमा मेरो आवश्यकता नखट्कीएको । सँगठनबाट बाहिर भएपनि पक्राउ परेपछि मेरो परिचय खुल्लारुममा नै क्रान्तिकारीमा परिणत भएको थियो । त्यो समयमा दलबाहिर परेका मान्छेहरुसँग मेरो सम्बन्ध राम्रो भएको थियो तर प्रतक्ष्य अप्रतक्ष्य म सँगठनकै हितमा हिँडेको थिएँ । कतै निन्दा कतै समर्थनको मझधारबाट क्रान्तिकारीहरु गुज्रिरहेको बेलामा अचानक देशको राजनीतिले अभुतपूर्व मोड लिएर औपचारिक रुपमा लामो द्वन्द बिश्राम भएर क्रान्तिकारी धार र सरकार चलाईरहेका तर समयले सत्ताबाट पन्साएका दलहरुमाझ सम्झौता भयो । सदियौं देखिको राजतन्त्र उन्मुलन भयो । सदियौं देखि देशले मागेको तर पटक पटक अनेक धोका र चालबाजीले हुननसकेको संविधान सभाको चुनाव हुने पक्कापक्की भयो । दलहरु संविधान सभामा पठाउनुपर्ने ठुलो संख्याको सभासदहरु जुटाउन युद्दस्तरमै लागीपरे । यतिठुलो संख्यामा उपयुक्त ब्याक्तित्व पाउनु दलहरुलाई सजिलो थिएन अत मनखुशी ब्याक्तिहरुलाई उम्मेद्वारी दिएर जनताको संविधान लेख्ने प्रतिनीधि बनाउन लागीपरे । त्यही अप्ठ्यारो अवस्थामा परेर मलाई पुरानै संगठनले सभासदको उम्मेद्वार छान्यो । म परिवर्तनको निंती यौटा लडाकु बन्न तयार भएको मान्छे बद्लिएको समयमा जनताको प्रतिनीधि नै बन्ने सौभाग्य पाउँदा म स्वभाविक रुपमा खुशी थिएँ । केही गर्न सक्छु म मेरो देशको निँती भन्ने आत्मविश्वासले भरिएको सोच जागेको थियो म भित्र ।

उम्मेद्वार भएर भाषण कलामा खास निपुण नभएको मैले कतै केहि कुराको बारेमा बोल्नुपर्दा यथार्थवादी भएर सत्य कुरा सोझै बोल्ने हुँदा म झनै लोकप्रिय भएँ । जहाँ गएर जे बोल्दा पनि थप्पडीको स्वागत पाउँथे म । लाग्थ्यो थप्पडीमा ठुलो तागत लुकेको हुन्छ । थप्पडीले नै मलाई अझ बुलन्द भएर अगाडी बढ्ने तागत दिने गर्थ्यो । चुनावको परिणाम आयो । थप्पडीको आशिर्वादले म विजयि भएँ जनताको प्रतिनीधिको रुपमा जनताको संविधान लेख्नको निँती ।

सभासदमा विजयि भै सकेपछिको मेरो दैनिकी बदलियो । मनमा देशको निँती केहि गर्न सक्ने उच्व अठोट सगरमाथा भएर ठडिएको थियो । समय बित्दै गयो । हरेक पटक संविधान सभाको सभाहलमा पस्दा यौटा उत्साह लिएर पस्ने र निस्कँदा निराशा लिएर निस्कन थालेँ म । सभाहलमा सरकार कसरी बनाउने , क कस्ले शक्तिशाली कुर्शी पाउने ? कुन भाग कस्लाई दिने ? शक्तिभाग नपाए कस्ले के गर्ने ? ईत्यादी ईत्यादी नित्यकर्म चल्न थालेपछि म दिग्दार हुँदै गै रहेथेँ ।

शान्ती प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने वचन हरेक मानेगुनेका बडा नेताहरुबाट सुनिन्थ्यो तर भित्रभित्र तानातानको खिचोलोले भने छोडेको थिएन । सबैले शान्तीपूर्वक संविधान बनाउने अनेक सम्झौता गरे तर पालन कसैले नगरेर आज झन अन्यौलता र अराजकता बढेको छ देशभरी । आफुपनि जिम्मेवार सभासद भएको हैसियतले अनेक पटक आफुले नियम कानुन उलँघन नगर्ने तव अरुले पनि गर्दैनन भनेर सल्लाह दिँदा म हाईड्रोजन भरिएको बलुन जस्तै हावामा उडेँ । हिँजो उम्मेद्वार चाहिएको बेलामा हामीसँग जोश र जाँगरले भरिएका यस्ता यस्ता युवा ब्याक्तित्वहरु पनि छन भनेर अगाडी सारिन्थ्यो मलाई । हामीसँग दलितका समस्याहरुसँग परिचित उम्मेद्वारहरुको लामो फेहरिस्त छ भनेर म र मै जस्तालाई अघि सारिन्थ्यो । आज सभामा मैले बोलेको कसैले सुन्दैन । हरेक पक्षमा लब्धप्रतिष्ठित मानिएकाहरुकै हो मा हो मिलाउने र थप्पडी बजाउने भएका छौं म र म जस्तै नयाँ विचार , नयाँ जोश बोकेर आएका हामी युवाहरु । समय यहि क्रममा हिंड्यो भने यो समयले पनि देशलाई झन अँध्यारोतर्फ धकेल्ने खतरा म आँखै अगाडी देख्ने गर्छु तर आज सुवर्ण अवशरलाई आफ्नो मुठ्ठीमा कस्न सक्नेले किन त्यही खतरा देख्न सक्दैनन् ?

म घरमा आएको थाहा पाएर म माथी भरोसा गरेर , परिवर्तनको आशा लिएर मलाई मत दिने गाउँलेहरु साथै एकाध स्थानिय पत्रकारले घेरिएँ म । सोधियो , ' के अब संविधान समयमा बन्ला त ? '

' के परिवर्तन यहि नाउँ मात्र कै हो त ? '

' तपाईंको सरकार छ , तपाईंले आफ्नो क्षेत्रमा विकाशका कस्ता योजनाहरु अगाडी सार्नुभएको छ त ?

' तपाईंहरु सरकारमा भएर पनि जँगली ब्यावहार छोड्न सक्नुहुन्न ? '

' तपाईंले नै हुर्काउनुभएको क्रान्तिकारी संगठनको गुण्डागर्दी कैले सम्म चल्ने हो त ? '
'..................'

'...........................'

प्रश्नको ओईरो लाग्यो । म यौटा सरकार पक्षकै सभासद भएर पनि मसँग कुनै प्रश्नको सटिक जवाफ थिएन ।
मैले भनेँ - ' यो ठुलो विडम्बना हो । यि सबकुरामा म यस्को त्यस्को गल्ती भन्दिंन । हामी सबैको गल्ती कमजोरी छ । आज मान्छेको आँखा नहेर्ने कुरा हेर्छ , मुख नबोल्ने कुरा बोल्छ , कान नसुन्ने कुरा सुन्छ , मश्तिष्क नअह्राउने कुरा अह्राउंछ , मन नसोच्ने कुरा सोच्छ , खुट्टा नहिंड्ने बाटो हिँड्छ , हात नगर्ने कर्म गर्छ तर मान्छे जानीजानी आफुलाई रोक्दैन । बिडम्बना यत्ति हो यो समयको । '

जम्मा भएका गाउँलेहरुले फेरी थप्पडी बजाए । यसपटक मलाई त्यो थप्पडीले उर्जा दिएन बरु गिज्याएको जस्तै महसुस भयो । ' उफ ! यो थप्पडी !! यता गाउँलेहरु बजाउँछन् । उता म बजाउँछु । कैलेसम्म हामी केवल थप्पडी मात्रै बजाईरहने हो ? '

देखेँ उता पत्रकारहरु यो जुम्से सभासदमा केहि दम छैनको भावमा ओठ लेब्र्याएर लुरुलुरु फर्कँदै थिए ।

एकभारी दाउरा

सँधै झिस्मिसेमै उठेर दाउरा काट्न जँगल जान्थ्यो उ । धेरै अगाडीदेखि यहि गर्दै आएको उस्लाई आजभोली बेलामा जँगल पुग्न पनि गाह्रो हुन्छ , दाउराको भारी तयार पार्न पनि गाह्रो हुन्छ र बेलुका बजारमा बेच्न ल्याईपुर्याउन पनि गाह्रो हुन्छ । उमेरले गल्दै गएपछि उसको दाउराको भारी पनि सानो आईपुग्न थालेको थियो बजारमा । अरु अरु दाउरेहरुको ठुलो ठुलो र हेर्दै दन्दनी बल्ने चिर्पट जस्ता दाउराको अगाडी उसको दाउराले कहिले भनेजस्तो त के पसिना बगाए जतिको पनि दाम पाउंदैन थियो । सँधै उसको एकभारी दाउरा किन्न बजारमै दुईचार वटा घर र पसलहरु भएका भिमसिन काजी आउँथे र उसले साठीको मोल राखेको दाउराको भारी दलाली गर्दागर्दा तीस रुपिँया दाम दिएर लैजान्थे । साँझ ढलुञ्जेलसम्म पनि अरु कसैले नकिने पछि उ सँग ति लोभि भिमसिन काजीलाई बीसै रुपिँयामा भए नि दिनुको बिकल्प हुन्नथ्यो तर भिमसिन काजी जहिले नि म भित्र नि हरी छन् तेरो एकभारी दाउरा बीसै रुपिँयामा कहाँ लिन सक्छु र भन्दै तीस रुपिँया फालेर जान्थे ।

तीस रुपिँया हात परेपछि उ भोली बिहानलाई चिया र पाउरोटी खाने दश रुपियाँ छुट्याएर बाँकी दश रुपिँयाको चना चिउरा र दश रुपिँयाको रक्सी खाएर पल्टन्थ्यो त्यतै एउटा कुनामा । आफन्त नातागोता कोही थिएनन् उसका । कसैसँग उसको नाता सम्बन्ध थियो त भिमसिन काजीसँगै थियो यौटा दाउरे र ग्राहकको ।

आजपनि उसले एकभारी दाउरा ल्याएर बजारको एक छेउमा पछारेको मात्र के थियो कहिल्यै उसको दाउरा सोध्न नआउने मान्छेहरु आएर दाउराको दाम सोध्न लागे । उसले साबिककै दाम बतायो साठी रुपिँया । उनिहरुले सय रुपिँयाको नोट फाल्दै दाउरा उठाउन खोजे । एकछिन उ अलमल्ल पर्यो । यि मान्छेहरु आज बौलाएछन् क्यार भन्ने लाग्यो र तुरुन्तै उसले भन्यो , ' हुँदैन हुँदैन । म यो दाउरा भिमसिन काजीलाई मात्र बेच्छु सँधै उनले तीस रुपिँया दिन्छन् । त्यती भए पुग्छ मलाई । तपाईंहरुलाई त दुई सयमा नि दिन्न ।'

दाउरा उठाउँदै यौटाले भन्यो , ' अब भिमसिन काजी आउँदैनन् तिम्रो दाउरा किन्न , उनैलाई जलाउन किन्न लागेको तिम्रो दाउरा । ल खुरुक्क त्यो पैसा राख । '

उनिहरु दाउरा उठाएर हिँडे । उसलाई आज यौटा आफन्त गुमाएझैं लाग्यो । सोच्यो - भिमसिन बुढाले बाँचुञ्जेल लोभ गरेर उसलाई तीस रुपिँया मारेको सायद मरेपछि पनि पैसा चाहिन्छ भनेरै हो क्यार । उसले पनि जिन्दगी भरी तीस रुपिँयामा एक भारी दाउरा बेचेर आधापेट खाने त हो । आज एकदिन यो सय रुपिँया समातेर के गर्नु भोली देखि उसको दाउरा पनि कसैले किन्ला कि नकिन्ला बरु आजको आधापेट चना चिउरा त भिमसिन बुढाको मलामी गएपनि खान पाउँछु नि , भयो लिन्न म यो भिमसिन बुढाको मरिसकेपछिको पैसा । यस्तै सोचेर उ पनि उतै दगुर्यो र पैसा फिर्ता गरेर मलामीको हुलमा मिसियो ।