March 09, 2009

लघुकथा : प्रोत्साहन

देशभरी नाम चलेका केहि कवि तथा साहित्यकारहरु राजधानीबाट आएर उनकै सहरमा साहित्यिक गोष्ठी गर्दैछन् भन्ने खबरले पुलकित थिईन् देवकी अझ त्यसमाथी प्रमुख अतिथिको रुपमा हुन गैरहेको , उनले नियमित पढ्ने गरेको राजधानीबाट प्रकाशन हुने ख्याति प्राप्त साहित्यिक पत्रिकाकि सह सम्पादक एवँ उनलाई मन पर्ने नामुद लेखिकाको उपस्थितीले झनै उत्साहित थिईन् उनि । निक्कै समय देखि नै कलम चलाउँदै आएपनि उपयुक्त अवसर नपाउनाले गुमनाम रहेकि देवकीलाई कार्यक्रममा निमन्त्रणा त थिएन तर पनि श्रोता बनेर तोकिएकै समयमा कार्यक्रम स्थलमा पुगिन् र श्रोता दीर्घामा आसन जमाईन् ।

कार्यक्रम सुरुभयो । प्रमुख अतिथि बनेकि उनको मनपर्ने लेखिकाले यस क्षेत्रमा नारी हस्ताक्षरहरु देखा नपरेकाले नारीहरुलाई साहित्य लेखनमा अभिप्रेरित गर्नलाई नै यो गोष्ठी आयोजना गरिएको भन्दा उनले ति महान लेखिकाको मनमनै प्रशँसा गर्दै जोड जोडले ताली बजाईन् । गोष्ठीमा भेला भएका सबै साहित्यकारहरुले आ आफ्नो साहित्य रचना पाठ गरिसकेपछि मञ्चमै आसन प्राप्त गर्ने गरी आमन्त्रित स्थानिय नारीहरुलाई उदघोषकले साहित्य रचना भए पाठ गर्न अथवा यस साहित्यिक गोष्ठीको सम्बन्धमा प्रकाश पार्न आग्रह गर्दा मञ्चमा आसिन स्थानिय नारीहरुले मुखामुख गर्दै हामीलाई त केहि आउँदैन भनेको सुन्दा उनलाई आफ्नो सहरकै बेईज्जत भएको महसुस भयो र श्रोता दीर्घाबाट उठेर आफ्नो कविता पाठ गर्ने अनुमति मागिन् ।

कविता पाठ गरिसक्दा तालीको गड्गडाहट सहित प्राप्त वाहवाहीले प्रसन्न उनमा तुरुन्तै ति नै नामुद लेखिकाले उनको कविताको तारिफ गर्दै ओझेलमा परेको प्रतिभालाई यसरी अगाडी ल्याउन सकेकोमा यो साहित्यिक गोष्ठी उध्येश्यमा सफल रहेको भन्ने टिप्पणी गर्दा प्रसन्नताको सीमा नै रहेन । यस्ता प्रतिभाहरुलाई हामी सँधै प्रोत्साहन गर्न चाहन्छौं भन्दै टिप्पणीमा थपेकि पनि थिइन् ति प्रख्यात लेखिकाले । कार्यक्रम समाप्ती पछि देवकी आफ्नो कविताको एकप्रति लिएर ति नै नामुद लेखिका समक्ष पुगिन् र तिनको चर्चित साहित्यिक पत्रिकामा आफ्नो कविता प्रकाशन गरिदिन अनुरोध बिसाईन् । ति लेखिकाले पुन एकपटक देवकीको कविता हातमा लिएर गौरसाथ नियाँलेपछि बडो साहित्यिक ढाँचामा जवाफ दिईन् , ' तपाईंका साहित्यिक बालीहरु अहिल्यै राजधानी भित्र्याउने बेला अलि भएको छैन ; बरु यतै मोफसलकै कुनै पत्रिकामा प्रकाशन गरे हुन्छ । '