June 20, 2009

लघुकथा : कामना

गाईबस्तुको भकारो फालिसकेर सुकेका स्याउला हालेर थलोको खाल्टो छोप्दै थियो सुखमान । तलतिरबाट केहि मान्छेहरु हल्लाखल्ला गर्दै उसकै घरतिर उकालो आउँदै थिए । हातको स्याउला हातमै लिएर हेर्दा उसले उसकै भाइ सन्तमान र बुहारी एकदुई अरु छिमेकीका साथ उज्यालो अनुहार बनाएर उँचो उँचो स्वरमा बोल्दै आउँदै गरेको देख्यो ।

बुहारी भन्दैथि'न् , 'अब त यो पैसोले घरमा टिन् ठोक्नु पर्छ बुढा । सप्पैका टिनका छाना भैसके ।'

'ठोकुम्ला न । अलिकति बारी पनि जोड्न पर्ला भनेर सम्जे'थेँ मैले त ।' ठुलै भाग्यशाली चिठ्ठा हातपरेको रवाफ थियो सन्तमानको ।

त्यतिञ्जेल सुखमानको करेसामै उक्लिसकेका थिए उनिहरु । छिमेकी बिजुवा बाले थपे , 'यत्रो बिधी पैसो पा'असि जे जे गरे नि भो नि अब । बाह्र वर्षमा त खोलो पनि फिर्छ भनेको ठ्याक्कै पुग्यो सन्तमान भाइ तिमीलाई ।'

'सन्तमानलाई के को गाड्धन मिलेछ त ?' बुझ्ने मन भयो सुखमानलाई तर सोध्न सकेन उसले । उनिहरु दाजुभाइको पानी बाराबार भएको अझै बोलचाल छैन ।

हातको स्याउला अझै हातमै लिएर मुर्ति जस्तै ठिङ्ग उभिएको सुखमानलाई देखेर सन्तमानले उभिएरै भन्यो , ' ए दाजै , सरकारले ३ लाख रुप्पे दिया छ हाम्लाई क्षेतिपुर्ति...... '

सन्तमानले बताईसक्न नभ्याउँदै बुहारीले भनिन् , 'के सुनाउंउछौ नि बुढा ईन्लाई ? उ बेला हाम्रो छोरा मर्दा खुशी हुनेलाई । उन्का छोरा पनि तेई लडाईँमा गा'छन् । हाम्रो छोरा मर्दा चैं खुशी हुने असतीहरु ।'

उनिहरु फटाफट उसको करेसो कटेर उकालिए । सुखमानलाई भन्को छुटेझैं भयो । हातको स्याउला फ्यात्त फालेर उ बस्तुको किलो समाएर घाँसहाल्न तेर्स्याएको ढाटमा बस्यो । उसको भाइ सन्तमानका तिनभाई छोराहरु । ति मध्ये माईलो लडाईंमा परेर मरेको बेला उसले सम्झाएथ्यो , 'ए नरोउ अब । रोएर मरेको मान्छे फर्कँदैन । तिमरका त अरु दुईभाइ ज्युँदै छन् । मेरो यौटै भ'को नि लडाईंमै गा'छ । मरेको त मरिगो बाँचेकाको मुख हेरेर मन बुझाओ ।'

त्यसैबेला चर्केकि थिन् उसकि बुहारी , '......तिम्रा छोरा नि मरेको दिन था'पाउँछौ ?... '

'अझै टेक लिरा'रान् त्यति कुरामा । मैले खुशी भ'र त भनेको थिँन् ।', खुईय! काढ्यो उसले ।

'...यो पैसोले घरमा टिन् ठोक्नु पर्छ... ' बुहारीकै कुरा उसको कानमा फेरी आएर पस्यो । उसले आफ्नो छानो सम्झ्यो । बर्खामास झरीमा सुत्दा ओच्छ्यानमा चुहेको पानी थाप्न भाँडा राखेको सम्झ्यो ।

'थुक्क ! कस्तो जुनी हो दैब मेरो यस्तो । एउटा भ'को छोरो पनि ख्वै कता के खोरमा हो कि शिबिरमा हो राख्या छन् रे । कैले सम्मन् राख्दा हुन् ? छोडीदिए पनि त यो बुढेशकालमा घरमा मलाई काम सघाउँदो हो ? बस्तुको थलोमा यत्रो खाल्डो परेको छ म बुढो एक्लै पुर्न सक्दिँन । छोरो भएर मात्र पनि के गर्ने ? बरु यसै घर थिएन उसै घर थिएन मरेकै भए पैसो त आउने रहेछ ।'

'हैन के भन्छौ ए काजीका बाउ ? तिमीलाई छोरोभन्दा पैसो ठुलो हुने भो अब ?' श्रीमतीको तिखो आवाजले झसङ्ग भयो सुखमान । उसले पुलुक्क हेर्यो काजीकि आमा नजिकै दाउरा झिक्दै थिईन् ।

'हत्तेरिका ! मैले सारै पो बोलेछु कि क्या हो ? थुक्क ! त मलाई , कस्तो कामना गरेको हुँला मैले यस्तो ? गरीब गुरुबा भएपछि यो माया ममता भन्ने कुराको पनि केहि भेल्लु नहुने रहेछ ।' यसपटक भने उसले होसियार भएर मनमनै भन्यो ।

March 09, 2009

लघुकथा : प्रोत्साहन

देशभरी नाम चलेका केहि कवि तथा साहित्यकारहरु राजधानीबाट आएर उनकै सहरमा साहित्यिक गोष्ठी गर्दैछन् भन्ने खबरले पुलकित थिईन् देवकी अझ त्यसमाथी प्रमुख अतिथिको रुपमा हुन गैरहेको , उनले नियमित पढ्ने गरेको राजधानीबाट प्रकाशन हुने ख्याति प्राप्त साहित्यिक पत्रिकाकि सह सम्पादक एवँ उनलाई मन पर्ने नामुद लेखिकाको उपस्थितीले झनै उत्साहित थिईन् उनि । निक्कै समय देखि नै कलम चलाउँदै आएपनि उपयुक्त अवसर नपाउनाले गुमनाम रहेकि देवकीलाई कार्यक्रममा निमन्त्रणा त थिएन तर पनि श्रोता बनेर तोकिएकै समयमा कार्यक्रम स्थलमा पुगिन् र श्रोता दीर्घामा आसन जमाईन् ।

कार्यक्रम सुरुभयो । प्रमुख अतिथि बनेकि उनको मनपर्ने लेखिकाले यस क्षेत्रमा नारी हस्ताक्षरहरु देखा नपरेकाले नारीहरुलाई साहित्य लेखनमा अभिप्रेरित गर्नलाई नै यो गोष्ठी आयोजना गरिएको भन्दा उनले ति महान लेखिकाको मनमनै प्रशँसा गर्दै जोड जोडले ताली बजाईन् । गोष्ठीमा भेला भएका सबै साहित्यकारहरुले आ आफ्नो साहित्य रचना पाठ गरिसकेपछि मञ्चमै आसन प्राप्त गर्ने गरी आमन्त्रित स्थानिय नारीहरुलाई उदघोषकले साहित्य रचना भए पाठ गर्न अथवा यस साहित्यिक गोष्ठीको सम्बन्धमा प्रकाश पार्न आग्रह गर्दा मञ्चमा आसिन स्थानिय नारीहरुले मुखामुख गर्दै हामीलाई त केहि आउँदैन भनेको सुन्दा उनलाई आफ्नो सहरकै बेईज्जत भएको महसुस भयो र श्रोता दीर्घाबाट उठेर आफ्नो कविता पाठ गर्ने अनुमति मागिन् ।

कविता पाठ गरिसक्दा तालीको गड्गडाहट सहित प्राप्त वाहवाहीले प्रसन्न उनमा तुरुन्तै ति नै नामुद लेखिकाले उनको कविताको तारिफ गर्दै ओझेलमा परेको प्रतिभालाई यसरी अगाडी ल्याउन सकेकोमा यो साहित्यिक गोष्ठी उध्येश्यमा सफल रहेको भन्ने टिप्पणी गर्दा प्रसन्नताको सीमा नै रहेन । यस्ता प्रतिभाहरुलाई हामी सँधै प्रोत्साहन गर्न चाहन्छौं भन्दै टिप्पणीमा थपेकि पनि थिइन् ति प्रख्यात लेखिकाले । कार्यक्रम समाप्ती पछि देवकी आफ्नो कविताको एकप्रति लिएर ति नै नामुद लेखिका समक्ष पुगिन् र तिनको चर्चित साहित्यिक पत्रिकामा आफ्नो कविता प्रकाशन गरिदिन अनुरोध बिसाईन् । ति लेखिकाले पुन एकपटक देवकीको कविता हातमा लिएर गौरसाथ नियाँलेपछि बडो साहित्यिक ढाँचामा जवाफ दिईन् , ' तपाईंका साहित्यिक बालीहरु अहिल्यै राजधानी भित्र्याउने बेला अलि भएको छैन ; बरु यतै मोफसलकै कुनै पत्रिकामा प्रकाशन गरे हुन्छ । '

March 01, 2009

कथा : यू टर्न

साउथ किहे रोड प्रशान्त महासागरको किनारै किनार हुँदै माउई टापुको दक्षिण भेगमा वल्लो कुनादेखि पल्लो छेउसम्म हिंड्छ। माझमा व्यस्त किहे बीच प्रशान्त महासागरलाई ‘आइज, मलाई डुबा’ भन्दै घ्याक पसारेर बसेको छ। किहे बीचकै सामुन्ने बाटोवारी काठ र बाँसका भाटाले हवाइयन शैलीमा बनाइएका चिटिक्क परेका केही एकतल्ले घरहरु छन्। हेर्दा सामान्य कुनै दुर्गम गाउँमा अनेक अभावहरु सहँदै उभिएका टहराहरु जस्ता देखिने उक्त घर क्षेत्र भने आश्चर्यजनक तथा मनमोहक तवरले सजाइएको छ। आँगनमा बनाइएका साना-साना पुष्प बाटिकामा अनेकौं फूलहरु हाँसिरहेका छन्। कसैलाई एकसय आठ पुष्प चाहिएको भए उसले अन्यत्र कतै खोज्न जानै पर्दैन। माझमाझमा निर्माण गरिएका स-साना जलकुण्डहरुमा रंगीबिरंगी साना ठूला माछाहरु पानीको फोहरासँगै खेलिरहेका छन्। हरेक एउटा कुण्डबाट अर्कोसम्म पानी बग्ने सानो कुलेसोले जोडिएको हुँदा लाग्छ त्यहाँ खेलिरहेका माछाहरुलाई आफू बन्दी बनेको पत्तो नहुँदो हो। हरेक अर्को अर्को कुण्डमा पौडन स्वतन्त्र छन् माछाहरु।

परम् सौन्दर्ययुक्त उक्त बाटिका उर्वशी, रम्भा, तिलोत्तमा, इत्यादि अप्सराहरुलाई अघिपछि लगाएर ऐरावत चढी विहार गर्ने देवगणका राजा ईन्द्रको स्वर्गलोकको दाँजोमा पटक्कै कम छैन। भलै वरपर आलिशान महलहरु छैनन्। बाटिकाको चारैतिर उस्तै आकारप्रकारमा निर्मित घरहरु सबै मदिरालय सहितका आधुनिक नाचघरहरु छन्। आधुनिक जिब्रोले डान्स बार उच्चारण गर्ने उक्त मदिरालय तथा नाचघरहरु सबैको आ-आफ्नै विशेषता रहेको छ। कुनैमा अर्धनग्न नाचिने, कुनैमा सर्वनग्न नाचिने, कुनै महिला समलिँगीहरु भेला हुने, कुनै पुरुष समलिँगीहरु भेला हुने त कुनै सामान्य प्रकारकै रहेका छन् तथापि जो कसैलाई जहीँकहीँ जान उमेरको हद बाहेक अन्य छेकबन्द छैन। तिनै मदिरालयहरु मध्येको यौटा ‘टिकी लञ्ज’ नामले प्रसिद्ध नाचघरसहितको मदिरालयमा चारवटा कुना भएको बारको एक कुनामा साथीहरु पर्खेर डी बसिरहेको छ।

हातले बार टेबलमा राखेर पिउँदै गरेको रक्सीको गिलास खेलाउँदै ऊभित्रै मुटु कलेजै थर्किने गरेर बजिरहेको गीत ठम्याउने कोशिश गरिरहेको छ। एक त उसले पहिले नसुनेको जस्तो लाग्ने गीत त्यसमाथि डीजेले प्लेयरमा सीडी घोटेर फुल पार्ने बेलाको कुखुरी कोर्कोराएझैं बनाउँदा उसलाई गीत बुझ्नै गाह्रो भै रहेछ। गीतबाट हटेर उसको ध्यान डीजेमा केन्द्रित हुन्छ। कालो वर्ण, खँदिला बलिष्ट पाखुरा भएको झण्डै ६ फिट उचाई भएको डीजेले सिक्स्टी नाइन नम्बर लेखिएको बास्केट बल खेलाडीको झैं जर्सी लगाएको छ र गीतको हाउभाउ अनुरुप शरिर मर्काउँदै प्लेयरमा सीडी घोट्न ब्यस्त छ ऊ। सायद ऊ बारमा नाच्न आउने युवतीहरु आफूमा आकर्षित भइदिउन् भन्ने पिरलोमा छ। ऊ यहाँको आम मान्छे। बस्दो हो कतै अपार्टमेण्ट लिएर एक्लै। न बाउआमा पाल्ने झण्झट हुँदो हो उसलाई न दिदीबहिनीको बिहेबटुलोको चिन्ता। न अधिकारको निम्ति लड्नु पर्दो हो कसैसँग, न भेदभावमा परेर हिंड्नुपर्दो हो कसैबाट। यहाँसम्म कि आफ्नै घरजमको पनि सुर्ता गरिरहनु नपर्ने आम मान्छे ऊ। ऊ भित्रको कथाव्यथा त उसैलाई थाहा होला तर डीको नजरमा ऊ शोक न सुर्ता भोक न भकारी देखिएको छ।

‘ Hey D, You already here in D corner huh ? ‘ डेजा आइपुगी। यो बारमा ठाउँ पाएसम्म ऊ यही कुनामा बस्न रुचाउँथ्यो र उसले यो कुनालाई डी कुनो भनेर नाम दिएको थियो, ‘ Whatchya drinking ? ‘ उसको पहिलो नजर डीको हातले टेबलमै समाइहेको ड्रिंक्समा पर्‍यो। उसले हातमा झुण्ड्याएको ब्याग टेबलमा एकापट्टी राखी र डीलाई अँगालो हालेर भेटको हार्दिकता साटी। कुर्सीबाटै लम्किएर उसले पनि हार्दिकता जनायो र भन्यो, ‘ Uh ! Scotch . what are you drinking ? ‘

‘ You know how I get down, Sierra nevada so I can feel californication. ‘ क्यालिफोर्नियाबाट आएकी ऊ क्यालिफोर्नियाप्रति सकेसम्म गर्व गर्दथी।

उसले डेजाको बियर मगायो र दिँदै भन्यो, ‘ What’s californication ? ‘

‘ Well I have no Idea what exactly it is, but it’s in a song. Have you ever heard the song Californication ?’

‘No never .’ छैनको भावमा डीले टाउको हल्लायो साथमा ओठ पनि छैन भन्ने कुरालाई अझ प्रष्ट पार्न लेब्र्याएको थियो।
‘ Oh ! Man, I love John Frusciante’s song . ‘ ऊ गाउन थाली,
‘ … It’s the edge of the world
And all of western civilization
The sun may rise in the east
At least it settles in the final location
It’s understood that hollywood
Sells californication….’

‘ Hey guys what’s crackin’? ‘ प्याट आइपुग्यो। पछिपछि मिलिसा, उसकी दिदी रचेल र रचेलकी गर्लफ्रेण्ड डायना र पाउला थिए। डेजाले पहिले प्याटलाई अँगालो हालेर भेटको हार्दिकता जनाई। डी र प्याटले हात माथि उठाएर हत्केला जुधाई। त्यसपछि हात मिलाए र हात मिलाउने केही प्रक्रिया पूरा गरेर दुवैले चुट्की बजाउँदै भेटको हार्दिकता बाँडे। मिलिसाकी दिदी र उसकी ग्रलफ्रेण्डसँग डीको दोश्रो पटकको भेट भएपनि उनीहरु अँगालो हालेरै हार्दिकता जनाउन अघि सरे।

‘लामाते डी ‘, दुई हत्केला नमस्ते भावमा जोडेर नाकसामु पुर्‍याउँदै सबैभन्दा पछिल्तिरकी पाउलाले भेटको हार्दिकता जनाई।

‘नमस्ते !’ हात जोडेरै डीले जवाफ फर्कायो। समूहका सबै हाँसे उनीहरुको हार्दिकता साट्ने नयाँ शैली देखेर।

‘ What? ‘ उनीहरुतिर प्रश्नसूचक नजरले हेर्दै साथमा हातले भाउ देखाउँदै उसले भनी, ‘It’s not funny, respect their culture guys . Don’t make fun .’

‘ We are laughing at you Paula, not at his culture . ‘ डेजाले थुतुनो चलाई।

‘ You Know what’s funny ? ‘ प्याट केही भन्न खोज्दै थियो।

‘ Your Mom’s funny . ‘ चोथाले डेजालाई केही निहुँ पाउनु हुँदैन मुख फर्काइहाली।

प्याट एकछिन् चुपलाग्यो र बोल्यो, ‘ I Know My Dad’s funny too .’

अर्जेन्टिनाबाट तीन चार महिनाको लागि आएकी पाउला भोलि फर्कंदै थिई। उनीहरु सबै आज पाउलासँग अन्तिम रमाइलो गर्नलाई बार आएका थिए। उनीहरुको ग्रुपमा राम्रै हेलमेल भएकी मेक्सिकोकी मारिया भने भेटघाटको निम्ति घर फर्केकी हुनाले यसपटक अनुपस्थित थिई।

‘ It’s time for a shot, what you guys want to drink? .’ मिलिसाले प्रस्ताव ल्याई। सबैको निम्ति सट नै आयो। सबैले चियर्स गरेर पाउलालाई यात्राको शुभकामना भन्दै घुट्क्याए।

‘ I wanna go shake my ass .’ डेजा आफ्नो स्थान छोडेर नाच्न गई। रचेलले उसकी ग्रलफ्रेण्डलाई तानेर नाच्न लगी। प्याटले पाउलालाई लिएर गयो।

‘ You wanna go dance ? ‘ मिलिसाले डीलाई नाच्न जान भनी।

‘ After a couple more of these, sure.’ उसले जवाफ दियो। नाच्न खासै भाखा नल्याउनेलाई रमरम नहुञ्जेल आँगन टेडो हुन्छ भन्ने थाहा थियो उसलाई। बरु उसले चुरोट पिउन बाहिर जाने प्रस्ताव राख्यो। मिलिसा चुरोट पिउँदिनथिइ तर साथ मात्रै दिन निस्की बाहिर। उनीहरु आँगनमा निर्मित सानो उद्यानको फलैँचामा बसे।

‘ D, your country is really amazing, I can’t wait to get there.’ गफ गर्ने मेलो झिकी मिलिसाले। आउने अगस्तमा डी नेपाल फर्कंदै थियो र मिलिसा र प्याटले ऊसँग नेपाल घुम्ने योजना बनाएका थिए।

‘ It’s going to be so fun .’ उसले यति भन्यो र भूईँमा कसैले पिउँदापिउँदै फालेको, धुँवा उडिरहेको चुरोटको ठुटोमा नजर टिकाएर चुरोटको कस तान्न थाल्यो ऊ।

‘ I want to see Mustang and go to the base camp at Everest.’ मिलिसा आफूले इच्छाएको कुरा बताउँदैथिई, ‘ Hey babe, how you doin’ ? long time no see .’ कुनै तेस्रो व्यक्ति दुवै हात फैलाएर मिलिसालाई अँगालोमा स्वागत गर्दै आयो। आश्चर्यचकित भावमा ठूल्ठूला आँखा पार्दै मिलिसा उठी र तिमी कहाँबाट यहाँ आइपुग्यौ ? छक्कै परेँ तिमीलाई यहाँ देखेर भन्दै उसको अँगालोमा बेरिई। उसको अँगालोबाट खुस्किएपछि उसले निक नाम गरेको त्यो व्यक्तिसँग डीको परिचय गराई।

‘ Hey what’s up man ? ‘ उसले डीतर्फ हात बढायो।

‘ Chillin’, what’s up with you?’ डीले हात मिलायो। त्यसले मिलिसालाई ड्रिँक्स किनिदिने चाहना देखायो। मिलिसाले आज भैगो अरु कुनै दिन भन्दै अस्वीकार गरी।

‘ Where you living these days Milissa ? Can I come visit you sometime ?’ मिलिसाको पछि लाग्न छोडेन ऊ। एकैछिन मिलिसा असमञ्जसमा परे झैं देखिई र डीसँग टाँसिँदै उसको ढाड सुम्सुम्याउँदै भनी, ‘ Well you have to ask D, we live together .’

निक अलि हच्किएझैं भयो, ‘Oh you guys-’ उसले वाक्य पूरा गर्नै परेन मिलिसाले कुरा टुङ्ग्याई, ‘Yeh, we’ve been together a while .’

मिलिसा निकको अघिल्तिर नाटक रच्दैछे भन्ने बुझ्न डीलाई बेर लागेन। उसले खुस्रुक्क चुरोटको ठूटो भूईँमा खसाल्यो र मिलिसाको हात समातेर उठाउँदै भन्यो, ‘ Hey sweetheart let’s bounce.’

उनीहरु उठे। निकसँग पछि हट्नुको विकल्प थिएन। उ हारेको साँढे झैं देखिन्थ्यो न मैदानबाट पूच्छर केलाएर भाग्न सक्ने न जुध्न नै अघि बढ्न सक्ने। त्यसैबला कतैबाट बत्तिएर डेजा आइपुगी, ‘ You guys need to quit slackin’ . Shots are poured and we’re waiting on you two .’

उनीहरु भित्र जानै लाग्दा डेजाले डीसँग चुरोट मागी। डीले चुरोट दिएर सल्काइदियो। डेजाले भनी, ‘You guys go ahead, I’ll be right back .’

डी कर्नरमा उनीहरु पुग्दा उनीहरुको कुर्सीमा अरुनै कोही बसेका थिए। टेबलमा उनीहरुकै प्रतीक्षामा रहेको सट सबैले हातमा लिएर पुनः पाउलालाई यात्राको शुभकामना भन्दै घुट्क्याए। भीड छिचोल्दै डेजा र निक हात समातेर त्यतै आउँदैथिए। मिलिसाले डीको कानमा मुख लगेर भनी, ‘ Did you see them? That dude’s a player.’

हात दुवैले समाएका थिए। यहाँ डेजाले निकको हात समाई भन्न अथवा निकले डेजाको हात समायो भन्न र उनीहरुप्रति धारणा बनाइहाल्न अलि नमिल्ने देखेर डीले केही भनेन। बरु उसको दिमागमा मिलिसाको के सम्बन्ध थियो निकसँग र यसरी तिरस्कारले हेर्दैछे भन्ने कुरा खेल्न थाल्यो। सट घुट्क्याईसकेपछि सबै हातहातमा ड्रिँक्सको गिलास, बोतल बोकेर नाच्न अघि सरे। मैदानमा डल्ली-डल्ली डेजा निकसँग मर्की-मर्की नाच्दै थिई। त्यही देखेर मिलिसाले डीलाई बाहिर जान आग्रह गरी। नाच्नु थिएन उसलाई पनि मिलिसाको पछि लाग्यो ऊ।

‘ Hey Melissa, what’s the story between you two? Why’d you lie to him?’ कौतुहलता रोक्नै सकेन उसले।

मिलिसाको कथामा निक मिलिसाको राजकुमार थियो कुनै दिन। झण्डै ३ वर्ष उनीहरुसँगै बसे तर निकले उसलाई धोका दिएर अर्की गर्लफ्रेण्ड बनाएपछि मिलिसाले उसलाई छोडेकी थिई।

‘ I Don’t even know how he got here. And he still wants to come my house, Just to have me . I’m not a food ok? ‘ दुखेसो पोखाई उसले।

‘ Well, I don’t think he only ate you Mellisa . You both ate together. It takes two to tango.’ डीले मिलिसाकै संस्कृति अनुरुप अलिकति ब्याख्या छाँट्यो।

‘ Yah, you’re probably right but what do you say to cheater ? He cheated on me .’ आफ्नो पक्षको वकालत गरी मिलिसाले।

डीलाई त्यो नचिनेको निकको पक्षमा वकालत गर्नु थिएन। भन्यो, ‘You already dumped him, and your not a food and they can’t enjoy you like a food unless you let ‘em . ‘

‘ Hey D. Could you hook me up with a cup of your man juice ? We want to have a baby . ‘ मिलिसाकी दिदी रचेल र उसकी ग्रलफ्रेण्ड डायना मातेर लठारिँदै आए।

‘ Stop asking every Tom, Dick, and Harry. Keep that shit on the DL Rachel ? ‘ मिलिसाले हकारेको स्वरमा दिदीलाई कराई। ऊ केही रिसाएझैं देखिन्थी। रचेलले मिलिसालाई घ्वाम्लाङ्ग अँगालो हालेर म्वाई खाँदै भनी, ‘ Don’t get mad babe, you know we really want to have a baby .’

‘ Don’t make a scene, you guys can adopt a baby.’ रिसाएरै उसले दिदीलाई उपाय सुझाई।

‘ I know ! but I want to feel a baby inside me.’ टी शर्ट मास्तिर सारेर नाङ्गो भुँडी सुम्सुम्याउँदै रचेलले भनी। यिनीहरुलाई लेस्बियन पनि हुनुपर्ने अनि बच्चा पनि पाउनु पर्ने भन्दै केही बेर मिलिसा एक्लै भुत्भुताइरही।

डी अक्क न बक्क भएर रचेलको चर्तिकला हेरिरहेको थियो चुपचाप। पहिलो चोटी भेट्दा रचेलले आफू सियाटलमा कुनै टेलिभिजनमा कार्यक्रम चलाउँछु र न्युज पनि भन्छु भनेकी थिई। उसलाई भर्खरै नेपालमा बारमा गएर नाचेको आरोप मै कुनै महिला सञ्चारकर्मीले जागीरबाट हात धुनुपरेको सम्झना भयो। ऊ सोच्दै थियो कति फरक संस्कृति यिनीहरुको र हाम्रो।

निक्कै बेर डी र मिलिसाले दुई संस्कृति बीचको अन्तरका कुरा गरे। मिलिसाले तिम्रो कल्चरका शान्त र सौम्य मान्छेहरु मनपर्छ तर तिमीहरु वर्षौंवर्ष लोग्ने-स्वास्नी, प्रेमी-प्रेमिकाहरु छुट्टिएर बसेको देख्दा कहाली लागेर आउँछ भनी। नेपालबारे केही चासो राख्‍ने भएकीले मिलिसालाई धेरथोर जानकारी थियो नेपाली जनजीवनको बारेमा पनि। बाबुआमाले हेरिदिएर बिहे हुने प्रसँग चल्दा मिलिसाले भनी, ‘ That doesn’t sound very cool to me. How does it work when the husband and wife don’t love each other?’

सामान्यतया मागी बिहेको बारेमा सुन्ने बित्तिकै बिना प्रेम जीवन बिताउँछन पूर्वीयहरु भन्ने धारणा धेरै पश्चिमाले तुरुन्तै बनाए झैँ मिलिसाको पनि धारणा थियो।

डीले सम्झाउन सकेसम्म जसरी प्रेम भए पनि तिमीहरुको बिहे नहुन सक्छ त्यसरी नै हाम्रो बिहे भैसके पछि पनि प्रेम हुन सक्छ भन्दै थप्यो, ‘ It’s not about love according to the custom, it’s about respect. But that’s crazy marriage should be about love.’

वास्तवमै जुनसुकै भूगोलमा रहने समाजको पनि भावनात्मक पक्षको पाटो उस्तै हुन्छ। फरक देखिन्छ त केवल तिनीहरुको कृयाकलापमा मात्र र त्यो पनि बाँकी समाजले कसरी हेर्छ भनेर। आखिर एउटै समयका मान्छेहरु हुन समग्रमा नहोला संक्षिप्तमा सबैतिर उस्तै हुन्छन्। यौनको विषयमा अलि बढ्तै कडाई हुनाले आफ्नो समाजमा निम्तिएका विकृतिहरुप्रति डीलाई जति अपशोच थियो त्यति नै अपशोच यौनको विषयमा उसको समाजमा भएको बढ्तै खुकुलोपनाले निम्त्याएका विकृतिहरुप्रति मिलिसालाई पनि थियो। दुई भिन्नाभिन्नै संस्कृतिमा हुर्केबढेका भए पनि उनीहरु दुवै पतिपत्‍नी तथा प्रेमीहरु एकआपसमा आदर गर्नलाई हैन बरु प्रेम गर्नलाई हुन्, एकआपसको प्रेमले स्वत आदर स्थापना गर्छ भन्ने कुरामा सहमत थिए।

यस्तै कुरामा अलमलिएर उनीहरुले त्यो बारको रमझमको भन्दा धेरै त्यो उद्यानको सौन्दर्यको आनन्द उठाउँदै समय बिताए। बारहरु लगभग बन्द हुने बेला भैसकेको थियो। उनीहरुको ग्रुप घर फर्कनलाई पार्किङ् लटमा भेला भएर छुट्ने बेलाको चुरोटको धूवाँ उडाउँदै थियो। को-को मातेको छैन, कसले ड्राइभ गर्ने र कसले कसलाई घर छोडिदिने सल्लाह गर्दै थिए उनीहरु। रचेल र उसकी ग्रलफ्रेण्ड हामी ड्राइभ गर्न सक्छौं भनेर लागे आफ्नो गाडीतिर। मिलिसाले प्याट र पाउलालाई छोडिदिने भई। डेजा भने म ड्राइभ गर्न सक्दिनँ म त आज डीसँग डीकै घर जान्छु भनेर अड्डी कस्न थाली। ऊ साँच्चै धेरै मातेकी पनि थिई। मिलिसाले डीलाई लैजाउ उसको घर पनि टाढा छ तर भोलि छिट्टै आएर गाडी लैजानू नत्र टो गरिदिन्छ भनेर सम्झाई। उसले डेजालाई आफ्नो गाडीमा राख्यो र घर लैजान स्टार्ट गर्‍यो।
‘…..I wanna love you and treat you right;
I wanna love you every day and every night:
We’ll be together with a roof right over our heads;
We’ll share the shelter of my single bed…. ‘ उसको गाडीमा पहिले बजिरहेको बब मार्लीको गीत अटो प्ले भएर घन्कन थाल्यो। डेजा नशाकै सुरमा खुसीले उन्मत्त हुँदै सँगसँगै गाउँदै झुम्न थाली। मानौं ऊ डीको घर जान र डीको बेड सेयर गर्ने खुसीमा उम्लिरहेकी छे। डीले अर्को सीडी बज्ने गरेर प्लेयरको बटन थिच्यो।
‘………सातै समुद्र तरेर गयौ चिठ्ठी त लेख है
म पनि देख्छु सपनीमा तिमी मलाई देख है………’ कुन्ति मोक्तानको स्वर घन्कन थाल्यो।

‘What is this D ? I don’t understand any of these words. You should put Bob Marly back on.! ‘ डेजाले बब मार्ली नै सुन्ने चाहना देखाई।
‘ Alright.’ उसले पुनः बब मार्लीकै गीत बजायो। डेजा गीतकै तालमा हल्लिंदै गाउन थाली। तर डीको मनमा भने कुन्ति मोक्तानको गीतले घर बनाइसकेको थियो। रातको २ बजिसकेपछिको सुनसानप्रायः सडकमा नशाले धुत भएकी केटी साथीलाई घर लैजाँदै गर्दा ऊ सोचमग्न भयो, ‘मित्रताकै आडमा यस्लाई घर लैजाँदा के भोलि यो सम्बन्ध यस्तै रहला ? के यसले मलाई कुन्ति मोक्तानले गाए झैं सपना देख्‍न देली ? ‘
भाइब्रेशनमा राखेको उसको सेलफोन गोजीमा गुज्गुजायो। अलिकति तन्किएर उसले सेलफोन झिक्यो।
‘ के भयो आज ? किन यतिबेलासम्म फोन नगरेको ? म तपाईंको फोन कुरेर बसिरहेकी छु। ‘ उसले बोल्नै नभ्याई उसकी गलफ्रेण्डको आवाज सुन्यो।
‘ Who’s that ? Mellissa ? What’s she up to ? ‘ ठूलो स्वर पारेर डेजा सोधीखोजी गर्न थाली। उसलाई फोन राख्‍नु न बोलिरहनु भयो। डेजाको स्वर उसकी गर्लफ्रेण्डले सुनेर के सोच्ली ? रातको यो बेला ऊसँग बोलिरहेकी कुनै नारी स्वरले पक्कै आतंकित बनाउँछ उसकी ग्रलफ्रेण्डलाई भन्ने भयो उसलाई। उसले सेलफोनमा डेजाको आवाज नछिरोस् भनेर छल्ने प्रयत्‍न गर्दै भन्यो, ‘ मलाई अरु आधा घण्टा देऊ ल ? म तिमीलाई कलब्याक गर्छु। अहिले यौटा साथीलाई राइड दिँदैछु। ‘ उसले जवाफको प्रतीक्षा नगरी फोन राख्यो।
‘……..One Love, One Heart
Let’s get together and feel all right………’ प्लेयरमा बब मार्लीकै अर्को गीत बज्न थालेको थियो। उसले तुरुन्तै डेजालाई उसैको घरमा पुर्‍याएर छोडिदिने निर्णय गरेर बीच बाटैबाट यू टर्न लियो ।

February 23, 2009

माथ्लो घरको ढिकी

' साबित्रा ? '

'.............'

' ए , साबित्रा ?

'......................'

' हैन चालचुल छैन गाँठे , कहाँ मर्न गईछे ? आज पनि ब्रत हो कि क्या हो यस्को ? हैन यि आईमाईले कति ब्रत बस्न सकेका होलान ? काम धन्दा केही गर्नुपरेन ब्रत छ भन्यो , मिठो मिठो खान खोज्यो , कति सजिलो हो ईन्लाई ? ' शिबरामले फत्फताउँदै आँगनको एक कुनामा भएको कुखुराको खोरमाथी जुवा मिल्कायो । बिहानभरी खेत जोतेर लखतरान परेर आएको शिबरामलाई जोतेर आईपुग्दा घरमा स्वस्नीले जोतेर थाकेका गोरुलाई भुसपानी ठिक पारिदिओस , आफुले मेलो सकेर आउनेबित्तिकै हातगोडा धोएर एकछिन आराम गर्न पाईयोस भन्ने लाग्थ्यो तर उसकि स्वास्नी साबित्रा कहिल्यै उसले चाहेको जस्ती भईन ।

' वर्षभरी खाने अन्न उब्जाउने खेत जोत्ने गोरुलाई भूसपानी ठिक पार्नु त कहाँ हो कहाँ बिहानभरी जोतेर आएको लोग्नेलाई समेत भात खुवाउन घर छैन ' , भुत्भुताउन नछोडी उसले बस्तुभाउलाई पानी खुवाउन बनाएको मुढाको डुँड पल्टायो र सफा गरेर भुसपानी ठिक पार्यो ।

'ओहो ! थुक्क ! गोरु त बाँधेकै थिएन मैले ।' उसले झट्ट सम्झ्यो र गोठतिर नजर दौडायो । गोरु त अघि नै सिमाना काटेर माथ्लो पट्टी गँगे कार्कीको खेतमा पुगिसकेछन । छिस्रिक्क यौटा कुखुरा उसको खेतमा पस्यो भने त खाँडो जगाउँछ त्यो गँगे , हल गोरु नै उसको खेतमा पसेको देख्यो भने त के गर्ला बाबै ? उसले हतार हतार गँगेको खेतबाट गोरु निकाल्यो र थलामा हुलेर पगा लगायो ।

' धन्न मुखमा महला थियो नत्र आज गँगेको चार पाते मकै खत्तम पार्ने । ' उसले मनमनै भन्यो र गोरुको मलाहा खोलेर तान्दै डुँडतिर ल्यायो ।

उसका पहिलेका गाजले र पुँडे गोरु साह्रै सुबानी थिए । यसैपाली बेच्यो उसले बुढा भएर र यि हल मिलेका खराने रँगका बहर गोरु किनेर ल्याएको । पहिलेका गोरु मेलोबाट फुकाएर छोडेपछि थपक्क गोठमा आफ्नै थलोमा आईपुग्थे यि भने पछि लागेर गोठसम्म ल्याईपुर्याउँदा पनि आँखा झिमिक्क गर्न नपाई कहाँ बिगार गर्न पुगिसक्छन ।

' खराने रँगका गोरु त सुबानी नै हुन्छन् भन्थे यि डिँगा चैं किन यस्ता भ'का होलान् ' मनमनै असन्तोस जनायो उसले आफ्ना हल गोरु माथी ।

' ए ! आज किन छिट्टै गोरु खोल्यौ ? अघि आईसकेछौ त भर्खर दुई बज्दैछ । ' साबित्रा हातमा यौटा पोको बोकेर आँगनमा झुल्किई शिबराम माथी मालिक्नी पारा देखाउँदै । शिबरामको रिसको पारो चढेर टुप्पीबाट धुँवा भै पुत्पुताउँदै बाहिरियो ।

' कतिबेर सम्म जोत्नुपर्ने त मैले ? बेल्का पाँचबजि सम्म ? ' साबित्री तर्फ पुलुक्क एक दृष्टि फ्याँकेर उसले भन्यो । उसलाई आज धुमधाम गाली गर्न मनलागेको थियो स्वास्नीलाई । भित्रभित्रै काँप्तै थियो उ तर रिस थाम्यो उसले । नथामेर पनि के गरोस विचरा ! उसले एक बचन बोल्दा साबित्राले दश बचन फर्काईसक्थी । धेरैपटक उसले ऐँच्याएर राख्न खोजेको हो स्वास्नीलाई तर जति पटक प्रयास गर्यो उति पटक नै घरमा भाँड भैलो उठ्यो । छरछिमेकी आएर साबित्रीकै पक्ष लिए । नारीलाई हेप्ने , नारीलाई दमन गर्ने नामर्द पुरुष भनेर सँज्ञा भिराए ।

गाउँघरका महिलालाई प्रौढ कक्षा पढाउने र केटाकेटीलाई ट्युशन पढाउने साबित्री मुखले वरपर साखुल्ले बन्न सिपालु थिई । तर उसले कहिल्यै शिबरामलाई थोरै ईज्जत दिने कष्ट गरिन त्यसैले उसले आफ्नी स्वास्नीमाथी गर्व गरेर पनि प्रकट गर्न कहिल्यै सकेन ।

बिहे भएर आएको एकाध महिनासम्म तपाईँ हजुर गरेर बोल्ने साबित्रीले उसको सोझो चालाढाला पत्तो पाएदेखि तिमीमा झरेकी थिई । शिबरामले आफुले पनि तिमीनै सम्बोधन गर्छु के फरक पर्छ र भन्दै प्रतिवाद गरेन । ईज्जत राखिदिए तिमी भन्दैमा र तपाईँ हजुर भन्दैमा के पो फरक पर्ला र ? भन्ने सोच्यो उसले तर साबित्राले त्यसको पनि फाईदा उठाएर हरेकपटक अलिकति कुरा बाझ्यो कि तँ तँ र म म नै गर्न थालेकी थिई त्यसैले पनि शिबराम बेईज्जत हुनुभन्दा बोल्दै नबोल्नु निको ठान्थ्यो ।

' मैले त आज भात पनि पकाईंन । मेरो ब्रत थ्यो पिठो कुट्न माथ्लो घरको ढिकीमा ग'कि उतै रोटी बनाएर खाएँ कर्कीनी दिदीसँग । तिमीलाई पनि त्यही ल्याईदिएकी छु । आलुको अचार पनि छ सिदे नुन हालेर बनाको । ' घरभित्र पस्दै साबित्रीले भन्न भ्याई । शिबरामले चुपै लागेर सुनिरहयो र मनमनै भन्यो , ' किन पकाउँथिस त आफुलाई खान नपरेपछि ? म को हुँ र पकाएर ख्वाउने ? '

फेरी उसले झट्ट सम्झ्यो गँगे कार्कीकी श्रीमती त उसले जोतुञ्जेल धेरैबेर सम्म उनैको खेतमा घाँस काट्दैथिईन् । सिमाना जोडिएको माथ्लो पट्टीको खेतबाट उनले ' ए शिबराम कैले सक्छौ मकै छर्न हाम्रा गोड्नेबेला हुन लागीसके ? ' भनेकी थिइन् । उ भाउजु भन्थ्यो गँगेकी श्रीमतीलाई , ' ख्वै भाउजु , कैले सक्नु हो , हाम्री घरकीलाई सिँगार पेटार र ब्रत लिँदै फुर्सद छैन , त्यस्को पनि मन अलि चट्पटाए पो छिट्टो हुन्थ्यो ? आफ्नो त सँधै कामीको पालो कात्तिक भने झैं हो । ' उसले यसरी जवाफ पनि फर्काएथ्यो ।

' ढाँट्न पनि कति सकेकी ? बिहानभरी कुनकुन मुलुक अन्मरिएर आईर'छे ! ' , मनमनै बोल्यो उ र प्रकटमै भन्यो , ' ए त्यै भएर पो कर्कीनी भाउजुले डोकाभरी घाँस काट्न भ्याएकि रछिन् बिहान भरी । '

' जान्यौ जान्यौ तिमीले नै ? मलाई पिठो कुट्न सघाई ओरी ग'कि हुन घाँस काट्न मैले रोटी बनाईसक्दा आईसकेकी थि'न् । हेमकलाकि आमा पनि आ'कि थि'न् । उनेरको पनि ब्रत हो आज । ' आफुलाई माथी पार्न साबित्रीले दलिल पेश गरी । शिबराम चुपचाप गोरु खुटाउन खेततिर लाग्यो ।

त्यसदिन निक्कै अबेरसम्म उसले साबित्रीले ल्याएको रोटी खाएन । आ ! खान्न है एक छाक नखाएर मलाई केहि पनि हुँदैन भन्दै पकाएर खान पनि निच मारेर यताउता बस्तुभाउको सुसुल्को गर्दै बस्यो । साबित्रा घर बस्ने कुरै थिएन । बिहान केटाकेटीलाई ट्युशन , दिउँसो प्रौढ कक्षा पढाउन जानुपर्ने उसलाई अरुबेला पनि घरको सिन्को भाँच्ने फुर्सद हुने हैन । साँझ पर्न पर्न लागेपछि उसको पेटको क्षुधाग्नी यस्तरी बल्न थाल्यो कि जलाएर उसलाई भष्मै पार्ला जस्तो बनायो तब भने उसले ' स्वास्नी पो वैरी परी यो रोटी त वैरी होइन नि ' भनेर आलुको अचारसँग साबित्रीले ल्याईदिएको रोटी सुम्ल्यायो र फेरी घरधन्दा मै लाग्यो । बस्तुभाउ , कुखुरा , बाख्रा सबैको थान्कोमुन्को लगाएर बेलुकीको खाना पकाउनु पनि उसको नित्य कर्म नै थियो । त्यसैले उ सास नफेरी काममा जुटीरहयो ।

यौटा चुल्हामा दाल बसालेर अर्कोमा भात टेकाउन आगो जोर्दैथियो उ । एकहुल केटाकेटीहरु आँगनमा खैलाबैला गर्दै आए । उनिहरु उसैलाई डाक्दैथिए , ' शिबेदाइ ? ए ! शिबेदाइ ?? '

' हैन के भयो हँ भाइ हो ? ' शिबराम आँगनमा निस्कियो ।

' के हुनु नि शिबेदाइ हामी त चन्दा माग्दै हिँडेका , हामीले क्लब खोलेका छौं क्या ? अब चन्दा उठाएर क्लबको नाममा फुटबल , भलिबल , नेट के के किन्ने । खेलकुदमा हाम्रो गाउँ पछि पर्यो क्या शिबेदाइ । पोहोर पनि हामीले वार्ड स्तरिय फुटबलमा शिल्ड जितेनौं , अब यसपाली चैं जितेर छाड्ने । ' हुल मध्येको यौटाले एकै सासमा बेलीबिस्तार लगायो ।

' ए ! म त के के न भएछ भनेको ? पैसो सैसोको कुरो चैं भाउजुलाई भन उ सँगै हुन्छ रकम खाता । म त आफैं जोगी हुँ भाई हो । ' शिबरामले जवाफ फर्काउँदा केटाहरु गलल हाँसे । यौटाले थप्यो , ' हो यार बिचरा शिबेदाइ आफ्नै घरको हली हुन् बरा ! कहाँबाट दिउन ? भाउजुसँगै माग्नु पर्छ । भाउजुले दिन्छिन पनि साह्रै मनकारी पो छिन् । ' उसको बचन शिबरामले कष्टले पचायो , ' हुनपनि हो म आफ्नै घरको हली नै हुँ ।' शिबराम भित्र पस्यो ।

' कस्तो नामर्द हो यो शिबेदाइ त छि ! म भए त त्यस्ती स्वास्नी उहिले लेखेटिसक्थेँ । '

' सप्पैले राम्रो भन्छन् तर मलाई त त्यो साबित्री भाउजु मनै पर्दैन , सोझो लोग्ने पाएर साह्रै पात्तिएकि , गंगे कार्कीसँग लसपस छ भनेको सुनेथेँ मैले त्यस्को । ' , आँगन कट्दै गर्दा अल्लारेकेटाहरुको मुटु छेड्ने तिखो बचन सुनेर भित्रभिरै मुर्मुरियो उ ।

त्यसरात उसलाई रातभरी निन्द्रा लागेन् । छट्पटाई रहयो । ओल्टे कोल्टे फेरी रहयो । ' अब त गाउँमा यस्तो हल्ला पनि चल्न थालेछ । कहाँबाट यो सत्र अलच्छिनी मेरै फन्दामा परिछे भगवान ? हे ! भगवान ! यो कुरा झुटो होस् है । ' , रातभरी उसले भगवान सम्झिरहयो ।

' हैन त्यो गँगेको स्वास्नी छे , हुर्केका छोराछोरी छन , त्यसले किन मेरी स्वास्नीलाई आँखा लगाउँथ्यो होला र ? गाउँमा त्यसै भनेका होलान नि मान्छेले ।' , घरी उ आफैंलाई ढाडस दिन्थ्यो ।

' गँगे मान्छे त अलि बेसारे नै हो हुनत । फेरी दोष यै फुँडीको पनि त हुन सक्छ । मेरा बालबच्चा भ'का छैनन् , त्यही निहुँमा पो फकायो कि ? यो अलच्छिनी फेरी मलाई दोष दिन्छे बच्चा भएनन् भनेर , के थाहा सल्केकि पो छे कि त्यै गँगेसँग ? ' फेरी शँका पनि गर्थ्यो उ ।

छट्पटिंदै उसले नाडीको घडी हेर्यो बिहानको तिन बज्नै लागेछ । ' कुखुरा बास्ने बेला भै सकेछ किन निन्द्रा नलाग्या होला ? निन्द्रा लागे त यो टेन्शन कम् से कम् अहिलेलाई त हुँदैनथ्यो ' , मनमनै बर्बराउँदै उसले अलिकति टाउको उठाएर पल्लो खाटमा सुतेकि साबित्रीलाई हेर्यो । उ मस्तले निदाईरहेकी थिई तर उसलाई भने पट्टक्कै निन्द्रा आएन । सोच्न थाल्यो , ' हावा नचली पात हल्लिंदैन भन्छन । नचल्नु गाउँमा कुरा चलिसकेछ अब यो कुरा अगाडी नफैलियोस् भनेर त मैले सोच्नै पर्छ । के गर्ने होला ? ' चिन्ताको भुमरीमा रुमलियो उ , ' यो ढिकीकै बाहाना बनाएर दिनदिनै माथ्लो घर जान्छे । यस्लाई ब्रत न लि पनि कसरी भन्नु ? भने पनि मान्ने होइन बरु एउटा ढिकी घरमै हाल्न पाए आनन्दै हुन्थ्यो कि ? ' उसले रात छर्लङ्गै काटेर घरैमा ढिकी हाल्ने निधो गरीछाड्यो । रातीनै उसले करेसामा तेर्स्याएर राखेका मुढाहरु मध्ये ढिकीको लागी कुन उपयुक्त छ भनेर छान्यो । ढिकीको टेको , मुसल , आग्लो सबै उसले राती नै छान्यो आफुसँग भएका कुनै बारेका , कुनै करेसामा तेर्स्याएका मुढाहरु मध्ये तर ओखलको निमित्त उपयुक्त काठ फेला परेन ।
भोलीपल्ट बिहान कुनै सुरतमा पनि ढिकी बनाएरै छाड्छु चाहे ओखलको लागी काठ किन्नै किन नपरोस भन्ने ठान्दै उठेर उ भर्याङ्ग ओर्लँदा उसले बर्षातले भर्याङ्ग जमिनमा नधसियोस भनेर भर्याङ्गको फेदमा ओच्छाएको राम्रै लम्बाई चौडाई भएको काठ ओखलको निमित्त उपयुक्त हुने देख्यो ।

' के खोज्छस् कानो आँखो ' बिहानै चियासिया पिएर उ भर्याङमुन्तिर खन्न थाल्यो ।

' हैन ब्यान् ब्यानै कल्लाई पुर्न आँङ्नामा खाल्डो खन्न थाल्यौ ? ' साबित्रीले निधीखोजी गरी ।

' याँ अर्कै काठ हाल्नुपरो यो काठ अन्त काम आउँछ कि भनेर । ' उसले यतिमात्रै भन्यो ।

' लौ जे जे मन लाग्छ तेई तेई गरेर बस । सबैका मकै उहिल्यै छरीसके , तिमीलाई चैं जोत्न जानु नि पर्दैन । आङ्नामा खाल्डो पारेर मलाई पुर्ने हो कि आफैं पुरिने हो ? म त हिँडे पढाउन । ' साबित्री हिंड्ने तरखरमा लागी ।

' चिया खाएर जाउ , गिलासमा हाल्देको छु । ' उसले अनुरोध गर्यो ।

' भो म उतै खान्छु । ' उ हिँडी ।

यस्लाई केटाकेटी पनि त्यही गँगेकै घरमा पढाउनु पर्ने ? बुढी आईमाईहरु पनि त्यै गंगेकै घरमा पढाउनु पर्ने ? आफ्नै घरमा पनि त पढाउँदा हुन्थ्यो । ' फत्फताउँदै उसले भर्याङ्गमुनि राखेको ठुलो मुढा झिक्यो र त्यसको ठाउँमा यौटा बाकली हालेर पुरपार पारेर गोरु लिएर जोत्न हिंड्यो ।

त्यहीदिन दिउँसो देखि शिबराम दत्तचित्त भै ढिकी बनाउन लाग्यो । हलो , जुवा , कोदालो , फरुवा ईत्यादी मर्मत गर्नलाई उसँग बसिला , राँबो , छिनु , हथौडा ईत्यादी सामाग्री मौजुदा छँदैथियो । उसले जिन्दगीकै ठुलो योजना ठानेर ढिक्की निर्माण थाल्यो । हुनपनि त उसको जिन्दगी कै सवाल थियो त्याँहा । उसको घरमा ढिकी हुँदो हो त उसकी स्वास्नी गँगेको घरमा ढिकीमा जाने निहुँ बनाएर नजाँदी हो अनि गाउँका मान्छेले उसकी स्वास्नी गँगेसँग लहसिएकी छे भनेर कुरा नगर्दा हुन । प्रमाणित रुपमा कसैले कुरा नगरे पनि गाईँगुईँमै उसले सचेत हुनु नै बुद्धिमानी ठानेको ठिकै हो ।

लगातारको परिश्रमले तिनचार दिनभित्रै उसले घरमै ढिकी तयार पारीछाड्यो । उसले ढिकी बनाएको थाहा पाउने गाउँलेले ' अहा ! कति मजाको ढिक्के बनायो यो शिबेले ' भनेर तारिफ गरे । उ एक प्रकारले ढुक्क भयो अब त कम्तीमा ढिकीको निहुँ गरेर उसकी स्वास्नी गँगेको घर नजाली भनेर । तर लागेको बानी कहाँ छुट्ने ? साबित्रीले ढिकीको निहुँ लिएर गँगेको घरजाने क्रम रोकिनँ । उसले सोध्यो पनि , ' मैले तिम्रै लागी घरमै ढिकी बनाएको छु तिमी किन खाली माथ्लो घरको ढिकीमै जान्छ्यौ ? ' भनेर ।

उसले सहज जवाफ दिई , ' तिमीले बनाएको यो गह्रौँ न गह्रौँ ढिकी कस्ले कुट्न सक्छ ? मेरो तेत्रो तागत छैन फेरी तिम्रो ढिकी तिमी जस्तै ढिकीच्याउँ छ , सिधा लाग्छ र ? आफुजस्तै बना'का छौ ढिकी अनि के गर्नु ? '

' ख्वै तिमीलाई नै बाउँठे भएछ तेसोभए सबैले राम्रो , सजिलो छ भन्छन् यो ढिकी । ' ह्रदयभित्रै एकप्रकारको ठेस महसुस गरेर शिबरामले भन्यो ।

साबित्रीलाई पुगीहाल्यो , ' तिमी आफैं कुट तिम्रो ढिकी तेसोभए ? कसैको नभ'को ढिकी हालेछौ ? के के न गरेँ भन्ठानेका होलाउ हैन ? यो गह्रौं ढिकी म कुट्न सक्छु ? माथ्लो घरमा त कैले कर्कीनी दिदीले सघाईदिन्छिन् , कैले गँगेदाइले सघाईदिन्छन् र पो सजिलो हुन्छ । यहाँ कस्ले सघाईदिन्छ ? तिम्रो फुर्सद हुन्छ मलाई सघाउन कहिल्यै ? ' आगोको रापले भेट्दा प्लास्टिकको भाँडा खुम्चिएझैं निधार खुम्च्याएर चर्किंन थाली उ ।

शिबरामलाई पनि औडाहा छुटेर आयो । केटाहरुले साबित्री भाउजुको गंगे कार्कीसँग लसपस छ रे भनेको कहाँ कसरी मनबाट पोखुँ भैरहेको थियो उसलाई । थाम्न नसकेर साबित्रीलाई नै भन्दियो , ' तिम्रो गँगेदाइले त सघाईहाल्छ नि तिमीलाई ? गाउँभरी गन्हाईसकेको थाहा छैन । अझै गँगेदाइ रे त्यो बेसारेलाई ? मेरो त कहिल्यै ईज्जत गरिनौ गरिनौ , कम्तिमा आफ्नो त ईज्जतको ख्याल राख ? '

' के रे ? के भन्यौ रे ? त्यो बुढो भ'को मान्छेलाई ? तेत्रा हुर्केका छोराछोरी छन । श्रीमती छिन् , तिमीले कसरी यस्तो असत सोच्न सक्यौ ? त्यै पनि आफ्नै श्रीमती माथी ? गाउँलेले के भन्छन् के भन्दैनन् ? गाउँलेको कुराको पछि लाग्छौ तिमी ? तिमीलाई तिहारमा गँगेदाइको हातको फूलटिका लगाएर देखाउनु पर्यो कि तामा तुल्सी छुनुपर्यो मैले भन ए असती ? तिम्रा मुखमा त भोली नै स्याउँ स्याउँती किरा उब्जिन्छन् । हेरीमात्रै राखन किरा परेर मरेनछौ भने तेतीखेर मलाई भन्नु । कहीँ नभा'को जान्ने अक्कडो । क कस्को के के कुरा सुन्छ र मलाई नानाथरी भन्छ । ' रुँदै साबित्रीले उसलाई सरापी र कोठामा पसी । त्यो दिन दिनभरी नै रोईरही उ ।

जतिसुकै बैगुनी भए नि आँखिर स्वास्नी नै हो । अन्तत उसलाई माया लागेर आयो । हतार मुख फोरेर प्रमाण बिनाको कुरा ओकलेकोमा पश्चताप पनि लाग्यो उसलाई । राती उसले माफी माग्यो र करले भात खुवायो ।

भोलीपल्ट देखि नै केटाकेटीहरु पढाउन र प्रौढ महिलाहरुलाई पढाउन उसले गँगे कार्कीकै घर जानु नै पर्थ्यो गई । उसको काम नै हो , शिबरामले आपत्ती जनाएन तर फेरी पनि ब्रत छ भन्दै ढिकीमा जाने निहुँले उसले गँगे कार्कीको घरजान छोडिन । उसलाई यत्ति नै मन पर्दैनथ्यो । ' गाउँका मान्छेहरु एकोहोरो खनिए भने नखाएकै विष पनि लाग्न के बेर भोली उसकी साबित्री गाउँ समाजको अगाडी बद्नाम भै भने उसले पनि कसरी मुख देखाउने ? उसले भनेजस्ती छैन तर स्वास्नी त उसैकि हो । बेईजत उसैको हुन्छ । अब के गर्ने ? ' उ सोच मै डुब्न थाल्यो र अन्तत गँगे कार्कीको ढिकी भत्काएर काम नलाग्ने नै बनाएर छाड्ने अठोटमा पुग्यो उ ।
एकसाँझ भात खाँदैगर्दा उसले साबित्रीलाई भन्यो , ' आज मलाई तल्ला गाउँ जानु छ , गोठ छाउनलाई निरेको बाउलाई भन्नुपर्यो म अहिले नै जान्छु है । ' उसले स्विकृती मागेको देखेर साबित्रीले साबिकझैं चढिएरै भनी , ' राती हुँदो किन जानु पर्यो ? तिमीलाई भोली बिहान हुँदैन र ? बिहान गए पनि त हुन्छ । '

बोली चढिएको भएपनि आज उसले त्याँहा प्रेम मिसिएको देख्यो र मनमनै दँगहुँदै भन्यो , ' हुन्छ नि बिहान त तर बिहान भएदेखि रात हुन्जेल सम्म मेरो फुर्सद कैले को दिनमा हुन्छ र ? फेरी भएन बिहान गएर निरेका बाउलाई पनि त भेटिँदैन उनि पनि त काममा निस्कन्छन् त्यसैले मैले त अहिले नै जानु पर्छ । '

' हुन्छ जाउ तेसो भए तर अलि ख्याल गरेर हिंड्नु , रातीको माम्ला काल जमाना ठिक छैन । कतिबेला आ उँछौ ? ' यो पल्ट साँच्चै नरम भएर साबित्री बोली मानौं उनिहरुबिच कहिल्यै मनमुटाब भएको थिएन ।

' ख्वै , लाग्ला नि डेढ दुई घण्टा पुगेपछि यसो कुराकानी गरिहालिन्छ । ' भात खाईसकेर चुठ्न उठ्दै उसले भन्यो ।

' ल ल आएर मलाई बोलाउनु नि , म भित्रबाट चुकुल लगाएर बस्छु । ' साबित्रीले सत्य साबित्रीकै छाँटले भनी । हात चुठेर 'ल म गएँ ' भनेर शिबराम हिंड्यो । खासमा उसलाई निरेका बाउकोमा हैन गँगे कार्कीकोमा जानुथियो । आज उसले गँगे कार्कीको ढिकी भत्काएरै छाड्ने विचार लिएको थियो त्यसैले अलि चकमन्न होस भनेर उ खेतमा गएर निक्कैबेर धुम्धुम्ती बसिरहयो र अब चैं गँगे कार्कीको घरमा सबै सुतिसके भन्ने भएपछि उ सरासर त्यतै लाग्यो ।

गँगे कार्कीको ठुलो घरको पछिल्तिर बारबेर गरेर चट्ट पारेर हालेको हालिएको थियो ढिकी । घरका सबै मान्छे माथ्लो तलामा सुतिसकेपछि तलबाट आएर ढिकी भत्काएको कसैले पत्तो पाउँदैनन् भन्ने उसको ठम्याई थियो । सुमुसुमु अँध्यारोमा गँगे कार्कीको ढिकीनेर पुग्दा उसले कोही गुनुगुनु बोलेको सुन्यो र अँध्यारैमा बेराको आड लागेर कान थापेर सुन्यो ।

ढिकीनेर बाट उसकै स्वास्नी साबित्री मसिनो स्वरमा भन्दैथिई , ' अब त मेरो बुढोले पनि पत्तो पाईसक्यो हाम्रो कुरा । गाउँभरी गन्हाईसकिस् भन्दैथियो मलाई । त्यो नामर्दसँग त म मरे नि बस्दिनँ अब कि त मलाई भगाएर लैजानुस् कि चैं कान्छी स्वास्नी बनाएर हुल्नुस् घरमा जे पर्ला देखा जाएगा । '

' अलि ठण्डा दिमागले सोचन मेरी साबि , आवेशमा आएर केहि पनि काम बन्दैन । कि चैं यो बच्चा पनि गिराउ पहिले कै जस्तै नत्रभने घरमै पाउ न त्यै शिबेको भन्नु क्या कस्ले थाहा पाउँछ ? अब यो उमेरमा कहाँ तिमीलाई भगाएर हिंड्नु म ? घरमा हुल्न पनि भनेको जस्तो सजिलो कहाँ हुन्छ ? ' गँगे कार्कीले पनि उसैगरी मसिनो आवाजमा बोलेको सुन्यो शिबरामले । उसलाई अगाडी सुन्नु नै के बाँकी थियो र ? उसको ओठतालु खक्रक्कै भएर सुक्यो । अँध्यारैमा उसले चारैतिर झिल्झिल सितारा देख्यो । हिँजोसम्म तामा तुल्सी छुने , तिहारमा फूलटिका लाउने कुरा गर्ने स्वास्नीलाई त्यहीँ गएर भकुर्न मन लाग्यो । ठाउँको ठाउँ एक्कै ताल हानेर गँगेको ज्यान लिन मन लाग्यो तर उसले केही गरेन ।

सम्हालिएर उ लुरुलुरु घर फर्क्यो । ' हे भगवान ! मैले किन यस्ती स्वास्नी पाएँ ? यो कि त मरे हुन्थ्यो कि त आजै राती त्यै गँगेसँग पोईला गए हुन्थ्यो । भोली मैले यो गाउँ समाजमा कसरी मुख देखाउंने ? म मर्नु कि बौलाउनु प्रभु ? ' भगवान पुकार्दै घर फर्केको शिबराम रनाहामा परेर अँध्यारोमा कता लाग्यो घर आईपुगेन ।

थप्पडी

घर उस्तै छ । आमा उस्तै छिन् । गाउँ समाज उस्तै छ । अझ सिँगो देशनै उस्तै छ । परिवर्तन हुँदै नभएको पनि हैन तर हुनुपर्ने परिवर्तन हुन सकेन भन्ने गुनासो जताततै छ । खै त समाज बदल्छु , देश बदल्छु भनेर हिँडेको यौटा म पनि त हुँ । के म आफुमात्र बदलिएको हुँ त ? के मैले समाज , देश बदल्नको लागी केहि गर्नै नसकेको हुँ त ? पुरानो नेपालमा परिवर्तनको अठोटले मुठ्ठी कसेर हिँडेको म नयाँ नेपाल बनाएको यतिका पछि आज आफ्नै घरमा आएर सोचमग्न भएँ । सम्झनामा अघि सरेर अर्चला आई । उ पनि त उस्तै छे । त्यसदिन उसलाई मैले सबैकुरा खोलेर भन्दा कस्सेर एक मुक्का हानेकी थिई उसले मलाई पछिल्तिरबाट ढाडमा । झण्डै हुरुक्कै भएको थिएँ तर सम्हालिएँ । कृष्णहरी बरालको त्यो बेला भर्खर भर्खरै पढेको गजल याद आएथ्यो - '..........पिरतीमा त अहो ! चिप्लेर लड्दा पनि.........' त्यै भएर होला सहनु मात्र हैन उ तिर फर्केर मुस्कुराएँ बरु । कानमा ' ऐले मारीदिन्छु अनि ' गुञ्जँदैथियो । ढाडमा मुक्काको प्रहार र कानमा उसको आवाजको प्रवेश सँगसँगै भएर हो क्यार कानको जालीनै रनन हुँदै छिरेको थियो उसको त्यो आवाज ।

' बरु मारीदे यार , ढुक्कै पनि हुन्छ त्यसैपनि तँ बिना मर्छु जस्तो लाग्छ मलाई । ' मुक्काको प्रहार उ तिर दृष्टि फ्याँकुञ्जेलमा गायब भै सकेको थियो ' छु मन्तर ' भएझैं ।

' आफैं काल खोजेर हिँड्नेलाई मैले के मार्नुपर्छ ? जे सुकै गर्नु , जाँ सुकै जानु.............. म चैं गएं ।' केहिकुरा भन्न खोजेर नसकेजस्तै म सँग भएको उसैको सानो डायरी उठाएर मेरो कोठाबाट निस्कीई उ । उ सँगको मेरो सम्बन्ध मैले तँ सम्बोधन गर्ने उसले तपाईँ सम्बोधन गर्ने भएपनि हामी साथी थियौं एकै छिमेकका । एक अर्कालाई मनपराउंथ्यौं । म उसलाई बिहे गर्न चाहन्थेँ । उसले खुलेर स्पस्ट केहि भनेकी थिईन तर समर्थन थियो । म जस्तो बसेको थिएँ त्यस्तै अवस्थामा बसेर मेरो कोठाबाट बरण्डा , भर्याङ्ग , आँगन हुँदै क्रमश पर पर जाँदै गरेको उसको चाल पछ्याउने प्रयत्न गर्दैथिएँ । आँगनको एक कुनाबाट आमाको आवाज सुनेँ , ' खै ? हाम्रो कान्छा जाँदैन रे आज ? '

मेरो छाति ढक्क फुल्यो । मेरी एक्ली बुढि आमालाई कतै उसले सबै कुरा भनिदिने त हैन । म झ्यालतिर लम्किएर कापबाट चिहाउन थालेँ । आमा करेसोमा चिचिला लाग्दै गरेको काँक्राको 'झ्याल'मा पटासीले बाँधेर गँगटो झुण्ड्याउनु हुँदैथियो । गाउँका कुनै केटाकेटीले ल्याईदिएको हुनुपर्छ त्यो गँगटो - अह्राईएको त मलाई नै थियो पहिले तर मैले टेरिनं । गँगटो झुण्ड्याएर काँक्राको चिचिलो अडिएला भन्ने पत्यार लाग्दैन मलाई । उ आमा भएतिरै नजिकै पुगी र भनि , ' खै के लेख्नुहुँदैछ अहिले त्यो सकाएर एकछिन पछि जानुहुन्छ रे । म गएँ है आमा ? ' उ फटाफट आँगन कटेर ओझेल परी ।

'ल नानी ल । ' आमाले पानीकल चलाउनुभयो , पानीकलको फेदका नट बल्टु खुकुलिएर हावा रोक्नलाई कपडा राखेर हुनेसम्म कसेको थिएँ मैले त्यसदिन पनि बिहानै तर हालत उस्तै थियो , आमाले चलाउँदा स्वाँ स्वाँ गरेर वासरले माथी खिच्नुपर्ने पानी तलैबाट आधा चुहिंदैथियो । आमाले पानीकल पनि अझै ठिक पारिदिएन भनेर गुनासो युक्त गन्थन शुरु गर्नुहुन्छ भन्ने अनुमान लाउँदैथिएँ म तर त्यसो गर्नुभएन बरु हात धोईसकेर पिँढितिर बढ्दै भन्नुभयो , ' हैन के लेख्दो हो यो सँधै ? केटाकेटी पढाउने मान्छे भ'र पढाउन नगई नगई एल्ले लेखेको कल्ले पढिदेला ? तेत्रो रामाएन उ बेलै लेखे हामीले ईस्कुलको मुख देख्न पा'भए हामी नि पढ्न सक्थिउँ होला त्यो रामाएन । '

यो पल्ट पिँढी , भर्याङ्ग , बरण्डा हुँदै म तर्फ आईरहेको आमाको चालमा थियो मेरो ध्यान त्यसैले केहि नगरी बसिरहेको म आमा कोठामा आइपुगुञ्जेलसम्म लेख्दै गरेझैं भएँ । ढोकाको चौकोषको आढ लिएर टाउको भित्र पर्ने गरी उभिएर आमाले भन्नुभयो , ' हैन किन ढिलो गर्छस् हँ कान्छा ? आज केटाकेटीलाई पढाईस् भने त भोली तैंले लेखेको पढ्लान् तिन्ले नत्र तैंले जे लेखेनि कस्ले पढ्ला बाबै ? '

' म गईहालेँ आमा अब । ' आमा आफ्नै धन्दामा जुट्नुभयो । म निक्कैबेर त्यतीकै घोरीएर बसेँ । मनमा अनेकौं सोचाईका लहरहरु उर्लिरहेका थिए ।

' जा कान्छा जा , जानेको बुझेको सिका केटाकेटीहरुलाई । किन अल्छि गर्छस् ? ' ढोका सामुबाट फेरी आमाको आवाज सुनेपछि म जस्तो अवस्थामा थिएँ त्यस्तै निस्किएँ । यौटा जिन्स पाईण्ट , हाफ बाहुलाको ठाडो धर्का भएको शर्ट । खुट्टामा हरियो हवाई चप्पल । सँधै बाहिर कतै हिंड्दा साथलिने गरेको रँग खुईलिएको हिरो साईकललाई पनि त्यसदिन घरै छाडीदिएँ ।

उद्विग्नताले घेरीएको भएपनि मेरो हिँडाईको रफ्तार सँधै जस्तै थियो त्यसदिन। फटाफट म मूलबाटोमा निस्किसकेको रहेछु । मूलबाटोमा पुगेपछि भने मलाई दोधार मात्र हैन चौधार नै भएको थियो कता जाने भनेर । पहिलो मनले स्कूलमै गएर बिद्यार्थीहरुसँग समय बिता भन्दैथियो । दोश्रोमनले बजारतिर गएर एकदुई कप चिया घुट्क्याएर आईज भन्दैथियो । तेस्रोमन खोलाको डिलमा सँधै एकान्त प्राप्त गर्ने ईच्छा हुँदा जानेगरेको स्थानमा जा भन्दैथियो भने चौथो मन घरै फर्केर घर छोड्ने तयारीमा जुट भन्दैथियो । हैन कतिवटा हुन्छन् हँ मान्छेको मनहरु ? मन अलपत्र थियो । पाईलाहरु भने खुरुखुरु स्कूलतिरै बढिरहेका थिए । स्कूल परिसरमा म पुग्दा एकप्रकारको चकमन्नता थियो त्याँहा । क्लास सुरु भै सकेकोले चउर खाली थियो । मैले पहिलो घण्टी पढाउने कक्षाकोठाबाट खल्याङ्गमल्याङ्ग आवाज आईरहेको सुनें । मैले स्कूल छाडीसकेको र मेरो ठाउँमा पढाउनलाई अरु कोही नभेटीएको अवस्थामा हल्ला त हुने नै भयो । म सोझै मेरै कक्षातर्फ गएँ । ढोकाको सम्मुख पुगेर देखेँ अर्चला आफ्नो कक्षा छोडेर मेरो कक्षा सम्हाल्न उपस्थित थिई त्याँहा । ढोका सामु मलाई देख्ने एकदुई जना बिद्यार्थीहरु कराउन लागे , ' उ दीपक सर आउनु भयो । '

' दीपक सर हामीलाई पढाउन आउनु न । '

अनपेक्षित अवस्थामा मलाई देख्दाको खुशी मैले अर्चलाको मुहारमा देखेँ । मलाई देखेर उसले ल तपाईंको कक्षा सम्हाल्नुस् पनि भन्नु परेन मैले लु म आएँ पनि भन्नु परेन । उ आफ्नो कक्षा तर्फ लागि । अर्चलाको र मेरो पछि निश्चित रुपमा हुन गै रहेको दम्पतीको सम्बन्धबारेमा मैले सम्पुर्ण खोलेको भएरै होला उ हम्मेसी र जहाँतहीँ मसँग खुलेर बोल्दिनथिई पनि बरु शट्टामा आदरभाव प्रकट गर्दथि तर हामीले एकान्त पाएको बेला भने म उसलाई बोलेर जित्न कहाँ सक्थेँ र ? म मेरो कक्षाकोठामा पसेँ ।

' सर तपाईं तालिममा नजानुस् न बरु हेडसरलाई पठाउनुस् र तपाईं फेरी हेडसर हुनु । ' कक्षाकोठाको मध्यभागमा बसेको कसैले भन्यो । मैले हिँजैमात्र म छिट्टै यो स्कूललाई हाईस्कूल बनाउनको लागी तालिम लिन जाँदैछु केहि महिनाको लागी भनेर झूट बोलेको थिएँ बिद्यार्थीहरुसँग । त्यसो त मैले अर्चलालाई बाहेक अरुलाई सत्य कुरा बताउन पनि कहाँ सकेको थिएँ र ? भन्न पनि सक्दिंनथिएँ । समाजमा देखिएका बिसंगतीहरुको विरोधमा हिंड्दाहिंड्दै म क्रान्तीकारी भएको थिएँ । खुल्लमखुल्ला क्रान्तिकारी हुँ भनेर परिचय दिन नसक्ने त्यो अवस्थामा भित्रभित्रै संगठन बनाएर सक्रियताका साथ परिवर्तनको निँती डटेर लागेको थिएँ म । आफु र आफ्नो काम नै विर्षेर हरेक सामाजिक काममा तदारुकताका साथ लागिपर्ने भएकोले गाउँ समाजमा पनि उमेरले नखारिएको भएपनि विचारले खारिएको भनिन्थें म । यहि स्कूललाई पनि मैले साँझ बिहान घरमा केटाकेटीहरुलाई निशुल्क ट्युशन पढाउन सुरुगरेबाटै यहाँसम्म ल्याउन सफल भएको थिएँ । त्यसो त यसमा म एक्लैको नभएर सबै गाउँलेहरुको पनि योगदान थियो ।

' सायद म तिमीहरुलाई पढाउँछु । म तालिममा नजान पनि सक्छु । टुँगो लागीसकेको छैन । ' मैले घर छोडेर क्रान्तीमा होमिन जाने निर्णय गरिसकेको भएपनि यसरी नै जवाफ दिएँ ।

खासमा मलाई संगठनको माथिल्लो ईकाईबाट क्रान्तिकारी संगठनकै साँगठनिक जिम्मेवारी दिएर पहाडी जिल्लामा पठाउने तयारी भएको थियो र मैले स्विकार गरिसकेको थिएँ । देशभर लुकेर छिपेर सबैले काम गरिरहेको त्यो अवस्थामा कतिपय स्थानमा त क्रान्ती उत्कर्षमा पनि पुगेको थियो । त्यसैले पनि हरेक ठाउँमा नयाँ नयाँ ब्याक्तित्वहरुलाई नयाँ नयाँ क्षेत्रबाट लगेर सँगठनको जिम्मेवारी दिँदा त्यसको फलदायि प्रभाव कार्यकर्ताहरुमा पर्ने साथै परेको खण्डमा लड्नभिड्न पनि सजिलो हुने निचोडका साथ म दुर्गम पहाडी स्थानमा शिक्षककै रुपमा जाँदैथिएँ । घर छोड्ने दिन जति नजिकिँदैथियो म उति उति बिचलित हुँदैथिएँ । मैले एक्ली आमालाई घरमा छोड्नुपर्ने कुराले मलाई सबैभन्दा पहिले पिरोल्थ्यो भने आफ्नै जिन्दगीलाई जस्तै स्याहारेको यो स्कूलले पनि मलाई बाँधेर राख्न खोज्थ्यो र सँधैको भेटघाट र आत्मियताबाट प्रेममा फड्को मारेर बिहे गर्ने निश्चय गरिसकेको अर्चलालाई छोड्न पनि मलाई त्यती सजिलो होला जस्तो लागेको थिएन ।

त्यसदिन बिद्यार्थीहरुसँग अतिरिक्त कुराकानी गरेरै बिताएँ मैले । स्कूल सकिएपछि सँधै झैं म अर्चलासँगै घर फिर्दैथिएँ । उसले सोधि , ' तपाईँलाई लडेर , मरेर , मारेर परिवर्तन सम्भव छ जस्तो लाग्छ ? '

' परिवर्तन चारजनाले चाहेर मात्र हुन सक्दैन । परिवर्तनको आवश्यकता कति टड्कारो छ भनेर जति धेरैलाई बुझाउन सकियो र परिवर्तन तर्फ उन्मुख बनाउन सकियो त्यती चाँडो परिवर्तन हुन सक्छ भन्नेमा म विश्वास गर्छु । ' मैले सोझै उसको जवाफ दिईँन । उ केही नबोली शुरुशुरु हिँडीरहि । म पनि केही भन्नै सकिरहेको थिईँन । उसको भन्दा पहिले मेरो घर आउँथ्यो बाटोमा । मेरो घरनेर पुगेपछि उनले आँखाबाट झण्डै झण्डै आँसु चुहाउँलाझै गरेर भनि , ' जे मनलाग्छ गर्नुस् । म पर्खिन्छु तपाईँलाई । ' प्रकटमा मैले केहि भन्न सकिंन केवल आँखाले उनलाई आभार प्रकट गरेँ ।

त्यही रात हामीले त्यही स्कूलकै कार्यलयमा सानो छलफल राखेका थियौं । म कसरी जाने , गएर कस्लाई भेट्ने , कहाँ बस्ने र मैले स्कूलको शिक्षकको अलाबा अरु के के गर्नुपर्ने भन्ने कुराहरुको छलफल गर्दैगर्दा हामी सबै पक्राउ पर्यौं । हामी पक्राउ परेका नौ दशजना सबैलाई रातारात कुनै अज्ञात स्थानको कैदखानामा एकैठाउँ कोचेर थुनिएको थियो । भोलीपल्ट हामीमध्येमा सिताराम सर , म र चण्डिका मिस बाहेकका अरु सबैलाई कुनै कागजमा सहि गराएर छोडिएको थियो । राती हामीले सल्लाह पनि त्यस्तै गरेका थियौं । जेलभित्र सडेर क्रान्तीकारी हुँ भन्नुभन्दा त जुनसुकै हिसाबले पनि बाहिर निस्केर नै क्रान्तीलाई सहयोग पुर्याउन सकिन्छ भनेर सकेसम्म सकुशल रिहाईकै बाटो रोज्ने सल्लाह भएको थियो । अरु सबैलाई रिहाई गरिसकेपछि उनिहरुले मुख्य ठहर्याएका हामी तीनजनालाई दिउँसै आँखामा पट्टी बाँधेर त्याँहाबाट अन्यत्रै लगे । हामीलाई कुनै जँगलमा लगेर गोली ठोकेर मार्नेछन भन्ने कुरामा हामी लगभग निश्चित थियौं तर त्यसो गरेनन उनिहरुले बरु हामी तिनैजनालाई अलग अलग स्थानमा सरुवा गराएका रहेछन् ।

झण्डै सातमहिना सम्म मैले त्यो अज्ञात स्थानको कोठरीमा कष्टपूर्ण समय बिताएपछि मलाई पनि अब आईन्दा यस्तो देशघाती कार्यमा सामेल भएर पक्राउ परेको खण्डमा सिधै गोली ठोकेर मारिनेछ भन्ने धम्की पूर्ण बकितम सुनाईएर र त्यस्तै लिखितममा सहिछाप गर्न लगाईएर छोडियो । त्यसबेला घर छोड्ने निर्णय गरेको मैले साँच्चै सातमहिना घर छोडेर नै फर्किएँ । मलाई कतैबाट आफन्त पर्ने नेपाल प्रहरीका कुनै हाकिमको सहारा लिईएर छुटाईएको थियो । सात महिना बन्दि जीवन बिताएर फर्कीएपछि म मा झन हौसला थपिएको थियो , परिवर्तन ल्याउनको लागी केहि योगदान गर्छु भनेर तर पुन मैले सँगठनमा सक्रिय भएर लागी पर्न पाईनँ । सँगठनका सदस्यहरु सँग सम्पर्क गर्न खोज्दा पनि मलाई केहि समयलाई त्यतिकै बस्ने सल्लाह दिएका थिए तर खासमा मलाई प्रहरीको मान्छेले रिहा गराएको भएर जिम्मेवारीबाट पन्साईएको हो भन्ने थाहा पाएको थिएँ मैले ।

समय परिवर्तन चाहनेहरुको पक्षमा ढल्कँदैथियो र धेरै भन्दा धेरै मान्छेहरुको समर्थन सँगठनलाई थियो त्यसैले पनि होला सँगठनमा मेरो आवश्यकता नखट्कीएको । सँगठनबाट बाहिर भएपनि पक्राउ परेपछि मेरो परिचय खुल्लारुममा नै क्रान्तिकारीमा परिणत भएको थियो । त्यो समयमा दलबाहिर परेका मान्छेहरुसँग मेरो सम्बन्ध राम्रो भएको थियो तर प्रतक्ष्य अप्रतक्ष्य म सँगठनकै हितमा हिँडेको थिएँ । कतै निन्दा कतै समर्थनको मझधारबाट क्रान्तिकारीहरु गुज्रिरहेको बेलामा अचानक देशको राजनीतिले अभुतपूर्व मोड लिएर औपचारिक रुपमा लामो द्वन्द बिश्राम भएर क्रान्तिकारी धार र सरकार चलाईरहेका तर समयले सत्ताबाट पन्साएका दलहरुमाझ सम्झौता भयो । सदियौं देखिको राजतन्त्र उन्मुलन भयो । सदियौं देखि देशले मागेको तर पटक पटक अनेक धोका र चालबाजीले हुननसकेको संविधान सभाको चुनाव हुने पक्कापक्की भयो । दलहरु संविधान सभामा पठाउनुपर्ने ठुलो संख्याको सभासदहरु जुटाउन युद्दस्तरमै लागीपरे । यतिठुलो संख्यामा उपयुक्त ब्याक्तित्व पाउनु दलहरुलाई सजिलो थिएन अत मनखुशी ब्याक्तिहरुलाई उम्मेद्वारी दिएर जनताको संविधान लेख्ने प्रतिनीधि बनाउन लागीपरे । त्यही अप्ठ्यारो अवस्थामा परेर मलाई पुरानै संगठनले सभासदको उम्मेद्वार छान्यो । म परिवर्तनको निंती यौटा लडाकु बन्न तयार भएको मान्छे बद्लिएको समयमा जनताको प्रतिनीधि नै बन्ने सौभाग्य पाउँदा म स्वभाविक रुपमा खुशी थिएँ । केही गर्न सक्छु म मेरो देशको निँती भन्ने आत्मविश्वासले भरिएको सोच जागेको थियो म भित्र ।

उम्मेद्वार भएर भाषण कलामा खास निपुण नभएको मैले कतै केहि कुराको बारेमा बोल्नुपर्दा यथार्थवादी भएर सत्य कुरा सोझै बोल्ने हुँदा म झनै लोकप्रिय भएँ । जहाँ गएर जे बोल्दा पनि थप्पडीको स्वागत पाउँथे म । लाग्थ्यो थप्पडीमा ठुलो तागत लुकेको हुन्छ । थप्पडीले नै मलाई अझ बुलन्द भएर अगाडी बढ्ने तागत दिने गर्थ्यो । चुनावको परिणाम आयो । थप्पडीको आशिर्वादले म विजयि भएँ जनताको प्रतिनीधिको रुपमा जनताको संविधान लेख्नको निँती ।

सभासदमा विजयि भै सकेपछिको मेरो दैनिकी बदलियो । मनमा देशको निँती केहि गर्न सक्ने उच्व अठोट सगरमाथा भएर ठडिएको थियो । समय बित्दै गयो । हरेक पटक संविधान सभाको सभाहलमा पस्दा यौटा उत्साह लिएर पस्ने र निस्कँदा निराशा लिएर निस्कन थालेँ म । सभाहलमा सरकार कसरी बनाउने , क कस्ले शक्तिशाली कुर्शी पाउने ? कुन भाग कस्लाई दिने ? शक्तिभाग नपाए कस्ले के गर्ने ? ईत्यादी ईत्यादी नित्यकर्म चल्न थालेपछि म दिग्दार हुँदै गै रहेथेँ ।

शान्ती प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने वचन हरेक मानेगुनेका बडा नेताहरुबाट सुनिन्थ्यो तर भित्रभित्र तानातानको खिचोलोले भने छोडेको थिएन । सबैले शान्तीपूर्वक संविधान बनाउने अनेक सम्झौता गरे तर पालन कसैले नगरेर आज झन अन्यौलता र अराजकता बढेको छ देशभरी । आफुपनि जिम्मेवार सभासद भएको हैसियतले अनेक पटक आफुले नियम कानुन उलँघन नगर्ने तव अरुले पनि गर्दैनन भनेर सल्लाह दिँदा म हाईड्रोजन भरिएको बलुन जस्तै हावामा उडेँ । हिँजो उम्मेद्वार चाहिएको बेलामा हामीसँग जोश र जाँगरले भरिएका यस्ता यस्ता युवा ब्याक्तित्वहरु पनि छन भनेर अगाडी सारिन्थ्यो मलाई । हामीसँग दलितका समस्याहरुसँग परिचित उम्मेद्वारहरुको लामो फेहरिस्त छ भनेर म र मै जस्तालाई अघि सारिन्थ्यो । आज सभामा मैले बोलेको कसैले सुन्दैन । हरेक पक्षमा लब्धप्रतिष्ठित मानिएकाहरुकै हो मा हो मिलाउने र थप्पडी बजाउने भएका छौं म र म जस्तै नयाँ विचार , नयाँ जोश बोकेर आएका हामी युवाहरु । समय यहि क्रममा हिंड्यो भने यो समयले पनि देशलाई झन अँध्यारोतर्फ धकेल्ने खतरा म आँखै अगाडी देख्ने गर्छु तर आज सुवर्ण अवशरलाई आफ्नो मुठ्ठीमा कस्न सक्नेले किन त्यही खतरा देख्न सक्दैनन् ?

म घरमा आएको थाहा पाएर म माथी भरोसा गरेर , परिवर्तनको आशा लिएर मलाई मत दिने गाउँलेहरु साथै एकाध स्थानिय पत्रकारले घेरिएँ म । सोधियो , ' के अब संविधान समयमा बन्ला त ? '

' के परिवर्तन यहि नाउँ मात्र कै हो त ? '

' तपाईंको सरकार छ , तपाईंले आफ्नो क्षेत्रमा विकाशका कस्ता योजनाहरु अगाडी सार्नुभएको छ त ?

' तपाईंहरु सरकारमा भएर पनि जँगली ब्यावहार छोड्न सक्नुहुन्न ? '

' तपाईंले नै हुर्काउनुभएको क्रान्तिकारी संगठनको गुण्डागर्दी कैले सम्म चल्ने हो त ? '
'..................'

'...........................'

प्रश्नको ओईरो लाग्यो । म यौटा सरकार पक्षकै सभासद भएर पनि मसँग कुनै प्रश्नको सटिक जवाफ थिएन ।
मैले भनेँ - ' यो ठुलो विडम्बना हो । यि सबकुरामा म यस्को त्यस्को गल्ती भन्दिंन । हामी सबैको गल्ती कमजोरी छ । आज मान्छेको आँखा नहेर्ने कुरा हेर्छ , मुख नबोल्ने कुरा बोल्छ , कान नसुन्ने कुरा सुन्छ , मश्तिष्क नअह्राउने कुरा अह्राउंछ , मन नसोच्ने कुरा सोच्छ , खुट्टा नहिंड्ने बाटो हिँड्छ , हात नगर्ने कर्म गर्छ तर मान्छे जानीजानी आफुलाई रोक्दैन । बिडम्बना यत्ति हो यो समयको । '

जम्मा भएका गाउँलेहरुले फेरी थप्पडी बजाए । यसपटक मलाई त्यो थप्पडीले उर्जा दिएन बरु गिज्याएको जस्तै महसुस भयो । ' उफ ! यो थप्पडी !! यता गाउँलेहरु बजाउँछन् । उता म बजाउँछु । कैलेसम्म हामी केवल थप्पडी मात्रै बजाईरहने हो ? '

देखेँ उता पत्रकारहरु यो जुम्से सभासदमा केहि दम छैनको भावमा ओठ लेब्र्याएर लुरुलुरु फर्कँदै थिए ।

एकभारी दाउरा

सँधै झिस्मिसेमै उठेर दाउरा काट्न जँगल जान्थ्यो उ । धेरै अगाडीदेखि यहि गर्दै आएको उस्लाई आजभोली बेलामा जँगल पुग्न पनि गाह्रो हुन्छ , दाउराको भारी तयार पार्न पनि गाह्रो हुन्छ र बेलुका बजारमा बेच्न ल्याईपुर्याउन पनि गाह्रो हुन्छ । उमेरले गल्दै गएपछि उसको दाउराको भारी पनि सानो आईपुग्न थालेको थियो बजारमा । अरु अरु दाउरेहरुको ठुलो ठुलो र हेर्दै दन्दनी बल्ने चिर्पट जस्ता दाउराको अगाडी उसको दाउराले कहिले भनेजस्तो त के पसिना बगाए जतिको पनि दाम पाउंदैन थियो । सँधै उसको एकभारी दाउरा किन्न बजारमै दुईचार वटा घर र पसलहरु भएका भिमसिन काजी आउँथे र उसले साठीको मोल राखेको दाउराको भारी दलाली गर्दागर्दा तीस रुपिँया दाम दिएर लैजान्थे । साँझ ढलुञ्जेलसम्म पनि अरु कसैले नकिने पछि उ सँग ति लोभि भिमसिन काजीलाई बीसै रुपिँयामा भए नि दिनुको बिकल्प हुन्नथ्यो तर भिमसिन काजी जहिले नि म भित्र नि हरी छन् तेरो एकभारी दाउरा बीसै रुपिँयामा कहाँ लिन सक्छु र भन्दै तीस रुपिँया फालेर जान्थे ।

तीस रुपिँया हात परेपछि उ भोली बिहानलाई चिया र पाउरोटी खाने दश रुपियाँ छुट्याएर बाँकी दश रुपिँयाको चना चिउरा र दश रुपिँयाको रक्सी खाएर पल्टन्थ्यो त्यतै एउटा कुनामा । आफन्त नातागोता कोही थिएनन् उसका । कसैसँग उसको नाता सम्बन्ध थियो त भिमसिन काजीसँगै थियो यौटा दाउरे र ग्राहकको ।

आजपनि उसले एकभारी दाउरा ल्याएर बजारको एक छेउमा पछारेको मात्र के थियो कहिल्यै उसको दाउरा सोध्न नआउने मान्छेहरु आएर दाउराको दाम सोध्न लागे । उसले साबिककै दाम बतायो साठी रुपिँया । उनिहरुले सय रुपिँयाको नोट फाल्दै दाउरा उठाउन खोजे । एकछिन उ अलमल्ल पर्यो । यि मान्छेहरु आज बौलाएछन् क्यार भन्ने लाग्यो र तुरुन्तै उसले भन्यो , ' हुँदैन हुँदैन । म यो दाउरा भिमसिन काजीलाई मात्र बेच्छु सँधै उनले तीस रुपिँया दिन्छन् । त्यती भए पुग्छ मलाई । तपाईंहरुलाई त दुई सयमा नि दिन्न ।'

दाउरा उठाउँदै यौटाले भन्यो , ' अब भिमसिन काजी आउँदैनन् तिम्रो दाउरा किन्न , उनैलाई जलाउन किन्न लागेको तिम्रो दाउरा । ल खुरुक्क त्यो पैसा राख । '

उनिहरु दाउरा उठाएर हिँडे । उसलाई आज यौटा आफन्त गुमाएझैं लाग्यो । सोच्यो - भिमसिन बुढाले बाँचुञ्जेल लोभ गरेर उसलाई तीस रुपिँया मारेको सायद मरेपछि पनि पैसा चाहिन्छ भनेरै हो क्यार । उसले पनि जिन्दगी भरी तीस रुपिँयामा एक भारी दाउरा बेचेर आधापेट खाने त हो । आज एकदिन यो सय रुपिँया समातेर के गर्नु भोली देखि उसको दाउरा पनि कसैले किन्ला कि नकिन्ला बरु आजको आधापेट चना चिउरा त भिमसिन बुढाको मलामी गएपनि खान पाउँछु नि , भयो लिन्न म यो भिमसिन बुढाको मरिसकेपछिको पैसा । यस्तै सोचेर उ पनि उतै दगुर्यो र पैसा फिर्ता गरेर मलामीको हुलमा मिसियो ।

एकादेशको थाल

एकादेशको यौटा देशमा थुप्रै थुप्रै गाउँहरु सामाजिक सद्भाव कायम राखेर एक अर्कामा सौहार्द पूर्ण तरिकाले मिलेर बसेका थिए । देशभित्र जे जति उत्पादन हुन्थ्यो सबै एक अर्कामा बाँडीचुँडी खान्थे । सबैको आ आफ्नो खाने थाल थियो तरपनि कसैले कसैको भाग खाँदैनथ्यो ।

समय क्रममा मान्छेहरुको संख्या बढ्दै गयो र मान्छेहरु स्वार्थी बन्दैगए र कसैले धेरै कसैले थोरै खान पाउन थाले । केहि बाठाटाठा मान्छेहरुले उत्पादन बराबरी भाग लगाउनुपर्ने कुरा उठाए र जिम्मेवारी लिएर बराबर भाग लगाउन थाले ।
बिस्तारै ति टाठाबाठा त्यो एकादेशका नेता भए । उनिहरुको सबैले सुन्न थाले । उनिहरुले बोलेको साँचो र सर्वमान्य हुन थालेपछि उनिहरु उत्पादनमा भ्रष्टाचार गर्न थाले र आफु , आफ्नो परिवार र आफन्तको भाग ठुलो लगाउन थाले ।
यो रहस्य खुल्दै गएपछि अर्काथरी मान्छेहरु अगाडी सरे । उनिहरुले उत्पादनको अनुपातमा जनसँख्या निक्कै बढिसकेको ठहर गरेर वैज्ञानिक ढँगले समान अनुपातमा उत्पादन उपभोग गर्न गराउनको लागी सबैले आ आफ्नो थाल बुझाएर बटुको बुझ्नुपर्ने नियम लागु गरे ।

कसैले धेरै उपभोग गरिरहेको , कसैले थोरै मात्र उपभोग गरिरहेको र कोही भोकभोकै परिरहेको अवस्थामा सबैलाई समान अनुपातमा उत्पादन वितरण हुने कुरामा ढुक्क भएर सबैले आ आफ्नो थाल बुझाएर सानो सानो बटुको लिएर आए ।
समान अनुपातमा उत्पादन वितरण गरिसके पश्चात यो प्रणाली वैज्ञानिक छ कि छैन भनेर नियम लागु गर्नेहरुले सर्भे गराए र वैज्ञानिक रहेको तथ्य निक्लिएपछि पहिले सबैले बुझाएका थालहरु मध्येमा ठुला ठुला र राम्रा राम्रा थालहरु नियम बनाउनेहरुका घर परिवार र आफन्त कहाँ खुसुक्क खुसुक्क पुर्याउन थाले ।

केतकी फूलको माला

सुटुक्कै उसले एक थैलो केतकि फूल टिपेर ल्यायो । जानी नजानी त्यसको माला गाँस्यो र लुकाएर राख्यो ।

' सीमा ? किन ढिलो गरेकी हँ ? बच्चाहरुलाई भोक लागीसक्यो होला , झट्ट सबै ठिकठाक गरेर टिका लगाउन लगाईदेउ । ' उसले श्रीमतीलाई कोठाभित्रैबाट अह्रायो ।

' सकिसकेँ अब । तपाईँलाई भोक लाग्यो ? चिया बनाईदिउँ ? ' सीमा उसकै कोठाभित्र छिरिन् ।

' हैन मलाई के को भोक लाग्नु नि ? बच्चाहरु भोकाउंछन् भनेर पो । ' उ अलि सम्हालिए झैं भयो । उसको अनुहारमा देखिएको उदाशीको भाव उसकी श्रीमतीबाट लुक्न सकेन । उसको केश सुम्सुम्याउँदै सीमाले भनिन् , ' किन यसरी दु:खी बन्नुहुन्छ बाबा ? तपाईंमात्र हो र चेली नहुने मान्छे यो संसारमा ? कति छन् कति अरुपनि । मेरैपनि त माईति छैनन् तर हामीले त अब बच्चाको खुशीको लागी पो खुशी हुनुपर्छ । ' उसले केही भनेन । सायद सोच्दैथियो के भन्ने भनेर । सीमाले नै भनिन् , ' अरे , यो सियो धागो कस्ले यहाँ ल्यायो हिमाल ? '

' खै ? बच्चाहरुले ल्याए होलान् । ' उसले सरासर झूट बोल्यो । सीमाले उसलाई बच्चाहरु बोल्ने भएर बाबा भन्न थालेपछि बाबा पनि भन्ने गर्थिन् त कैले नामले पनि बोलाउँथिन् । देखाभेट नै नभई उनिहरुको प्रेम भएर विवाह भएको थियो । उनिहरु सामान्यता जब ढोकाबाट दु:ख भित्र पस्छ तव माया , प्रेम झ्यालबाट बाहिर निस्कन्छ भन्ने उखानको अपवाद बनेका थिए । निक्कै दु:ख झेलेका थिए उनिहरुले विवाह पश्चात पनि तरपनि उनिहरुको प्रेममा कमी आएन भलै उनिहरुले सामाजिक मान्यता अनुशार अन्तरजातिय विवाह गरेका थिए ।

' बच्चाहरुहरु त आज यो कोठामा छिरेको देखेकै छैन.. ' , उसलाई सीमाले निधीखोजी गर्लिन भन्ने चिन्ताले सतायो र जवाफमा के भन्ने भनेर सोच्न लाग्यो तर सीमाले सियो धागोको कुरा छाडेर भनिन् , ' अब तपाईंले पहिले के भयो भनेर विर्षनु पर्छ बुझ्नु भो ? सँधैँ सँधै बितेको कुरा सम्झेर यसरी दु:खी बनेर नि चल्छ ? '

श्रीमतीको कुराले उ झन न्याउरो भयो र रुन्चे स्वरमा भन्यो , ' म दु:खी भ'को छैन सीमा र पनि आजको दिन याद आउँदो र'छ चेलीको । मेरो छोड न , जाउ बरु छिट्टो गर बच्चाहरुलाई । '

सीमाले उसलाई चपक्क छातिमा टाँसिन् र बाहिर निस्किन् । सीमा गएतिर हेरिरह्यो उसले । उसको कोठाबाट सीमा निस्किँदा ढोकाको एकपट्टीको पल्ला खुल्लै रह्यो । उसलाई आज ढोका थुनेर बस्न मन लागेको थियो तर न उसले सीमालाई ढोका ढप्क्याईदेउ भन्न सक्यो न आफैं उठेर ढप्क्यायो । बरु उ त्यतिकै पल्टियो पलङ्गमा । उसलाई भित्रभित्रै नमिठो अनुभुती भैरहेथ्यो । घरी घरी उसकी दिदीको अनुहार उसको अनुहारमा आईरहेथ्यो । उसले सिह्रानमुनि लुकाएको उसकी दिदीको तस्विर छाम्यो त्यो त्यहीँ थियो । निकालेर हेर्न मन लागेको थियो उसलाई दिदीको तस्विर । रुन मन लागेको थियो उसलाई दिदीको तस्विरसँग तर उसले त्यसो गरेन सोच्यो ढोका खुल्लै छ सीमा अथवा बच्चाहरु भित्र छिरे भने के भन्लान् उसलाई रोईरहेको देख्दा ? जे भएपनि उ घरको मुली हो उसले आफुलाई दह्रो बनाएर देखाउनुपर्छ चाहे छातीभित्र जतिसुकै डढेलो सल्केको होस् ।

' सिमरन तिमी यहाँ बस बाबु , अब दिज्युले बाबुलाई टिकी लाईदिनुहुन्छ । '

' हिसिला चक्चक नगर्नु है नानु म सिलौटो ल्याईहाल्छु । अब भाईलाई टिका लाईदिनु पर्छ , पूजा गर्नुपर्छ है नानु । ' उसले नेपथ्यमा सीमाको आवाज सुन्यो । सीमा छोराछोरीलाई सम्झाउँदै थिईन् । उसले ढोकातिर नजर फ्याँक्यो सीमा हतारिँदै भान्सातिर गएको देख्यो र एकैछिनमा दुईहातले ढुँङ्गाको सिलौटो र लोहोरो ल्याएर उसको ढोकाको सामुन्ने नजर पर्ने गरेर राखेको देख्यो । सीमाले सिलौटोमाथी यौटा सानो टपरीमा ओखर ल्याएर राख्दै भनिन् , ' सिमरन तिमी त्यँही बस्नु है बाबु , अब तिमीले यो ओखर हेर्नु हुँदैन , दिदीले यस्लाई पूजा गरेर फुटाउनु हुन्छ । '

उसको नजरबाट सीमा अदृश्य भईन् । फेरी नेपथ्यमा उसले उसकी छोरी बोलेको सुन्यो , ' मम्मी ? भाइले टिकाको थाली चलायो । '

' सिमरन चलायौ बाबु तिमीले ? मेलो छोलो ज्ञानी छ चलाउँदैन नि हगि ? ' सीमा बच्चाहरुलाई सम्हाल्दै त्यहीँ पुगेको अनुमान् गर्यो उसले । उसलाई आफ्नो बाल्यकालमा भाईटिका लगाउँदाको सम्झना आयो । उसको पनि एकजना मात्रै दिदी आमाले सम्झाई बुझाई भाईटिका लगाउन अह्राउनु हुन्थ्यो । त्यही क्रम उसलाई आफ्ना छोराछोरीको पुष्तामा पनि दोहोरिएको लाग्यो । यौटा नयाँ कुरा उसले के ख्याल गर्यो भने उसको पालामा उसकि दिदीले भाई मलाई कति पैसा दिन्छस् ? भनेर सोध्ने गर्थिन् भने उसका छोराछोरीले भाईले मलाई कति पैसा दिन्छ र म दिदीलाई यति पैसा दिन्छु भनेको सुनेन । सायद उसको पालामा बच्चाहरुले अघिपछि पैसाको मुख देख्न नपाउने भएको होला यसो भएको उसले मनमनै गम्यो ।

' ल यो फूल लेउ र भाईको टाउकोमा राखिदेउ । '

' अब यो फूल काँधमा यतापनि र यतापनि राखिदेउ ।'

' घुँडामा राखिदेउ अब । ' नेपथ्यमा उसकी श्रीमती छोरीलाई भाई पूज्न सिकाउँदैथिन् । यता उ भने अतितमा बल्झेर उकुशमुकुश हुँदैथियो ।

उ ठुलै भैसकेपछिको कुरा - उसकी दिदीको गाउँकै केटासँग प्रेम परेको रहेछ । उनिहरु विहे गर्न थाहन्थे तर उसको बाउले ईज्जतको कुरा उठाएर बाहुनकि छोरी तल्लो जातमा विहे गर्न दिन्न भनेर ढिपी कसेका थिए । आमा थिईनन् । बाउले सानो भएपनि दुखेसो उ सँग पोख्थे त्यसैले उसले बाउको पक्ष लिएको थियो । उसकी दिदीले भने प्रेम गरेको हो अपराध गरेको हैन भनेर मनपरेको केटोसँगै बिहे गर्न पाए गर्ने नत्र नगर्ने र भागेर पनि नजाने भनेर अड्डी कसेकी थिइन् । उसका बाउ यहि कुराले क्वाँ क्वाँ रोएको देखेको थियो उसले । यतिञ्जेल सम्म धर्म जोगाएर बाँचियो । यो बुढेशकालमा यो दिन देख्नुपर्ने रहेछ म पहिल्यै किन मरिनँ तेरी आमासँगै भन्दै छाती पिटीपिटी रुन्थे उसका बाउ उ सँग । उसलाई दिदीले बाउलाई यसरी रुवाउन नहुने भन्ने लाग्थ्यो । यहि कुरा बढ्दै गएर गाउँको पुलिस चौकीसम्म पुगेको थियो । पुलिस चौकीमा पनि सारा दुनियाँ उसकि दिदी र दिदीको प्रेमको पक्षमा थिए भने उ र उसका बाउ मात्र एकापट्टी थिए । पुलिस चौकीमा उसकी दिदीलाई ईच्छाले विहे गर्न दिनुपर्ने र त्यहीदिन देखिनै उसकी दिदीलाई उसले मनपराएको केटोलाई लोग्ने मानेर उसैको घर जान पाउने फैसला भएको थियो । दुनियाँको अगाडी उ र उसको बाउले हारेका थिए । दिदीको तल्लो जातको केटासँग प्रेम भएको थाहा नपाउञ्जेल सम्म उसलाई यो संसारमा दिदीभन्दा प्यारो कोही थिएन तर त्यसदिन उसले र उसको बाउले उसकी दिदीलाई आजदेखि हाम्रो निंती मरिस् भन्दै थुकेर तथानाम गाली गरेका थिए अझ उसले त बाउ धरधरी रोएको देखेको आवेशमा आएर दुनियाँको अगाडी पुलिस चौकीमै दिदीलाई लात्तैलात्तले हिर्काएको थियो ।

गाउँ छिमेकमा जजमानी गर्ने उसका बाउलाई उसकी दिदीले तल्लो जातको केटासँग प्रेम विवाह गरेपछि पूजा कार्यमा बोलाउन छाडे । उसको घरमा चिना हेराउनेको देखि लिएर साइत सोध्न आउनेकोसम्म ताँती हुन्थ्यो । तर त्यसदिन देखि छरछिमेकका ईष्टमित्रहरु गफगर्न समेत आउन छाडे । ठुलै चोट परेको थियो उसको बाउलाई दिदीको कारणले । रातदिन भुट्भुटिन्थे हे ईश्वर ! यो के दिन देख्नु पर्यो भन्दै । त्यही चोटले एकदिन उसका बाउ गाई गोठमा दाम्लोको पासो हालेर आत्महत्या गरेर बिते । उसको बाउ बित्दा पनि दिदीसँग बोलचाल भएन उसको । देखेको थियो उसले दिदीलाई बाउ मर्दा आएको तर पुलिस चौकीमा उसकी दिदीको प्रेमको पक्ष लिने मान्छेहरुले पनि त्यतिखेर यो जातपातको कुरो यहि मर्दापर्दा त चाहिने हो भनेर उसकी दिदीलाई परपरै पारेका थिए । बाउ मरेपछि एक्लो भएको उसले बाउ मर्नुको दोषपनि उसैकी दिदीलाई लगाएको थियो । दिदीकै कारणले बाउले अपहत्ते गरेर मरे भन्ने ठहर थियो उसको । त्यसैले उ पनि बोलेन दिदीसँग ।

' लु यहाँ समाउ त हिसिला ? यो यमराजको हड्डीलाई एक्कैतालमा फुटाउनुपर्छ अनि तिम्रो भाईलाई कसैले केहि बिगार्न सक्दैन । ' , सीमाको आवाजले झस्किएर उ बर्तमानमा झर्यो । दृश्यमा उसले सीमाले हिसिलाको हात समातेर सिलौटोमा राखेर पूजा गरिएको ओखर किच्याएको पनि देख्यो ।

' बाबा हेल्नु न दिदीले मलाई टिकी लाईदिनुभ'को । ' उसको सात वर्षको छोरो सिमरन दौडँदै उसको कोठामा पस्यो । उसको हातमा दशैंको मेलामा किनेको सानो मुरली थियो ।

' बाबा अब हामी पिङ खेल्न जाने नि ? ' पछिपछि नौ वर्षकि छोरी हिसिला पनि आईन् ।

' अहो ! मेरो छोरो त टिकी लगाएर हातमा मुरली पनि बोक्दा त कृष्णजी जस्तै पो देखिएछ त । ' उसले उठेर छोराको कपाल मुसार्दै र छोरीलाई काखमा लिँदै भन्यो , ' अब खाना खाने , भाईलाई खुवाउने अनि ममीसँग जाने है पिङ खेल्न । '

' नाईँ बाबा तपाईँसंगै जाने । मम्मीले त मलाई पिङमा हल्लाउन पनि सक्नुहुन्न । ' हिसिला अनुरोध गर्दैथिईन् ।

' कस्ले भनेर सक्दिनँ ? सुन्नुभो यस्ले त मलाई मान्छे नै गन्न छाडी ' भर्खरै फुटाएको ओखर पर कतै मिल्काएर फर्किएकि सीमाले उ तिर मुखरित हुँदै भनिन् , ' खाना खाउँ है अब । आउनुस् म पस्किन्छु । '

' हैन छोरी , आज तिम्रो बाबालाई सञ्चो छैन त्यसैले ममीसँग जाउ भनेको , बरु म बेलुकीपख बजार घुमाउन लान्छु नि मेरी ज्ञानी छोरीलाई । ' , उ छोरीलाई सम्झाउंदैथियो ।

' म पनि जाने बजाल् । ' यौटा हातले मुरली नछोडी भुईँमा खेल्दै गरेको सिमरन बोल्यो । उसको ध्यान तुरुन्तै उसले भर्खरै उनेको केतकी फूलको मालामा गयो जो उसले खाटमुनि लुकाएर राखेको थियो । उसलाई छोराले कतै खेल्दाखेल्दै पलङमुनिबाट त्यो माला त निकालिदिने हैन जस्तै लाग्यो र हत्तार 'जान्छ नि मेरो छोरो पनि म सँग बजार ' भन्दै छोरोलाई उठाएर पलङमा राख्यो ।

' बुझ्नुभो तपाईंको छोरो कि त ठुलै संगीतकार हुन्छ जस्तो छ कि त भने मेला हुँदी मुरली बजाउँदै चटक देखाउने चटके हुन्छ जस्तो छ । सुत्दा पनि छोड्दैन यो मुरली यस्ले । ' सिमरनको हातको मुरलीलाई संकेत गर्दै सीमाले भनिन् ।

' यस्तै हुन् बच्चाहरु । खाना खाउँ भनेकी हैन तिमीले ल हिँड जाउँ खाउँ अब ।' उसले हतार लगायो । उसलाई खाना खाईसकेपछि पाउन सक्ने एकान्तको ध्याउन्न थियो । खाना खाईसकेपछि हिसिला र सिमरन पिङखेल्न जाने भनेर अड्डी कस्दैथिए भने सीमा जुठोभाँडो सिध्याएर लिएर जान्छु भन्दैथिन् । उसले एकान्त प्राप्त गर्न सक्ने उपयुक्त मौका यहि हो भन्ने ठानेर भन्यो , ' लैजाउ न त पहिला । जुठोभाँडो आएर गरे नि हुन्छ । '

बाबुको पनि आड पाएपछि बच्चाहरु झनै करकर गर्नथाले पिङमा जाने भनेर त्यसैले सीमाले लिएर गइन् । जसै उसलाई एकान्त मिलेथ्यो उ आफ्नो कोठातर्फ गयो र सिह्रान मुनिबाट दिदीको तस्विर झिकेर एकपटक छातिमा टाँस्यो र आँखाभरी आँसु पार्दै एकटकले तस्विर हेर्न थाल्यो र एकाएक उ पुन अतित छिचोल्न पुग्यो ।

बाउ बितेपछि उसले सबै जायजेथा छिमेकीलाई जिम्मा लगाएर गाउँ छाडेको थियो । बहाना पढ्नलाई भएपनि उसलाई गाउँमा बस्नै उकुशमुकुश भएको थियो । गाउँ छाड्नेबेलामा कसैकसैले उसलाई ' जे भएपनि आफ्ना भनेका आफ्ना नै हुन्छन् । कम्तिमा खेतबारी त दिदी भेनालाई कमाई खान दे , कम से कम उनिहरुको पनि खाने खेल्ने ठाउँ फराकिलो हुन्छ । ' भनेका थिए तर उसले म सँग त्यसको कुरै पनि नगर्नु भनेर कसैको कुरा सुनेन ।

समय बित्दै जाँदा परिवर्तित देश र कालले उसलाई धेरै नरम बनाईसकेको थियो । अक्सर उ पश्चातापमा गल्ने गर्थ्यो । दिदीलाई गरेको ब्यावहार सम्झेर किन त्यसो गरेँ होला भन्ने हुन्थ्यो उसलाई तर फर्किएर दिदीसँग गएर माफ माग्ने आँट भने जुटाउन सकेको थिएन । गाउँ छाडेको चारपाँच वर्षै बितिसक्दा उसले पनि विहे गरिसकेको थियो । अझ दैवको लीला कहाँसम्म भयो भने गहिरो प्रेम परेर उसले विहे गरेकी केटी पनि आफु भन्दा तल्लो जातकि हो भनेर उसले विहे गर्नको लागी तयार भै सक्दा मात्र थाहा पायो । तै बरु उसकि दिदीले तल्लो जातको केटासँगै विहे गरेकी भए पनि समाजको मान्यता अनुशार पानी चल्ने नै जात थियो तर उसको त हिँजो सम्मको उसैको नजरमा पनि पानी अचल जातकी केटी परेकी थिईन् ।

के जान्नु उ ज्ञानी नै भएको थियो वा सीमाको प्रेमले धोईएको थियो उसले चुँ प्रतिक्रिया नगरी सीमालाई विहे गर्यो बरु मनमनै उसले दिदीलाई भेट्ने र माफी माग्ने अठोट भने गरेको थियो । विहे गरेकै साल तिहारमा उ दिदी भेट्न गयो र दिदीको खुट्टा समाएर माफी माग्दै भन्यो , ' मलाई माफ गरिदेउ दिदी , म अज्ञानी थिएँ त्यतीबेला त्यसैले तिमीलाई भन्नु नभन्नु भनेँ , गर्नु नगर्नु गरेँ । आँखिर अहिले मैले आफैंले पनि तल्लो जातकै केटी विहे गरेको छु । यो जात र धर्म भन्ने कुरा माया प्रेम भन्दा ठुलो हैन रहेछ भनेर बल्ल बुझेको छु । '

यतिका वर्षपछि , त्यो पनि भाईतिहारको दिन माईतिको मुख देख्न पाएकि उसकी दिदीले उसलाई ग्वाम्लाङ्ग अँगालो हालेर भनेकि थिइन् , ' तिमी फर्केर आयौ । मलाई माफी दियौ यहि नै लाख छ मेरो लागी । किन माफी माग्छौ मसंग मैले कहिल्यै तिमीलाई दोष लगाएको छैन , के को लागी माफी दिनु मैले ? ' उनको मुहारमा अब्यक्त खुशी यसरी छचल्किएको थियो मानौं दिब्य दश हजार वर्ष कठोर तपस्या गरे पश्चात कुनै मनुवाले भगवानको दर्शन पाएको होस् । उसले दिदीसँग मात्र माफी मागेन भिनाजु र भिनाजुको सबै परिवारसँग माफी माग्यो । सबैले उसलाई माफी माग्न त ठुलो छाती पो चाहिन्छ भन्दै महान भनेर तारिफ गरे । सबैको आँखा रसाएको थियो त्यसबखत ।

निक्कैबेरको भलाकुशारी पछि दिदीले पूजाको सम्पुर्ण सर्जाम तयार गरेर उसलाई टिका लगाइदिन् र केतकी फूलको माला लगाईदिँदै भनिन् , ' भाई आज यो संसारमा म जति भाग्यमानी कोही छैन होला ? मैले तिमीबाट माफी पाएँ त्यसैले आज देखि सत्य युगमा सानो झूट बोलेर गल्ति गरी अपहेलित भएको यो क्यात्तुके फूलले पनि माफी पाओस् । आज देखि यस्लाई कुकुरको घाँटीमा मात्र नलगाईदिउन् मान्छेहरुले । मान्छे मान्छे माझपनि जातपातको भेदभाव आजै देखि मेटियोस् र यो फूलले पनि आजै देखि माफी पाओस् ।'

दिदीले उसलाई घाँटीमा केतकी फूलको माला लगाइदिँदा भित्रैदेखि चिसो भएर आयो । उसलाई दिदीले कुकुरलाई झैं ब्यावहार गरेको भान पर्यो र उसले दिदीकै अगाडी माला चुँडाएर फ्याँक्दै , ' मैले तिमी भा'ठाउँ आउनु नै गल्ति गरेछु । तिमीले त मलाई कुकुरलाई झैं ब्यावहार गर्यौ । कुन मान्छेले आजसम्म यो क्यात्तुके फूलको माला लगाएको छ र मलाई लगाईदियौ ? तिमीलाई अझैपनि माईतिको ईज्जतको ख्याल रहेनछ । ' भन्दै उठेर हिंड्यो ।

त्यसको केहिदिनमा उसले उसकी दिदीले पनि बाउ माईतिको शिर ठाडो गर्न सकिँन भनेर पासो लगाई आत्महत्या गरेको खबर सुनेथ्यो । त्यसदिन देखि सँधैं सँधै तिहारको समयमा बिव्हल बन्नेगर्छ । यसरीनै एकान्तमा दिदीको तस्विर हेरेर रुने गर्छ । दिदीसँग माफी माग्ने गर्छ । आजपनि उ दिदीको तस्विर र उसले आफैं उनेर पलङमुनि लुकाएको केतकी फूलको माला लिएर उसकि छोरी हिसिलाले भाईलाई टिका लगाईदिएको स्थानमा गयो र दिदीको तस्विर अघिल्तिर राखेर आफैंले टिका लगायो । मानसिक संतुलन गुमाएर विक्षिप्त बनेको मान्छेझैं आफैले केतकी फूलको माला पनि लगाएर उ भन्दैथियो , ' दिदी , मलाई माफ गरिदेउ , म ठुलो पापी हुँ । मलाई मैले गरेको पापको सजाय छैन । मलाई किन त्यसदिन् तिमीले यो क्यात्तुके फूलको माला लगाईदिँदा मान्छे हुनुको घमण्ड आयो ? कुकुर पनि उनै ईश्वरको सिर्जना हो र यो फूल पनि उनै ईश्वरको सिर्जना हो भनेर मैले किन बुझिँन त्यसबेला ? तिमी सहि थियौ दिदी , म कुकुर नै थिएँ त्यसबेला , मान्छेहरुले चाहे यो फूललाई माफ गरुन् नगरुन् तर मैले आज आफैं यो फूलको माला लगाएको छु दिदी , तर म जस्तो नीच व्यक्ति यो फूलको मालाको पनि योग्य छैन ।'

यतिञ्जेलसम्म उ भित्रैबाट मुटुको खिल निकालेझैं अझ भनौं न क्विन्टलको भारी बिसाएझैं हलुङ्गो भै सकेको थियो । एकाएक उसलाई सीमा र छोराछोरी याद आए । ठिक यहि बेला उनिहरु आए भने के भन्ठान्छन् होला भनेर उसलाई चसक्क पर्यो र उनिहरु आउनुभन्दा अगाडी नै पूर्ववत हुनको लागी आफ्नो कोठामा जानलाई पछि फर्कियो । पछिल्तिर अघि नै कतिखेर देखि दुबै बच्चा च्यापेर आँखाभरी आँशु पार्दै सीमा मुर्तिवत खडा भएको देख्यो उसले ।

चार सौ बीस उत्सव

' जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो .... ' उसको सेलफोनमा रिँगटोन बज्यो यो गीत ।
' Hello ' , उसले फोन उठायो ।
' Hey D , are you ready yet ? ' , लट्पटिएर बोलेझैं स्वरमा पाउलाले सोधी ।
' I don wanna wake up in vain on my dayoff ' बब मार्लीको गीत गाएझैं गर्दै जवाफ दियो उसले ।
' What the hell D ? get up , we're gettin' late .' उताबाट प्याटको आवाज सुन्यो उसले । उनिहरु फोनको स्पिकर अन गरेर कुरा गर्दैछन , लख काट्यो उसले ।
' Don worry about a thing , every little thing gonna be alright ' फेरी उसले बब मार्लीकै अर्कै गीत एक टुक्रा गाएझैं गर्यो र सोध्यो , ' Where are you guys ? '
' Come on D , hurry up . We are waiting you in your parking lot .' , डेजा चिच्याई यो पल्ट ।
' What the hell you guys doing in parking lot ? Come on in guys , have some coffee and let me get ready . ' , उसले उनिहरुलाई भित्र आउन भन्यो र उठेर कफि मेकर अन गर्यो । सँधै राती सुत्नु अगाडी कफि बनाउनलाई फिल्टरमा कफि हालेर पानी पनि हालिओरी राख्थ्यो उ ताकि राती अबेर सम्म बसेर बिहान अबेर उठेपनि कफि पिउन कुनै हतार नहोस ।
भुईं तल्लामा भएको उसको स्टुडियो रूमको ठिक्कै अगाडी पार्किङ लट थियो त्यसैले उ बाथरूम जान टावल उठाउंदै गर्दा उसका सबै साथीहरु हुरुरु भित्र छिरे । प्याटले उ संग हात मिलायो भने बाँकी केटीहरुले गम्लङ्ग अँगालो हालेर हग गरे ।
' You guys had to come one hour later . I'm still sleepy . ' हाई काढ्दै उसले भन्यो , ' Damn it '
' We know you are time sick D , thats why we're early here . ' कुनै दिन उसले ढिलो हुँदा नेपालीहरुको ढिलोहुने समय रोगको बारेमा कुरा गरेर एक्स्क्युज पाएको थियो आज पाउलाले तोते बोल्दै त्यसैको झटारो हानी । अर्जेन्टिनाबाट समर भ्याकेसन पनि मनाईने पैसा पनि बनाईने हिसाबले तिन महिनाको लागी आएकि फर्स्याईली पाउला अनुहार हेर्दा नेपाली केटी झैं देखिन्थी । उसको भाषा स्पानिस भएकोले अंग्रेजी बोल्दा अस्पस्ट र लट्याँङ्ग्रो सुनिन्थ्यो ।
पाउला , प्याट , डेजा र मारिया चारजना आएका थिए उसलाई लिन । बिभिन्न ठाउँबाट भेलाभएका उनिहरुमा प्याट सियाटलबाट , डेजा क्यालिफोर्नियाबाट र मारिया मेक्सिकोबाट थिए ।' Okay guys , coffee is almost ready , cups are here . Enjoy coffee okay ? I'm going to take a quick shower .' उठेर बाथरूम तिर लाग्यो उ ।
' Wait a minute D , I got to go pee . ' उसलाई उछिन्दै डेजा बाथरूम छिरी ।
' Okay . ' उसले फर्किएर सबैलाई कप कपमा कफि हालेर दियो । यतिञ्जेल चुपचाप झैं बसेकि मारिया उसला गोला गोला आँखा ठुल्ठुला पार्दै निधार खुम्च्याएर उसको अस्तब्यस्त कोठा तर्फ संकेत गर्दै बोली , ' Jesus D ? what a mess ? '
' Oh yeah baby , it's my way of living . I just don care to manage things . ' उसले भन्यो ।
' Yeah dude , it's kind of hippys way of living . ' सहमति जनाउंदै प्याट उसको एयर बेडमाथी गएर बस्यो ।
' Hey watch out my computer man . ' बेडमाथी भएको काखे कम्प्युटरमा प्याट बस्ला भनेर उसले सजग गरायो ।
बाथरूमबाट डेजा निस्किई उ पस्यो । सकेसम्म छिट्टो नुहाएर उ निस्कँदा तिनैजना केटीहरु अनुहारको अलग अलग मुद्रा बनाएर बसेका थिए र प्याट चैं उनिहरुको फोटो खिच्दैथियो । उसले सिह्रानेमाथी पर्ने गरेर भित्तामा टाँगेको नेपालको झण्डा मुनि उनिहरु फोटो खिचाउँदैथिए ।
उसलाई देख्नेबित्तिकै डेजाले भनि , ' Your national flag is so cute D . '
' I know it is cute .' आफ्नै तालमा उसले जवाफ दियो र लुगा लगाउँदै भन्यो , ' Excuse me guys . ' उसले एक्सक्युज मागेकैले सायद सबैको ध्यान उ तिरै गयो । त्याँहा भए मध्ये धेरै बोल्ने डेजाले भनी , ' You looks like geico guy D . ' सबै गलल हाँसे । उसको छातीको बाक्ला लामा रौं देखेर गाईको भन्ने ईन्स्योरेन्स कम्पनीको विज्ञापनमा देखाईने भुत्लै भुत्ला भएको केभ म्यान झैं भनेकी थिई उसले ।
उसले स्वाट्ट यौटा जिन्स पाईन्ट लगायो र यौटा पातलो टि शर्ट भिर्यो र त्यहीँ भुईँमा एकतिर अलपत्र परेको वालेट उठाएर गोजीमा हाल्दै भन्यो , ' Okay guys , I'm ready . what's the plan ? '
' It's surprise D , we can't tell you . ' , डेजाले भनि ।
' Okay then , let's go . ' , उनिहरु निस्किए । प्याटको सानो गाडीमा पछिल्तिर सिटमा तिनजना केटीहरु बसे । प्याट चालक सिटमा र उ अघिल्तिर बस्यो । समुद्रको किनारैकिनारको बाटो लागे उनिहरु ।
' Guys ? call millisa and tell her we are heading ahead now . ' प्याटले अह्रायो । पछिल्तिर पाउला आज्ञा पालन गर्न थाली । समुद्र किनारभरी मान्छेहरुको मेला जस्तै देखिन्थ्यो । कोही भलिबल खेल्दैथिए , कोही नाच्दै थिए , कोही बुगिबोट बोकेर यताउता गर्दैथिए , कोही मासु पोल्दै खाँदैथिए , सबै आ आफ्नै पार्टीमा मस्त । लाग्थ्यो उनिहरुलाई संसारको कुनै मतलब छैन । डी एकोहोरो झ्यालबाट बाहिर हेर्दैथियो । प्याटले सोध्यो , ' Are you okay D ? '
' Yeah yeah I'm okay man . Just reading those people . ' गला सफा गर्दै उसले भन्यो ।
' What did you read ? ' प्याटले फेरी सोध्यो ।
' Nothing . ' , उसले बताउन नचाहेझैं गर्यो । मनमनै उ सोचिरहेको थियो , ' साला हामी कहाँ कहाँ देखि आएर यिनिहरुको काम गरिदिने छँदैछौं यिनिहरुलाई मोज गर्न के छ ? '
सडकको नियम अनुशार मन्द गतिमा प्याटको गाडी चलिरहेको थियो । दाँया पट्टी नजिकै समुद्रको सुन्दर किनार बाँयापट्टी कहीँ फाँट कहीँ ढिस्का ढिस्की । सडक किनाराभरी शिरिष पुरै वाताबरणलाई आफ्नो रातो रंगले पोतेर मुस्कुराईरहेको । सबैथोक एकैछिनलाई भुलेर घुम्न निस्कँदा यो ठाउँ स्वर्गकै एक टुक्रा हो कि झैं लाग्थ्यो । ठाउँ ठाउँमा सुन्दर परिकल्पनाका साथ बनाईएका ओसन भिउ भएका रिसोर्ट , होटल र कतै अपार्टमेण्टहरु पनि । किन मान्छेहरु यो ठाउँलाई आफ्नो भ्रमणको लिष्टमा राख्छन भन्ने बुझ्न यो सुन्दरता हेरे पुग्थ्यो । अघि बढ्दै उनिहरु स सानो बस्ति , बजारहरु छाड्दै जंगल पर्वत भएको ठाउँतिर पुगे । अलिपर बाँयापट्टी दश हजार फिटको उचाईमा ठडिएको हालियाकाला पर्वत ठिँग उभिएको थियो ।
' D , make a poem on that mountain ? . ' उसले कविता लेख्छ भन्ने पनि थाहा पाउने डेजाले ब्यँग गरी । मारियाले पछिल्तिरै डेजालाई अलि सानो स्वरले सोधी , ' Does he writes poem ? Wow ! I love poetry . '
' Yes he writes poem but we don know what the hell he writes . He writes in hindu . ' , डेजाले ब्यँगमै बुझाई । फेरी सबै हाँसे ।
' Shut up Deja , I don't write in hindu , I write in nepali . Hindu is a fu***** religion baby , not a freakin' language ' प्रतिवाद जनायो उसले ।
' Whatever D , just tell us a poem . ' , कविता सुनाउन अझै जोड दिई उसले ।
' Okay Listen , ' जे मुखमा आयो त्यही भन्दै कविता शुरु गर्यो उसले ,
" Who the hell said that is a mountain ?
Who said that mountain is hell
That mountain is not a mountin baby
That is your daddy
Standing like a daddy
To yell on you .
Listen your daddy mountain
You'll see the right track in your life . " कविता सकेर डेजा तर्फ फर्केर मुसुमुसु हाँस्न थाल्यो उ ।
' Superb !! '
' Wonderful ! ' थप्पडी बजाउंदै सबैले उसको तारिफ गरे , ' You are such a great poet D .'
' Yeah I am but only for you guys . Anyway thank you guys . ' सानोसानो कुरामा पनि झर्को नमानी धन्यवाद भन्ने उनिहरुको रीत पुरा गर्यो उसले । त्यस ठाउँको चर्चित समुद्री तट 'बिग बिच' मा पस्ने ठाउँको पार्किङमा गाडी रोक्यो प्याटले । मिलिसा पहिले नै त्याँहा पुगिसकेकि थिई । सबै भेट भएर उनिहरु सुमुद्री किनार तिर लागे । डी ले खल्तिबाट चुरोट झिक्यो र सल्कायो । त्यसपछि सबैलाई दिन खोज्दै हात बढायो डेजा र प्याटले लिए मिलिसा चुरोट पिउंदिनथि भने मारिया र पाउलाले पनि लिएनन् । उसले यो ठाउँमा पहिले नै एकाध पटक आईसकेको त्यसैले अर्कै नयाँ ठाउँमा जाउँ भनेर प्रस्ताव राख्यो तर नयाँ ठाउँमै जान लागेको हो हामी यो बिग बिच त बाटो मात्रै हो भनेर सम्झाए उनिहरुले उसलाई ।
बिग बिचको बालुवामा पाइताला धसाउँदै हिँड्दा उसको नजर चारैतिर दौडीरहेथ्यो । त्याँहा पनि धेरै मान्छेहरु समुद्री किनारको आनन्दमा मग्न मस्त थिए । उसले अलि पर्तिर बिकनी लगाएर घाम ताप्दै कुनै किताब पढिरहेकि युवती तर्फ ईशारा गर्दै भन्यो , ' Look at her guys , she is D hot . ' उसले भन्न खोजेको कसैले बुझेनन् । एकै मुखले सोधे उसलाई , ' What is D hot ? '
उ आफैं एकपटक हाँस्यो र भन्यो , ' D hot means D hot . ' यसो भनिरहँदा उसले औंलाले आफैंलाई देखाईरहेको थियो , ' You know hot like D . '
उसको यहि खुबी थियो सबैलाई आफुसंग रत्याउने । उ आफ्नै हिसाबले कुनैकुरा बनाएर भनिदिन्थ्यो र त्यसलाई तत्कालै यौटा अर्थ पनि दिन्थ्यो । सबै हाँसे फेरी त्यसो त जतिबेला पनि उनिहरु हाँस्न सक्छन ।
' What's funny guys ? D hot doesnot means only D hot , it's also damn hot , deadly hot , dangerous hot . ' अझै अर्थ्यायो उसले ।
'Yeah Yeah , D hot means duplicate hot too , right ? ' मिलिसाले मानौं त्यही कुरालाई यौटा चुट्किला बनाई , सबै बगर नै थर्काउने गरेर हाँस्न थाले । हिँड्दै उनिहरु त्यो विशाल बगरको अर्को कुनातिर पुगे जहाँबाट पहाड शुरु भएको थियो र मुक्तिनाथकै उकालोझैं लाग्ने कोप्चो परेको उकालो चढ्न थाले । उसले अलिमाथी पुगेर पछाडी फर्केर हेर्यो । अनन्त फैलिएको निलो समुद्र र किनारतिर उठेर आईरहेका विशाल विशाल छालहरु साँच्चै मन हर्ने दृश्य थियो त्याँहा , मान्छेहरु पानीमा हाँसहरु खेलेझैं समुद्रको छालसंग खेलीरहेका थिए । उसले छोटो उच्छवास लिँदै सोच्यो ' कास ! उसको नेपालमा पनि समुद्र भए । ' फेरी उसले त्यो अभाब युक्त उच्छवासलाई मेटेर सोच्यो ,' नभएको भनेको यहि यौटा समुद्र त हो नि उसको देशमा , अरु के छैन ? ' आफ्नो देश सम्झेर घमण्ड गर्यो उसले । फेरी उसलाई आफ्नै कुरा चित्त नबुझेझैं सच्यायो , ' सबथोक भएर के गर्ने ? केहि कुराको सहि सदुपयोग हुन नसकेर संसारमै पछि पर्नु परेको छ । ' यो तितो यथार्थ भित्र उसले आफुलाई पनि दोषी पायो , ' देश बनाउने जिम्मा काँधमा लिनु पर्ने म जस्ता युवा यसरी बिदेश पलायन भएपछि कहाँबाट देश उँभो लागोस् ? '
' What's wrong D ? come on . ' साथीहरुको आवाजले उसको एकैक्षणको एकाग्रता भँगभयो । साथीहरु निक्कै माथी पुगिसकेछन् । उ फेरी उकालो चढ्न थाल्यो । पर्वत नै भन्न मिल्ने त्यो डाँडाको उचाईमा पुगेपछि मान्छे हिंड्ने गोरेटोबाट यसो ओल्टेकोल्टे परेर उनिहरु एक ठाउँमा बिसाए । सबै बसिसक्न नभ्याउँदै चिर्बिरे चरीझैँ धेरै बोलीरहनु पर्ने डेजाले उसलाई सम्झाउने हिसाबले भनी , ' Well D , it's four twenty today and we are here to celebrate four twenty . We are going to smoke pot in this celebration .'
डेजाको कुराको छेउ टुप्पै नबुझेर उसले सोध्यो , ' What four twenty ? what pot ? what the hell you talking about ? '
' Are you kidding D ? you don know nothing about pot ? '
' Four twenty means 20th April man . '
' Have you ever smoke pot , D ? '
' I think he knows about marijuana . '
' Do people smoke marijuana in nepal ? '
' I heard it is legal in nepal . '
' I heard there are lots of street dogs in nepal . '
एकोहोरो लागेर खनिए सबै उ माथी । ' Stop guys ' , उ चिच्यायो , ' Stop freaking me out okay ? Is this a sin if I don know about Fu***** four twenty and about Fu***** pot ? I never heard about four twenty before okay ? And pot , what I learn in my school is pot is a pot , just a pot to make rice , not even to make curry okay ? अझै एकपटक सबैलाई गलल हँसायो उसले । वास्तवमै पि ओ टि पट पट माने भाँडो भनेर प्राथमिक स्कुलमा पढ्दा उसले भात पकाउने भाँडो मात्रै पट हो भनेर बुझेको थियो । पट भन्दा कराई पनि बुझ्नु पर्छ भनेर सम्म स्कुलमा सरले पनि कहिल्यै सम्झाएनन उसलाई ।
' Hey D , look at this .This is pipe and smoke marijuana in this pipe is called pot smoking . ' मरियाले आफ्नो ह्याण्ड ब्यागबाट सानो सप्तरंगी सिसाको चिलिम निकालेर देखाउंदै भनि र त्यसमा गाँजा भर्न थाली । उसले आफु गाँजासंग परिचित भएको , नेपालमा पनि मान्छेहरुले गाँजा पिउंने गरेको , खास गरेर जोगी बनेर मन्दिरमा बस्नेहरुले गाँजाको अत्याधिक सेवन गर्ने गरेको लगायत अमेरिकामा झैं नेपालमा पनि गाँजा उत्पादन तथा सेवन ईल्लिगल भएको जानकारी गरायो उनिहरुलाई । नेपालमै हुँदा उसले एकाध पटक गाँजा नपिएको पनि होईन तर उनिहरुलाई मैले कहिले पनि गाँजा पिएको छैन भनेर ढाँटीदियो । त्यसो गर्दा उ उनिहरुकै रफ्तारमा गाँजा पिउनुपर्ने बाध्यताबाट बच्न सक्थ्यो । नेपालका गँजडीले झैं गाँजालाई खैनिझैं माडेर , अझ चक्कुले मसिनो धुलो पारेर काटेर , सुल्फामा खाँद्ने अनि माथीबाट जुटको सानो गुजुल्टो राखेर आगो लगाएर सल्काउने जस्ता कठिन उपक्रम अमेरिकाका गँजडीहरुलाई गरिरहनै नपर्ने । आधुनिक सुल्फामा गाँजा हाल्ने र लाईटर बालेर तान्ने बस् काम तमाम । एकैछिनमा उनिहरु पालैपालो चिलिम घुमाउंदै तान्न थाले ।
पहिलो राउण्डमा उसलाई कसैले केहि सोधेन दोश्रो राउण्ड पछि भने पाउलाले सोध्न भ्याई , ' Are you stoned D ? '
लाईटर बालेर तान्ने टेक्निक नजानेर होला उसले अरुले झैं पिउंनै सकेको थिएन । जवाफ दियो , ' Not yet . '
मारियाको सानो सुल्फाको गाँजाले सबैलाई तिन राउण्ड पनि पुगेन । नेपालका गँजडीहरु भए एकै बसाईमा ठुलै चिलिम चार पाँच पटक तुर्दै भर्दै गर्थे होलान उनीहरु उठे । १७ /१८ वर्षको उमेर देखि आमा बाउ छाडेर आफ्नै पौरखमा बस्ने यिनिहरुलाई यस्तो कुरामा कसैको मतलब नहुने हुँदा पनि होला आफैं सजग भएर पिउने गर्छन यिनिहरु ।
उनिहरु उठेर फेरी अगाडी बढे । त्यो डाँडोमा उक्लिन जति उकालो चढेका थिए त्यति नै ओरालो झरेर उनिहरु अर्को स सानो बगरमा पुगे । तिनतिरबाट पहाडले छेकिएको र एक तिर समुद्र भएको यो सानो हिडन बिचलाई न्युड बिच पनि भनिन्छ भनेर डी ले थाहा पायो । नभन्दै त्यो बिचभरी जति मान्छेहरु थिए तिनीहरु मध्ये धेरै सर्वाङ्गै नाङ्गै थिए । पहिलो पल्ट उसले यसरी मान्छेहरु सामुहिक रुपमा नाङ्गा नाङ्गै भएको देख्दा उसलाई त्यो बगर कुनै गौचरण र त्याँहाका मान्छेहरु चरिरहेका , खर्कीरहेका पशुहरु झैं लाग्यो । उसले सोच्यो जंगली अवस्थामा हुँदा असभ्य हुनाले यसैगरी समुदायमै नाङ्गो बसेको मान्छे आज सभ्यताको चरम स्थितीमा आईपुगेर पो नाङ्गीएको हो कि ?
नाङ्गा नाङ्गै मान्छेहरुको माझबाट बगरै बगर हिंड्दै जाँदा उसले देख्यो बगरको कुनामा छ सात वर्ष उमेरका दुई नाङ्गा भुतुङ्गा बच्चाहरुसंग उसका आमा बाउ पनि नाङ्गा नाङ्गै खेलीरहीका थिए त्यो देख्दा उसलाई मान्छे अझै पशु नै रहेछ भन्ने लाग्यो । एकातिर नेपालजस्तो मुलुकको समाजमा यौन विषयका कुराहरु पनि बच्चासंग गर्ने मानसिकता बनिसकेको छैन भने अमेरिकामा यसरी बच्चाहरुसंग बाउआमा नै नाङ्गा नाङ्गै खेलीरहेको देख्दा उसलाई अचम्म मात्रै लागेन कि यो सहि हो कि गलत भनेर ठम्याउन सम्म सकेन उसले ।
उनिहरु एकैछिनमा त्यो सानो बगर पार गरेर अर्कोकुनातिर पुगे । अगाडी धेरै पहिले ज्वालामुखि बिस्फोटन हुँदा बनेको कालो पहाड उभिएको थियो । कालो पहाडको काखमा निलो समुद्रको सेतो सेतो छाल आउंदै जाँदै गर्दाको दृश्यमा त्याँहा फेरी अर्कै रमाईलो लाग्थ्यो । उनिहरु त्यही कालो चट्टानमाथी केही फराकिलो परेको खण्डमा गएर बसे । अलि तल पानीमा ठुल्ठुला कछुवाहरु छालसंगै तैरिंदै चट्टान सम्म आउने र छाल संगै फर्कने गरिरहेका थिए ।
' Why don we go and sit near by those turtle ? ' , उसलाई ति समुद्री कछुवाहरु नजिकैबाट हेर्ने ईच्छा जाग्यो ।
' No D , they are playing . We don't have to disturb them . ' , मिलिसाले रोकी । उसलाई आफ्नो सोचमा र उनिहरुको सोचमा भएको भिन्नता देखेर अलि लाज पनि लाग्यो त्यसैले उ चुपचाप त्यहीँ अरुसँगै बस्यो ।
प्याट , मिलिसा र डेजा यसपटक राजनीतिका कुरा गर्दैथिए । मारिया यदाकदा सहभागी बन्दैथिई भने पाउला र डी चुपचाप सुन्दैथिए । अर्काको देशको मामलामा जान्ने भएर बोल्नु नहुने धारणा थियो सायद दुबैको । उनिहरु यसपाली बाराक ओबामाले जित्नुपर्छ । यो परिवर्तन हुनुपर्ने समय हो भन्दैथिए । डीको पत्रपत्रिकामा पढेसुने अनुशार अमेरिकामा युवाहरु राजनीतिमा खासै चासो राख्दैनन भन्ने धारणा बनेको थियो तर उनिहरुको कुरा सुनेर त्यो पनि हैन रहेछ भन्ने लाग्यो ।
यो पल्ट डेजा भर्न थाली पाइपमा गाँजा । डेजाको पाईप मारियाको भन्दा निक्कै ठुलो थियो अत गाँजा पनि निक्कै भर्ली र मताउली भनेर चनाखो भयो डी । उसले मनमनै अठोट गरिसकेको थियो तिन राउण्ड तान्छु त्यसपछि माते नि नमाते नि तान्दिनँ भनेर तर डेजाले पाईप र लाईटर उ तिरै बढाएर यसपटकको नयाँ रुल अनुशार खुरुखुरु तिन फेर तान्ने त्यसपछि तान्न नपाउने कुरा सुनाई । जसरी भएपनि उसले तिन राउण्ड तान्ने अठोट त गरेकै थियो । हातमा पाइप र लाईटर लिएर मन्द मुस्कायो उ । उसको मुस्कानमा त्रास देखि क्यार डेजाले भनि , ' Just feel comfortable okay , we are here . '
केहि नबोली उसले खुरु खुरु तिनफेर तान्यो र लाईटर र पाईप छेउमा बसेकि मारियालाई दियो । यसपटक धुँवा निल्दाको स्वाद न चुरोटको जस्तो न गाँजाको जस्तो पहिले कहिल्यै थाहा नपाएको स्वादमा थियो । लाईटर र पाईप हस्तान्तरण गर्न नभ्याउँदै उसले आँखा अगाडी अनेकौं रंगीन आकृतिहरु सल्बलाउन थालेको देख्दैथियो , टाढा कतैबाट उसलाई डेजाले ' Lay down ' भनेको जस्तो लाग्यो र आज्ञाकारी बालकझै उ त्यँही चट्टानमा पसारियो ।
उसले आफ्नो शरिरका सानासाना कोसिकाहरु एकार्कामा छुट्टिएर धुवाँ जस्तै उडेको देख्यो । उसलाई लाग्यो उसको अस्तित्व नै छैन । सबै समाप्त भयो । उ धुवाँ जस्तै उडेर एकैछिनमा सगरमाथाको शिखरमा पुग्यो र पुन उनको गोला झैं गुजुल्टो परेर खडा भयो । उसले तत्काल कैलाश सम्झ्यो र उनको गुजुल्टाबाट उ फेरी अनौठो चरामा परिणत भएर उड्दै कैलाशमा पुग्यो । महादेव देख्यो त्याँहा महादेव पनि मातेर चुर भएका आँखारातो पारेर बसेका थिए । झट्ट उसलाई यमराज सम्झना आयो र तुरुन्तै ठुलो बाँध फुटेर बाढी उर्लीएझैं बगेर उ नर्क सम्म गयो । चित्रगुप्तले उसलाई देख्यो तर नदेखे झैं गर्यो । यमराज उसले बच्चामा पौडीखेल्ने खोलामा भैंसी नुहाईदिंदैथियो । उसलाई घर सम्झना आयो तुरुन्तै उ एक टुक्रा कागज भएर घर पुग्यो । कागजको टुक्रामा उसको शरिर लेखिएको थियो अक्षरमा । सबै आफन्तको अगाडी उ कागज भएर पुग्दा कसैले उसलाई वास्ता गरेनन , उसलाई परिचय दिनै गाह्रोभयो , लाग्यो म त परदेशी भएछु क्यार भुलेछन सबैले मलाई , उसले आवाज निकाल्ने चेष्टा गरेर कराउन खोज्यो तर आवाज निस्किएन हावा मात्र सुईँय गर्यो । आँधी सम्झ्यो उसले र मडारिएर रुख , पात , घर , जँगल , पर्वत बाटोमा जे पर्छ त्यसैमा ठोकिँदै आँधीकै बेगमा बग्न थाल्यो उ । यति बेग साथ बग्यो कि उसले पृथ्वीलाई एकैछिनमा चक्कर लगायो । पृथ्वी गोलो छ उसले याद गर्यो र तत्काल उ भकुण्डोमा परिणत भयो र बढेको बढ्यै पृथ्वी जत्रै भयो उसलाई लाग्यो अब ब्रम्हाण्डमा उसलाई अट्न स्थान पो छ कि छैन ?
तत्काल उ पृथ्वीझैं घुम्न थाल्यो र अनेकौं ग्रह उपग्रहहरुबाट बच्दै बिशाल ब्रम्हाण्डमा आफ्नो स्थान खोज्दै उड्न थाल्यो । ग्रहहरुसंग छलिँदै उ यति स्पिडमा उड्दैथियो तर कतै उसले आफ्नो सुरक्षित स्थान देखेन , कहाँ सम्म पुग्ने ? त्यो अनन्त , अपरिमेय ब्रम्हाण्डमा उसले आफुलाई तुच्छ ठान्यो । बडेमानको भएर फैलेको उसको भकुण्डे आकारलाई उसले ब्रम्हाण्डको सम्मुख धुलोको मसिनो भन्दा पनि एक्दमै मसिनो माईक्रोस्कोपले धरी देख्न नसक्ने प्रकारको कणमा पायो । उसलाई आफु शुन्य भएको महसुस भयो यस्तो शुन्य जस्लाई जति ठुलो आकारमा लेखेपनि त्यो शुन्य नै हुन्छ त्यसमा केहि नै हुँदैन जस्तै लाग्यो ।
उसलाई आफ्नो मश्तिष्क याद आयो , मश्तिष्क भरी उसले छिर्केमिर्के दागहरु देख्यो । पानी तातेको हिलोमा उसिनिएको गँड्यौला जस्तो लाग्यो उसलाई आफ्नो मश्तिष्क जो दुङ्दुङ्ती गनायो उसैलाई । नाकमा गन्ध आएको थाहा पायो उसले त तुरुन्तै अनेकौं मरेका मान्छेहरुको लाशको वाकवाक आउने दुर्गन्ध भएर उ आफ्नै नाकभित्र छिर्यो । आफ्नै नाकभित्र आफैं दुर्गन्ध भएर छिरेको उसले भित्र कतै अडिने ठाउँ पाएन , बस्ने ठाउँ देखेन निस्किनलाई उसका सामु जताततै ढोकाहरु थिए । हरेक रौं पलाएका ठाउँमा बाहिर निस्कनलाई ठुला ठुला ढोका देख्यो र आफ्नो शरिरबाट एकैचोटी सबै रौंहरु उम्रेको प्वालहरु साथै नाक , मुख , कान , आँखा , नाईटो , मुत्रद्वार , मलद्वार हुँदै निस्कियो ।
उ मर्यो । मरेपछि यसरी दुर्गन्ध भएर बाहिरिनेरहेछु यो शरिरबाट झैं लाग्यो । मरेपछि उसले स्वर्ग जाने रहर गर्यो । शरिरबाट बाहिरिएको उसले स्वर्ग देख्ने चेष्टा गर्यो तर कति गरे स्वर्ग देख्न सकेन , घरीपनि घरिपनि उसलाई स्वर्गको ठाउँमा दुखसँग बिताएको गाउँले छल गरिरहयो । उसले त्यो दुख पाएको गाउँ नदेखेर स्वर्ग देख्ने र त्यतै जाने अनेक चेष्टा गर्यो तर अहँ सकेन , उड्न खोज्यो सकेन , बग्न खोज्यो सकेन । केहि गरे उसले स्वर्ग देख्नै सकेन स्वर्गको ठाउँमा खाली उसले बाल्यकालमा दुख पाएको गाउँ मात्र देखिरहयो । उसले स्वर्ग जसरी पनि देख्ने अठोट गर्यो । उसलाई लाग्यो मैले मेरो छ्यान्द्रा छ्यान्द्रा भएको , भर्खरै छाडेको शरिरमा आँखा छोडेछु क्यार । आँखालिन फेरी उ शरिर तर्फ फर्कियो र पहिले जहाँ जहाँबाट निस्केको थियो त्याँहा त्याँहाबाट पस्यो । अब स्वर्ग देख्नलाई उ उड्न खोज्यो तर अहिले पनि सकेन । उसले थाहा पायो उ वास्तबमा जे थियो त्याँहा फर्किसकेको छ । उ यौटा मान्छे थियो र अहिले आँखा लिन आउँदा फेरी उ यौटा मान्छे भयो त्यही अघिको मान्छे जो रातै फुलेको शिरिषको बोट मुनीबाट कतै घुम्न जाँदै थियो । शिरिष सम्झँदा उसले पारिजातलाई सम्झ्यो । पारिजातले ' तिमीले टेकेको दुई पाईला धर्ती तिम्रो हो त्यो कसैले खोस्न सक्दैन ' भनेझैं लाग्यो उसलाई । उसले आफ्नो पाईलाले धर्ती टेकेको देखेन । उ त लम्पसार पल्टिएको पो रहेछ । उसलाई लाग्यो म यसरी मरेझैँ पल्टिएँ भने मेरो दुई पाईला धर्ती अरुले खोसिदेलान गाँठे ! उसले खुट्टा टेक्न बल गर्दै शरिर चल्मलायो । तब उ झसँग भयो । अहो ! मलाई के भयो ? म को हुँ ? अहिले कहाँ कहाँ गएको थिएँ ? के के भएको थिएँ ? हत्पताएर उ उठ्यो । उसका सबै साथीहरु उ जस्तै लम्पसार परेका थिए । मारिया चल्मलाई र एकैछिनमा उठी । न हाँस्नु न रुनु जस्ति भएर मारियाले उसलाई एक टकले हेरी । क्रमश सबै चल्मलाउँदै उठ्दै गए । केहिबेर कोही कसैसँग बोलेनन ।
उसले सबैलाई निँयाल्यो । कोही गाँजाको नशामा भएजस्ता थिएनन । उ आफैँपनि थिएन । उसलाई पत्यारै लागेन उसले अहिले भर्खरै गाँजा पिएको थिएँ भनेर । उसले मुख फोरेर सोध्यो , ' Hey Deja ? What the hell was it ? '
यो पल्ट डेजा मुस्कुराई र बिस्तारै भनी , ' Did you enjoy it ? '
डेजाको प्रश्नले उसलाई साँच्चै आनन्द लिएँ भन्ने हेक्का भयो र भन्यो , ' Yeah ! I did . But what was it ? '
' DMT ' डेजाले उ तिर नहेरी जवाफ दिई ।
' Guys , what the hell is DMT now ? ' सबैले उसलाई चुप रहन ईशारा गरे । मिलिसाले फुस्फुसाउँदै भनि , ' You can find out in google or in you tube about DMT , okay ? '
' Okay .' उ पनि अरु जस्तै चुपलाग्यो ।

बुझाई

संधैझैं सुब्बिनी भाउजु आठबजेतिरै खर्दारको मिलमा पुगिन् । उनको काम धानमिलको गोदाम , धान सुकाउन आँगनमा सिमेण्टले बनाएको ठुलो चट्टान र मिल राखेको घर सफागर्नु हुन्थ्यो साथै फाटेका बोराहरु सिलाउनु , छरिए पोखिएका धानचामल भेलागरेर केलाई कुलाई गरी जम्मा गर्नु जस्ता अतिरिक्त काम पनि आईपर्थ्यो उनलाई ।

मिलको आँगनमा खर्दार अरु एकदुईजना मान्छेहरुसंग कुरा गर्दैथिए । संधै त यसबेलासम्म मिल चल्न थालिसकेको हुन्थ्यो । आज के भएछ भन्दै उनि त्यतै गईन । उनिहरु भन्दैथिए , ' हैन यो ईन्धनको मुल्य पनि असाध्यै बढ्यो । यो सबै ईराक वारको परिणाम हो । '

मनमनै सोचिन् उनले 'यो ईन्धन भनेको चैं के र'छ ? मुल्ले बडो भन्छन ।'

उनिहरुको कुरा बुझ्ने प्रयत्न गर्दैथिईन् सुब्बिनि भाउजु , खर्दारले भने , 'ए भाउजु आज काम नहुने भो तिम्रो । दुख मात्रै पाईछौ यहाँसम्म आउन । अब मिल चलाई नसक्नु भै'गो । घर गए हुन्छ ।' उनले फर्कने आदेश पाईन् र लुरुलुरु फर्किन् ।

उनको मनबाट ईन्धन हटेन । कस्तो खालको धन होला यो ईन्धन भन्ने ? जिज्ञाशा भै रह्यो उनलाई । घर पुगेर छोरालाई सोधिन् , ' ए कान्छा ? हैन यो ईन्धन भनेको के रै'च हँ ? '

' किन चाहियो तिम्लाई ईन्धन र सिन्धन ? खै मलाई स्कुल जान ढिलो भै सको २० रुपियाँ देउ , डटपेन छैन । कतिदिन अर्काको मागेर लेख्नु ? ' सात कक्षामा पढ्ने कान्छाले उल्टै उन्को सातो खायो ।

' हैन ई छोराछोरी पढार पनि सुख छैन नपढार पनि सुख छैन ' पोल्टाबाट सुर्काने थैली झिक्दै भनिन् उन्ले , ' के राम्रै पात्तिएको ? नबुझेको त सोध्नै नहुने । ई ला बिस छैन दश लैजा , आफ्नो त दुमो पनि रहेन भएजति सबै तँलाई नै ठिक्क छ । '

उनको हातबाट चिलले चल्ला झम्टिएझैं दशको नोट थुत्दै कान्छाले भन्यो , ' चाहिएको पनि दश नै थियो तर दश भनेको भए पाँच देखाउंथ्यौ । मलाई था'छैन र ? ईन्धन भनेको मोटर गाडी चलाउने , मिल चलाउने र ठुला ठुला कार्खाना चलाउने तेल हो , भयो अब त ? ' कान्छा हान्नियो स्कुल तिर ।

' ए तेई भ'र पो मिल बन्द भएछ । तेत्रा खर्दारले पनि किन्न नसक्ने गरेर बढेछ है ईन्धनको मुल्ले त । धन्न हामी गरिबलाई त्यो ईन्धन नभए नि हुने नत्र हामी गरिबले के किन्न सक्थ्यौं होला र ? ' मनमनै गमिन् सुब्बिनी भाउजुले र प्रकट मै भनिन् , ' अब बुझें ईन्धन भनेको पनि । आँखिर कान्छालाई पढाको काम त लाग्यो । '

बिहानै घाम लाग्ला जस्तो भएपनि अहिले बाहिर पानी पर्न शुरु भैसकेको थियो । सुब्बिनी भाउजुको दिनभर काम केहि नै थिएन त्यसैले कान्छाले पकाएको भात खाएर घर बन्द गरेर गाउँतिर लागिन् । दिनभरी गाउँमै बिताईन् उनले न उनको बस्तुभाउ हेर्नु स्याहार्नु थियो न अरु कुनै काम । साह्रै फुर्सदिली थिईन् सुब्बिनी ।

साँझ घर आएर भात पकाउन अगेँनोमा आगो जोर्न के खोजेकी थिईन् उनिसँग घरमा मट्टितेल रहेनछ । लौ खा परेन अब फसाद ? सण्ठी , स्याउला सबै झरीले ओसिएको मात्र छ । थोरै मट्टितेल नचुहाए आगो सल्किनै मान्दैन । अब के गर्ने ? पकाएर खानु त पर्यो ; भएन राती सुतुञ्जेल कुप्पि पनि बाल्नै पर्यो । साँझ हस्याङफस्याङ गर्दै खर्दारको घर पुगिन् उनि । उनको लागी काम , दाम , माम सबै कुरामा हेरदेख गर्ने खर्दार नै त थिए । आँगनमै खर्दारकि श्रीमती भेटिईन् , ' ए दुलई लौ मेरो त अगेँनोमा आगै सल्केन अलिकति मट्टितेल पैंचो दिन्थेउकि भनेर आ'की , भोलीपर्सी किनेर दिम्ला........ ' सुब्बिनीले कुरा सक्नै पाएकी थिईनन् खर्दारले भने , ' हैन ए भाउजु त्यही तेल नपाएर आज देखि मिल बन्द भो , कतिदिन भैसक्यो किन्नलाई पैसा ले'र जाँदा पनि पाईएको
छैन , कहाँबाट ल्याउने हो मट्टितेल ? धन्न ग्याँसले थेगेको छ हाम्रो त्यो पनि भरैभोली देखि सकिन्छ ।'

कुन्ताको अँध्यारो त्यसमाथी अँध्यारै मुख लाएर फर्किनुको बिकल्प थिएन सुब्बिनीसँग । फर्किंदा बाटोमा सोच्दै थिईन् उनि , ' थुक्क ! यो ईन्धन भनेको त हामी गरिबले बाल्ने मट्टितेल पनि पो रहेछ । बल्ल अब चैं बुझें ईन्धन भनेको , गरिबसँग नहुने भएपछि धन नै त भयो नि ईन्धन भने नि जुन् धन भने नि , थुक्क ! ईन्धन । ' अँध्यारोमा सुमुसुमु घर फर्किन् सुब्बिनी भाउजु ।

भित्रभित्रै

दक्षिण एसियाली मानब अधिकारकर्मीको अन्तरक्रिया अमेरिकामा , साँझको पत्रिकामा समाचार छापियो । दैनिक पत्रिकाले यो समाचार लेखिसक्नै भ्याएको थिएन । सुन्दरमानको सेलफोन घन्किन थाल्यो । अनेक प्रकारका कलहरु आउन थाले । यात्राको शुभकामना दिने र कार्यक्रमको सफलताको शुभकामना दिनेहरु पनि कम थिएनन तर धेरैजसोले सुन्दरमानलाई मानब अधिकारकर्मीको टोलीमा सामेल गराएर एकजनालाई अमेरिका सम्म पुर्याउन सकिन्न भनेर सोधेका थिए । सुन्दरमानले मान्छे हेरीहेरी जवाफ दिए । कसैलाई त्यो त सरासर मानब तस्करी भै हाल्यो नि भने । कसैलाई होईन हजुर मानब अधिकारको निम्ती डटेर लागेको छु म यस्तो काम कसरी गरुं भने । धेरैलाई टाल्दै गएपनि यस्तै कलहरु आउने क्रम जारी नै थियो । अन्तत: कल गर्नेमध्येको यौटालाई उनले प्रश्न गरे , ' हामी यो कुरालाई कतिको गोप्य राख्न सक्छौं त ? ' उताबाट जवाफ आयो , ' त्यसको धन्दा नमान्नुस् न । म समाजमा तपाईंको ईज्जतमाथि आँच आउन दिउंला त ? ' सुन्दरमान एकछिन घोरिए र भने , ' हुन्छ नि त त्यसो हो भने । टोलीमा मिलाउंला तर हामीहामीको कुरा हो हजुर अहिले त यसकामको दरभाउ १२ भन्दा माथि पुगेको छ नि , तर म हजुरको लागि १२ मै गरुँला नि । '

दुबैतर्फ सहमती भयो । भोलीपल्ट सुन्दरमानले अधिकारकर्मीको टोलीमा थपघट गरे । भित्रभित्रै दरभाउ बुझ्ने बुझाउने काम भयो । सुन्दरमानको टोली अमेरिका पुगेर यौटा मानब उतै थन्को लगाई उद्धार गरेर फर्कियो । भित्रभित्रै भएको यो खबर पत्रिकाले सुईंको पनि पाएन । त्यसैदिन सुन्दरमानले पत्रकार सम्मेलनमा खाडी मुलुकमा बेचिए सरी ठगिएका नेपालीहरुको हकका लागी एकहप्ताभित्रै फेरी यौटा टोली खाडी मुलुक जाने जानकारी गराए ।

अप्रिलफुल

" आपुई ! यो दाजु त कस्तो छाडा हौ । वरिपरी कोही छ कि छैन भन्ने छ्यानविचार नै नगरी मुतेको हेरन । " गान्धी आश्रमनेरको ओरालो झर्दै गर्दा रेवतीले यति लामो जिब्रो काढ्दै भनि । प्लास्टिकको रातो बाटा र धुने लुगाको पोको बोकेर उ राङ्बाङ खोलामा लुगाधुन झर्दै थिई ।

" हैन यो बैनि के भा'को ? हेर्नु नहुने ठाँउतिर तिमिलाई को'ले हेर्नु भनेको थ्यो त ? " अलि मुन्तिर ढुँगाको कापमा छलिएर पिसाब गर्दैगरेको देवकुमार झस्किंदै बोल्यो । छलिँदा छलिँदै पनि उस्लाई रेवतीले देखेकि थिई तर रेवतीले देखुन्जेलसम्म उसले पिसाब गरेर सकिसकेको थियो । भन्नलाई गान्धी आश्रम भनेपनि अहिले त्यहाँनेर आश्रमको अवषेश पनि बाँकी थिएन । झण्डै सय डेढसय मिटर जति माथी डिलमा पहिले कुनै समयमा गान्धीको नाममा आश्रम थियो रे त्याँहा । अहिले भने त्यहाँनेरबाट गोरेटो हुंदै ओरालो झरेर राङ्बाङखोलामा गाउँलेहरु लुगाधुन र नुहाउन आउने गर्छन । कसो कसो कुईनेटो परेर निलो गहिरो रह परेको छ त्याहाँनेर । पहिले पहिले त्यहि रहमा एकदुईजना पौडी खेल्दा डुबेर मरेका पनि थिए रे । केटाकेटीहरु त्यता गएभने गाउँलेहरु त्यता जानुहुंदैन भनेर खै गर्छन । अलि पाका उमेरकाहरु पनि मान्छे डुबेर मरेको ठाउँ भनेर हम्मेसी त्यतातिर जाँदैनन त्यसैले गान्धी आश्रमको रह तन्नेरी तरुनीहरु नुहाउन लुगाधुन जाने ठाउँ भएको छ । तरुनी तन्नेरीहरु मात्रै जाने ठाउँमा छेड्खानी र हँसीमजाक त त्यसै हुने नै भयो । त्यै भएर रेवतीले देवकुमारलाई जिस्काएकि थिई नत्रभने यस्ता दृश्यहरु देख्दा रेवती चाल नपाएझैं हुन्थी होला । उसो त बिसेबाईसेकी रेवती अलि चञ्चले परेकी , मौका पर्दा रत्यौली नै खेल्ने स्वभावकी थिई ।

चैत्रको बेला गर्मी धपधपी नै बल्नेगरी थियो । रेवतीले लुगाको पोको पानी नजिकको यौटा ढुँगामा फ्याँकी र राङ्बाङको चिसो पानीमा नाङ्गो खुट्टा चोबलेर ढुँगामाथी बस्दै भनि " ए देउकुमार दाजु खै लेउ लेउ तिम्रो मिठो खैनी खाउँ ? "

"ला हो बैनि , मेरोमा त खैनि टाक्टुक् तु'रो नि हौ । कम्ती थिएछ , ऐले भक्करै तुराएं नि । आबो किन्नु पनि कैले जानु हो था'छैन ।" देवकुमारले सुगन्धित गोल्डेन खैनीको खाली बट्टा ढुँगामा ट्याक् ट्याक् पार्दै भन्यो र बग्दो पानीतिर हुर्याईदियो ।

" छि हौ , तिम्रो मिठो खैनी खाउँ भनेको त................ " रेवती बोल्दा बोल्दै बिचैमा अड्कीएर आफ्नो बन्दर और ढोलक छाप माडुवा खैनी निकालेर माड्न थाली । रेवतीले खैनी माड्न लागेको देखेर मलाई पनि माड है बैनी भन्दै देवकुमार आफ्नो लुगा धुन थाल्यो । मौका पायो कि ईत्रीनु पर्ने रेवतीले यो मौका किन चुकाउँथी , भनि " तिमीलाई कसरी माड्नु हौ दाजु मैले ? तिमीले पो माड्नु पर्ने मलाई । "

" कति सारो छिल्लिनु जानेको हौ बैनी तिमीले ? मेरोलागी पनि खैनी माड पो भनेको । " देवकुमारले ईत्रीने मूड नभए झैं गर्यो । रेवती खित्खिताएर हाँस्न थाली । धोएको लुगा बग्दो पानीमा पखाल्दै देवकुमारले रेवतीलाई पुलुक्क हेर्यो । रेवती देवकुमारलाई नै हेर्दै हाँस्दैथिई । छेड्खानीको खेलमा देवकुमारले सायद आफुलाई हारेको महसुस गर्यो त्यसैले पखालेको लुगा निचोर्दै भन्यो , " मन त परिराखेको छ माड्नुलाई मलाई पनि , तर जोईतोई बेला माड्नु नमिल्ने । " अघि बढेर उ लुगा सुकाउन बगरतिर गयो । बगरका ठुला ठुला ढुँगाहरु आगो बालेर तताएझैं गरी तातिएका थिए । उसले यौटा च्याप्टो ढुँगामा लुगा सुकाएर अर्को सानो ढुँगाले एकछेउमा थिच्यो हावाले नउडाओस भनेर ।

" ओ दाजु लाउ है खैनी खाउ । " पछिल्तिरबाट रेवती कराई ।

दुबैजना ओठमा खैनी च्यापेर लुगा धुनथाले ।

" तिम्रो धुनु कति छ हौ दाजु मलाई यो ढुँगामा त अप्ठेरो भयो ।" रेवतीले देवकुमारले लुगा धुँदै गरेको ढुँगामा आफ्नो लुगा धुने ईच्छा देखाई । " ए ! हो र बैनी आउन त यसैमा धुनु । मैले त तुराएं आबो । " देवकुमारले सजिलो ढुँगा रेवतीलाई छाडीदिंदै भन्यो ।

".....रिटिङ रिटिङ नबजाउ बिनायो
बिनायोले मन मेरो छिनायो
ऐयाया आक्काका सान्नानी........" पारीपट्टी लिखेभिरमा कर्मटारको घिषिङ बाजे जोरथाङ्ग बजारमा दुध बेचेर लेघ्रो तान्दै गीत गाउंदै फर्कंदै थियो । हरेक दिन बिहान अध्याँरैमा दुध बोकेर कर्मटार देखि जोरथाङ्ग सम्म आईपुग्ने घिषिङ बाजे फर्कंदा भने संधै यसरी नै दुई तिन बजे टन्न रक्सीले मातेर फर्कन्छ । रक्सीले मातेपनि नमाते पनि गीत गाउन चाँही उसले छाडेको हुंदैन ।

" उ आयो घिषिङ बाजे । कुनदिन यो बाजे तेई भिरबाट खंदारिएर मोर्छ होला । खानु पनि कम्ती रक्सी खाँदैन अन्त हो । " रेवतीले घिषिङ बुढाको रक्सी खाने आदतको आलोचना गरी ।

" खानु देउ न हौ अन्त , बिचरा बाजे रक्सी खाएरै तेत्रो सम्पती तुरायो । अबो बुढेशकालमा के पो गर्नु छ र उसलाई । ईच्छैले मरोस न रक्सी खाएरै । " देवकुमारले पनि आफ्नो मत जाहेर गर्यो । निक्कैबेर उनिहरु रक्सीकै विषयमा केन्द्रित भएर गफिए । टोलभरी सबै लोग्नेमान्छेले रक्सी पिउने गरेको कुरा आफुलाई चित्त नबुझेको भन्दै रेवतीले भनी , " गाउँको सप्पै लोक्नेमान्छेले रक्सी पिउंछ । मलाइ त राम्रै लाग्दैन ।"

" सप्पै लोक्नेमन्छेले चैं पिउन्दैन ल , तिमीले नपिउनेहरु चैं देखेन कि के हो ? " देवकुमारले प्रतिवाद गर्यो ।

" हो हुनु त " रेवतीले स्विकार्दै भनी , " नखानेहरु पनि नभा'को हैन । तिमीले नै खाँदैन । साँची तिमी कसरी रक्सी नखाने भयो हो दाजु ? "

" खै आबो कसरी भयो भन्ने हो अन्त , खानु मन लाग्दैन । " सरल जवाफ दियो देवकुमारले । एकछिन दुबैजना मौन रहे । उनिहरु बिचको मौनतालाई एकनास संग सुसाउंदै बगेको खोलाले चिरिरहेको थियो । पारी सिक्किम पट्टीको जंगलमा कसैले सुकेको रुखमा बञ्चरोले काट्दै गरेको आवाज पनि ट्वाक - ट्वाक ट्वाक -ट्वाक गरेर प्रतिध्वनित हुंदै दोहोरिंदै सुनिदैथ्यो । एकाएक रेवतीले नै मौनतालाई तोड्दै सोधी , " अन्त तिमिले बिहे कैले गर्छौ नि दाजु ? "

देवकुमारले जवाफ दिएन । एक त उ संग यो प्रश्नको जवाफ थिएन अर्को उसले कम्तीमा रेवतीले यो प्रश्न सोध्ली भनेर सोचेकै थिएन ।

" तिमीलाई अझै अनुको माया लाग्छ दाजु ? " रेवतीले सोध्न छोडिन ।

" लाग्दैन मलाई तेस्को माया किन लाग्नु हो अन्त । तेस्तो छाडेर जाने बैगुनीको पनि को'ले माया गर्छ ? " नबोली धर पाएन उसले , " देवकुमार पो त हो म देवदाश हैन नि तेस्ताहर'को माया गर्न । " वास्तवमै देवकुमार जिन्दगीलाई सरल जिउंन मनपराउने मान्छे थियो । जिन्दगीमा जे भयो त्यो भयो , जे भएन त्यो भएन । भएको कुरालाई र नभएको कुरालाई किन भयो र किन भएन भन्दै जिन्दगी बक्र बनाउन चाहदैनथ्यो उ ।

" तेसो भए बिहे चैं किन नगर्ने त हौ अन्त ? " रेवती फेरी फर्किएर उहि प्रश्नमा पुगी । " कैले गर्छौ त बिहे ? "

" गर्नु पाए ऐले गर्थें नि , तेसै बिहे हुन्छ ? बच्चाले भाँडाकुटी खेलेको जस्तो हो कि के हो नि बिहे ? को'लाई गर्नु बिहे ? तिमीले गर्छौ बिहे म संग ? " एक झट्का आक्रोस पोख्यो उसले । रेवती गंभिर भएर लुगा धुँदै गरेको हातपनि चलाउन छाडेर एकटकले देवकुमारको मुखमा हेर्न थाली ।

" आबो लाटाले त पापा हेर्छ रे ट्वाल्ल परेर , तिमीले चैं के हेरेको नि लाटीले जस्तो ट्वाल्ल मेरो मुखमा ? " अली संयमित भएर देवकुमारले भन्यो । कता कता उस्लाई आफुले रेवतीलाई बिझाएंकि जस्तो महसुस भयो ।

" हेरेको नि अन्त , तिमी जस्तो सिधा मान्छे पाए त गर्थें नि बिहे भनेर । " रेवतीले आफ्नो ईच्छा ब्यक्त गरी ।

एकछिन देवकुमार असमञ्जसमा पर्यो र भन्यो , " गर्ने हो भने आजु नै भागौ न त ? "

" साँच्ची हो दाजु ? म त तयार तर कहाँ जाने ? " रेवतीले भागेर जाने उपयुक्त स्थान खोज्दै भनी ।

" जाउँ न हो अन्त नेपाल । जानुलाई ठाउँको कमी छ र ? " देवकुमारले उपाय सुझायो ।

" नाईं नाईं नेपाल त नजाउँ हो दाजु , नेपालमा त माओवादीले मान्छे खेदाउदैछ । हामीलाई मार्छ मात्तै । " बाधा देखाई रेवतीले ।

" कति त मान्छेहरु आउनु जानु गर्दै नै छ नि , को'ले भनेर मार्छ ? नेपालमा नि पछ्छिममा पो छ त हौ माओवादी । " देवकुमारले बाधा नभएको जिकीर गर्यो ।

" अँ होला , ऐले पुर्बमा नि भुटाङ्गेहरु सप्पै माओवादीमा लागेको छ रे । " रेवतीले अझै आशंका ब्यक्त गरी ।

देवकुमारले एकैछिन गम खाएर बिकल्प देखायो , " तेसोभए कदमतोला हिंड न हौ अन्त । मेरो फुपु छ त्याँ । "

रेवतीले स्विकार गरी । उनिहरुको सल्लाह अनुशार आज दिउंसै रेवतीले पोको पन्तुरो कसेर पारी जोरथाङ्गमा सिमाको आमाकोमा गएर बस्ने , साँझ देवकुमार पनि त्यहीं आएर बस्ने र भोली बिहान सबेरै एसएनटी बस चढेर सिलिगुडी झर्ने निधो भयो । देवकुमार जस्तो खासाको लोग्ने पाउने भएर रेवती फुरुङ्ग भई । देवकुमारले पहिले रेवतीकै मिल्ने साथी अनुलाई मनपराएको थियो तर अनु देवकुमारलाई धोका दिएर नाम्चीतिरको अर्कै केटासंग भागेकी थिई । सिमलकै भुवाझैं हलुंगो भएको थियो रेवतीको शरिर । हतार हतार लुगा धुन , नुहाउन सकेर उ घर आई र पोईला जाने तयारीमा जुटी । उसको गाउँघरको चलन नै भागी बिहे गर्ने भएकोले उसले भेटेजती सबैलाई कसैलाई नभन्नु है भन्दै आफु देवकुमार संग भाग्न ठिक परेको रहस्य खोल्दै गई ।

जोरथाङ्ग बजारमा सिमाको आमा भट्टी चलाएर बसेकी थिईन । लोग्ने बितेपछि एक्ली उसले भट्टी चलाएरै दुई छोराछोरी पाल्थीन । रेवती उज्यालैमा त्याँहा पुगी र सिमाको आमालाई सबै कुरा सुनाएर दंगदास भएर बसी । यता गाउँमा भने रात पर्न नपाउंदै रेवती पोईला हिंडेको हल्ला फैलियो ।

" बुढीभा'को एक्लो बोजुलाई छाडेर त्यो रेवती कसरी बुढामा गा'को हौ ? " गाउँलेहरुलाई रेवतीको बुढीआमाको चिन्ता भयो ।

" फेरी जानु पनि देउकुमार संग पो गा'को रे । कहिं जानु पर्दैन थ्यो नि , हामी यैं बिहे मानिदिन्थ्यौं नि । " गाउँलेहरु एकप्रकारले स्विकार्दै थिए उनिहरुको जोडीलाई ।

" जानु चाहीँ काँ गो'को रैछ उनिरु ? " कोही सोध्दैथिए ।

" खै नेपाल गोयो होला नि ? देउकुमारको आफ्नो मान्छे छ नेपालमा । " कोही अन्दाजमा जवाफ दिंदैथिए । रात अबेर सम्म उनिहरुकै बारेमा चर्चा चल्यो ।

भोलीपल्ट बिहान आठबजेतिर काँधमा हातेचियाको बोरा बोकेर देवकुमार घरबाट निस्कियो । कमानतिरबाट सस्तोमा हातेचिया किनेर संधै जोरथाङ्ग हाटमा लगेर बेच्थ्यो उ । झुरुम्म परेको बस्तीमा देवकुमारको घर अगाडी सुनार काँईलाको घर थियो । सबैभन्दा पहिले देवकुमारलाई सुनार काँईलाले देख्यो र अचम्म मान्दै ठुल्ठुलो स्वरमा करायो , " हैन ए देउकुमार , तिमिले त रेवतीलाई हिंजै राती भगायो भनेर हल्ला थियो त ? खोई तिमी त हाट पो जाँदैछौ त ? "

सुनार काँईलाको ठुल्ठुलो स्वरले अरु अरु मान्छेहरु पनि जम्मा भए । सबैले देवकुमारमाई सोध्न थाले के हो भनेर ।

" हैन हो अन्त हिंजो एक तारिख भनेर कोसैलाई था छैन कि के हो ? मोईले त अप्रिलफुल पो बनाको त ।" देवकुमार मुसुमुसु हाँस्दै हाटतिर लाग्यो ।