November 17, 2011

कथा : आँपको रुख

'मैले उसलाई भुँडी बोकाउनै नहुने......' हठात् दिमागमा यो कुरा उब्ज्यो जब म त्यो आँपको रुख भए ठाउँमा पुगेथें । र यसैगरि उब्ज्यो ।

म यो कुरालाई सम्झँदा अलि ढँगले पनि सम्झन सक्थें । सोच्न सक्थें कि; 'मैले उसलाई गर्भ बोकाउनै नहुने' अथवा 'मैले उसलाई गर्भवति बनाउनै नहुने' । तर......... मैले त्यसैगरी सम्झिएँ । ................

जे होस् उ गर्भवति भएकि थिई र त्यसमा म जिम्मेवार हुनसक्ने ठाउँ थियो ।

झण्डै १३ वर्षको अन्तराल पछि आज यहाँ आँपको रुख छैन । तर आह्रा लगाएर ढालिएको त्यसको ठुटो भने अझै रहेछ । फेदैदेखि दुई बराबर काण्डहरुमा बिभक्त भएर हुर्किएको त्यो आँपको रुखलाई यौटा अग्लो र अर्को अलिक होचो हुनेगरि ढालिएको थियो । दुबैमा समान रुपमा आह्राले समतल काटेको भाग र ढल्नेबेला मर्किएर लामो लामो छेस्का सहित रहेको उबडखाबड भाग थिए ।

म होचो काटिएको ठुटोमाथि चढेँ र कुर्शीमा बसेझैं अग्लो काटिएको ठुटोमाथि बसें । बसें यस्तरी कि मानौं म भर्खरै एक जघन्य अपराधी घोषित भएको छु ।

'हे! भगवान, किन अझैसम्म मलाई यहि कुराको अपराध बोध भैरहन्छ?' यत्रो काल-अन्तरमा पनि यो कुरा मेरो मन मश्तिष्कबाट मेटिन सकेको छैन ।

सहजै मेटिन सक्ने कुरा पनि त थिएन यो । हो कैले कैले धेरै दिनसम्म स्मृतिमा ओझेल परेर भने बस्छ । तर अनेकौं यस्ता घटनाक्रमहरु देखापर्छन् जिन्दगीमा जस्ले यो कुरालाई स्मृतिपटमा उघारिदिएर ताजा गराईदिन्छ र मलाई दुखि बनाएर राख्छ ।

यसपटक त म स्वयं यहिँ छु जहाँ आजभन्दा बाह्रतेह्र वर्ष अगाडि मानवीले आत्महत्या गरेकि थिई । मानवीको आत्महत्याले मलाई त्यो बेला विक्षिप्तताको हदसम्म पुर्याएको थियो । एकैपल पनि उसको त्यो आँपको रुखमा झुण्डिइरहेको मृत शरिर मेरो आँखाबाट हट्दैनथियो । कैंयन रात म निदाउन सकेको थिइनं । निदाइहाले पनि सपनामा उसैलाई देखेर म आत्तिंदै ब्युझन्थें । उसको आत्महत्या पछिका धेरै दिनसम्म म बेहोसे भएको थिएँ । कहाँ छु? कतिबेला भयो? के गर्दैछु? केहि थाहा पाउँदिनथिएँ ।

गाउँघरका सबैले म एकोहोरिने भएको थाहा पाएका थिए । म टोलाईरहने र अस्वभाविक कृयाकलाप समेत गर्ने थाहा पाएर कतिले मलाई झुण्डिएको लास देखेर त्यसको सातो उडेको छ भन्थे । कतिले त अझ बहुलाहा नै भयो भन्ठान्थे ।

हुनपनि मानवीको झुण्डिरहेको मृत शरिर सबभन्दा पहिले मैले नै देखेको थिएँ । त्यसअघि धेरै पटक लाशहरु देखेको भएपनि यसरी रुखमा झुण्डिएर मृत्यूमा प्राप्त भएको शरिरलाई अह्ररो भएर झुण्डिरहेकै अवस्थामा त्यसभन्दा पहिले देखेको थिइनं । मेरो निम्ती त्यो बिभत्स र भयावह दृश्य थियो । म साँच्चै डराएको पनि थिएँ त्यसबखत । डरले शरिरका सारा रौं जुरुरु भएर ठाडो भएका थिए । अझै त्यो क्षण सम्झँदा पनि त्यहि बेला जस्तै सारा शरिर सिरिङ्ग भएर आउँछ ।

त्यो बेलामा म बिहान बिहान अँध्यारैमा उठेर दौडन जाने गर्थें । लगभग चारपाँच किलोमिटर टाढा रहेको स्कूलसम्म दौडंदै जाने र त्याँहा भेला भएका अरु परिचित अपरिचितहरुसँग फूटबल खेल्ने गर्थें । बिहान छिट्टो उठ्ने भएकोले गोत्ने गोरुलाई बिहानको राति नै घाँस भए घाँस नत्र ढेडीबाट पराल थुतेर हाल्ने जिम्मा हुन्थ्यो मेरो ।

त्यहि दैनिकि अनुशार त्यसदिन बिहान पनि म अँध्यारैमा पराल थुत्न ढेडीमा गएको थिएँ ।

मेरो घरको पश्चिमपट्टि आँगनसँग जोडिएर गाईबस्तुको गोठ रहेको थियो । गोठको उत्तरपट्टी थियो परालको ढेडी । र यो आँपको रुख जहाँ अहिले म त्यसैको ठुटोमाथी बसेको छु, त्यस परालको ढेडी भन्दा पश्चिमतर्फ चालिस मिटर जत्तिको दुरीमा थियो ।

पराल थुत्न ढेडीको पल्लो छेउपट्टि पुग्नासाथ मैले अँध्यारोमै झ्वास्स कुनै आकृति आँपको रुख मुनि हल्लिरहेको जस्तै देखें । त्यो आकृति देख्दा मेरो आङ्ग ढक्क फुलेर आएको थियो । अलिअलि डराउँदै म पराल थुत्ने उपक्रममा लागें तर 'पहिले केहि नभएको ठाउँमा आज के हो त त्यस्तो आकृति?' दिमाग त्यसैमा केन्द्रित रह्यो ।

त्यसो त भुक्भुके उज्यालो पूर्व क्षितिजमा आइसकेको हुँदो हो त्यसबेलासम्म तर त्यो आँपको रुखको चारैतिर धर्तीमा खस्नै लागेको उज्यालोको पूर्व आभा छेक्नलाई केहि दुरीमा एकातिर बाँसको झ्याङ्ग र अर्कातिर केराघारी थियो । यस्तोमा त्यसबेला त्यो आकृति यहि हो भनेर ठम्याउन सकिन्नथियो ।

'कसैको बस्तुभाउ फुकेर आएको हुनसक्छ ।' सम्भावना औंल्यायो दिमागले ।

म पराल थुत्दै त्यहि आकृतितिर हेर्दैथिएँ ।

'अहँ त्यो बस्तुभाउ फुकेर आएको हैन । फुक्का बस्तु त्यसरी एकैठाउँ उभिइरहँदैन ।' म त्यो आकृति फुकेर आएको वस्तु हैन भन्ने निचोडमा पुगेँ । त्यसमाथि त्यो आकृतिलाई नियालिरहँदा मलाई कोहि मान्छे नै उभिइरहेको; अझ हातले ईशारा गरेर मलाई नै बोलाउँदै गरेको भान पर्यो ।

मलाई झट्ट मानवीको याद आयो । यो पक्कै पनि मानवी नै हुनुपर्छ । उ सँग मेरो भेट भएको पछिल्लो पटक पनि राति एघार बजेसम्म मानवी मसंगै यहि आँपको रुखमुनि थिई । मैले कर गरेर उसलाई घर लिएर गएको थिएँ । उसको घरमा पुगेर मैले कति बोलाउँदा पनि उसको घरकाले सुनेको नसुन्यै गरेका थिए । उनिहरु उसको निम्ति घरको ढोका खोल्न सम्म तयार थिएनन् । अन्तत उसकि बैनि आएर चुपचाप ढोका खोलिदिएकि थिई ।

यो आँपको रुख मानवीको ज्यादै प्रिय ठाउँ थियो । यहि रुखको फेदमा खेलेर हुर्किएकि थिई मानवी र म पनि । उमेरले मानवी म भन्दा पुरा पाँचवर्ष ठुलि थिई । र पनि हामी सानोमा यो आँपको रुख मुन्तिर भातपकाई, पूतलि या यस्तै अरुकेहि खेल्ने गर्थ्यौ ।

ठ्ल्ठुला भैसकेर पनि हामी यो आँपको फेदमा घण्टौं बिताउंथ्यौं । आफ्ना हरेक खुसीहरु मानवी मलाई यहि आँपको रुखमुनि बोलाएर सुनाउंने गर्थी । दुखि हुँदा त झन यो आँपको रुख जति नजिकको साथी उसको कोहि हुँदैनथ्यो ।

चैते खडेरीले खरो भएको ढेडीको पराल थुत्दा हातले समातेको मध्ये एकतिहाई मात्र निस्कन्थ्यो । मलाई यता पराल थुत्न जोड परिरहेको थियो भने उता मानवीको कुराले दिमागमा झन जोड पारिराखेको थियो । मैले पराल थुत्ने उपक्रमलाई निरन्तरता दिइरहें । म सायद गोरुलाई पराल हाल्ने काम सकेर मात्र आँपको रुखतिर जान्थें ।

निक्कैदिन देखि मानवी तनावमा थिई । उ दुई जिउकि भएको कुरा उसले मलाई यहि आँपको फेदमा ल्याएर सुनाएकि थिई । भनेकि थिई, 'दीपक, मैले भुँडी बोकेकि छु । अब के गर्ने होला?'

त्यो कुरा उसले यति सहजताका साथ भनेकि थिई कि, मानौं उ मलाई ढाँटिरहेकि छे अथवा मलाई डर देखाएर उ मेरो प्रतिकृया बुझ्न चाहन्छे ।

निश्चय नै त्यो मेरो लागी अप्रत्याशित कुरा थियो । हुनसक्छ म त्यो बेला अनुहारले नीलोकालो भएको थिएँ ।

'के भनेकि मानवी तिमीले यो? त्यस्तो कसरी हुन्छ? तिमी त केहि पनि हुन्न भन्थ्यौ ।' प्रतिक्रियामा बोलेथें म ।

'खै? हुँदैन भन्ठान्थें म, तर हुँदोरहेछ । यि भयो त । मैले भुँडी बोकें । अझ घरमा सबैले थाहा पाएका छन् । कोहि बोल्दैनन् मसँग । बोल्नु पर्यो भने गाली मात्र हुन्छ उनिहरुसँग मेरोलागी ।' केहि उदाश स्वरमा बोली उ ।

म निशब्द थिएँ । के बोल्ने? के भन्ने ? केहि पत्तो थिएन । बरु डरले थरहरी भएर के के सोच्न थालेथें म ।
'हरे! भगवान! यो के भयो? के यहि उमेरमा म बच्चाको बाउ हुने भएँ? अब मेरो भविश्य के होला? छरछिमेकले मलाई के के मात्र भन्दा हुन्? कुन दिनमा म यसरी फसेँ?.........'

मेरो सातोपुत्लो उडेको अनुहार उसले नियाँलिरहेको हुनुपर्छ । त्यसैले उसले भनि, 'तिमीलाई के भयो नि? तिमी किन यसरि नीलोकालो भ'को? भुँडी बोकेकि मैले हुँ, तिमीले हैन ।' विचरी उ उल्टै मलाई नै सम्झाउँला झैं गर्दै थिई तर उसको अनुहारमा अन्यौलको गहिरा रेखाहरु खिचिएको देखिरहेथें म ।

'बोका'को त मैले होला नि.....' काँपेको आवाजले यतिमात्र भनें मैले । म असाध्यै डराएको थिएँ । डरले कामुँला झैं भैरहेथ्यो मलाई ।

'तिमीले होइन दीपक, नडराउ तिमी । तिमीसँग त्यस्तो गरेको त अस्ति भर्खर स्वस्थानीको साङ्गे हुने बेलातिर न हो । त्यो त कति भयो र? मैले यो पेट बोकेको त चार महिना भैसक्यो ।' आफ्नो पेट छाम्दै बोलीथि मानवी, 'फेरि तिमीले केहि गरेको पनि होइन मलाई; मैले नै बरु गरेकि हुँ.....।'

मानवीको कुराले ठुलो राहत मिलेथ्यो मलाई । अचानक आकाश खसेर किच्नै लागेको बेला फेरि अचानकै आकाश जस्ताको तस्तै माथि गएझैं महसुस भएथ्यो ।

'त्यसोभए कस्तो त?' अलि सास आएझैं सोधें मैले ।

'थाहा पाएर के गर्छौ? त्यो मान्छे छैन यहाँ ।' उ एकाएक रुन्चे देखिई । भन्न नखोजे जस्तै उसले मुण्टो अर्कोतिर फर्काई तर उसको अनुहार हेर्दा लाग्थ्यो उ मसँग यहि कुरा बाँडेर हलुका हुन चाहन्छे ।

एकछिन अगाडीसम्म आफैं फन्दामा परिसकेझैं अत्तालिइरहेको म त्यसबेला ढुक्क थिएँ र जान्न चाहन्थें कि, को हो त्यस्तो मान्छे जस्ले मानवीलाई गर्भ बोकायो र अहिले यहाँ छैन? अझ त्यसबेला त म मानवीलाई आवश्यक परामर्श दिनसक्ने समेत भएको ठान्दैथिएँ आफुलाई । दोहोर्याएर सोधें मैले, 'र पनि भनन त को हो त्यो?'

'अर्जुन' उसले नाममात्र लिई र फेरि चुप भई ।

मानवीले संगत गर्ने गरेको अर्जुन यौटै मात्र हुन सक्थ्यो जो उसकै क्याम्पसमा कहलिएको क्रान्तिकारी बिध्यार्थी नेता थियो र यतिबेला सेनाले समातेर बेपत्ता पारेको थियो । मानवी पनि क्रान्तिकारी संगठनको पछि लाग्ने; सम्भवत सदस्य समेत रहेकि हुँदा अर्जुन त्यहि हुन सक्थ्यो । मानवीको अर्जुनसँग त्यस्तो नजिकको उठबस भएको तर मलाई थाहा थिएन त्यसैले निश्चय गर्न सोधें, 'त्यहि नेता अर्जुन?'

उसले हो मा तलमाथि गरेर केहिबेर टाउको हल्लाईरहि । केहि बोलिन ।

यदि त्यो गर्भ अर्जुनकै हो भने त बोल्नु पनि के थियो? अर्जुनलाई सेनाले बेपत्ता पारेको सबैलाई थाहा थियो । कतिपय त उसलाई सेनाले मारिसके भन्थे ।

'कसरी? कैले भयो त त्यस्तो? तिमी अर्जुनसँग त्यति नजिक भएको पनि मैले त कहिले थाहा पाईंन ।' मैले प्रष्टिकरण चाहेँ किनभने हुनसक्ने सम्भावना भएपनि मलाई कसरी भयो या कैले भयो भन्ने कुरामा सन्देह थियो ।

'अब त्यो सबै थाहा पाएर के गर्छौ तिमी भनत?' बिस्मित नजर पर पर फाल्दै बोलिथि उ, 'क्यामपसको चुनाव हुनुभन्दा अगाडी भ'को । गल्ति गरेँ मैले । अब सुधार्न सकिँदैन । अर्जुन भएको भए कुरा अर्कै हुन्थ्यो । उ नै नभएपछि अब यो कुरा कोट्याएर पनि फाईदा छैन । झन दुखि हुनु मात्र हो ।'

अर्जुन पक्षको कुरा यहाँ भन्दा सुनाउनु आवश्यक पनि थिएन उसले मलाई । उ अर्जुनको थप कुरा गर्न चाहन्नथि तर यो समस्याको निकास त चाहिएको थियो उसलाई ।

एकछिन अगाडिसम्म यो सब आफ्नै कारणले भएको हो भनेर तिल्मिलाएको म आफ्नो कारणले होइन भन्ने हुँदा ढुक्क त थिएँ तर तत्काल फेरि मानवीको गर्भको दोश्रो जिम्मेवार ब्याक्ति जो बेपत्ता छ उहि निस्किएपछि अर्को छट्पटि भयो मलाई । मानवीले अब के गर्ने? यहि चिन्ता हुन थाल्यो ।

'अनि, घरमा के भनेकि छौ नि? कस्को हो भन्यौ?' सोधेको थिएँ मैले ।

'जे हो, जस्को हो त्यहि भनेकि छु । अर्जुनकै हो भनेकि छु । त्यसैले त झन उग्र छन् घरमा सबै । लगेर जिम्मा लगाउने ठाउँ पनि राखिन भन्छन् ।' वास्तवमै मानवीको मुद्दामा जिम्मालिने पात्र नै थिएन । उसको घरमा पनि कसरी जाने जब उ नै बेपत्ता छ ।

'तिमीले बरु बेलैमा गर्भपतन गराउनु पर्ने त्यता किन सोचिनौ?' समस्याको निकास त्यो पनि त हुनसक्थ्यो भन्ने अभिप्रायले सोधेथें मैले ।

'त्यो आँट नै आएन पहिले; पछि घरका सबैले थाहा पाएपछि ग'कि हुँ । ढिलो भैसकेको रहेछ ।' पिर्लिक्क उसका आँखाबाट आँसुका थोपा खसे । निकासको सम्भावनाको यो पाटो पनि समाप्त भैसकेको रहेछ ।

'त्यसो भए अब म हुन्छु यो बच्चाको बाउ । तिमी पनि यो मेरै हो भन । अनि हामी बिहे गरेर अन्तै कतै गएर बसौंला ।' मानवीको अगाडी अँध्यारो भविश्य मात्र देखेपछि म मा यो आँट त्यसै पलाएर आएथ्यो । उसको सुरक्षार्थ म उसको पेटको बच्चाको बाबु बन्न तयार थिएँ तर मैले अन्तै कतै गएर बसुंला भन्ने कुरालाई जोड दिएको थिएँ त्यसको मतलब हुन्थ्यो कि म यो समाजलाई ठाडो चुनौति दिन पनि डराउँथें ।

'नाईं हुँदैन । तिमी म भन्दा ५ वर्ष सानो मान्छे कसरि मेरो लोग्ने हुने?' ईन्कार गरिथि मानवीले ।

'त्यो दिन त तिमीले मलाई ५ वर्ष सानो भनिनौ त?' मानवीसँग सहवास गरेको दिनतर्फ थियो मेरो ईसारा । त्यसदिन जे भएको थियो त्यसको साक्षि पनि त्यहि आँपको रुख थियो ।

गाउँकै यौटा घरमा स्वास्थानीको साङ्गे भएको रात मौका छोपेर मानवीले मलाई त्यो आँपको फेदमा लगेकि थिई र सम्भोग गर्ने प्रस्ताव राखेकि थिई । उसैले मलाई बिश्वास दिलाएकि थिई त्यसो गर्दा केहि बिग्रिदैन बरु सम्भोग गर्दाको आनन्दको अनुभव हुन्छ भनेर । मैले पेट बोक्यौ भने के गर्ने नि भन्दा समेत उसले एकपल्ट गर्दा के को पेट बोकिनु धेरै गर्दा पो बोकिन्छ त पेट भनेकि थिई । उसको हठको अगाडि प्राय हार्ने म त्यसरात पनि हारिदिएको थिएँ । कहिँ त म भित्र पनि सम्भोगको अनुभव हासिल गर्ने लोभ जागेर आएको हुनसक्छ त्यसरात । डराई डराई सुरु भएको त्यसरातको क्रिडा कल्पना भन्दा धेरै सुखद अन्त्यमा टुँगिएथ्यो बरु त्यसपछि भने परिणामको चिन्ताले केहिदिनसम्म खाएथ्यो मलाई र केहिदिन पछि त्यो पनि हटेर गएथ्यो ।

'त्यो अर्कै कुरा हो दीपक, त्यो दिनको लागि तिमीले पश्चताप गर्नु पर्दैन ।' उ अझै मानिन ।

निक्कै प्रयास गरेर मैले उसलाई मनाएँ । उ ह्रदयले नै राजी भएकि थिइन तर उसको अगाडि अरु विकल्प नभएकोले हुन्छ भनिथि । त्यसैले मानवीको पेटको बच्चा मेरो हो भन्ने दाबि गर्दै म उसको घर गएथें ।

तर परिस्थिती सोचे जसरि निस्किएन । उसका बाबा आमाले पहिले उसैलाई सोधे 'यसैको हो त तेरो पेटको अवगाल?'

मानवीले भयपूर्ण आवाजले हो मात्र के भनिथि उसका बाबा आमा खनिए उसैमाथि, 'हिँजोसम्म यौटाको हो भन्दैथिई, आज अर्कैको हो भन्छे । यो रण्डि कतिजनासँग सुतिसकि? लाजशरम भन्ने त कुरा त फिट्टिक्कै पो रहेन ए । भोली फेरि अर्कैलाई देखाएर यस्को हो भन्लि । यौटाको पाप बोकेर क-कस्लाई मुस्छेस् हँ? यस्ता वेश्याहरु त गर्भैमा तुहिएर जानु नि यो दिन देखाउनलाई किन बाँचेका हुन्?...............'

चट्याङ्ग सहितको साउनको कालो मेघजस्तै उनिहरु एकोहोरो वर्षिरहे मानवीमाथि । उसको बचाउ गर्दै मैले भनें, 'यो मेरै बच्चा हो । हामि बिहे गर्छौं । बरु हामि टाढा कतै गएर बस्छौं ।'

मानवीका बाबा आमा मतिरै खनिए, 'तँ नाथे छुसि! हामिले हगेको मुला! हिँजोको चल्ला, बडो आएछ यो वेश्यालाई बचाउन । निस्किहाल्, तँ यहाँबाट गैहाल् । ओठमा दुध मरिसकेको छैन; बडो आएको बच्चाको बाउ हुन ।' उनिहरुले मलाई त्याँहाबाट लखलखे लाएर खेदे ।

मानवीको घरबाट खेदिएपनि मैले उसलाई बिहे गर्ने र उसको पेटको बच्चाको बाबु बनेर उसलाई साहारा दिने प्रण नै गरेको थिएँ तर नियतिलाई सायद त्यो मञ्जुर थिएन । मलाई मनवीको घरतिर ढिम्किनै दिंदैनथिए उसका बाबा आमाले । उ पनि मेरो घरतिर आईन । मैले केहि दिनसम्म रातबिरात पनि आँपको रुखमा उसको प्रतिक्षा गरेँ तर अहँ उ घरमा बन्दि थिई या के थियो उ बेखबर भई । बरु उसको बदनामीको हल्ला भने आगोजस्तै गाउँभरि फैलिएथ्यो साथमा अर्जुनको नाम जोडिएर ।

अरु केहि दिन यसरी नै बितेका थिए । मानवीको चिन्ता लिए पनि मैले केहि गर्न सकिराखेको थिईनं । म आफ्नो नियमित दैनिकिमा उसैगरि चलिरहेथें जस्तो कि यस्तो कुनै अवस्था सिर्जना नभएको बेलामा चल्थें । त्यहि केहि दिनपछिको अवस्था थियो मैले पराल थुत्दै गर्दा आँपको रुखमा त्यो आकृति देखेको ।

गोरुलाई पुग्नेगरि थुतिसकेको परालको थुप्रो त्यहिँ छोडेर म आँपको रुखतिर लागेँ । मानवी हो भने म पहिले उसलाई लिएर आउँछु र आजै उसँग भागेर कतै जान्छु भन्ने सोच्दैथिएँ म त्यो बेला । अँध्यारो अझै छँदैथियो तथापि त्यस आकृतिको नजिक पुग्दा नपुग्दै म चिसो भएँ । आकृतिको अवस्था र आकृति के हो बुझ्न मलाई बेर लागेन ।

त्यो मानवी नै थिई तर मलाई पर्खिरहेकि मानवी थिईन त्यहाँ । त्यहाँ त म लगायत सबैसँग सदबिदा भैसकेकि मानवी थिई ।

हो, मानवी झुण्डेर मरिसकेकि थिई, त्यहि उसको प्रिय ठाउँमा, त्यहि उसको प्रिय रुखमा, डोरिको पासो लाएर झुण्डिएकि मानवीलाई त्यसरी फेला पारेथें मैले त्यो बिहानको राती ।

होचोहोचै हाँगामा झुण्डिएकि मानवीको यौटा खुट्टा तन्किएर भुँई छुन कोसिस गरेझैं र अर्को खुटा चैं अलि खुम्च्याए जस्तो थियो । खुल्ला छोडेको उसको कैलो कैलो केशहरु अनुहारतिर छरिएको थियो । दुबैहातहरु लुत्रुङ्ग झुण्डिएका थिए । मैले झम्टेर गएर उसलाई समातें तर उ अह्ररो र चिसो भैसकेकि थिई ।

त्यसक्षण मेरो मुखबाट राम! राम! निस्किएथ्यो । तत्क्षण नै म एकदम बिचलित भएको थिएँ यद्दपि मैले त्यसबेला ठस्स गुहूको दुर्गन्ध थाहा पाएको थिएँ । सम्भवत प्राणपखेरु उड्दा कष्ट परेर मानवीको मलद्वारबाट दिसा निस्किएको हुनुपर्छ ।

एकाएक मलाई चारैतिरबाट डरले घेरेर ल्यायो । म चिच्याउँदै रुँदै अझ लड्खडाउँदै पराल ढेडीतिर भागें र आफैंले थुतेर थुपारेको परालको थुप्रोमा अल्झिएर लडें । मलाई पछाडिबाट कालले लखेटिरहेझैं भएको थियो त्यतिबेला ।

म चिच्याएको सुनेर सबैभन्दा पहिले आख्खुम दाइ आउनुभयो । त्यसपछि आमाबाबा लगायत घरका सबै आईपुगे । सबैलाई मलाई सर्पले डस्यो भन्ने परेको रहेछ । परालमा प्राणै जान लागेझैं लम्पसार परिरहेको ममाथि टर्चलाईट लाउँदै आख्खुम दाइ सोध्नुहुँदैथियो, 'खै कहाँ टोक्यो?'

बाबा 'ए डोरी ल्यावो झट्टै, बाँध्नुपर्छ।' भन्नुहुँदैथियो ।

मैले मुश्किलले सर्पले टोकेको हैन भन्न सकें तर अगाडि केहि बोल्न सकेको थिईनं ।

'के भयो त के?' उनिहरु सबै एकमुखले सोध्दै थिए । आख्खुमदाइ स्थितीको जाँच गर्न वरपर टर्चलाईट लाउनुहुँदैथियो । खास नाम रत्न भएका आख्खुम दाइ हाम्रोमा खनजोत गर्ने काम गर्नुहुन्थ्यो र हाम्रै घरमा बस्नुहुन्थ्यो । जतिबेला पनि खोके जस्तै आख्खुम आख्खुम् गरिरहने आदत भएर वहाँको नाम आख्खुम रहेको थियो । वहाँले नै हात दिएर मलाई उठाउनुभयो ।

सबैजना वरिपरी भएपछि मलाई निक्कै साहारा भएको भएपनि म काँपिरहेकै थिएँ । मैले हातको ईशाराले आँपको रुखतिर देखाउँदै अस्पस्ट बोलेँ, 'मानवी............आँपको रुखमा............'

परिस्थिती बुझ्न त्यहाँ भएका कसैलाई पनि मैले स्पस्ट बोलिरहनु पर्ने आवश्यकतै परेन । मानवीले भोगिरहेको तनावसंग सबै परिचित थिए । मेरि आमाले त पहिल्यै अनुमान गर्नुभएको थियो । भन्नुहुन्थ्यो 'कसै न कसैको त साहारा चाहिन्छ त्यसलाई । के भ'का यो घरका मान्छेहरु? कुनदिन घरभित्रै पासो लाएर मर्छे अनि थाहा पाउँछन् ।'
त्यसबेला उपयुक्त मौका ठानेर मैले आमालाई भनेथें, 'त्यै त, उसलाई बुझ्ने कोहि भएनन् । कि म बिहे गरुँ आमा? उसको पेटको बच्चाको म जिम्मा लिउँ?' भित्रभित्रै मानवीलाई बिहे गर्न तयार भैसकेको अवस्था भएपनि त्यो मौका घरको; अझ आमाको प्रतिक्रिया बुझ्न उपयुक्त ठानेको थिएँ मैले र कतै आमाको तर्फबाट सकारात्मक जवाफ पाईहाल्छु कि भन्ने आसा पनि थियो मेरो ।

'हैन के भन्छ यो?' आमाले मेरो टिप्पा उडाउंदै भन्नुभएथ्यो, 'साथी हो भन्दैमा त्यो कस्को कस्को गलपासो आफ्नो घाँटीमा झुण्ड्याउने कुरा गर्छस्? भएन त्यो तेरि दिदी भन्न सुहाउँछे । मायादया पलायो भन्दैमा सारा संसार थाम्न खोज्नु हुँदैन त केटा, आफुले थाम्नसक्ने मात्र थाम्नुपर्छ ।' ज्यादै कठोर नजरले हेर्नुभएथ्यो आमाले त्यसबखत मलाई ।

मैले ईशारा गरेतिर आख्खुमदाइले आफ्नो छ ब्याट्री जाने ठुलो टाउको भएको टर्चलाईट लगाउनुभयो । त्यसको उज्यालो आँपको रुखमा झुण्डिइरहेको मानवीको मुर्दा शरिरलाई देखाउन प्रयाप्त थियो ।

मेरो झैं सबैको मुखबाट एकसाथ राम! राम! निस्कियो । त्यसपछि त के? कोहि रुन लागे, कोहि चिच्याउन । ठुलै हल्लिखल्लि भयो । वल्लोघर पल्लोघरका छरछिमेकिहरु पनि एकएक गर्दै हल्लिखल्लिमा समेल हुन हाजिर हुँदै गए । मानवीका घरबाट पनि सबै आए र मुर्छा पर्दै रुन लागे । हिँजोसम्म त्यत्रो मानसिक कष्ट सहिरहेकि त्यहि मानवीलाई उसका घरका कसैले कठै! सम्म भनेका थिएनन् । अहिले त्यसरी मुर्छा पर्दै रुँदै गरेको देख्दा मलाई लोकलाजको कतिसम्म पाईंन हुनेरहेछ त भन्ने लागेको थियो ।

उज्यालो भैसक्दा सम्म त्यहाँ मानिसहरुको मेला लागिसकेको थियो । तमासेहरुको भीड देख्दा लाग्थ्यो त्यहाँ कुनै राजनैतिक दलको आमसभा भैरहेछ ।

तमाशा हेर्न आउनेहरु प्राय सबै जना लासको नजिक गएर धित मरुञ्जेल हेर्थे र 'यस्तो अगति परेर मर्नेलाई पनि के हेर्नु? थुक्क!' भन्दै अर्कोतिर लाग्थे । उनिहरु मरिसकेकि मानवी र उसलाई गर्भ बोकाउने, बेपत्ता भएको अर्जुनलाई 'छि! छि! र थू! थू!' गरिरहेथे ।

अहो! कति कठोर बन्न सकेको हाम्रो समाज? कारण जे सुकै होस्; प्रकृति जस्तो सुकै होस् तर मृत्यु त आँखिर मृत्यु नै हो । त्यहि मृत्युमा मानिसहरु किन यति निर्दयि हुन सकेका? कतिसम्म संवेदनाहीन रहेछ हाम्रो समाज त्यो दिन बुझेथें मैले ।

तमाशेको हुलमा मरेकि मानवीसँग जोडिएर अर्जुन पनि बदनाम भैरहँदा मैले मनमनै भनेथें, 'हे भगवान! धन्न मानवीले मेरो पेट बोकिनछ । नत्रभने आज मेरो के हविगत हुनेथियो? यत्रा मान्छेको सामुन्ने म कसरी मुख देखाउँथें होला?' र तत्काल तुलना गरेथें मैले भर्खरै संवेदनाहीन भनेका तमाशेहरुलाई र आफु घानमा नपरेर भित्रभित्र एक प्रकारको खुशी मनाईरहेको स्वयँलाई ।

'छि! छि! हरेक मान्छे स्वयँमा कति निर्लज्ज र स्वार्थी हुँदोरहेछ?' आफुलाई ति तमाशेहरु भन्दा अझ तल गिरेको पाएथें मैले ।

प्रहरीहरु आए । घटनास्थल र लाशको प्रकृति मुचुल्का उठाए । मृतकका आफन्तहरु, केहि छरछिमेकीहरु र लाशलाई सबभन्दा पहिले देखेको नाताले मेरो पनि बयान टिपे र लाश झिकेर पोष्ट मार्टमको निम्ती जिल्ला पठाए । प्रहरीहरुले मृतकले कतै कुनै चिठ्ठी लेखेर छोडेको छ कि भनेर लाशमा साथै मानवीको कोठामा समेत खान तलासी गरे तर केहि फेला परेन ।

प्रहरीहरुले त्यसरी धुँईपाताल लाएर मृतकले चिठ्ठी लेखेको छ कि भनेर खोजिगर्दा मलाई मानवीले चिठ्ठी लेखेकि थिई भने लुकाएर राख्न सक्ने त्यहि आँपको रुखमा यौटा ठाउँ भएको सम्झना भयो तर त्यसबखत म त्यहाँ गएर त्यो चिठ्ठी छ होला भन्न पनि सक्दिनथिएँ र गएर खोज्न पनि सक्दिनथिएँ । सानैदेखि चढेर हाँगाहाँगा नाच्ने गरेको त्यो आँपको रुखमा यौटा गोप्य टोड्को पत्ता लगाएका थियौं मानवी र मैले । हामी सानोमा के के कुराहरु लुकाएर राख्ने पनि गर्थ्यौं त्यो टोड्कोमा । मलाई त्यो टोड्कोमा गएर हेर्ने छट्पटि भैरह्यो र म उपयुक्त अवसरको ताकमा बस्न थालेँ ।

मानवीको सदगत भैसकेपछिको केहिदिनमा मानवीका बाबाले त्यो आँपको रुख ढाल्ने निर्णय गरे । कोरामा बस्नेलाई राती रुङ्न आउने छिमेकिहरुले पनि त्यस्तै सल्लाह दिएका थिए । त्यो आँपको रुख मेरो घरको नजिक भएपनि मानवीकै बारीमा पर्थ्यो । डरले गर्दा त्यो आँपको रुखमा गएर टोड्कोमा केहि छ कि हेर्न सकिरहेको थिईनं तर त्यसलाई ढाल्ने कुरा उठेपछि मैले अबिलम्ब त्यो टोड्कोमा हेर्नैपर्छ भन्ने सोचेको थिएँ ।

त्यहिरात म मौका पारेर आँपको रुखमा गएँ । त्यसैपनि मानवीको झुण्डिरहेको शरिर आँखा अगाडी हरबखत झुलिरहन्थ्यो र मलाई भित्रदेखि डर लागेर आउँथ्यो । मानवीको आत्मा त्यहि रुखमा बसेको भए भूत बनेर मलाई मार्न आउने हो कि भन्ने ठुलो त्रास हुँदाहुँदै पनि म खै कस्तो आँटले त्यो रुखमा चढेर अँध्यारोमै टोड्कोमा हात छिराएँ । नभन्दै टोड्कोमा मैले पट्याएर राखेको यौटा कागज फेला पारें । यो मानवीले नै राखेको हो र चिठ्ठी नै लेखेर राखेको हो भन्ने कुरामा मलाई कुनै शंका थिएन । सायद उसले मर्नु अगाडी मलाई नभेटेका बेलामा भएका कुराहरु लेखेकि छे या हुनसक्छ कुनैदिन अर्जुन फर्किएर आएछ भने उ म मार्फत अर्जुनलाई कुनै खबर् छोड्न चाहन्छे । त्यो कागज बोकेर घर आउँदा सम्म म त्यसमा लेखिएको हुनसक्ने कुराहरु अनुमान गर्दैथिएँ ।

त्यसरात बाबा मानवीकै घरमा कोरामा बस्नेलाई रुङ्न जानुभएको थियो । घरमा बाँकि रहेका सबै निदाईसकेका भएपनि मैले श्वास दबाएर पढेको थिएँ त्यो चिठ्ठी । त्यहि चिठ्ठीले त मलाई बिक्षिप्त बनाएको थियो । लगभग पागल भएको थिएँ म । र घरमा बस्न नसकेर मानवी मरेको महिनादिन नबित्दै घर छोडेर हिँडेको थिएँ । भलै हिंड्नलाई पढ्न जाने बाहाना थियो तर कारण मानवीकै आत्महत्या थियो र आज तेह्र वर्षपछि बल्ल फर्केको थिएँ यो ठाउँमा म । त्यसबेला त्यो चिठ्ठी पढेर म आफैंले पनि झण्डै आत्महत्या गरेको थिएँ । त्यस चिठ्ठीमा लेखिएको थियो -

दीपक,

तिमीले दिएको त्यत्रो आड भरोसाले पनि मैले आफुलाई भोलीको दिनमा खुसी देख्न सकिंन । आफ्नै जन्मदिने बाबाआमाले समेत बात बातमा यस्ता त मर्नु नि बरु भनेको सुन्दा सुन्दा मलाई अब मर्नुभन्दा अर्को बिकल्प छ जस्तो लाग्दैन । मैले तिमीसँग बिहे नै गरेँ भनेपनि म बाँच्न त सकुँला तर जिन्दगी खुसी भएर बिताउन गाह्रो हुन्छ । हामी कहाँ जान्छौ? के गर्छौ? घरमा कहिले पनि हाम्रो बिहे स्वीकार्य हुँदैन । यस्ता कुराहरु सम्झँदा म जिन्दगीमा कतै पनि उज्यालो देख्दिनँ । त्यसैपनि तिमी म भन्दा पाँच वर्ष कान्छो मान्छेलाई आफ्नो लोग्नेको रुपमा कल्पना सम्म गर्न सक्दिंन म नत्रभने आफुले गरेको गल्तिमा बिनाबित्थामा अर्जुनलाई मुछ्दै झुठा कहानी किन रच्नु पर्थ्यो?

हो दीपक, अर्जुनको कहानी मैले त्यसै रचेको काल्पनिक कहानी थियो । मेरो पेटमा त तिम्रै बच्चा हुर्किंदैथियो तर हेरन मलाई यो कुरा तिमीलाई पहिले नै भनेर या घरका मान्छेलाई तिम्रो हो भनेर तिमीलाई तकलिफमा पार्न कत्ति पनि मन भएन । बदनाम त म जसै गरेपनि भैसकेकि थिएँ तिमीलाई पनि किन बदनामीको कालो दाग लगाउनु भन्ने लाग्यो मलाई । त्यसैले धेरैदिन सोचेर मैले बेपत्ता भएको अर्जुनलाई दोष लगाएँ । बिचरा! उ जिउँदो छ कि मरिसक्यो त्यो पनि थाहा छैन । मरिसकेको रहेछ भने उसको आत्माले मेरो मजबुरि बुझेर मलाई माफ देवोस्...........साँच्चि त म पनि मरिसकेको हुनेछु त्यसबेला त............. उसको आत्माले मेरो आत्मालाई माफी देवोस् । यदि उ जिउँदै रहेछ र कुनैदिन फर्केर आएछ भने उसलाई मैले बदनाम बनाउनु परेको यो कथा तिमीले सुनाएर सम्झाईदिनु उसलाई ।

मेरो साथी, तिमीले मेरो मृत्युमा शोक नगर्नु ल? यो सब मेरै कारणले भएको हो । यो सब हुनुमा म एक्लै जिम्मेवार छु र जे भोग्न गैरहेकि छु त्यसको योग्य हकदार पनि म एक्लै हुँ । यतिबेला मलाई तिम्रो बाहेक अरु कसैको पनि माया लागेको छैन । आफ्नै पनि माया लागेको छैन ।

तिमी सुखि रहनु ल मेरो साथी । मलाई बिदा देउ ।

सदबिदा
मानवी

May 19, 2010

कथा : देहत्याग

'दीपक? उठ छोरा । आज मातातिर्थ औंशी, छोराछोरीले आफ्नो आमालाई पूजा गर्ने, मिठो ख्वाउने दिन । तँ पनि तेरो हातले आमालाई केहि खुवाईदे । बैनिले अगि नै उठेर सबैथोक गरिसकि । ऐले तेरो क्याम्पस जानेबेला हुन्छ । म पनि अफिस जानुपर्छ । तँ आउँदा फेरी बैनि स्कूल जान्छे ।' आज बिहानै ओच्छ्यानमै आएर बाबाले मलाई धर्म सङ्कटमा पार्दै उठाउनुभयो । बाबाको कुरा नसुनुँ भने पनि कसरी । सुनुँभने पनि कसरी । सौतेनी आमालाई के के खुवाउनु रे ? सौतेनी आमालाई पूजा गर्नु रे ।

बाबाले मेरी आमा बित्नुभएपछि हाम्रै हेरचाहको बहाना पारेर बिहे गर्नुभएको थियो । मलाई त बाबाले बिहे नगरेकै भए ठिक हुन्थ्यो जस्तो लागेको थियो । तर मैले केहि भनिँन । मलाई त्यसैपनि मानसिक रोगी ठान्नुहुन्थ्यो बाबाले । मैले भनेर पनि त केहि हुन्थेन । बाबाले हाम्रो हेरचाहलाई बहाना बनाएर आफ्नैलागि बिहे गर्नुभएको पनि त हुन सक्छ । नत्र बिहे गर्नै के खाँचो थियो होला र ? म हुर्किसकेको छु । बैनि हुर्किसकेकि छे । भान्साको काम गर्ने त मान्छे राख्दा पनि हुन्थ्यो ।

उठेर ब्रसमा मञ्जन हालेर बाहिर निस्किएँ र आँगनको यौटा कुनामा टोलाएर ब्रस गर्न थालेँ । मनभित्र भने आँधी उर्लिरहेकै थियो । म भित्र सायद धेरै नै पूर्वाग्रह भरिएको थियो त्यसैले म बैनिले जस्तै सौतेनी आमासँग रत्तिन सकेको थिईनं । सुरुमा बैनीले पनि बाबाले यो बिहे गर्नुलाई सहज रुपमा लिन सकेकि थिईन । उ भन्थी, 'दादा, बाबाले किन बिहे गर्नुभएको होला नि? हामी यत्रा ठुला ठुला भैसक्यौं । सबैले जिस्क्याउँछन् हामीलाई बाबाले बिहे गर्नुभयो भन्ने सुनेर । सानीआमाले हामीलाई हेला गरिन् भने झन के होला ?' त्यसबेला बैनिलाई पनि बाबाले बिहे नगरे हुन्थ्यो भन्ने लागेको थियो तर पछि उ सानीआमासँग राम्रै रत्तिई । बोलाउँदा पनि उ सानीआमालाई आमा भनेरै बोलाउँछे । सबैले दिदीबैनि जस्तै मिलेका आमाछोरी भन्छन् । गाउँभरी कसैले पनि सानीआमालाई नराम्रो भनेका छैनन् । आफ्ना पट्टी सन्तान हुँदैनन् भन्ने जानेर पनि बिहे गर्ने हिम्मत भएकि बहादुर आइमाई भन्छन् सानीआमालाई । तर मैले भने कैलेपनि सानीआमालाई सकारात्मक लिन सकिंन । आमा भनेर बोलाउँन समेत सकिंन । एकपल्ट मैले बोलाउँदा सानीआमा भनेको सुनेर बाबाले भन्नुभएथ्यो, 'के को सानी र ठुली गरिरहनुपर्यो? थपक्क आमा भने भै'गो नि ।'

बाबालाई मैले कहिल्यै मुख फर्काएको थिएन त्यो दिन पनि केहि भनिंन बरु त्यो दिनदेखि मैले सानी न ठुली आमा नै भन्न छाडें । सकेसम्म त म सानीआमासँग बोल्दै बोल्दिंन । बोल्नै परेपनि बिना सम्बोधन नै बोल्न थालें ।

'दादा छिट्टो गर्नुस् न ।' मलाई पर्खिरहेकि बैनी नेपथ्यबाट बोली ।

'कस्तो अटेरी गरेको यो खुस्केटले? अरुबेला मन नपरे पनि आज त आईदिनु नि?' नेपथ्यबाटै बाबाले भन्नु भएको पनि सुनें । म बोल्दैनबोली सानीआमा प्रति जति बैर राख्थें । बाबाले त्यो स्पस्ट पारिदिनुहुन्थ्यो । कैलेकाँहि मलाई बालाले त्यसरी मेरो मनभित्रको कुरा प्रस्ट्याईदिँदा रीस उठ्थ्यो, कैलेकाँहि भने ठिक लाग्थ्यो । भन्न चाहेर पनि भन्न नसकेको कुरा बाबाले भनिदिएझैं लाग्थ्यो । मैले आशा राखे अनुशार बाबाले मलाई कहिल्यै तँ पागल छैनस् भनेर हौसला दिनुभएन बरु सानो सानो कुरामा मलाई बाबाले नै अर्धपागल, खुस्केट भन्दा भने मन साह्रै पिरो हुन्थ्यो ।


म मुखमै ब्रस कोचेर बैठकमा पुगेछु । ढोकामा पुग्दा सबैका आँखाहरुले मलाई नै ताकिरहेका थिए । तीनैजोडा आँखाहरु मेरो प्रतिक्षामा थिए सायद । मैले एक एक सर्को तीनै जोडा आँखाहरुमा आँखा जुधाएँ । बाबाको आँखामा म प्रति केहि क्रोध, केहि घृणा र केहि सहानुभुति जस्तै मिश्रित भाव देखें । वहाँले भन्नुभयो, 'यतिञ्जेलसम्म मुख पनि धोएको रहेनछ । कस्तो पागल केटा हो यो?' म चसक्कै दुखेँ तर म मुख धुन गएको मुखै नधोई त्यहाँ आएछु । थपक्कै फर्किएँ म मुख धुनलाई ।

फेरी आउँदा याद गरें बैनिको मुहार नै उज्यालो थियो । उसको प्रसन्नता आँखाहरुले झनै देखाईरहेका थिए । सानीआमाको आँखाहरु भने भावशुन्य झैं लागे । न खुसी न पीडा । सानीआमाका आँखाभरी आँसु डबडबाईरहेका थिए ।

सानीआमाको आँसु भरिएका आँखा मैले कहिले देखेको थिईंन । जहिल्यै पनि सुख्खा लाग्थे मलाई उनका आँखा तर आज आँसु देख्दा उनको आँखामा मलाई आफ्नै आमाको प्रतिमुर्ति देखेझैं लाग्यो । मेरी आमालाई कमलो मन भएकि साहसी आइमाई भन्थे सबैले । सानो सानो कुराले रुवाउँथ्यो मेरी आमालाई । अत्यन्तै भावुक हुनुहुन्थ्यो । सँधै अर्काको लागी बाँचु, अरुलाई दिउँ भन्ने सोच्नुहुन्थ्यो । 'आफु मिटाई अरुलाई दिनु जहाँ छ' भन्ने कविता लेख्ने देवकोटाको मन र मेरी आमाको मन उस्तै थियोहोला जस्तै लाग्थ्यो मलाई । सानीमाको आँखाबाट पोखिनै लागेको आँसुले मेरो मनलाई केहि पगालेजस्तै लाग्यो । आमाको सम्झनाले हो या सानीआमाको आँसुले हो मैले छुट्याउन सकिंन तर पग्लिएर मेरो मनको आँसु मनकै आँगनमा सलल बगेझैं लाग्यो । मलाई त्याँहा सामना गर्नुपर्ने सबै क्रियाकलापहरु निमेषमै सकेर त्याँहाबाट बाहिरिने ईच्छा भयो ।

बैनिले सबैथोक तयार पारिसकेकि थिई । बैनि र मैले एकैचोटी सानीआमालाई मिठाई र अन्य परिकारहरु खुवाउन थाल्यौं । सानीआमा भित्रैबाट भक्कानिएको बुझ्न गाह्रो थिएन । वहाँका आँखाबाट बरर आँसु खसे । सानीआमाको आँखाको आँसु झरेर बैनिको नारीमा पर्यो । मेरोमा परेन । सायद आँसुले पनि थाहा पायो होला मैले यो घरमा सानीआमाको आगमनलाई सहज लिएको छैन भन्ने । बैनि सानीआमाको आँसु पुछिदिँदै भन्दैथिई, 'अरे किन रुनुभएको, नरुनु न आमा ।'

म त्याँहाबाट उम्किन चाहन्थें । फर्किएर ढोकातिर लम्केको के थिएँ । बाबाले कपडाको यौटा सानो प्याकेट दिँदै भन्नुभयो, 'ल यो पनि दे आमालाई ।' बातबातमा मलाई पागल भन्ने बाबाको सामु त मलाई उभिनै मन हुन्थेन । मैले बाबाको हातबाट प्याकेट लिएँ, सारी थियो त्यो सायद, र सानीआमाको काखमा पर्नेगरि हुर्याएर बाहिर निस्किएँ ।

'के गर्छ यो बौलाहा?' बाबाको रीस ममाथी पोखियो ।

'मैले छोरालाई कहिल्यै आफ्नो बनाउन सकिंन ' सानीआमाले भक्कानिँदै भन्नुभएको सुनें । मलाई औडाहा छुट्यो । क्वाँ क्वाँ रोईदिउँ जस्तो पनि लाग्यो । 'आफ्नी आमाले त पराई बनाएर छोडेर जानुभयो अब सानीआमाले आफ्नो बनाएपनि के नबनाए पनि के?' यस्तै सोच्दै म आफ्नो कोठामा पसें र तयार भएर क्याम्पस जान निस्किएँ ।

साईकल झिक्दै गर्दा बैनिले भनि ,'दादा खाजा खानु न । तयार छ । आमाले खाजाखान बोला भन्नुभएको छ ।'

पहिल्यैदेखि मनले आज म सानीआमाले बनाएको खाजासाजा खान्न भन्ने सोचेको थियो । मैले त्यसैगरी भनें, 'भरै छिट्टै आएर तँसँगै खान्छु । आज म सानीआमाले बनाएको खान्न । तँ बना है ।' बैनिको पछिल्तिर सानीआमा उभिएकि थिइन् । उनलाई देखेपछि जोडले पाईडल मारेर म गेटबाहिर हुत्तिएँ ।

'मैले किन त्यसो भनेँ ? म किन ब्यर्थै सानीआमालाई दुखाउँछु? मलाई पागल किन भन्छन् सबैले?
म सबै कुरा सोच्न सक्छु । पागल त म नहुनु पर्ने । तर म किन केहि काम ठिकसँग गर्न सक्दिंन? कि म साँच्चै पागल नै हुँ?' मनभित्र आँधी बोकेरै म बेगले साईकल हुईँक्याउँदैथिएं । बाटोमा महेश भेटें । उ साईकलको चेन चढाउँदैथियो । मलाई देखेर बोल्यो, 'हैरान पार्यो यार यो थोत्रे साईकलले पनि ।'

मलाई मनभित्रको आँधि छल्ने उपाय भेटेझैं भयो । तर उसले पनि मलाई पागलकै श्रेणीमा त राखेको होला नि?

'नयाँ साईकल किन्ने भनेको हैन अनि?' मैले सोधें ।

'हो यार, तर किनिन फेरि ।' हामी समानान्तर गुडिरहयौं साइकलमा ।

'हेर्न, आज आमातिर्थ औंसी रे । हामी आमा नहुनेलाई त केहि न केहि हुँदोरहेछ ।' महेशले फेरी उहि विषयमा घुसार्यो मलाई जहाँबाट म निस्कन चाहन्थें । उसले आमातिर्थ भन्दोरहेछ । म मातातिर्थ भन्थें । सुन्दा अलि अनौठो लागेपनि उसले भनेको नै अझ नजिकबाट भनेको जस्तो लाग्यो मलाई । उ भन्दैथियो, 'तै तिम्रो त सौतेनी भए नि आमा त हुनुहुन्छ घरमा । मलाई त आज साह्रै न्यास्रो लागेको छ यार । के गर्नु, मरेकि आमालाई आज भेट्न पाईने भनेभए म त मरेरै भएपनि जानेथिएँ बरु ।' आमा नहुनुको पीडा उसले यस्तरी ओकल्यो कि म झन रन्थनिएँ । बाटोभरी महेशले आफ्नो मनको तितो सुनाईरहयो मलाई । यत्तिका मनका कुरा सुनाउने उसले मलाई पागल सम्झिंदैनरहेछ भन्ने सोच्दै पनि थिएँ म । क्याम्पस पुग्ने बेलामा उसले भन्यो, 'साँची आजभोली तिमीलाई ठिक भएजस्तो लाग्यो । औषधी खाँदैछौ होला नि? तिमीलाई आफुलाई त बौलाको छु जस्तो लाग्दैन होला नि?' मेरो हरेक विश्वास यसरी नै त क्षणमै ढलेर जान्थ्यो । यो पनि कुन नौलो कुरा भयो र ? क्याम्पसमा पहिले निक्कै साथीहरु थिए मेरा तर मलाई पागल भनिन थालेपछि साथीहरु सबै टाढा भए । म एक्लै हिंड्छु ।

जैलेदेखि म पागल भनिन थालेँ तैलेदेखि म भित्र बनेको बिश्वासले मलाई कहिल्यै काम दिएन । म आफुलाई ठिक छु भन्थेँ तर कैलेकाँहि के के गर्छु रे जो म थाहा पौँदिन । त्यसकै भरमा मलाई धामीझाँक्री, डाक्टर, बैद्य ईत्यादि गरिन थालियो र म झन पागलमा दरिँदै गएँ । म थाहा पाउँदिन तर भन्छन् म सानो बच्चा देख्ने बित्तिकै बच्चालाई बोकेर दगुर्छु रे 'आमा मैले निकालें बच्चा, आउनु बाहिर आउनु । मैले बच्चा निकालिसकेँ' भन्दै ।

मनोविज्ञानको कक्षामा थिएँ म । 'मानिसहरु किन आत्महत्या गर्छन्?' भन्ने विषयमा प्राध्यापक भट्याईरहेका थिए । कक्षाकोठामा हल्ला उत्तिकै थियो । जति हल्ला बढ्थ्यो उति जोडले भट्याउने यि प्राध्यापकले कहिल्यै कसैलाई हल्ला नगर भनेको सुनेको छैन मैले । यन्त्रझैं खुरुखुरु भट्याएर निस्किने प्राध्यापकको कुराले मलाई भने भित्रभित्र पेलिरहेथ्यो ।

'आत्महत्या गर्नलाई ठुलो कुरै चाहिँदैन मान्छेलाई । अनावश्यक कुराहरुलाई नै ठुलो बानाएर पनि मान्छेहरु आत्महत्या गर्छन्.........' यस्तै यस्तै भट्याईरहेथे उनि । मानसिक रोगीको बारेमा पनि उनि केहि भन्दैथिए, 'मानसिक रोगीहरु सँधै खुल्ला रहने सयौं विकल्पहरु देख्न असमर्थ हुन्छन् र आत्महत्या मात्र यौटा विकल्प देख्छन् ।'

मानसिक रोगीको कुरा उठ्दा मलाई मानसिक रोगी ठानेर सबैले हेरेको झैं लाग्यो । वरीपरि फर्किफर्कि हेरेँ । सबैका आँखाहरु मलाई नै मानसिक रोगी भन्दै ताकिरहेका थिए । कक्षाबाट बाहिरिँदा मलाई आफु मानसिक रोगी होईन भन्ने कुरामा बिश्वास थियो तर अर्को कक्षामा पनि मानसिक रोगीहरु र आत्महत्याको कुराले नै मेरो मनमा छटपटि बढिरहयो ।

बाँकी कक्षाहरु नपढि म क्याम्पसबाट पनि बाहिरिएँ । ठेगानले म केहि सोच्न सकिरहेको थिईंन । सोचाईका अनेकौं टुक्रे उतारचढावले मलाई भित्र भित्र हल्लाईरहेको थियो । म अनियन्त्रित थिएँ । घर आईपुगेछु । सरासर आफ्नो कोठामा पसेँ । टेबलमा मेरो यौटा कपि खुल्ला देखें । बैनिले लेखेकि रहिछ, 'दादा, मेरो एक्स्ट्रा क्लासको लागी म छिट्टै निस्किएँ । तपाईं खाना खानु ल? आज सबै मैले पकाएकि हुँ । आमाले केहि पकाउनुभएन । आमा आज धेरै रुनुभयो । आज आमा रुँदा मलाई आफ्नै आमा रोए जस्तै लाग्यो । तपाईंले पनि अब आमालाई आफ्नै आमालाई जस्तै सम्झिदिनु है । तपाईंलाई पनि आमाले धेरै माया गर्नुहुन्छ । आमाले तपाईंलाई पागल होइन भन्नुहुन्छ । तपाईंलाई आमाको धेरै माया लागेर त्यस्तो भएको रे...........'

बैनिले लेखेको कुराले म भित्रभित्रै रोएँ । उठेर बैनिको कोठामा पुगेछु । ढोकामा ताला लगाएकि थिई । बाहिर उसको कुर्थासुरुवाल र सल धोएर सुकाएको थियो । तिनै सुम्सुम्याएर म आफ्नो कोठामा फर्कें ।

'म किन रोईरहेछु?' आफैंलाई सोधें । सानीआमासँग नरत्तिएकोले हैन । आफ्नै आमाको सम्झनाले म रोएको हुँ जस्तो लाग्यो मलाई । मेरी आमा बित्नुभएको त्यो दिन सम्झें मैले । म यहि कोठामा बसेर परिक्षाको तयारी गर्दैथिएँ । आमा बैनिलाई लिएर अर्को गाउँको पुराणमा जानुभएको थियो । दिउँसो तीनबजे खबर आयो आमा त्यहि पुराण लगाएको घरसँगै जलेर खरानी हुनुभयो । म त्याँहा पुग्दा बैनि मुर्छा परेकि थिई । आमा हुनुहुन्थेन । बाबा पनि अफिसबाटै पुग्नुभएको थियो तर बौलाहाले जस्तै जे पायो त्यहि भन्दैहुनुहुन्थ्यो । बाबालाई त्यसरी बिक्षिप्त अवस्थामा देखेर होला मलाई म दह्रो हुनुपर्छ जस्तो लागेको थियो । त्यसदिन पनि नरोएको म त्यसदिन देखि कहिल्यै रुन सकिँन ।

आँगनमा पुराण समापनको कार्य भैरहँदा सेलरोटी पकाउँदै गरेको आगोले घर सल्किन सुरु गरेछ । आगो नियन्त्रण भन्दा बाहिर गैसकेको बेला सबै भागेर लाखापाखा लागेछन् । त्यस्तैमा, कोठामा कोहि छिमेकीको सानो बच्चा सुताईरहेको थाहा भएछ । बच्चालाई निकाल्न आमा कुदेर घरभित्र पस्नुभएछ र निस्कन नसकि बच्चासँगै भित्रै जल्नु भएछ । सम्झिँदा अहिले पनि जिरिङ्ग हुन्छ मेरो मन र आमाको त्यो साहसलाई सलाम गर्न मनलाग्छ । त्यसदिन देखि रुन बिर्षेको मेरो आँखा आज बिहानै देखि चुहिन खोज्दैथिए ।

यस्तोबेलामा मन खोलेर बातगर्ने मेरी साथी बैनिमात्र थिई । उसँग धेरै कुरा गर्ने ईच्छा भयो मलाई । तर उ स्कूल गैसकेकि थिई । म फेरी बाहिर निस्किएँ र सुकाईरहेको बैनिको सल झिकेर कोठामै पसेँ ।

दिमागमा महेशको कुरा आयो, 'आजको दिन मरेकि आमालाई भेट्न पाइने भए म मरेरै भए पनि आमालाई भेट्न जानेथिएँ ।' आज मर्यो भने आमासँग भेट हुन्छ भन्ने बिश्वास म भित्र पलायो र एकैछिनमा झ्याङ्गियो । प्राध्यापकको कुरापनि दिमागमा खेल्यो, 'मान्छेहरुलाई आत्महत्या गर्न ठुलो कारण नै चाहिंदैन ।' तर म मा के कारण छ आत्महत्या गर्नलाई र म आत्महत्यातिर उन्मुख भैरहेछु ?' आफैंलाई प्रश्न गरें ।

मैले मर्नुहुँदैन भन्ने विचार उठ्यो । म मरें यदि भने बैनिलाई के हुँदो हो ? बाबाले के सोच्नुहुँदो हो? अनेक तर्कना खेल्न थाले मनमा । यदि म मरें भने भोली ककस्लाई के फरक पर्छ भन्ने कुरा धेरै सोचें । मलाई बैनिको भन्दा पर्तिर कसैको माया लागेन । बैनि केहि दिन दुखि होलि तर उसले सजिलै बिर्षिन्छे मलाई । सानीआमासँग राम्रै झ्याम्मिएकि छे उ । बाबालाई त केहि फरक नपर्ला उनको साथी सानीआमा छँदैछन् । सानीआमासँग मलाई सरोकार नै छैन । म आफैं प्रति कठोर बन्दै गएँ ।

'आत्महत्या गर्नेलाई ठुलो कारण किन चाहिन्छ र? उनिहरु त्यसै मरिदिँदा होलान् । आफ्नो पटक्कै माया नलागेपछि उनिहरुलाई अरुको मायाले के थाम्न सक्थ्यो?' यस्तै यस्तै कुराले मेरो दिमाग उम्लिरहन थाल्यो । मैले आत्महत्या गर्ने एक प्रकार निश्चय गरेँ । 'म मर्न त सक्छु तर मर्दा मर्दै मलाई बचाउन कोहि आएभने के होला?' भन्नेतिर मेरो ध्यान गयो ।

कोठाबाट बाहिर निस्केर घरमा चालचुल सुनें । चकमन्न छ । कोहि छैनन् घरमा । बैनि स्कूल गएकि छ । बाबा अफिस जानुभएको छ । सानीआमा घरमा हुनुहुन्न । परिवेश उपयुक्त देखेर म फेरी कोठामा पसें । दिमागमा आज मर्न पाएँ भने म आमालाई भेट्छु भन्ने निश्चय बनेको थियो । त्यसमाथि लाग्यो अझ बैनिको सलमा झुण्डिएर मरें भने आमालाई बैनिको खबर समेत थाहा हुनेछ । सायद त्यसैको लागी मैले अगि बैनिको सल बोकेर आएको हुँ भन्ने पनि लाग्यो । मैले बैनिको सललाई घाँटीमा सुर्काउने गाँठो पारेर बाँधे ।

मलाई थाहै थिएन आत्महत्या गर्दा पहिले घाँटिमा बाँधिन्छ कि झुण्डिने ठाउँमा? पहिले घाँटिमा बाँधेर झुण्डिने ठाउँमा बाँध्न अप्ठ्यारो हुने रहेछ । मैले घाँटीबाट सुर्काउने गाँठो खुकुलो पारेर सल झिकेँ र कोठाको कोरामा कुर्शी राखेर अर्को छेउ बाँधे ।

त्यसपछि सम्झिएँ । म मरिसकेपछि मेरो आत्महत्यालाई हत्या भनेर घरमा अरुलाई प्रहरीले दुख देला । त्यसैले बैनिले नोट लेखेको कपिमा लेख्न थालेँ, 'म आज आमालाई भेट्न जाँदैछु । यो मेरो विश्वाश हो कि आज मरें भने म आमालाई भेट्नेछु र आमासँगै बस्नेछु । मेरो मृत्युमा कसैलाई दोष नदिईयोस् । यो आत्महत्या होईन, देहत्याग हो । राजीखुशीले म मेरो देहत्याग गर्दैछु । मलाई पागल भन्नेहरुलाई मेरो केहि भन्नु छैन । तर म पागल कहिल्यै थिईंन । मैले सकेसम्म सामान्य क्रियाकलाप गर्दापनि सबैलाई त्यो पागलले गर्ने असामान्य क्रियाकलाप जस्तो लाग्थ्यो भने त्यसमा मेरो केहि भन्नु थिएन र कसैसँग गुनासो पनि छैन । तर आईन्दा समाजले कसैको पनि मर्म नबुझि कसैलाई पनि पागल नभनिदेवोस........' मैले नोटमा धेरै लेख्न सकिँन । लेख्नु आवश्यक पनि थिएन । पागल भनेर चिनिएर बाँच्नु भन्दा मर्दा नै मैले शान्ति पाउँछु भन्ने पनि मलाई विश्वास थियो ।

म उठेँ र कुर्शीमाथी चढेँ । अब मलाई आफु जीवन र मृत्युको धेरै नै मसिनो रेखामा उभिएको छु भन्ने बोध भयो । मनमनै फेरी दोहोर्याएँ, 'पागल नभै मलाई पागल भन्ने यो दुनियाँमा कस्को निमित्त मैले बाँच्नु छ? किन बाँच्नु छ? जे जति थिई यौटी बैनि थिई उसले मलाई माफ दिओस् । म आमालाई भेट्न जान्छु । एक जान्छु, दुई जान्छु, तीन जान्छु....'अठोट बन्यो मनमा । अनौठो शक्तिले मलाई सलको पासोमा टाउको छिराउन अह्राउँदैथियो । म आफ्नो वरिपरी घना अन्धकारको कल्पना गर्दैथिएँ ।


२०५२/५३ तिर आगलागीमा परेको बच्चा निकाल्ने साहस बोकेर जलिरहेको घरभित्र पसि त्यहिँ जलेर खरानी हुनुभएको ती साहसि आमा र वहाँकै बियोगपछि विक्षिप्त बनेका छोरा, मेरो साथी दीपक बिष्ट, जस्ले २०५४ सालको मातातिर्थ औंशीका दिन आत्मदाह गर्नुभएको थियो, प्रति वहाँहरुको आत्माको चीर शान्तिको कामना गर्दै २०५४ साल जेष्ठमा लेखिएको कथा । मुख्य कथा वास्तविक भएपनि सम्बादहरु र देखाईएका घटनाक्रमहरुलाई मैले काल्पनिक रंगले पोतेको छु ।

कथा : रोगी घाम

कत्रो मुर्खता! कत्ति न बिधी माया गर्छे मलाई भनेर मख्ख परेको रहेछु म । आज सम्झन्छु, कता कता सपनामा पो भेट भएको थियो कि अथवा कथामा पो पढेको थिएँ कि जस्तो लाग्छ । साँच्चै मान्छे त मैले माया पाएको छु भन्ने भ्रम पालेर पो बाँच्दो रहेछ । अझ मैले माया गरेको छु भन्ने भ्रम फैलाउन त झन खप्पिस हुँदो रहेछ ।

आज बुझ्दा मान्छेले माया पाएको अनि माया दिएको त मैले कहिँ पनि देखिंन, आफ्नै जिन्दगीमा पनि ।

एकदिन, एकझर दर्के पानी परेर आकाश सफा भएको थियो । साँझको बेला पहेँलो घाम टिलिली लागेर रमाईलो पारेको वातावरणमा असारे फूलको फूलैसँग लत्रेको हाँगो सम्हालेर तह लाउँदैथिई उ । उसको खुट्टाभरी माथी पिँडौलादेखि नै पहिले पानीले निथ्रुक्क भिजेका असारे फूलहरु पोखिएका थिए अनि त्यसमाथी पहेँलो घाम पोतिएको थियो । मैले उसको खुट्टाहरुमा मन लठ्ठै पार्ने तर मेसो नबुझिने कुनै अमुर्त चित्रकारी देखें र ट्याप्पै समातेर चुमिदिएं उसको खुट्टा । उ छक्क परेर मलाई हेर्न थाली । वाक्यमा उसले चुँ! सम्म उच्चारण गर्न सकिन तर आँखाले मसँग यतिविघ्न बातमारे जस्तो गरी कि, केके भनी केके; मैले परि लाउंनै सकिंन । अनि मैले नै भनिदिएँ, 'तेरो यो घिनलाग्दो खुट्टाभरी यसरी नै फूलहरु सजिईरहुन् अनि म सँधैं चुम्न पाईरहुँ ।'

उ अझै अवाक् उभिएर मलाई हेरिरहेकि थिई । उसको मुहारभरी पनि पहेँलो घाम छताछुल्लपोतिएको थियो र उसलाई सुवर्णको प्रतिमाझैं टलक्क पारेको थियो । न उसका आँखाका पुतलीहरु नै चले, न उ नै चल्मलाई । यहाँसम्म कि ठिक त्यतिबेला उसको कपालको यौटा केशसम्म पनि हल्लाईदिन त्यहाँ बतास धरी आईदिएन ।

त्यसबेलासम्म उसले मलाई कम से कम मुस्कानले स्वागत गर्नुपर्थ्यो । तर अहँ, उ त प्रस्तर मुर्तिझैं ठिङ्ग उभिई मात्र । मान्छेहरुलाई कसरी जङ्ग चल्छ कुन्नि मलाई भने त्यसबेलासम्म जङ्ग चलिसकेको थियो । यो आदत मलाई सँधैभरी बिझाईरहन्छ । यस्तोबेलामा म केहि न केहि बिगार गरिहाल्छु । मैले नजिकै भएको गमलालाई कस्सेर लात्तले हानिदिएँ । उ नराम्रो गरी झस्की । उसको मुहारमा यौटा गमला फुटेर जानुको पीडा भरिएर आयो र पोखिएर गयो पनि । रुन्चे आँखाले मलाई हेरेर उसले बल्ल भनि, ' नाईँ के, तपाईं त जहिले पनि यस्तै गर्नुहुन्छ ।'
उ गमलानेर आई । फुटेर छरिएको गमलालाई छोई र उठेर भनि,' धन्न! यस्मा भएको फूल अर्को गमलामा पनि छ ।'

यसो भनेर उ मैले गरेको गल्तिलाई गल्ति नै हैन भने झैं पार्न खोजिरहेकि थिई । मलाई थाहा थियो जति चित्त दुखेपनि उ मेरो गल्ति प्रति चित्त नदुखेजस्तो ब्यावहार गर्थी । उ मेरो छेवैमा आई र काननेर मधुरो बोली, 'चिसो पानी ल्याईदिउँ?'

म राम्रै सेलाईसकेको थिएँ । मलाई लाज लागीसकेको थियो । भर्खरै गरेको उपध्रो पचाउने बहानामा मैले थेतरिँदै भनें, 'अहँ मलाई त मोई चाहिन्छ ।'

'मोई?' झट्ट म तिर नजर फर्काएर सोधी उसले ।

मैले चोर औंलाले उसको दुबै ओठहरुलाई छोएर त्यहि औंला चुम्दै भनें, 'अँ मोई ।'

उसले मेरो अघिल्लो चाल बुझि सायद स-साना फूलिरहेका तिउरी फूलहरु फट्किएर नाघ्दै फूलबारीको पल्लो छेउमा पुगेर भनि, 'मोई त भा'पो । आज पारेकै थे'न ।'

यसरी बित्थे हाम्रा रमाईला दिनहरु । कैले नदि जस्तै सलल बग्थ्यो त कैले बगर जस्तै स्थिर पनि रहन्थ्यो । म आफ्नै मनको क्यानभासमा कल्पनाको कुचि चलाएर बिभिन्न रंगहरुले आफ्नै भविश्यको चित्र कोरिबस्थें । साँच्चै पनि चित्रहरु कोर्दा म आफ्नै भविश्यको दिनहरुको कथा कोर्न खोज्थें । चित्रमा म आफुलाई मनपर्ने पँहेलो रंगलाई सकेसम्म सामेल गराउन खोज्थें र त्यसले जहिले पनि मेरो भविश्यको चित्रलाई रोगी बनाईदिएझैं लाग्थ्यो ।

अर्कोदिन म आफुले बनाएको यौटा चित्र लिएर उसलाई देखाउन गएँ । चित्रमा सानो यौटा पराले झुपडी, आँगनको कुनामा यौटी नारी भाँडा माझीरहेकि, उसका वरिपरी तीनवटा भाल्टाङ भुल्टुङ कोहि खेल्दै गरेका, कोहि रुँदै गरेका र आँगनको अर्को छेउमा यौटा पुरुष भैंसीको पाडो तान्दै गरेको देखिन्थ्यो । पक्का नेपाली गाउँको कुनै घर परिवारको सजीव चित्रण गर्ने सक्दो मेहनत गरेको त्यो चित्र उसलाई देखाउँदै मैले भनेको थिएँ, 'ल हेर हाम्रो भविश्यको चित्र ।'

मेरो चित्र हेरेर उसले हाँस्दै प्रश्न गरेकि थिई, 'बस् यस्तै? के हामी यो भन्दा माथी जाँदैनौ?'

प्रत्युत्तरमा मैले भनेको थिएँ। 'यो वातावरणको सुख हेर न, यहाँ भन्दा माथी गएपछि यो सुख कहाँ रहन्छ?'

'लु भयो यस्तो संसार तपाईंको कल्पनामा मात्र हुन्छ मेरो कल्पनामा यो भन्दा अर्कै हुन्छ ।' त्यसदिन उसको फुर्सद नभएर वहस अगाडी बढेन । तर उसको कल्पनामा सँधै भौतिक सुबिधाले सम्पन्न भविश्यको चित्र हुन्थ्यो भने मेरो कल्पनाले सँधै सुबिधालाई भन्दा सुखलाई जोड दिन्थ्यो । भौतिक सुबिधा प्राप्त गर्नु नै सुख हो भन्ने उसको गलत धारणालाई मैले सच्याउन बाँकी थियो । त्यो बाँकि नै रहयो ।

मलाई दिनहुँ उसँग नभेटि हुदैनथियो । प्रायजसो म साँझतिर नै उसलाई भेट्न जान्थें । खाडीको पिपलको रुख, गाउँ नजिकैको चउर र खोला किनारको समिको फेद ईत्यादि हाम्रा खास खास ठाउँहरु थिए साँझमा टहल्ने । उमेरले म भन्दा केहि सानी उ शारिरिक बनावटले अझै सानी थिई । उसको कोमल मन र छरितो सानो शरिरमा प्रसस्तै संयम र साहस थियो ।

एकोहोरो सान्निध्यताले हाम्रो माया साँच्चै हो को भ्रम सम्म आईपुगेछ । अहिले हेर्दा त्यो भ्रम रहेछ भन्ने ज्ञान छ म भित्र तर उ बेला मेरो लागी पनि यथार्थ थियो । त्यहि भ्रमले हामीलाई एकाकार बनायो । भ्रमले नै हामी माझ समझदारी र सामाञ्जस्यता स्थापना गरायो । तब हामीले केहि कुरामा टाउको दुखाईरहनु पर्ने भएन र केहि कुरामा नदुखेको टाउको पनि दुखाउनु पर्ने भयो । हामीले आ-आफ्नो मनबाट आपसमा नमिलेका केहि रहरहरु च्यातेर मिल्कायौं अनि आपसमा मिलेका थप केहि रहरहरु सजायौं ।

हामी क्रमश दुबैलाई मनपर्ने रंगहरु घोलेर भविश्यको साझा चित्र तन्मयताका साथ कोर्न थाल्यौं ।

अर्को एकदिन, साँझकै बेला उ आँगनमा बसेर सब्जीको लागी फर्सीको मुन्टा केलाउँदैथिई । मैले देखेँ उसको सारा शरिरलाई पँहेलो घामले अँगालो हालेको थियो । पँहेलो म्याक्सी भित्रबाट निस्किएको उसको खिरिलो पाखुरा, दुब्लाएको जस्तै देखिने उसको अनुहार, अलिकति देखिएको उसको छातिको माथिल्लो भागको हाड सबैमा पँहेलो घाम पोतिएर उसलाई रोगी जस्तै देखेँ मैले ।

दृष्टि फेर्नलाई मैले आँगन वरिपरी नजर दौडाएँ । रबरको विरुवा, अशोकको सुरिलो बोट, घण्टी फूलको बुट्टा, आँगनवरिपरी फुलिरहेका अरु साना फूलहरु सबैकुराहरु एकनाससँग पँहेलो घामले लिपिएका थिए र सबै सबै नै रोगी देखिएका थिए । मैले फेरी उसलाई हेरेँ । उ झनै रोगी देखिई ।

एकाएक मलाई त्यो बातावरणको पँहेलोपना बिझाउन थाल्यो । बिझाउनु मात्र हैन सबै सबै पँहेलो देखेर मलाई बान्ता हुन लागेझैं भाउन्न छुट्यो । मेरो मुखबाट अचानक निस्किएछ, 'छि! आज कस्तो रोगी घाम लागेको ।'

'किन नि, तपाईंलाई त यस्तै पँहेलो घाम मनपर्थ्यो त?' आश्चर्यमा परेर उसले भनी ।

'हो हुनत, तर खै किन आज सबै कुरा यो पँहेलो घामले रोगी देख्दैछु । तँलाई पनि ।' मैले मनमनै भनेँ, 'बरु तँ भित्रै बसेर तरकारी केला न ।'

प्रकटमा म केहिपनि बोलिँन । उ त्यहि रोगी घाममा बसेर फर्सीको मुन्टा केलाउन तल्लिन थिई । म भने पुरै वातावरणलाई र उसलाई झनझन रोगी देख्दैथिएँ ।

निक्कै लामो तिथीमिती पचाईसक्यो समयले । आज समय लगायत धेरै कुराहरुले मलाई पछि छोडेको छ । मेरी उसले पनि मलाई छोडेर गैसकी तर यो रोगी घामले भने मलाई अझै छोडेको छैन । अझैसम्म लखेटिरहेको छ यो रोगी घामले मलाई ।

म भागीरहेँ यो रोगीघाम देखि । अझै भागीरहेकै रहेछु । आज सोच्दैछु म किन ब्यर्थै तर्सेर भागीरहेछु यो पँहेलो रोगी घामदेखि ? म नभागे के हुन्छ? पहिले पहिले मलाई साँझको पँहेलो घाम साह्रै प्रिय लाग्थ्यो । एक्कासी किन म पँहेलो घामलाई रोगी देख्न थालेँ ? के भ्रम हो यि दुईवटामा ? पहिले पहिले पँहेलो घाम प्रिय लाग्नु भ्रम हो कि? पँहेलो घामलाई रोगी देख्नु भ्रम हो ? म सोचाईहरुको भूमरीमा पस्न थालेँ । यस्तो पनि लाग्यो कि म यो रोगी घामदेखि भागेरै त आजसम्म आएको छु नत्र उहिल्यै मलाई यो रोगी घामले उम्कनै नसक्ने गरेर अँठ्याउंने थियो ।

हैन त्यस्तो नहुन पनि त सक्छ । मैले साँझको घामसँग आमनेसामने भएर भलाकुशारी गर्न थालेँ भने त्यो घामलाई म रोगी नदेख्न पनि त सक्छु । त्यहि पँहेलो घाम मलाई फेरी प्रिय लाग्न पनि त सक्छ । ओच्छ्यानमा पल्टिएको थिएँ म । पल्टि पल्टि मैले आफ्नो गाला मुसारें । हात पाखुरा छामें । लाग्यो म रोगी घामदेखि भागेको भाग्यै पो बरु रोगी भएँ कि? अवश्यै म उबेला फर्सीको मुन्टा केलाउँदै गरेकि उ जस्तै रोगी देखिएको छु होला । आजभोली सबैले मलाई दुब्लाएर झिट्टी भैसकिस भनेर दया पोख्छन् । मलाई आफ्नो अनुहार ऐनामा हेर्न मन भयो । आज यो कोठामा ऐना छैन । ऐनाको आवश्यकता नरहेपछि यो कोठाको ऐना हटाईसकिएको छ । मलाई उठेर ऐनासम्म पुग्ने जाँगर आएन तर सम्झिएँ कि यौटा सानो ऐना टेबल मुन्तिरको सन्दुकमा उसको सामानहरुसँग छ । सुतिसुति अलि लम्किएर मैले सन्दुकबाट ऐना निकालेँ । ऐनासँग यौटा सानो फोटो अल्बम पनि बाहिर निस्कियो । त्यसमा सबै उसका तस्विरहरु छन भन्ने थाहा थियो । सबै तस्विरहरु मैले पहिले सयौं पल्ट हेरेको पनि छु फेरिपनि मलाई ऐना हैन फोटो अल्बम नै हेर्न मन लाग्यो । पल्टाएँ उसको पहिलो तस्विरमा उसले मलाई छोडीसकेपछिको कुनैदिन मैले आफैंले लेखेको रहेछु ।

तँ छैनस् अब एक स्थलमा सर्वत्र ब्याप्त छेस्
देख्न दिमागमा र छुन दिलमा प्रयाप्त छेस् ।

अझै पनि दुख्छु म उ छैन भन्ने कुराले । यो दुई लाईन कविता लेख्दा कति दुख्दै लेखेँ होला ? त्यत्रो दुख्दा पनि उसलाई मैले यहि दिलमा छामेर सञ्चो भएँ कि ? फेरी दिलमा छामेर हेरेँ र सोचें कसरी आयो खै त्यत्रो ठुलो वियोगमा यत्रो आत्मज्ञान ? मलाई अल्बमको थप पाना पल्टाउन मन भएन । ऐना र अल्बम छोडेर म बाहिर निस्किएँ । उसैगरी आज पनि साँझ नै थियो । उसैगरी आजपनि पँहेलो घाम नै सर्वत्र पोखिएको थियो । मलाई यो घामलाई रोगी भन्न मन लागेन र यो पँहेलो घाम त्यति प्रिय पनि लागेन । यो पँहेलो घाम पहिले प्रिय लाग्नु त्यसपछि रोगी देख्नु सबै भ्रम रहेछन्, सबै सत्य रहेछन् । पहिले उ हुनु र अहिले उ नहुनु पनि भ्रम र सत्य दुबैकुरा रहेछन् । केहि पनि सत्य होईन रहेछ । केहि पनि भ्रम होइन रहेछ । मलाई आफु बराबरी सत्य र बराबरी भ्रमको माझमा उभिएको महसुस भयो र त्यहि माझैमाझ बरु सजिलो हिँड्ने बाटो भेटेको महसुस भयो ।

सबै प्रकारका कुलतहरुबाट टाढा बसेको थिएँ म तर आज मेरो खल्तिबाट मेरै हातहरुले चुरोट झिकेर ओठलाई च्याप्न अह्राए र सलाई कोरेर सल्काईदिए । म रोगी घामसँग अब देखि भाग्दिंन भन्ने अठोट गर्दै पँहेलो घाम अनुहारमा पारेर चुरोट फुक्न थालेँ बेफिक्री ।